कोचाकोच
“अङ्कल अझ भित्र गइदिनुहोस् त सबै जानु पर्छ ।” माइक्रो बसको हेल्परले भन्यो ।
“ ठाउँ नै छैन कता भित्र जाने ? ” मैले भनेँ ।
झ्यालबाट टाउको छिराएर उसले भन्यो “आमा आमा कति धेरै ठाउँ रहेछ । अलि सर्नुहोस् न । मिलेर जाने हो सबै । ल त्यहाँ तीन, तीन जना बस्नुहोस् त । ”
उसले दुई जना मात्र अटाउने सिटहरू तर्फ देखायो र बाहिर गएर अन्य यात्रु बोलाउन थाल्यो “ल ल सिट खाली छ आउनुहोस् अब हिँडिहाल्छ ।”
मलाइ रिस उठ्यो । “अरे भाइ कति कोचेको हो । कहाँ अब हाम्रो टाउको राख्ने हो ? ” मैले भनेँ ।
ऊ आएर भन्यो “ एउटै हेलिकप्टरमा कति धेरै भू पू र वर्तमान प्रधानमन्त्री र नेताहरू कोचिएर चुनाव प्रचारमा गएका देख्नुभएन । हामी त जनता हेलिकप्टर नपाए पनि माइक्रो बसमा कोच्चियौँ न । ल मिलेर जाऔँ । ”
मेरो पनि रिस हरायो र मैले भनेँ “ ल ल धेरै समाचार हेर्दा रहेछौ । ”
० ० ०
चर्को हर्न
“आहा ! छतमा बसेर चिया पिउँदा रमाइलो हुने रहेछ । ” गोपालले भन्यो ।
“धन्न माथिको कोठा भाडामा बस्न पाइएको छ र छतमा निस्कन पाइयो । काठमाडौँमा भाडामा बस्ने मान्छे छतमा जान पाउनु ठुलो भाग्य हो ।” मैले भनेँ ।
गोपाल र म सानैबाट सँगै पढेर हुर्केका हौँ । ऊ घर नजिकैको विद्यालयमा पढाएर जिल्लातिर नै भुल्यो । म अझै सानो नोकरी गर्दै राजधानीमा सस्तो डेरा खोज्दै भौँतारिएको छु ।
बाटो परको भव्य महल देखाउँदै उसले सोध्यो, “अन्तैबाट आएका हुन् कि स्थानीयको हो त्यो घर ?”
“यो क्षेत्र सबै नयाँ विकास भएको बस्ती हो । पुराना र स्थानीय त छैनन् ।” मैले भनेँ ।
“घर त भव्य छ त ” उसले भन्यो ।
“तिमीले पनि चिन्न सक्छौ । सम्झ त एक पटक तिम्रो बुवाले इन्डियाबाट छुट्टीमा आउँदा ल्याइदिएको तिम्रो जुत्ता खोसेर लगेको अनि तिम्रो र मेरो खाजा खाने पैसा मिसाएर पायल चप्पल लगाएर घर फर्केको घटना ।” मैले विगत सम्झाएँ ।
“हो त हामी महोत्सव जाने छोटो बाटो हिँड्न खोज्दा देउरालीमा है । जुत्ताको पिर र बुबाको गाली दुवै सम्झन्छु यार ।” उसले भन्यो ।
“त्यही मान्छे हो ।” मैले भनेँ ।
“गाउँमा भस्मे डन ’ कता गयो भनेको त यस्तो भएछ । के काम गर्छ आजभोलि ? ” उसले सोध्यो ।
“काम के गर्छ थाहा भएन । मन्त्रीदेखि ठेकदारसम्म सबैलाई चाहिने मान्छे हो रे । यहाँको टोल विकास समितिको अध्यक्ष समेत रहेछ अहिले त ।” मेरा घरबेटीबाट पाएको जानकारी उसलाई बताएँ ।
एउटा सानदार कार आएको देखियो । कार भव्य घरको गेटमा रोकियो र टोल नै थर्काउने गरेर हर्न लगायो ।
“मान्छे त अझै असभ्य नै रहेछ भस्मे ।” गोपालले भन्यो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ मंसिर २०८२, मंगलवार 







