यस अन्तरालमा कतिले काठमाडौं उपत्यका छाडेर भागिसके । एक चौथाई जनसंख्याले पानीभित्रै चिहान बनाइसकेका छन्  ।
स्वयम्भूको डाँडाबाट हेर्दा उपत्यका ठूलो तालजस्तो देखिन्छ । हुन त पहिले काठमाडौं उपत्यका सिङ्गो पोखरी भएको किवंदन्ती छ । त्यतिबेला मन्जुश्री आएर तरबारले चोभारको डाँडा काटेर उपत्यकाको बस्ती बसाएको कुरा नेपालभरका जनताले सम्झिँदै छन् ।
डुबानले गर्दा घरमै थुनिएका हजारौँ काठमाडौँबासीलाई हेलिकप्टरबाट रेस्क्यु गरिँदैछ ।
यो भयावह परिस्थितिले देश पुरै शोकमा छ । कुनै दैवीय शक्तिले मात्र अब काठमाडौँलाई पोखरीबाट पुनः उपत्यका बनाउन सकिने अडकल अन्दाजी चलिरहेको छ  ।
 नभन्दै एक रात यस्तो घटना घट्छ । दुईवटा नाक भएको, सुपो जत्रो कान भएको, चारवटा आँखा अनि धरहरा भन्दा अग्लो अदभूत जीव गोलो यानजस्तो देखिने जहाज काठमाडौंको आकाशमा पार्किङ गर्छ । त्यहाँबाट हामफालेर काठमाडौं पोखरीमा हाम फाल्छ ।
पोखरीमा पौडिँदै आउँछ । धरहराको नजिक पुगेर उभिएर हेर्दा धरहरा जत्रै उचाईको त्यो अदभूत जीवले थानकोटतिर एउटा अजङ्गको हतियार लिएर काट्न थाल्छ । काठमाडौँ उपत्यकाको पानी सबै नागढुङ्गा हुँदै बगाइदिन्छ । काठमाडौं फेरि एकपटक पोखरीबाट काठमाडौं उपत्यका बन्न पुग्छ ।
 चियापसलमा हल्ला छ । त्यो अजीवको प्राणी विष्णुको अवतार हुनपर्छ । कोही यसलाई महादेव हो पनि भन्छन् । अलि वैज्ञानिक टाइपकाहरूले यसलाई युएफओ हो भन्छन् । अन्य ग्रहबाट आएको एलियन हो भनेर अड्कल अन्दाजी काट्छन् ।
टाढाबाट एउटा अवाज ठेल्लिएर भर्जिन नगरकोटीको कानमा हिर्कायो, `खाजा खान उठनोस् ।´
स्वप्नपुरबाट विपनापुरमा अवतरण गर्दै, च्याम्से आँखा पारेर भित्तामा टाँसिएको घडीतिर हेर्छन् । घडीमा ३:१५  भएको छ । घडीको मिनेट र घण्टे सुई पनि श्रीमान् श्रीमती जस्तै खप्टिएर सुतिरहेको जस्तो दृष्य देखिन्छ, घडीमा ।
भर्खरै  वर्णन भएको काठमाडौंको  भयानक दृश्य वास्तविक नभएर भर्जिन नगरकोटीले देखेको सपना हो । भर्जिन नगरकोटी पेसाले लेखनको पासोमा अल्झिएको मनुवा हुन् । ऊ यस्ता अद्भुत सपनाहरू देखिरहन्छन् ।
पछिल्लो कथा सङ्ग्रह उनले पूरै आफूले देखेको दिवास्वप्नको फोटोकपी उतारेर लेखेका हुन् । सपनासँग उनको ठूलो मोह छ । सपनाले नै उनलाई लेखक बनेर भात ख्वाइरहेको छ । उसको कतिपय सपनाहरू ठ्याक्कै पूरा पनि हुन्छन् । कति सपना भने वर्तमान कालमा हुनै नसक्ने घटनाहरूजस्तो लाग्छ । त्यस्ता अद्भुत सपना नै उसको सिर्जनाको स्रोत हो ।
*****
 विद्वानहरूले भनेका छन्, खुल्ला आँखाले देखेको सपना पूरा हुन्छ भनेर तर पछिल्लो प्रधानमन्त्रीले खुब सपना देखे, सपना बाँडे र सपना फुलाए विडम्बना, कुनै सपना साकार भएनन्  । बरु भर्जिन नगरकोटीले निदाएरै देखेको सपना पूरा भएका छन् ।
वर्तमान प्रधानमन्त्रीले भर्जिन नगरकोटीको सपनाको किस्सा सुनेका थिए । देशमा उनको सपनाद्वारा परिवर्तन ल्याउन सकिन्छ कि भनेर भर्जिन नगरकोटीलाई सपना सल्लाहकारमा नियुक्त गरिएको छ ।
भर्जिन नगरकोटीको काम भनेको दिउँसो एक डोज प्रधानमन्त्रीको लागि सपना देखिदिने मात्र हो । भर्जिन दिउँसो ठीक बजे प्रधानमन्त्री सचिवालयमा पुग्नुपर्ने हुन्छ । त्यहाँ उनको लागि स्वप्न कक्षको व्यवस्था गरिएको छ । त्यहाँ गएर उनी निदाउने र सपनामा देखेको कुरा टाइप गरेर प्रधानमन्त्रीको सचिवलाई दिन पर्ने हुन्छ ।
 पहिलो दिनको डिउटीको  सपना :
डाक्टर : बधाई छ, प्रकाशजी तपाईं गर्भवती हुनुहुन्छ ।
प्रकाश : धन्यवाद, अत्यधिक खुसीको कुरा । मेरो वर्षौंदेखिको सपना पूरा भयो ।
डाक्टर: अनि पवित्राजी तपाईँलाई पनि बधाई ! तपाईंले प्रकाशजीलाई गर्भवती बनाउन सफल हुनुभएको छ ।
पवित्रा: आभार डा. साब यो सब तपाईँहरूकै विज्ञानको कमाल त हो ।
डाक्टर : तपाईंहरु यस्तो आश्चर्यको जोडी हो । जसले श्रीमतीले श्रीमानलाई गर्भवती बनाएको छ । जब जब प्रकाशजीको पेटको भ्रूण बढ्दै जान्छ, पत्रकारले तपाईंहरूको खबरलाई हावामा फैलाउने छन् । विश्व नै यो समाचारबाट ट्वाल्ल पर्नेछ । जिब्रो टोक्नेछ ।
प्रकाश: मेरी श्रीमती पवित्राले चारवटा सन्तान उत्पादन गरिन् । वास्तवमा मलाई पनि प्रशव पीडाको अनुभव लिन मनलाग्यो । मलाई पनि मेरो कोखमा सन्तान उब्जाउन मनलाग्यो ।
पवित्र: म पनि गर्भवती हुँदाहुँदा थाकिसके प्रशव पीडाको अनुभव मेरो श्रीमानलाई पनि होस् भन्ने मेरो चाहना थियो ।
डाक्टर : तपाईँहरूकै चाहनाले गर्दा नै मैले पनि विज्ञानको चमत्कारीय आविष्कारलाई प्रयोग गर्न पाएँ । तपाईंहरूको इच्छा अनुसार पवित्राजीको योनिमा प्रकाशजीको  लिङ्ग ल्याएर प्रत्यारोपण गरियो र पवित्रा जीको पाठेघरलाई प्रकाशजीको लिङ्ग भएको ठाउँमा प्रत्यारोपण गरियो ।
प्रकाश : यो मेडिकल साइन्स पनि अद्भुतकै रहेछ डा . साब । म रजस्वला हुन थालेँ, पवित्राको दारी जुङ्गा पलाउन थाल्यो ।
पवित्रा : वास्तवमा महिलाहरू प्रत्येक महिना महिनावारी भएर हैरान । त्यो समस्या त हट्यो तर अहिले म पुरुष भएपछि दारीजुँगा सेभिङ गर्दै हैरान छु ।
एकछिन माहोल हाँसोले गुञ्जयमान भयो ।
डाक्टर : प्रकाशजी यो फोलिक एसिड, आइरन चक्की नबिराई खानु होला है !
*******
भर्जिन नगरकोटीको पछिल्लो साहित्यिक कृतिले प्रशिद्धि कमाएपछि, उनले नयाँ कृतिको नयाँ प्रयोगबारे प्रकाशकसित छलफल गर्दैछन् ।
भर्जिन – मेरो गिदीमा खत्रा आइडिया आएको छ ।
प्रकाशक – के पलायो गिदीमा ?
भर्जिन – यस्तो उपन्यास प्रकाशित गर्ने जसको एउटा मात्र प्रतिलिपि निकाल्ने । त्यो पुस्तक कसैले पढनै नपाओस् । पुस्तक विमोचन गर्ने तर सो पुस्तक लेखकसँग मात्र हुनेछ । मर्ने बेलामा पनि पाठकले भर्जिनको उपन्यास पढ्नै नपाई संसार त्याग्न खोज्दा मेरै पुस्तक पढ्न नपाएको गुनासो होस् ।
 प्रकाशक सहमत भए यस कुरामा । पुस्तक छपाउने प्रक्रिया अगाडि पढ्न थाल्यो  ।
******
भर्जिन नगरकोटीको अफिसको दोस्रो दिन । यो दिन देखेको सपनालाई जिमेलमा मेल गर्दियो । सपना यसप्रकार छः
साँघुरो गल्लीबाट छिरेपछि एउटा मैदान आउँछ । त्यो इलाकाको नाम मासुलय हो । साइनबोर्डमा लेखिएको छ; यहाँ मान्छेको मासु पाइन्छ ।
पहिलो पसले कुकुर छ । उसले मान्छेको टाउको झुण्डाएर राखेको छ । अर्को पसले पुरुषको अण्डकोष पनि झुन्डाएर राखेको छ । मासुप्रेमीलाई यो पुरुष जातको मासु हो भनेर आश्वस्त पार्न हुन सक्छ । अर्को पसलेको साहुनी बिरालो बसेकी  छ । त्यहाँ भने स्तन झुण्डाएर राखिएको छ । यो चाहिँ यो महिला जातको मासु हो भनेर प्रष्टाउन खोजिएको हुनुपर्छ ।
भर्खरै बाघले एक किलो मान्छेको महिला जातको आन्द्राभुँडी किनेर पोलिथिन ब्यागमा दाँतले टोकेर झुण्डाउँदै ल्याएको छ । स्यालले खुट्टाको सुप खानलाई एक जोर खुट्टा झुन्डाएर आइरहेको छ । अलि परको पसलबाट हरिणले एक किलो फल मासु माग्दैछ । आज मान्छे फ्राइ खाने मूडमा भएकोले हड्डी नपरोस् है भनेर मासु पसलेलाई निर्देशन दिँदैछ ।
गिद्धले गिदी फ्राइको अर्डर गर्दैछ । मुसाले मोमोको लागि किमा बनाउँदैछ ।
एउटा पिकअपमा खरायोले  १०-१२ जना मान्छे कोचेर ल्याइएको छ । सायद त्यो भोलिको मासुको लागि हुनपर्छ ।
*******
भर्जिन नगरकोटीको पुस्तकको सम्पूर्ण काम सकिएर विमोचनको लागि तयार छ । छिट्टै विमोचनको मिति तय गर्ने सुरसार कसिरहेका छ्न्, प्रकाशकले ।
भर्जिन नगरकोटीको तेस्रो दिनको डिउटीमा देखेको सपनालाई टाइप गरेर प्रधानमन्त्रीको अफिसमा छोडिदिए ।
टाइप गरिएको सपना यस्तो थियो :
मध्यरातमा जूनको टीका लगाएको आकाश गमक्क परेर रानीपोखरीमा ऐना हेर्दैछ । परबाट लमकलमक गरेर हात्तीमा जङ्गबहादुर आइरहेको छ । हात्तीलाई सुन्धारामा पार्किङ लगाएर जङ्गबहादुर धरहरा चढ्न थाल्छ । जङ्गेको दुईजना सहयोगीले ठूलो झोला बोकेका छन् । धरहराको टुप्पोमा पुगेर जङ्गे हाम्फाल्छ । जङ्गे हाम्फाल्दा प्यारासुट लगाएर हाम फालेको छ ।
 प्रधानमन्त्रीले भर्जिनको तीन दिनको स्वप्न संस्मरण पढेपछि, आफूलाई कतै पनि काम नलाग्ने सपना भनेर भर्जिन नगरकोटीलाई जागिरबाट निष्कासन भएको पत्र पठाउँछन् ।
*****
भर्जिन नगरकोटीको किताबको विमोचन हुन्छ । विश्वमै पहिलो रेकर्ड होला, एकप्रति मात्र छपिएको उपन्यास । सामाजिक सञ्जालमा यो आइडियालाई पागलपनको उपमा दिएका छन् ।
किताब विमोचन भएको अर्को दिन एकाएक भर्जिन नगरकोटी गायब हुन्छन् ।
  एकछिनमा टेलिभिजनमा ब्रेकिङ न्युज चलिरहेको हुन्छ । जसमा भर्जिन नगरकोटीको भिडियो क्लिप चल्दै छ । भिडियो क्लिप अनुसार भर्जिनले आफू अपहरणमा परेको, आफ्नो पछिल्लो उपन्यासको फिरौतीको रूपमा दिएपछि मात्र छोडिदिने कुरा वर्णन गर्दैछन् ।
प्रकाशकले पुस्तक दिएर भर्जिन नगरकोटीलाई दलदलबाट निकाले ।
केही हप्तापछि अपहरणकारी लिएर गएको उपन्यासको फोटोकपी सारा देशभर फैलियो । त्यो फोटोकपी उपन्यासलाई पाइरेसी गरेर  महँगो दाममा बेचिएको छ । पुस्तक प्रेमीहरूलाई पढ्नै नपाइने किताब यसरी पढ्न पाएकोमा कुनै पनि कसुर नराखी किन्न दौडिरहेका थिए । उक्त किताब नब्बे हजार प्रति बिकिसकेको छ ।
****
भर्जिन : आखिर आइडिया हिट भयो है ?
प्रकाशक : हो नि, एक कपी मात्र प्रकाशित हुने भनेर हल्ला चलाइयो, उत्सुकता बढाइयो र बेकुफ बनाइयो ।
भर्जिन : हो त आफैँलाई अपहरण गरेको नाटक गरियो  । फोटोकपी भनेर आफैँले पुस्तक बेचियो । पुस्तक बिक्रीमा नयाँ रेकर्ड राखियो ।
प्रकाशक : इण्डिया भन्दा आइडिया ठूलो ।