शिबु ढकाल

न ता खोल्यौ ढोका न त पर कतै दौडिन दियौ
थुन्यौ कोठाभित्रै न त तटिनिमा पौडिन दियौ ।

गर्‍यौ बन्दाबन्दी अटल खतरा घोषित गर्‍यौ
निषेधाज्ञा जारी गरिकन यि मस्ती सब हर्‍यौ ।

दिएनौ मस्तीमा मनभरि कुनै मोद रहन
कुनै जुक्ती छैनन् न छ स्वजन यो पीर कहन ।

यि सारा खेलौना लिइकन कता जाउँ नभमा
बनाई बन्दीझैँ नगर छल बिन्ती छ सबमा ।

यही ढोकालाई कुन तवरले तोड्नु छ भनी
हजारौं किल्लीले सकभर गरेँ कोसिस पनि ।

कसोरी हेरूँ खै टुलुटुलु अत्याचार गरिँदा
हजारौं काँडाले तनमन सबै डम्म भरिँदा ।

बसेका छन् हाँसी सबजन रमाई घरभरि
डसेका छन् हामी ललित मनलाई घरिघरि।

पर्‍यो सास्ती ठूलो रहर मनमा छाइरहँदा
अभीलाषा बड्छन् झनझन किरी गाइरहँदा ।

न ता देखेँ मैले गगनचर रित्तो गगनमा
न ता खेलेँ मैले युगयुग भकुण्डो जमिनमा ।

कमी छैनन् केही चिजबिज सबैछन् तर यहाँ
निसासी ज्याद्रो भो अब त सब निस्कौँ सडकमा ।

टिभी ट्याब्लेटादी अतिशय म हेरूँं अझ कति
झरेका छन् जम्मै नयन अश्रुधारा छन जति ।

गुनासा धेरै छन् मतलब गरेनौ विकृतिको
जमाना हाम्रै छन् मनन गर गाम्भीर्य स्थितिको ।

म सानो घेरामा बचपन बिताऊँ नि कसरी
उडी डाँडा काटूँ गगनचरको पङ्ख जसरी ।

मलाई बन्दीमा कुटपिट गरी सास्ति नगर
बनेका मायाले कुशल यि सदाचार नहर ।

बितण्डा मच्चायो जगतभरिनै कीट क्रुरले ।
बुझेँ यो निर्मोही नियति अझ बड्दो छ बलले ।

पोखरा