परीक्षा
मध्यान्हको समय चर्को गर्मी थियो । बरन्डामा शीतल हावा लिँदै पत्रिका पढिरहेको थिएँ।
छोरा पङ्खामुनि सुतिरहेको थियो । सारै उखरमाउलो गर्मीले पसिना खलखल बनाउँदै जुरुक्क उठेर आयो ।
एक छिन छोरा मलाई हेरेर मौन बस्यो ।
एक छिन पछि बाबा तपाईंको परीक्षा कैलेबाट छ भन्दै प्रश्न गर्याे ।
मैले छाेटाे उत्तर दिएँ, “बाबु जुन दिनदेखि तिम्रो मामुसँग भेटेको त्यहीँ दिनदेखि परीक्षा सुरु भएको छ, सकिएको छैन ।”
= = =
घरभाडा
गाउँले केटो उच्च शिक्षा लिनको लागि सहर जान्छ । केटो सहरमा कलेज नजिकै बस्ने इच्छाले , कोठा खोज्दै जान्छ । केटो धनाढ्यकाे घरमा पुग्छ । कुरा गर्छ धनाढ्यले कोठा दिन राजी हुन्छ ।
अचानक गाउँले केटा घर बेटीको सुन्दरी छोरीसँग नजर जुध्न पुग्छ । कर्के नजर लगाएर मुसुक्क मुस्काउँछ । अब केटोको मनमा एक किसिमको प्रेमको रोगले छटपटी सुरु हुन्छ । केटाको पढाइ राम्रो तियो । केटीको नजिक कसरी हुने भन्दै दिन रात उपाय खोजिरहेको हुन्छ ।
एक दिन घरबेटीले बोलाएर भन्छ । मेरी छोरी पढाइमा कमजाेर छ बाबु बेलुका अलिकति समय दिएर नजानेको सिकऊ, भाडा पनि छुट गर्दिन्छु भन्छ । केटो मख्ख पर्दै हुन्छ ।मैले जानेसम्म सिकाउँछु भन्छ । केटो सिकाउने भन्दा कसरी प्रेममा बाँध्ने उसकाे ध्यान जान्छ ।
बिस्तारै एक दिन दुई दिन गर्दै प्रेमको सागरमा दुवै जना डुब्छन् । केही समय पछि उनीहरू भागी विवाह गर्न पुग्छन् ।
विवाह गरेपछि बा-आमाको डरले अर्को सहरमा बस्न पुग्छन् त्यहीँ काम खोज्छन् ,दुवै एउटै कम्पनीमा काम गर्छन् ।
धनाढ्यकी छोरी सधैँ काम गर्दा दिक्क हुन्छे । केटीले अब के उपाय गर्ने होला भन्दै सोच्छे र भन्छे । गाउँको घर भाडामा जान्छ ।
अँ जान्छ , चिन्ता नगर मैले पैला नै भाडामा दिइसकेको छु । यहाँको भन्दा महँगोमा भाडा लगाएको छु । केटोले जवाफ दिन्छ ।
केटी घर भाडामा आउने आसमा खुसी हुँदै भन्छे, क-कसलाई भाडामा दिएको । भन्नुस् न, सुनौँ भाडा तिर्न सक्छन् तिनीहरूले।
अँ सक्छन् । भुइँ तला मुसालाई, माथिलाे तला साङ्लोलाई, सबैभन्दा माथि धमिरालाई भाडा दिएर आएको छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।