धनभन्दा विद्या ठुलो
“यो पटकको तलब नि ब्याज मात्र तिर्दै सकियो त।”
सरद लामो सुस्केरा हाल्दै बैङ्कबाट बाहिरियो। धेरै पटक किक हानेपछि बल्ल मोटरसाइकल कुद्न मान्यो। बाटोमा पनि एक दुई ठाउँमा मोटर आफै रोकिन्थ्यो, सरद छेउ लागेर केही बेर प्रयास गर्थ्यो।
एउटा सानो घरमा पुगेर ऊ ओर्लियो। पसिना पुछ्दै भित्र छिर्दा एक बालिका कापीमा घोरिइरहेकी देखेर ऊ मुसुक्क हाँस्यो। ऊ त्यस बालिकाको छेउमा टुसुक्क बस्यो र उसको कपाल मुसार्न थाल्यो। भान्साबाट आवाज आयो,
“फेरि धारो बिग्रेछ। लौ त आज मान्छे बोलाएर बनाउन पर्यो।”
सरले त्यस आवाजतर्फ खासै ध्यान दिएको देखिएन।
बालिकाले उसलाई भनी, “बाबा, भोलि हाम्रो स्कुलमा वादविवाद प्रतियोगिता छ नि। मैले नि भाग लिएकी छु।”
सरद उसलाई हेरेर मुस्कुरायो। त्यसै बेला टेबलमा आराम गरिरहेको कागजको टुक्रामा उसका आँखा परे। कागजतर्फ उसका हात बढिरहँदा छोरीका कुराले पनि निरन्तरता पाइरहे।
“बाबा, सिकाइदिनु है हजुरले। म प्रथम हुनुपर्छ भोलि।”
“भइहाल्छ नि। प्रथम त मेरै छोरी हुने हो जसै।”
सरदले कागज टिप्यो। खोलेर हेर्न खोज्दै थियो छोरीले झकझकाउँदै भनी, “यता हेर्नु न। अब अरू के लेखम्?”
सरदले कापीमा सरर आँखा डुलायो। एक पाना जति लेखेकी रहिछ।
शीर्षक थियो ‘धन भन्दा विद्या ठुलो’।
सरदले हातको कागज हेर्यो। छोरीको स्कुलले यस महिनाको शुल्क तिर्ने बेला भएको जानकारी दिएको थियो। पुछारमा लेखिएको थियो ‘रु ७८६० मात्र’। उसले आफैलाई हेरिरहेकी छोरीलाई हेर्यो अनि फेरि उसको कापीलाई।
उसलाई थप्न एउटै वाक्य पनि आएन। पक्कै पनि सोचिरहेको हुनुपर्छ, “छोरीले कसरी एक पाना लेख्न सकी ?”
= = =
आवश्यकता
चियाका गिलासहरू टेबलमा राखेर सरिता अर्को टेबलतिर पुगी। त्यहाँ एक बालक दत्तचित्त भई सुकिला अक्षरमा सिसाकलमले केही लेख्दै थियो। सरिताले उसको शिर मुसारी अनि केही नबोली कुनाको अगेना छेउ पुगेर पिर्कामा बसी। अगेनामा कित्ली राखेर आगो फुक्न थाली।
सधैँझैँ रमेश ‘हाम्रो पार्टी’ र ‘हाम्रा नेता’ भन्दै उनै पुराना उराठ लाग्दा कुरा औधी उत्साहका साथ भट्ट्याइरहेको थियो। चियाका कप रित्तिँदै गर्दा कति श्रोता सक्रिय वक्ता बन्दथे। कति चिसा सम्बन्ध आत्मीय मित्रतामा परिणत हुन्थे त कति गिलास नरित्तिँदै कसैको आवेगको सिकार भएर चकनाचुर हुने गर्थे। त्यो टेबलमा चिया मगाउने अनेकौँ कथाका पात्रहरू वा तिनका कथाप्रति सरिताको कुनै चासो देखिँदैनथ्यो। धुवाँले पोलेका आँखा मिच्दै ऊ घरी त्यो बालकलाई त घरी ढोकाबाट छिर्दै गरेका ग्राहकलाई हेर्थी।
लेखिरहेको बालक रमाउँदै बाहिर हेर्न थाल्यो। सिसाकलम टेबलमा राखेर ऊ दौडिँदै सरितानेर पुग्यो।
“आमा ! हेर्नु त कस्ता राम्रा खेलौना बेच्न ल्याएको। मलाई एउटा हवाईजहाज किन्दिनु न।”
सरिता चम्किरहेका बालकका आँखामा घोरिई। अनि झर्किंदै भनी, “पर्दैन, जा गएर पढ्।”
बालकका आँखा भरिएर आए। उसले रुञ्चे स्वरमा फेरि भन्यो, “किन्दिनु न आमा।”
फेरि रुखै जवाफ आयो, “नचाहिँदो कुरा नगर् त।”
बालक रुन थाल्यो। गफ चुटिरहेको रमेश टक्क रोकिएर महानता देखाउने निधो गर्यो। उसले बालकलाई बोलायो।
“बाबु ! आऊ यता म किनिदिन्छु।”
“पर्दैन सर। आवश्यक छैन।” सरिताले भनी।
“हुन दिनु न त भाउजू। किन केटाकेटीलाई रुवाउने ?”
सरितालाई रमेशका कुरा मन परेन।
“हेर्नुस् सर, आवश्यकता र चाहना बिचको फरक थाहा पाउनु जरुरी छ। आवश्यकता पूरा हुनुपर्छ; हर चाह पूरा हुनु आवश्यक छैन। यसको खानपिन, पढाई लेखाइ जस्ता हर आवश्यकता पूरा गर्न नै म तपाईंको टेबलमा प्रत्येक दिन चिया टक्राउँछु, आज यसरी स्पष्टीकरण दिँदै छु। आवश्यकता पूरा गर्नु नै चुनौती बनेका बेला सपना देख्नु पनि अपराध हो भन्छु म त। ढिलो चाँडो यसले पनि जीवन बुझ्नु पर्छ।”
बिहानै मातेर लर्खराउँदै आइपुगेको सरिताको लोग्ने सबैको आकर्षकको केन्द्र बन्यो। रोइरहेको बालक चुपचाप सरिताको हात दह्रोसँग समात्न पुग्यो। रमेशले पुलुक्क सरितालाई हेर्यो।
उसले आफ्नो लोग्नेलाई हेर्दै भनी, “कतिपय हठ, कति स्वर्गभन्दा सुन्दर लागेका सपना र कतिपय चाहनाले डोर्याएका विद्रोह असाध्यै कुरूप यथार्थ बन्न पुग्छन्। आवश्यक छैन हर चाहना पूरा होस्।”
खेलौना बेच्दै हिँडेको मानिस पर पुगिसकेको थियो। बालकले आफ्ना आँखाले भ्याएसम्म उसलाई पछ्याइरह्यो। रमेश भने चियाको गिलास हेर्दै गहिरो सोचमा डुबेको थियो।
“के यो दैनिकी मेरो आवश्यकता हो त ?”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 








