आमाले भनिन् -“आज यतै बस् ”

बाले भने -“तँलाई मै पुर्‍याइदिउँला, खाना खाएर जा ।”

उसले आमालाई मानिन, बालाई पनि टेरिन । भनी – “पछि आउँला बस्ने गरेर । अहिलेलाई गएँ , सासू बिरामी छिन् ।”

ऊ माइतबाट निस्कि ई र बाटोमा पर्ने औषधि पसलमा छिरी । नानाथरिका औषधि किनी – झोल, ट्याब्लेट, क्याप्सुल ।र घरतिर लागी ।

बाटोमा पुरानो सिक्का भेटियो , टपक्क टिपी र ओल्टाइपल्टाइ हेरी । एकातिर गाई थियो अर्कोतिर त्रिशुल । फु गरेर धुलो झारी, खुरुक्क ब्यागमा हाली र मुस्काई – पैसा भनेको पैसा… त्यो पनि पुरानो । अब कहाँ पाउनु …।”

औषधि सकिँदै गयो, तर सासूको खोकी जस्ताकोतस्तै, ज्वरो उस्ताकोउस्तै । डाक्टरले औषधि बदली दियो, फेरि पनि…

सुमन सौरभ

उहुँ..।

एकदिन खबर पाई माइतबाट- “आमालाई ज्वरो आयो, बालाई पनि सन्चो छैन ।”

उसले लोग्नेलाई सुनाई – “हेर्ने मान्छे छैन, म दुईचार दिन बिरामी हेर्न जान्छु ।”

लोग्नेले तर्कशाली कुरो गर्‍यो – “तिमी उता गए यहाँ आमालाई कसले हेर्ने ?”

“तिमी छौ नि ।”

“म त अफिस जान्छु नि ।”

“म पनि त अफिस बिदा लिएरै बसेकी ”

“ठीक छ, यता आमालाई अलि निको भएपछि जाउ, अहिले नजाउ ।”

लोग्नेसँगको आसय विनिमयमा ऊ आफैँलाई ज्वरो आउलाजस्तो भयो । उसले ब्याग ल्याई र नआएको ज्वरोको औषधि निकालिन्, बरू अस्ति बाटोमा भेटिएको सिक्का निकाली र मुठ्ठीमा बन्द गरेर लोग्नेलाई सोधी – “ल भन, गाई कि त्रिशूल ? ”

“हुँ ? किन गाई कि त्रिशुल ?”

“यता पनि बिरामी, उता पनि बिरामी । तिम्रो आमालाई तिमीले हेर्ने कि मैले हेर्ने ? मेरो आमालाई मैले हेर्ने कि तिमीले हेर्ने ? कि आ-आफ्नोलाई आफैँले हेर्नुपर्‍यो, कि एकले अर्कोकोलाई हेर्नुपर्‍यो ? छिटो भन, गाई कि त्रिशूल ?”

सिक्का आफैँ फुत्त भुइँमा खस्यो र खुरुरुरु गुडेर पुर्लुक्क पल्टियो ।

गाई पल्टियो कि त्रिशूल दुबैले देखेनन् । अब जे हुनेवाला थियो सिक्कालाई मात्रै थाहा थियो ।