माया कोन्मे तमु र युवराज तमुको सहलेखनमा `पुलिमराङको अलिखित इतिहास´ पुस्तक तयार भएको छ । यस पुस्तकमा तनहुँको  कुनामा विकासको पूर्वाधारबाट ओझेल पारिएको गुरुङ गाउँ पुलिमराङको इतिहासलाई कोट्ट्याइएको छ ।  निरङ्कुश जहानियाँ राणाशासन अन्त्य गर्न र निर्दलीय पञ्चायत विरुद्धको आन्दोलनमा तनहुँ पुलिमराङको ६ जना सपुतहरूले आफ्नो ज्यानको बलिदान दिएका थिए । २००७ सालमा बन्दीपुर आक्रमणको नेतृत्वमा धर्मध्वज गुरुङ र २०१८ सालको भरतपुर आक्रमणको नेतृत्व लिएका लालध्वज गुरुङ लगायत हस्तवीर गुरुङ, सर्वसिंह गुरुङ, शमशेर गुरुङ र भारत गुरुङ ५ जना गरी ६ जनाले देशको प्रजातान्त्रिक आन्दोलनमा ज्यान गुमाए ।  पुलिमराङका यिनै अलिखित इतिहास, घटनाका साक्षीहरूको अनुभवहरू, राज्यले जनतामाथि गरेको क्रूर, अन्याय, अत्याचार, धरकपड इत्यादिलाई समेटेर यो पुस्तक तयार भएको छ ।

प्रस्तुत छ, आज यसै पुस्तकका एकजना लेखक माया कोन्मे तमुसँग जनक कार्कीले गरेको पुस्तक वार्ता ।

`पुलिमराङको अलिखित इतिहास´नामक पुस्तक पुस्तक जेठ १५ गते विमोचन हुने भएछ । कुन अलिखित इतिहासलाई लिखित बनाउँदै हुनुहुन्छ यस पुस्तकमार्फत ?

– इतिहास लेख्छु भन्न जति सरल छ उति लेख्न आफैँमा जटिल र चुनौतीपूर्ण काम रहेछ।  त्यसैले यहाँ हामीले इतिहास लेख्यौँ भन्दा पनि इतिहास लेखनको सुरुवात अर्थात् इतिहासको सानो अंशलाई बाहिर ल्याउने  दुस्साहस गरेको छौं।

इतिहास सबैको हुन्छ तर कमैको लेखिन्छ। नेपालका यी शहीदहरूको सन्दर्भमा पनि लिखित भन्दा धेरै अलिखित इतिहासकै वर्चस्व  छ। जो एकदमै महत्त्वपूर्ण पनि छ। विशेष गरी झन् सीमान्तकृत र उत्पीडित जातिको इतिहास त लेखिएकै छैन भन्दा पनि फरक नपर्ला । पुलिमराङको गुरुङ जातीको पनि विशाल इतिहास छ।  २००७ सालको जहानियाँ राणा शासन विरुद्ध र   २०१८ सालको निर्दलीय पञ्चायत विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा यो गाउँको ६ जना सपुतहरूले आफ्नो ज्यानको बलिदान दिए। तर त्यो इतिहास लेखिएकै छैन । एकाध व्यक्तिले कहीँकतै उदाहरणको रूपमा प्रस्तुत गर्न बाहेक । त्यसैले यो गौरवशाली इतिहास मेटिएर-हराएर जान खोजेको सबैको मानसपटलबाट धुमिल हुँदै गएको हुनाले अबको आउँदो पुस्ताहरूलाई पनि यो इतिहास भन्नुपर्छ भन्ने मनसायले वीर शहीदहरूको बलिदानको गाथालाई  एकत्रित गरेर सङ्कलन गर्न खोजिएको हो । इतिहासको अध्ययनले नै वर्तमानको कार्यशैलीको निर्धारण गर्ने गर्दछ । यसर्थ यसलाई इतिहास भन्दा पनि मेरो आफ्नै गाउँको अहिलेसम्म नलेखिएको इतिहासको  सानो अंशलाई बाहिर ल्याउने प्रयास मात्रै गरेको हो।

`शहीदहरू मारिएर मर्दैनन् । शहीदहरू बिर्सिएपछि मर्छन् ।´ जर्ज आरआर मार्टिनको यो भनाइलाई उद्धृत गर्दै एउटा प्रश्न सोधिहाल्छु; पुलिमराङका शहीदलाई बिर्सनुको पछाडि उपेक्षा  वा नियोजित थियो ?

– राज्यले शहीदको  बलिदान र संघर्षलाई बिर्सनु हुँदैन । शहीदको  सपनालाई साकार पार्ने दिशामा राज्य उन्मुख भइरहनु पर्दछ । राज्यको स्वार्थ र शहीदको सपनाको मिलान हुनु जरुरी छ । तर अहिले राज्यको स्वार्थ शहीदको सपनासँग  मेल नभई कुनै व्यक्ति वा निश्चित समूहकाे स्वार्थसँग मेला खान्छ । उनीहरू शहीदले बनाएको जगमा टेक्दै अघि बढे । आफ्नाे स्वार्थ पूरा गरे । शहीदलाई लात हाने । निश्चित समूहको स्वार्थ, राज्यको गैरजिम्मेवारी नीतिले शहीदलाई उपेक्षा गरेकै हाे । कतिपय कुराहरू नियोजित पनि छन् । उत्पीडित जाति एक कोणबाट मात्र उत्पीडित हुँदैन । हरेक कोणबाट प्रत्यक्ष अप्रत्यक्ष रूपमा उसलाई उत्पीडित बनाइएको हुन्छ । पुलिमराङका शहीदहरूमा यो आभास हुन्छ । शहीदहरू निस्वार्थ तरिकाले राज्यको लागि लडिरहेका हुन्छन् तर राज्य उनीहरूलाई स्वार्थपूर्णा तरिकाले हेरिरहेको अवस्था छ ।

यो पुस्तक लेख्नुपर्छ भन्ने सोच कसरी आयो र यसलाई सार्थक रूप दिन कस्तोकस्तो प्रक्रियाबाट गुज्रिनु पर्‍यो ?

– इतिहास लेखन एक महत्त्वपूर्ण काम हो । वर्तमानलाई बुझ्न इतिहासको अध्ययन जरुरी छ । त्यो इतिहास बाहिर आउनु पर्छ । म सानै हुँदा अलिअलि सम्झन्छु ती दिनहरू । २०४६ सालको जनआन्दोलन पछि २०४८ सालमा प्रतिनिधि सभाको  चुनाव भयो । मलाई धुमिल याद छ मेरै गाउँ पुलिमराङको श्री सहिद धर्म प्रा. बी मा चुनाव भएको थियो । त्यसपछि आफ्नै आपा/आमा बाट गाउँको  अग्रजहरूबाट २००७ साल र २०१८ सालको आन्दोलनको कुराहरू सुन्दै आएको हुँ । मेरै आफ्नै बाजे लगायत ६ जनालाई राज्यले निर्ममतापूर्वक  यातना दिएर मारेको कुरा आफ्नै आपाको मुखबाट सुन्नुपर्दा त्यो बाल मस्तिष्कमा नराम्रोसँग गहिरो छाप परिरह्यो । समय र उमेरको परिपक्वता सँगै ती कुराहरूले झन् बिझ्न थाल्यो । खुट्टामा बिझेको खिल जस्तै हरेक पाइलामा च्वास्स च्वास्स घोच्न थाल्यो । त्यही बिझाइ, त्यही दुखाइ नै अहिले एउटा पुस्तकको रूप लिएको हो ।

यहाँ पुलिमराङ मात्रै होइन देशको विभिन्न ठाउँमा यस्ता अलिखित बग्रेल्ती इतिहासहरू छन् । र जो लेखिएको छैन अझैसम्म । त्यो इतिहासहरू पनि लेखिनुपर्छ, बाहिर आउनुपर्छ भन्ने मनसायले पनि पुस्तक लेखियो । जुनसुकै इतिहास या आफ्नै गाउँठाउँको इतिहास थाहा भएन भने हामी आफै नै अधुरो र अपूर्ण हुन्छ । त्यसैले आफ्नो गाउँठाउँको इतिहास अरूले लेख्दैन तपाईं, हामी आफैंले लेख्नुपर्छ । जे छ बाहिर आउन जरुरी छ ।

आजसम्म पुलिमराङका ६ जना शहीदलाई राज्यले नचिन्नुमा कसको दोष देख्नुहुन्छ ?

– नेपाली राजनीतिमा यस्तो एउटा संरचना बन्यो कि जसले संघर्ष त्याग र बलिदान दिए उनीहरूलाई एउटा शहीद  शब्दमा मात्रै सीमित बनाइयो। त्यो शहीद शब्दलाई उनीहरूले एउटा मागी खाने भाँडोको रूपमा मात्रै प्रयोग गरे । एउटा एकेडेमीक सर्टिफिकेट रूपमा प्रयोग गरिरहे । इतिहास जित्नेको मात्रै लेखियो । पुलिमराङको ६ जना शहीद जितेर पनि हारिरहे । अहिलेसम्म पनि सीमित क्षेत्र र समुदायमा मात्रै सङ्कुचन बनायो । तनहुँका शहीदको नामावलीमा समवेश गरिए पनि राज्यले अझैपनि राज्यको शहीदहरूको नामावलीमा सूचीकृत गरिएको पाइँदैन । जसले इमान्दारीतापूर्वक सम्पूर्ण जनताको हकहित र स्वतन्त्रताको लागि आफ्नो ज्यानको बाजी  लगाए अहिले उनीहरू सीमित स्थान र समुदायमा मात्रै सीमित रहे । तपाईं हामीले अहिलेको अवस्थामा आएर वाक स्वतन्त्रता देखि लिएर हरेक स्वतन्त्रता पाएको छौं ।

यसमा उहाँहरूको महत्त्वपूर्ण योगदान छ । उहाँहरूको बलिदानलाई स्वार्थको भर्‍याङ बनाएर सत्तामा पुगे र व्यक्तिगत  भागबन्डा, लुछाचुँडीमा लिप्त रहे । जसले क्रान्तिको बिगुल फुकेर प्रजातान्त्रिक आन्दोलनको लागि रगतको खोला बगाए उनीहरू तीन अक्षरको शहीद शब्द र सानो स्ट्याचुमा मात्रै सीमित रहे ।

६ जना शहीद जो नेपाली जनमानसमा अपरिचित रहे । उनीहरूका त्यसपछिका  पुस्ताका अवस्था कस्तो छ ?

– शहीदहरू जो परिचय भएर पनि अपरिचित र परिभाषा भएर पनि अपरिभाषित बने । जितेर पनि हारिरहे । त्यो समयमा राज्य पक्षले तनहुँको पुलिमराङ र चितवनको तात्कालिक बखानपुर (हाल शारदा नगर) मा जहिले पनि निगरानी गरिरहन्थ्यो । जुन ६ जना व्यक्तिहरूले प्रत्यक्ष रूपमा आफ्नो ज्यानको आहुति दिनुभयो । अप्रत्यक्ष रूपमा शहीद परिवारले मानसिक पीडा र यातनामा गुज्रिनु पर्‍यो । आफ्नो घरका मुख्य व्यक्तिहरूलाई राज्यले मारेपछि उनीहरूको जीवन उथलपुथल भयो । अप्रत्यक्ष रूपमा उहाँहरूले भोगेको डर त्रास दुख पिडाको  पनि महत्त्वपूर्ण योगदान छ ।

उहाँहरूको त्याग र बलिदानले देशमा प्रजातन्त्र आयो । धेरै परिवर्तनहरू आए तर परिवारमा कुनै परिवर्तन आएन । दुःखकष्ट थपिंदै गयो । घरको प्रमुख व्यक्ति नै नरहेपछि त्यसको प्रत्यक्ष अप्रत्यक्ष असर जीवनभर  परिरह्यो।

 यो पुस्तक लेख्नका लागि सत्यतथ घटनाको विवरण सकंलन गर्न कस्तो किसिमको अनुसन्धान प्रक्रियाबाट गुज्रिनु भयो ?

– इतिहास लेख्नु चुनौतीपूर्ण काम हो । अरू लेखन भन्दा इतिहास लेख्नु जटिल रहेछ । अरू विधामा लेखक स्वतन्त्र भएर प्रस्तुत हुने धेरै ठाउँ हुन सक्छ । तर इतिहास लेखनमा त्यस्तो हुँदैन । यो पुस्तकको इतिहास भनेको ७२/७३ वर्ष  अगाडिको हो । तात्कालिक घटनालाई सङ्कलन गर्न खोज्नु अत्यन्तै जटिल रहेछ । एकै गाउँको व्यक्ति भएपनि विभिन्न  ठाउँमा घटना घटेको हुनाले विभिन्न ठाउँहरूमा जान पर्‍यो । फिल्ड भिजिट विभिन्न व्यक्तिसँगको भेटघाट अन्तर्वार्ता लिने काम, केस स्टडी गर्ने, फोकस ग्रुपमा छलफल गर्ने । डाटाहरू खोज्न विभिन्न पुस्तकको अध्ययन अनुसन्धान गर्ने । प्रत्यक्ष घटनाको साक्षीहरू एकदम कम हुनु, र भएपनि  घटनाक्रमहरू बिर्सनु यावत प्रक्रियाबाट गुज्रिन पर्‍यो । घामपानी नभनी फिल्ड भिजिट गर्यौं । अझै कतिपय ठाउँमा चाहेर पनि पुग्न सकेनौं ।

यी कामहरू गरिरहँदा दुःख नै भएपनि हाम्रो लागि सुखद पक्ष हो । यस पुस्तक लेखनको क्रममा हामीलाई शहीद  परिवारको सम्पूर्ण सदस्यहरू सहित गाउँका अग्रज व्यक्तित्त्वहरू लगायत पूर्वप्रधान सेनापति छत्रमान सिंह गुरुङ / कमला गुरुङ, वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल, गोविन्दराज जोशी लगायत धेरै व्यक्तिहरूले हामीलाई आवश्यक सहयोग  सल्लाह र सुझावहरू दिनुभएको छ ।

राज्यको तर्फबाट पुलिमराङको सहिदका लागि के माग छ ?

– राज्य नै पेन्डुलम भएर चलिरहेको बेला पुलिमराङको शहीदहरूको माग सम्बोधन हुन्छ भन्नु त बगेको खोला फर्किनु जस्तै हो । निरङ्कुश जहानियाँ राणा शासन अन्त्य गरेपछि २०१७ सालमा राजा महेन्द्रको  कुसँगै निर्दलीय पञ्चायतको अन्त्य भएर देशमा प्रजातन्त्र, लोकतान्त्रिक गणतन्त्र आइसक्दा पनि राज्य तहबाट शहीदहरूको सपनाको सम्बोधन नहुनु एकदमै दुखदायी अवस्था छ । अहिलेसम्म राज्यले यी वीर शहीदहरूको सम्मानमा केही गरेको छैन । यतिसम्म कि अहिलेसम्म राज्यले  शहीदहरूको नामावलीमा पनि सूचीकृत गरिएको छैन । यो चै सीमान्तकृत ,उत्पीडित जातिको शहीदहरूप्रति राज्यले गरेको विभेद हो । विश्वास त छैन तर अरू कामकुराको सम्बोधन नभएपनि राज्यले गरेको शहीदहरूको नामावलीमा सूचीकृत गरोस् भन्न चाहन्छु।

यो पुस्तक तपाईं माया कोन्मे तमु र युवराज तमुको सहलेखनमा तयार भएको हो । यसरी लेखन सहकार्य गर्न कत्तिको सजिलो/अप्ठ्यारो हुने रहेछ ?

– खासमा यो पुस्तक लेखनमा युवराज तमु जो वर्तमान व्यास नगरपालिका वडा नं. को वडा अध्यक्ष हुनुहुन्छ । उहाँको साथ र सहयोगको निकै  महत्त्वपूर्ण  छ । कोरोना कहरको बेला  होला सायद शहीदहरूकै बारेमा छलफलमा कुरैकुरामा एकदिन भन्नुभो – शहीदहरूको बारेमा केही लेखौं न । मैले तुरुन्त जवाफ दिए भैहाल्छ नि । किनकि यो प्रस्ताव मेरो लागि एकदमै सुखद थियो । म स्वयम एउटा शहीद  परिवारको सदस्य हुँ । मैले यो इतिहासलाइ कसरी दस्ताबेज गर्न सकिन्छ भनेर सोचिरहेकै बेला उहाँले मसँग यो प्रस्ताव  ल्याउनुभयो । यो एकदमै सकारात्मक रह्यो । हामी दुवैजना एउटै गाउँको र क्लासमेट पनि भएको कारण हामीलाई यो पुस्तक लेखन गरिरहँदा  कुनै त्यस्तो जटिलता भएन । एकदम सहज रह्यो।

अन्त्यमा स्वतन्त्र प्रश्न छ, मन लागेको भन्नोस् । 

– यो एउटा पुलिमरङ गाउँले जन्माएको शहीदहरूको नलेखिएको  कथा हो । यही नलेखिएको इतिहास थाहा पाउन लगायत पुलिमराङले राष्ट्रिय  व्यक्तित्वहरू पनि जन्माएको छ । सहकारीको संस्थापक बखानसिंह गुरुङ देखि लिएर आदिवासी जनजातिबाट प्रथम प्रधानसेनापति छत्रमानसिंहको बारेमा बुझ्न जसले हामीलाई संघर्ष र धैर्यता के हो जीवन कसरी जिउने ? जीवनमा आउने दुखकष्टहरूलाई कसरी आत्मासाथ गर्ने भन्ने उत्प्रेरित गराउँछ ।

शहीदहरू प्रतिको सम्मान देशभक्ति, माटो प्रतिको  माया बलिदानको कुरा बुझ्न यो सानो अलिखित इतिहासको अंश हो । जुन लेखिन जरुरी थियो । देशको विभिन्न ठाउँमा यस्तै अलिखित इतिहास छ । यो नलेखिएको कुराहरू लेखन प्रक्रिया थालनी हुनुपर्छ । यो सानो प्रयास अरूको लागि पनि प्रेरणा होस् भन्न चाहन्छु ।