(१)

शिबु ढकाल
उम्किए ब्वाँसा एकदोटा झिँगा मारेर के गर्छौ
सक्दैनौ गर्न आजको काम टारेर के गर्छौ
घट्दैछ तिम्रो बोलीको मूल्य, बिक्दैन क्यै गरी
निर्लज्ज भयौ, आकाशका तारा झारेर के गर्छौ ?
(२)
अनायासै जीवन यात्रा मोडिन्छ भने
सहयात्रीबीच बाटोमै छोडिन्छ भने
किन खानु झुटा कसम साक्षी राखी राखी
पलभरमै वाचा बन्धन तोडिन्छ भने ।
(३)
ढल्कियो उमेर बदलियो मन रहेन जवानी
चाउरियो मुहार थलियो तन रहेन जवानी
दिएकै थिएँ साथ मैले तिम्रो सारथि बनेर
सक्दिनँ उठ्न के गरूँ भन रहेन जवानी ।
(४)
जति कोसिस गरे पनि तिम्रो मन धुन सकिनँ
ज्यानै सुम्पिए पनि तिम्रो आफ्नो हुन सकिनँ
एकान्तमै बगाउँछु भो यी अश्रुधारा
पोखेर आफैँलाई तिमीसामु रुन सकिनँ ।
(५)
हिँड सानू आज तिमीलाई डुलाउन लान्छु
मनका सारा पीर चिन्ता भुलाउन लान्छु
धेरै भयो व्यस्तताले तिमीलाई नहेरेको
दुई मुटुलाई एउटै झुला झुलाउन लान्छु।
पोखरा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 








