छन्द: अनुष्टुप्

फाटेको ओठमा मैले, मुस्कान भर्न पाइनँ
तिम्रा लागि कुनै आमा, पौरख गर्न पाइनँ
गरेँ गर्न त औधी नै, परिश्रम स्वदेशमा
जान पाइनँ पारीको, झिलिमिली विदेशमा

लुटियो श्रमको मूल्य, चुसियो पसिना पनि
बित्यो पूरै जवानी यो, भत्कियो सपना अनि
बाँकी थिए खुसी धेरै, किन्ने धन कमाइनँ
आँशू धेरै पिएँ आमा, कुनै दिन रमाइनँ

धेरै खुसी दिने आशा, मरिगयो त्यसै–त्यसै
राम्रो भविष्यको फूल, झरिगयो त्यसै–त्यसै
पुगेन खान मज्जाले, दश नङ्ग्री खियाउँदा
सधैं रित्तो हुँदै आएँ, साहुलाई रिझाउँदा

सबै कर्म गरेकै हो, मात्र विदेश धाइनँ
पाटी झण्डा नबोकेर, लाभको पद पाइनँ
जता गयो उतै पाएँ, मोटाएका महाजन
साहु नै साहुका माझ, बाँच्ने हो कसरी भन

जान्न खोजिनँ चातुर्य, जालझेल ठगी कला
सोझो बाटो हिँडेँ आगे, सम्झेर दुनियाँ भला
पाइला पाइलामा छन्, सामन्ती टुकुडीहरू
चिसा, भोका र रित्ता छन्, दीनका झुपुडीहरू

कोही गए नदीपारि, कोही पुगे अमेरिका
कोही जापानमा दौडे, कोही कुदे मलेसिया
विदेशमा गएको भा, केही धन हुने थियो
थोरै धन जुटेको भा, हल्का मन हुने थियो

नगरेको कहाँ हो र, धेरै दुख गरेँ यहाँ
चारैतिर अँध्यारो छ, भुमरीमा परेँ यहाँ
अब जान्न नि आमा म, काख छोडी कतै पनि
बरु कुर्छु महाकाल, कहिले मरुँला भनी ।