
लघुकथा: दुर्व्यवहार
भदौरे झरी सुरु भएयता के. डी. सर ढिलोढिलै क्याम्पस पुग्न थालेका थिए । उनले कारको गियर जति पटक बदल्थे, त्यति नै पटक ब्रेक थिच्न मन लाग्थ्यो । झट्ट कार रोकेर ती भिज्दै हिँडेकी महिलालाई लिफ्ट दिन मन लाग्थ्यो, तर त्यसरी अपरिचित महिलालाई कसरी “महोदया, आउनुहोस् मेरो कारमा बस्नुहोस्” भन्ने ? प्रश्न ठुलो थियो ।
पहिलो दिन उनी रुझ्दै हिँडिरहेकी थिइन् । दोस्रो दिन पनि उनी त्यही सुनसान गल्लीमा त्यसरी नै एउटै समयमा छातामुनि भिज्दै हिँडिरहेकी थिइन् । छाताले त मानौँ उनको टाउकोमात्रै ओतेको थियो । झरीले धरतीलाई पगाल्दै थियो । के. डी. सरको मनमा पहिरो जाँदै थियो ।

शिबु ढकाल
उनले सोचे “आज त लिफ्ट दिन्छु, दिन्छु । यस सहरमा सरिफ मान्छेहरू पनि छन् भन्ने कुरा कमसे कम ती महिलाले त बुझून् । …तर हैन । लिफ्ट दिने मलाई कुनै अधिकार नै छैन ।” त्यस रात देशको मध्य भूखण्डमा ठुलो पहिरो गयो ।
तेस्रो दिन पनि ती महिला त्यही सुनसान गल्लीमा त्यसरी नै एउटै समयमा छातामुनि भिज्दै हिँडिरहेकी थिइन् । सडक खहरेजस्तै भएको थियो । उनलाई ज्यादै कष्ट भइरहेको देखिन्थ्यो ।
के. डी. सरले हिम्मत जुटाएर कार झ्याप्प रोके र मानवीय सहयोगस्वरूप कारको ढोका खोल्दै भने, “म्याडम, पानी ठुलो पर्दै छ, बाटोभरि भल छ, आउनुस् म लिफ्ट दिन्छु ।”
“पर्दैन लिफ्ट, जानुस्” जवाफ आयो ।
झरी एक हप्तासम्म थामिएन । ती महिला सधैँ भिज्दै हिँडिन् । के. डी. सरले प्रत्येक दिन कार रोकेर लिफ्ट दिने कुरा दोहोर्याए तर ती महिला कहिल्यै कारमा बसिनन् ।
आठौँ दिनमा झरी रोकियो । के. डी. सरले ती महिलालाई सधैँझैँ बाटामा देखे । त्यस दिन ती महिलाले आफैँ कार रोक्न इसारा गरिन् । कार रोकिनासाथ प्रहरीले के. डी. सरलाई महिलामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ गर्यो ।
===========
लघुकथा: पढाइ
“हजुर आज अफिस जानुहुन्न ?” सारिकाले भनी ।
“आज दिनभरि छोरीलाई पढाएर बस्छु । भोलिदेखि उसको परीक्षा छ नि त ।” सिजनले भन्यो ।
“छोरीलाई त मैले नै गाइड गरिराखेकी छु त । फेरि हजुर पनि अफिसै नगएर बस्नुपर्छ त ? बस्ने नै हो भने छोरालाई गाइड गर्नुस् न ।” सारिकाको प्रश्न र आग्रह ।
“तिमीलाई थाहा नै छ छोरी सधैँ कक्षामा प्रथम हुँदै आएकी छे । त्यसले गर्दा हाम्रो वर्षमा एक लाख जति फी बचेको छ । अनि, छोरा त यसै पनि पास हुँदै आएको छ । त्यसलाई जति पढाए पनि प्रथम हुने होइन । त्यसैले हामीले जति सक्दो छोरीलाई नै पेल्नुपर्छ ।” सिजनको धारणा ।
बाआमा दुवै मिलेर आलोपालो छोरीलाई पढाए । पढाउने क्रममा सिजनले छोरीलाई भन्यो, “हेर छोरी, तिमी मामु र बाबाकी ज्ञानी गुडिया हौ । तिमी सधैँ फस्ट हुन पर्छ । परीक्षा सकिएपछि बार्बीको सेट किनिदिन्छु । पोखरा घुम्न लान्छु । क्याडबरी र आइस क्रीम खान दिन्छु … ।”
छोरीले निकै मन लगाएर पढी । पढ्दापढ्दै मुख दुख्यो । लेख्दालेख्दै हात दुख्यो । घोकाउने र रटाउने काम भइरह्यो ।
दुईओटा परीक्षा दिएपछि छोरी बिरामी परी र बाँकी परीक्षा दिन सकिन । पुनः परीक्षाको अनुमति विद्यालयले दिएन । यसपटक परीक्षाफल प्रकाशित गर्ने दिन सिजन विद्यालय गएन ।
त्यसको भोलिपल्ट विद्यालयबाट फोन आयो – “सिजनजी, तपाईँ छोराको रिजल्ट लिन किन आउनुभएन ? यस परीक्षामा बाबु फेल भएका छन् । एकचोटि स्कुलमा आउनुस् । बाबुको पढाइका बारेमा तपाईँसँग केही सल्लाह गर्नु छ ।”
“हस् सर । म भोलि नै आउँछु ।” यति भनेर सिजनले फोन राख्यो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










