चेतनरुप आत्माको आधारमा नै शरीर, इन्द्रिय, मन, बुद्धि, अनि अहंकारसहितका जडप्रकृतिका शारीरिक अवयवहरु सञ्चालित भएर जीवन सफल हुने गर्दछ । तर त्यो आत्माको अधिष्ठान भने परमात्मा हो जो प्राणीमात्रको व्यक्तित्वको परिचायक बनेको तीन गुणहरुका भावभन्दा पनि पर छ ।

“त्रिभिर्गुणामयैर्भावैरेभिः सर्वमिदं जगत् ।
मोहितं नाभिजानाति मामेभ्यः परमव्ययम्” ।।भ.गी.७(१३)।।

तीन गुणहरु यसप्रकार छन्ः

निष्क्रियता अथवा जडत्वको द्योतक तमोगुण, क्रियाशीलता जनाउने रजोगुण, अनि ज्ञानको आधारशीला सात्विक गुण । यी तीनै गुणहरुले गर्ने गरेका सामूहिक कार्यप्रणालीलाई नै ‘माया’ भनिन्छ, जसले यो सम्पूर्ण चराचर जगतलाई चलायमान गराइरहेको छ । प्राणीमात्रको शरीर, मन, एवं बुद्धिलाई प्रभावित गरी तिनलाई आ–आफ्नो अद्वितीय व्यक्तित्वजन्य प्रवृत्तिमा लिप्त गराउने कार्य पनि त्यही त्रिगुणद्वारा उत्पन्न हुने ‘माया’ नै हो । त्यही मायामा मोहित भएको व्यक्तिले त्यस मायाका संचालक–नियामक तर मायादेखि पर अव्यक्त रुपमा रहेको अव्यय आत्मा अनि त्यसको पनि बीजस्वरुप परमात्मालाई जान्न सक्दैन ।

त्यसोभए, असम्भव नै हो त परमात्मतत्त्वको पहिचान ?

श्रीकृष्ण योग्य गुरु हुन् । उनी समस्याहरु मात्र दर्शाएर शिष्यलाई रनभुल्लमा पार्न खोज्दैनन् । उनी समस्याहरुको उचित समाधान पनि देखाउँदछन्, अनि त्यसतर्फको मार्ग पनि प्रष्ट्याइदिन्छन् । त्यसैले उनी भन्दछन् कि जगतमा व्याप्त यो ‘मेरो माया’ पार गर्न जति नै कठिन नै भए तापनि ‘मेरो’ अर्थात् ‘परमात्मा’को शरणमा आउने (आफूलाई अथवा आत्मालाई चिन्ने) व्यक्तिले त्यसलाई सजिलै पार गर्दछ ।

“दैवी ह्येषा गुणमयी मम माया दुरत्यया ।
मामेव ये प्रपद्यन्ते मायामेतां तरन्ति ते” ।।भ.गी.७(१४)।।

अनि, परमात्मालाई पाउने तरिकाहरु अथवा माध्यमहरु के के हुन् त ?

परमात्मालाई पाउने अथवा आफूलाई जान्ने चार प्रमुख विधिहरुका बारेमा पनि खुलस्त पार्दै श्रीकृष्ण भन्दछन्ः

“चतुर्विधा भजन्ते मां जनाः सुकृतिनोर्जुन ।
आर्ता जिज्ञासुरर्थार्थी ज्ञानी च भरतर्षभ” ।।भ.गी.७(१६)।।

चेतनतत्त्वको आह्वान विना जडअवस्थामा रहेका प्रकृतिका अवयवहरुले मात्र कुनै पनि कार्य गर्न सक्दैनन् । विद्युत शक्तिको आह्वान अर्थात् बिजुलीमा नजोडिकन रेडियो, टिभी, पङ्खाजस्ता साधनहरु चल्दैनन् । त्यस्तै इन्जिनमा नजोडिकन गाडी चलायमान हुँदैन । त्यस्तै, प्राणीमात्रका लागि अनि तिनको जीवन चलायमान गर्न अथवा तिनका शारीरिक अवयवहरुको मूल उद्देश्यको सिद्धिका लागि पनि चेतनतत्त्व आत्माको उपस्थिति अनिवार्य नै रहन्छ । अनि त्यो आत्माको श्रोत परमात्मालाई चिन्न सकियो भने त झन् मानव जीवनले आफ्नो प्रमुख लक्ष्य नै साँधे झैं नै हुन्छ किनभने संसारमा व्याप्त मायाजालबाट मुक्तिको द्वार नै परमात्माको आश्रय हो । त्यसका लागि चार प्रमुख माध्यमहरुको वर्णन गरेका छन् श्रीकृष्णलेः

१. आर्तभाव या कष्टनिवारणका लागि गरिने प्रार्थना ।
२. जिज्ञासा या शास्त्राध्ययनद्वारा परमात्मालाई जान्न खोज्नु ।
३. अर्थार्थी या फलेच्छासहित अथवा कामनापूर्तिको लक्ष्य लिएर गरिने भक्ति ।
४. ज्ञानी या आत्मानुसन्धान गरी कुनै पनि कामनारहित भएर स्वयंलाई नै परमात्मामा समर्पित गरिदिने भक्त ।

यी सब भक्तहरु उत्कृष्ट नै भए तापनि चौथो प्रकारको अर्थात् ‘ज्ञानी’ भक्त भने सर्वोत्कृष्ट अनि आफू समानकै रहेको भन्दै श्रीकृष्ण ‘ज्ञानी’ बन्न सुझाउँदछन् अर्जुनलाई ।

“उदाराः सर्व एवैते ज्ञानी त्वात्मैव मे मतम् ।
आस्थितः स हि युक्तात्मा मामेवानुत्तमां गतिम्” ।।भ.गी.७(१८)।।

आत्मचिन्तन गरी ‘ज्ञानी भक्त’ बनेर परमात्मतत्त्व प्राप्त गर्न त्यत्ति सजिलो भने छैन । अनि त्यस्ता भक्तहरु दुर्लभ नै पनि हुन्छन् । त्यो स्थितिमा एकैपटक पुग्न सम्भव नै पनि छैन । त्यसैले आ–आफ्ना गुण–धर्म, अनि व्यक्तित्व–स्वभावद्वारा प्रेरित भएर विभिन्न प्रकारका देवताहरुको आराधना गर्नु पनि मानिसहरुका लागि स्वाभाविक नै हो । तर सकाम भावले नै पनि जुन जुन देवताको श्रद्धापूर्वक मानिसहरु भज्दछन्, त्यसै प्रकारको श्रद्धालाई तिनै देवताप्रति स्थिर गराइदिने काम पनि परमात्माका रुपमा आफ्नै नै भएको पनि बताउँदछन् श्रीकृष्ण ।

“यो यो यां यां तनुं भक्तः श्रद्धयार्चितुमिच्छति ।
तस्य तस्याचलां श्रद्धां तामेव विद्धाम्यहम्” ।।भ.गी.७(२१)।।

श्रीकृष्णको यो भनाईको दुई तरिकाले विवेचना गर्न सकिन्छ ।

१. चेतनाको पुञ्जका रुपमा अनि जड प्रकृतिका अवयवहरुको अधिष्ठानका रुपमा अव्यक्त अवस्थामा रहेको आत्मा अनि त्यसको पनि आदि श्रोत परमात्मालाई जोकोहीले पनि तुरुन्त नै हासिल गर्न सक्दैन । अतः क्रमिकरुपमा सर्वप्रथम सकाम देवसाधना, यज्ञकर्म, तन्त्रमन्त्रद्वारा आफ्नो इष्टदेवको पूजन, भजन आदि गर्दै गरेर क्रमशः अव्यक्त परमात्मातर्फ जान खोज्ने व्यक्तिहरुलाई पनि श्रीकृष्णको भरपुर सहयोग नै रहन्छ । साकार अनुष्ठान, मूर्तिपूजा, कर्मकाण्ड, शक्तिपूजन आदिको माध्यमद्वारा मनलाई स्थिर गराउने अभ्यास गर्दै गर्दै अन्ततः निराकार परमात्माको स्वरुपमा ध्यान गर्ने स्थितिमा आइपुग्न सकिन्छ भन्ने तथ्यलाई शास्त्रका अन्य विधिविधानहरुले पनि मान्यता दिएकै नै छन् । यो कुरालाई श्रीकृष्णले अझ विस्तृत रुपमा व्याख्या गरेका हुन् ।

२. मानिसले जस्तो विचार गर्दछ, ऊ त्यस्तै नै बन्दछ । देवताहरुको सकाम साधना गर्नुभनेको कुनै पनि विषयमा अथवा कार्यसाधना गर्ने उद्योगको निरन्तर चिन्तन गरिरहनु झैं नै हो । मानिस आफू जे चाहन्छ, त्यसैको नै ज्यादा चिन्तन गर्ने गर्दछ । अनि त्यही विषयतर्फ नै ऊ बढी आशक्त हुन जान्छ । मायाले व्याप्त यो जगतमा मानिसको गुणकर्मको आधारमा नै उसको विषयचिन्तनमा स्थिरता, अनि क्रमशः स्वभावगत संस्कारको निर्माण, इच्छा एवं कर्मको भोग हुने हो । ती सबमा परमात्मारुपी चेतनश्रोतको पनि सदा सहायता नै रहन्छ ।

अतः सतत आत्मचिन्तन गर्ने व्यक्तिले पनि त्यसको सकारात्मक परिणाम नै भोग्ने हो । त्यसैले त्यस्ता आत्मचिन्तकहरुले परमात्मतत्वसँगको साक्षात्कार पनि चाँडै नै प्राप्त गर्दछ ।

दुवै तर्कहरुले एउटै नै कुरा दर्शाउँछ । मानिसको आत्मोन्नति अनि मोक्ष उसकै हातमा छ । त्यसमा परमात्माको सहायता पनि उसकै गुण र कर्मको आधारमा नै मिल्ने हो ।

जगतको मायामा मोहित भएको अथवा त्रिगुणहरुको प्रभावमा नै वशीभूत भएको व्यक्तिले जन्मरहित अनि अविनाशी परमात्मतत्वलाई साक्षात देख्न अनि बुझ्न सक्दैन । किनभने आत्मसंयम, श्रवण, मनन, निदिध्यासन आदि प्रक्रिया पूरा नगरीकन परमात्माको अव्यय स्वरुप दृष्टिगोचर हुन सक्दैन ।

“नाहं प्रकाशः सर्वस्य योगमायासमावृतः ।
मूढोऽयं नाभिजानाति लोको मामजमव्ययम्” ।।भ.गी.७(२५)।।

अतः संसारको दुःख, अनि जन्ममरणको प्राकृतिक कालचक्रबाट मुक्ति पाउनका लागि पनि परमात्मतत्त्वसँगको साक्षात्कार अपरिहार्य नै हुन्छ । त्यसका लागि ब्रम्ह, अध्यात्म अनि कर्मलाई जानेर आत्मानुसन्धानमा लीन भएर नै चित्तशुद्धि एवं धयानको अभ्यास गर्नुपर्दछ ।

“जरामरणमोक्षाय मामाश्रित्य यतन्ति ये ।
ते ब्रह्म तद्विदुः कृत्स्नमध्यात्मं कर्म चाखिलम्” ।।भ.गी.७(२९)।।

अतः आत्मज्ञान शास्त्राध्ययनले मात्र हासिल गरिने विषय होइन । आत्मज्ञानको मूल लक्ष्य त्यो चेतनतत्त्व आत्माको प्रमुख अनि एकमेव श्रोत परमात्मतत्वको प्राप्ति नै हो । त्यसका लागि आफैले अनुभव एवं अनुशीलन गरेर नै हेर्न अथवा जान्न अत्वावश्यक नै हुन्छ । त्यसका लागि आत्मानुसन्धान कै कठिन पथमा लाग्नुपर्दछ । त्यसरी प्रयोग अनि स्वानुभव गर्ने मार्ग या पद्धति नै वास्तविक रुपमा आत्मज्ञानको विज्ञान हो । अनि त्यही नै परमात्मतत्त्व पाउने वास्तविक विधि हो ।

त्यसरी आत्मानुभव गर्नसक्ने व्यक्ति अथवा आफूलाई चिन्न सक्ने व्यक्तिलाई मानसिक विषादमा रहन नै पर्दैन नि । त्यसैले त श्रीकृष्णोपचारका रुपमा यो विधिको परिचर्चा भएको हो श्रीमद्भगवद्गीतामा । त्यही आफूलाई चिन्न सकेको अथवा परमात्मतत्त्वलाई हासिल गरेको अवस्था नै जरामरणबाट मुक्ति पाएको अवस्था होइन र ?