(१)
विकासका अनेक मानचित्र रेखा कोरेर के भयो
“समृद्ध नेपाल, सुखी नेपाली” सोचेर के भयो
सदियौँसम्म उत्पीडन सही आएकै थियौँ नि —
प्रवृत्ति उही, नवीन पात्र रोजेर के भयो ।
(२)
सार्है माया लाग्यो तिम्रो, कुम जोड्न आएँ
अविश्वासका पर्खालहरू, सबै तोड्न आएँ
तिमीले मलाई मुटुमा बास नदिएपछि
हेर्दै जाऊँ अब त म भण्डा फोड्न आएँ।
(३)
नाघेर त्यो अग्लो पर्खाल तिमीलाई भेट्न आएँ
किन भयो उथलपुथल उत्सुकता मेट्न आएँ
जेजे सक्छौ भरिदेऊ मेरो झोलीमा आज
साँच्चै भनौं भने ठूल्दाइ स्वाभिमान रेट्न आएँ
(४)
मरून् दुनियाँ भोकले तर उसकै पेट भर्नु पर्ने
रोजून् जुनसुकै बाटो तर उसकै भर पर्नु पर्ने
उत्पीडनमा बाँचेको जिन्दगी पनि के जिन्दगी
जिन्दगी हो आफ्नो तर उसकै लागि मर्नु पर्ने ।
(५)
सिटामोलको गोली पनि लङ्काको सुन भयो
आश्वासनको ज्योति पनि औंशीको जून भयो
अभाव र पीडामा सधैँ बाँचिरहने —
निमुखाको जिन्दगी त जाँतोको घुन भयो ।
पोखरा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।