गुरु

हरिप्रसाद गौतम

छन्द : अनुष्टुप

हरिप्रसाद गौतम

तारेर माझिले डुङ्गा पुग्दछ तटमा जब
रोकिन्न कर्मको क्रम भेटिन्छ वटुवा नव
रीति यै नीतिमा चल्छ डुङ्गामै माझीको जुनी
जस्तो हो माझिको डुङ्गा उस्तै हुन् ती गुरु पनि।

जल्दछ जसरी दीप पार्दछ गृह झल्मल
उस्तै हुन् धप्धपी बल्ने ज्ञानी ती गुरु हरपल
के हुन्थ्यो दिनुमा रित्तो ज्ञान हो बढ्छ नै झन
गुरुकै साथले हट्छ अज्ञान रुपी बन्धन ।

गुरु हुन् पथका मित्र गुरु हुन् कर्मका मति
गुरु हुन् गृहका लक्ष्मी गुरु हुन् सर्व सम्पत्ति
गुरु हुन् ज्ञानका खानी गुरु हुन् मार्गका रथ
गुरु हुन् जति जे कष्ट पर्दाका मार्गदर्शक ।

जुनी यो बैगुनी बन्छ नहुँदा साथमा गुरु
सामिप्यता मिले साँच्चै हुन्छ त्यो सुध्रिन सुरु
सानै होस्, या कुनै यस्तै सामान्य कर्ममा पनि
मिल्दछ गुरुको मार्ग जान्छ त्यो सफलै बनी ।

सन्तोषी गुरुले ज्ञान बाँड्दा बाँड्दै अघाउँछन्
अशिक्षा त्यो भगाएर सत्य ज्ञान जगाउँछन्
यो धर्तीमा अरू छैनन् यति राम्रो उदाहरण
भित्र हिरारुपी ज्ञान बाहिर ती साधारण ।

पेसामा स्वार्थ नै छैन ज्ञानदान निरन्तर
गर्नेमा गुरु नै हुन्छन् सबैलाई बराबर
न भेद रङ्गको गर्छन्, न भेद जातिको पर
यत्तिको निर्मल: आत्मा धर्तीमा कसको छ र !

फालेर मनको मैलो बालेर ज्ञानको दीप
बनेर तनले मित्र सिकाई अनेकौँ सीप
यस्ता यी सर्वदा पूज्य सर्वज्ञानी गुरु जति
विश्वमै उच्च छन् हाम्राअमूल्य गुरु-सम्पत्ति ।

 

गरिबी

डिल्लीराज भुसाल

छन्द:अनुष्टुप
विश्राम :आठ अक्षरमा

खाना नाना जाेर्न गाराे बन्छ मन पिर दुःखी
जल्छ मन क्या है साराे हेप्दा भन्नेहरू सुखी ।

हुन्छ तनाव बेस्सरी कसरी गुजर्ने दिनै
गरे पनि परिश्रमै सकिन्न आनन्द लिनै।

कथा व्यथा सुन्ने काेही छैन बरै गरिबकाे
गर्छ व्यवहार मानी हैन छाेराे सजिबकाे।

हेला गर्छन् धनीमानी पशु जस्तै गरि बरै
गर्नुपर्छ कष्ट कार्य बस्नु छैन तिमी घरै।

गरिबका पसिनाकाे मूल्य पनि छैन कत्ति
मन किन छैन ठूलाे भएपनि धन जत्ति।

बनेकाे कस्ताे निष्ठुरी सर्प जसाे गरि डस्ने
अन्याय शाेषण भाेगी यसरी नै कति बस्ने।

साथी मित्र नाता गाेता छाडे नि हेर्न मुखमा
विचरा ति गरिबीकाे काेहि नहुने दुःखमा।

के गराै ! कसाे गराै न पर्छन् सधै अलिमलै
पर्छ तर मन थाम्न जस्ताे भए पनि भलै।

किन देव विभेद गर्छाै गरिब दुःखी दिनलाई
मनमा नै दुःख पाली राजी छ कष्ट लिनलाई।

अन्याय र असमानता अन्त्य गर्ने सबै मिली
आँसुकाे मूल्य दःखीकाे सकिदिन्छाै किन निली।
१०

मेरो गाउँ टिकाजा

शिबु ढकाल

छन्दः शार्दुलविक्रीडित
गणः म स ज स त त गुरु
विश्रामः छ र बाह्र अक्षरमा

वस्तीको नमुना भनेर चिनिने मेरो “टिकाजा” घर
पुर्खाको पुरुषार्थले यश दिने अर्को कुरा के छ र
पूर्वैमा छ खडा पहाड जसको छाँया छ बेँसी महाँ
पूर्वैको तगडा पहाड जसमा आँखा छरिन्छन् यहाँ ।

हेर्छन् माथि उचाइमा जब बसी ती खर्सुका टाकुरा
फुल्छन् हर्षित बारबार रहँदै ती फाँटका आँकुरा ।
थोरै पर्तिरको समागम बन्यो आँधी र सेती मिली
यो दोभान जहाँ युवा दिन बिते सम्झेर आऊ फिरी

हाँसेको पुतलीबजार लयले प्यारो छ यो पालिका
आशिर्वाद कृपा सधैं छ जसको चण्डी महाकालिका
हाँस्छन् रोज बिहान ती रवि जहाँ मेरो ठुली खोरिया
खेल्छन् साँझ चरी रमेर रसले त्यो माथि थुम्का महाँ ।

बग्दै आउँछ आदिकालसँगमा यो आँधिखोला यहाँ
डुल्दै ल्याउँछ कोसकोस परको ढुङ्गा र माटो जहाँ
यो खोला छ प्रतीक एक समता पुर्खाहरूको ऋण
यै खोला छ कटाउने श्रम गरी मारेर माछा दिन ।

धर्तीका सिउने दरार जलले ढुङ्गा र माटो गरी
ऊर्जाका पिउने विकार बलले ऊर्जा सबैमा भरी
साङ्खोला पनि उर्लिएर कहिले देखाउँदै ताण्डव
सानो हो तर शक्तिमान गतिले सोहोर्छ बाली सब ।

खर्काको स्कुल हो नि केन्द्र सबको जो ज्ञान विज्ञानको
मेटिन्छन् सबका तुषार–कुहिरो कालो र अज्ञानको
आस्थाको बलियो धरोहर छ यो शङ्कर्जिको मन्दिर
यै आस्था जनको विरासत बनी फैलिन्छ चारैतिर ।

हेर्दैमा मन लोभिने महकिला बारी र टारीहरू
बस्दैमा पल शान्तिले चहकिने हाम्रा छहारीहरू
पानी आउँछ मूलको अति मिठो दूधै पिएझैँ हुने
हावा आउँछ पूर्वको अति चिसो पङ्खा लिएझैँ हुने ।

पाखामा लटरम्म शीत ऋतुमा फल्छन् यहाँ सुन्तला
भाकामा झलमल्ल प्रस्फुटनमा बल्छन् यहाँका कला ।
छन् पीडा जनका अनेक यसमा आयाम आकारका
छन् उल्लास उमङ्ग विश्वभरिका छन् पीर संसारका ।

जस्तो चोट हवस् सदा हृदयमा यै गाउँमा मर्दछ
जस्तो खोट हवस् प्रकोप जनमा यै गाउँले हर्दछ
पुर्खाको श्रमले उचाइ चुलियो यो गाउँ नामी भयो
आर्जेको सिपले मुहार कुँदियो यो गाउँ दामी भयो ।

मेधावी अनि राष्ट्रभक्त चतुरा हुन् ती यसै ठाउँका
ओहोदा सरकारका शिखरमा छन् ती यसै गाउँका
यो माटो खनजोत स्पर्श नगरी जाऊँ म अन्तै कता
रोजूँ त्यो परदेश आज कसरी मारेर आशा यता ।