नेपाली वैज्ञानिक विज्ञान बहादुरले वर्षौं बिताएर विज्ञानको आधुनिकतम, चामत्कारिक आविष्कार गरे- “विचारसूचक यन्त्र” ।

त्यस यन्त्रले मस्तिष्कका न्युरोनहरूद्वारा सञ्चारित विद्युतीय तरङ्गहरूलाई रिडिङ, कोडिङ र डिकोडिङ गरी व्यक्तिले सोचेको कुरालाई भाषामा रुपान्तरण गर्न सक्थ्यो । उनको यन्त्रले विभिन्न चरणका परीक्षणहरू पार गरी अन्तर्राष्ट्रियस्तरको अन्तिम परीक्षणको अवसर पाएको थियो । उनको भाग्य बदलिँदो थियो ।

“मेरो जीवनको सबैभन्दा अनमोल मान्छे, मेरो सर्वस्व । मेरी श्रीमती । किन म उसको विचार नजानूँ ।” उनले सोचे । उनले श्रीमतीको टाउकोमा उक्त यन्त्र जडान गरे र रातभर रहन दिए ।

भोलिपल्ट यन्त्रले अभिलेखीकरण गरेका लाखौं विचार तरङ्गमध्य भाइटलस् सेलेक्सनका तरङ्गलाई डिकोडिङ गरी हेर्दा यन्त्रले बतायो – “यो मान्छेसित बिवाह हुनु नै मेरो दुर्भाग्य । यसले मलाई कहिल्यै माया गरेन । मेरो भविष्य बर्बाद गर्‍यो । यो छिट्टै मरे हुन्थ्यो ! म नै मारिदिन्छु मौका पाउँदा..!”

विज्ञानले अगाडि पढेनन् ।

उनले छाँगाबाट खसेको जस्तो महसुस गरे ।

“जसलाई सर्वस्व ठानेको उसैले …? हुन त मस्तिष्कले वातावरणलाई प्रतिक्रिया दिन्छ जसको फलस्वरूप विचार तरङ्गहरू उत्पन्न हुन्छन् । दोषी म नै हुँला ।”

उनलाई ठूलो आघात पर्यो । धेरै बिरामी परे । क्लिनिकल रिपोर्टले उनका दुबै मृगौलाले काम गर्न छोडेको देखायो ।

“यति नै रहेछ मेरो मानो । हेमोडायलोसिसले कति दिन बचाउला र !” उनले लाचार स्वरमा श्रीमतीलाई भने ।

“पीर नगर्नुहोस् । म छु नि हजुरकी अर्धाङ्गिनी । मेरो एउटा मृगौला दिएर बचाउँछ ।”

अवाक विज्ञानका आँखा रसाए ।

भोलिपल्टै अन्तर्राष्ट्रिय परीक्षणका लागि उनको यन्त्रको विवरण मागियो ।

जवाफमा उनले भने, “माफ गर्नुस् , दुर्भाग्यवश यन्त्रको ब्लु प्रिन्ट नै नष्ट भयो !”