“हेलो…।”
“दर्शन बुबा ! म माइकल अमेरिकाबाट ।”
“आशीर्वाद छ, बाबु । सन्चै छौ तिमीहरू त्यहाँ ? मेरो बुलेट नातिले के गर्दैछ ?”
“हामी सबै आराम छौँ । बुलेटले धेरै मिस् गर्छ तपाईंलाई । बुहारी सुजीले पनि मिस् गर्छे । आमासित भोलि भिडियो कलमा कुरा गर्छु है !”
“हुन्छ बाबु ।”
“बुबा सुन्नुस् न, अब पोखरामा एउटा घर बनाउन पर्यो । जापानमा बस्ने माइलो ज्याक्सन र अस्ट्रेलियामा बस्ने कान्छो साइमनसित पनि सल्लाह भइसक्यो । मेरो चिनजानको राम्रो इन्जिनियर नेपालमा छ । म ऊसित डिजाइनको बारेमा कुरा गर्छु । तपाईंले अरु टेन्सन लिन पर्दैन, राम्रोसित रेखदेख गर्नुहोला ।”
नयाँ घर निर्माण गर्ने बारेमा जेठो छोरासित एकछिन कुरा गरेर तेज बाजे तालु मुसार्दै चर्पीतिर लागे ।
शुभ दिन निकालेर योजना अनुसारको घरको जग खनियो । नेपालकै अब्बल इन्जिनियरले घरको सानदार डिजाइन गर्यो । नामुद ठेकेदारले काम सुरु गर्यो । नेपालकै उत्कृष्ट र कुनै आयातित महँगा निर्माण सामग्री प्रयोग गरियो ।
तेज बाजेले आफ्नो भूमिका राम्रोसित निभाउँदै गए । उनले अलिक पर एउटा सानो कटेज बनाउन लगाए र त्यसैमा बसी निगरानी गरिरहे । घर बन्दै जाँदा झन्झन् सुन्दर देखिदै गयो ।
“बाहिर मात्रै नबस्नुस् । चिसो लाग्ला !” श्रीमतीको कुरालाई पटक्कै वास्ता गरेनन् बाजेले । घरको काम जति फिनिसिङ हुँदै गयो त्यसको सुन्दरता भित्रबाट भन्दा बाहिरबाट धेरै देखिदै गयो । गर्दागर्दै तेज बाजेले खाना पनि बाहिरै खान थाले । सुत्न पनि कटेजमै सुरु गरे हेमन्तको ठिहिरोको बाबजूद ।
घर तयार भयो । पाँच करोड लागतको आलिसान महल । नाम राखियो, “ह्याप्पी होम”।
“बाबु, घर कम्प्लिट भयो तर मलाई बेस्सरी चिसो घुस्यो,” तेजको अन्तिम वाक्य बन्यो यो।
“बुढेसकालको शरीर, त्यसमाथि निमोनियाले गालिसकेछ, सरी ।” डाक्टरको कैफियतले सबैलाई स्तब्ध तुल्यायो।
पोखरा, नेपाल
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।