स्ट्यान्ड

मोटरसाइकल हुइँकाएर जाँदै थिएँ । जाममा नपरियोस् भनेर सकेसम्म रफ्तार बढाएको थिएँ । एउटा मोटरसाइकल द्रुतगतिमा ओभरटेक गरेर अगाडि बढ्यो ।

झट्ट देखेँ मोटरसाइकलको स्ट्यान्ड झरेको रहेछ । गति बढाएर उसको समानान्तरमा पुगेर भनेँ, “मर्ने मन छ कि क्या हो ? स्ट्यान्ड झरेको छ । हेरेर चलाउन पर्दैन ?”

फुल हेल्मेट लगाएको थियो । त्यसैले उसको अनुहार देखिएन । उसले मोटरसाइकल सडक किनारमा लग्यो । म आफ्नै रफ्तारमा अघि बढेँ ।

सानोतिनो जाममा फसेपछि फेरि मोटरसाइकल हुइँकाएँ । एक छिनपछि एकजनाले ओभरटेक गर्दै मलाई भन्यो, “मर्ने मन छ कि क्या हो ? स्ट्यान्ड झरेको छ ।”

० ० ० ० ०

भाडा

भर्खर पसल खोलेको थिएँ । सडकमा फरक दृश्य देखियो । नगर बसबाट भर्खर ओर्लेको एक अधबैंसे  व्यक्तिलाई कन्डक्टरले झपारिरहेको थियो ।

“पूरा भाडा देऊ । बस चढ्नुभन्दा पहिला खल्ती हेर्न पर्दैन ?” कन्डक्टरले भन्यो ।

“पैसा नै यत्ति छ भाइ । फेरिफेरि चढ्दा तिरम्ला नि । के गर्नु ? कहिलेकाहीँ समस्या पर्दो रहेछ ।” उक्त व्यक्तिले भन्यो ।

“धेरै कुरा नगर । खुरुक्क अरू पैसा निकाल । तिम्रा बाको बस हैन यो ।” कन्डक्टरले भन्यो ।

चालकले बस बिस्तारै-बिस्तारै अगाडि बढाउन थाल्यो । कन्डक्टरले अधबैंसे  व्यक्तिलाई कठालोमा समातेर तान्यो ।

नजिकै बसेको एउटा भिकारीले त्यो दृश्य हेरिरहेको थियो । ऊ जुरुक्क उठ्यो र अधबैंसे व्यक्तिको हातमा पैसा राखिदियो ।

-शिबु ढकाल, पोखरा ।