छन्द: मन्दाक्रान्ता

हावा लाग्यो सिरसिर गरी घाम लाग्यो विशाल
आयो ताजा जनलहरमा चेतनाको मशाल ।
ज्वाला बन्छन् धिपधिप दिया चेतनामा बलेर
उर्लन्छन् यी सरल जनता ज्वारभाटा बनेर ।

ब्वाँसा जम्मै सहरतिरका टोल गल्ली कुनामा
भाग्दै छन् यी थरथर गरी बालुवा बालुवामा ।
आधी राते कपट यिनका सन्धि यी राष्ट्रघाती
झम्टी झम्टी झमटिन गए रोप्न भाला तिखा ती ।

गर्छौं हामी मलजल निकै फूल-बुट्टाहरूमा
साङ्लो बाँध्ने अब समय भो चोर खुट्टाहरूमा ।
लाटा छैनन् जनजन यहाँ चिन्दछन् को छ कस्तो
बुझ्छन् मान्छे सहजसित नै देशद्रोही त को हो ।

बोली त्यस्तै सुरसुर बिना स्याल हो या गधाको
बेहोशी झैँ बकबक गरी काम टार्ने सदाको ।
फुस्क्यो धोती तलतल गयो नाङ्गिएका सदा छौ
तान्यो पर्दा समय गतिले हेर आफू कता छौ !

खाता जो छन् उपर निचका हुन्छ पूरा हिसाब
लेखाजोखा नियमित हुँदा पाउने छौँ निसाप ।
फुट्लान् घैंटा सडकबिचमा पाप नै कुर्लिएर
बग्लान् खोला घर-घरमहाँ आउलान् उर्लिएर ।

आस्थालाई किटकिट गरी दाँतले थिल्थिलेर
मिल्क्याएझैँ नजिक वनमा संहिता छैन हेर ।
घोडालाई पनि नियमले छेक्छ मैदानभित्र
जित्नै पर्ने हर तरहले दम्भ कस्तो विचित्र ।

जैले जैले अतिशय भई कृष्णले धूप बाल्छन्
त्यो बेलामा पशुपति स्वयं सुत्न कैलास जान्छन् ।
छैनन् कोही प्रलय पलमा बाणका तीर रोक्ने
हुन्नन् कोही त्यस बखतमा काँध थापेर बोक्ने ।