शिबु ढकाल

सहरको एउटा कोल्टापट्टि साखा सडक सकिएको भान हुने ठाउँमा सहरको पुरानो स्वरूपको स्मरण गराउने ८०-८५ डिग्रीमा ढल्केको बूढो वरको रूख ।

त्यसैको फेदमा बेरिएको चौतारी, जहाँ प्रायः लाहुरेहरू युद्धगाथा गाउँछन्, आज प्रहरीको घेराबन्दीमा परेको छ । प्रहरीले ती आरोपितलाई पक्राउ गर्नुअघि तिनीहरूको कुरा सुनेको सुराकीले पछि एकत्रित भएको भीडलाई सुनाउँदै –

कवि : जिन्दगीमा म कवि बन्न सकिनँ ।

 श्रीमतीको अनुसार मैले आफ्नै बारेमा मात्रै लेख्छु, मेरो कुनै मौलिक सिर्जनात्मक क्षमता छैन । उनलाई मेरो लेखनसित गुनासो छ ।

फुलनदास : मेरो काम हो फूलको सुन्दरतालाई आँखासम्म पुर्‍याउने, बास्नालाई नाकसम्म पुर्‍याउने । अचेल कोरोनाको कारणले फूलमा भमरा बस्नै छोडे, अनि भएन त व्यवसा चौपट ।

युनिभर्सिटी : मान्छेले मलाई युनिभर्सिटी भन्नुको कारण हो युनिभर्सिटीमा पेन्डिङ रहेका प्रमाणपत्रभन्दा धेरै मेरो पसलमा हुनु । एक बाकस त डिग्रीका मात्रै ट्रान्सक्रिप्ट छन् ; मगाउँछन् तर कोही लिन आउँदैनन् । त्यसैले, कोरोनाकालभन्दा पहिला नै, व्यापार डुब्यो ।

साइबर साइँलो : साइबर क्याफे खचाखच हुन्थ्यो । पिसिओ पनि त्यस्तै चल्थ्यो । एसटिडी/आइएसडी सबै बबाल थियो । सबै खतम भयो तर कोरोनालाई केही भन्नु छैन ।

पासपोर्ट : मेरो काम युवाहरूलाई पासपोर्टमा भिसा दिलाउने थियो । धेरैको जिन्दगी बनाइदिएँ । रोगी, जोगी, भोगी सबैलाई उडाइदिएँ तर कोरोनाले धन्दा बर्बाद गर्‍यो ।

फोटो कान्छो : यो सहरको पहिलो फोटो स्टुडियो थियो मेरो । औँला दुख्थ्यो क्यामेरा चलाउँदाचलाउँदै । सिडी पनि बेच्थेँ । मलाई त मोबाइलले मार्‍यो ।

(सुराकी: ती छ जना, जसको व्यापार व्यवसाय बन्द भयो, कुनै नयाँ व्यवसाय सुरु गर्ने योजनामा आपसमा छलफल गर्न भेला हुँदा पक्राउ परे । तिनीहरूमाथि के आरोप, उजुरी, जाहेरी थियो, सुन्नुस् प्रहरी इन्चार्जबाट ।)

प्रहरी इन्चार्ज : पासपोर्ट, तिमीमाथि मानव बेचबिखनको आरोप छ ।

 युनिभर्सिटीमाथि फर्जी प्रमाणपत्र बनाएर बेचेको उजुरी छ ।

 साइबर साइँलालाई चाहिँ साइबर अपराध अन्तर्गतको मुद्दा छ । फुलनदासलाई यौन व्यवसाय सञ्चालन गरेको उजुरी छ । फोटो कान्छालाई पाइरेसीको मुद्दा छ अनि कविलाई श्रीमतीको हत्या गरेको किटानी जाहेरी छ ।

पोखरा नेपाल