हिसाबकिताब
बस बिसौनीकोे पेटीमा मगन्ते च्यादर फैलाएर बसिरहेका थियो । सधैं झैँ नरे आयो केही दिउँला जस्तो गरेर आफ्नो गोजी छाम्यो ।
“जहिले पनि मेरै अगाडि आएर गोजी छाम्छ । एक पैसा दिने होइन ।” मगन्ते बडबडायो ।
एक छिन पछि एउटा बस आयो । मान्छेको भीडमा मिसिएर नरे बसमा चढ्यो ।
“भाडा पाऊँ हजुर ।” बसको सहचालकले भन्यो ।
उसले गोजीबाट पैसा झिकेर भाडा दियो र खाली गोजी टकटक्यायो ।
० ० ० ०
बुझाइ
बिहान झिसमिसेमा नै खत्रीबाले छोराछोरीलाई उठाउनु भयो । छोराछोरी आँखा मिच्दै उठेर नित्य कर्म सक्दा सम्म उज्यालो भयो ।
“ल आफ्नो आफ्नो पुस्तक समातेर पढ्न बस,” उहाँले भन्नुभयो ।
छोराछोरी पढ्न बसेपछि खत्रीबा बिहानको मेलामा निस्कनु भयो ।
“खत्रीबा आफू नपढे पनि छोराछोरीको पढाइमा कति सचेत हुनुहुन्छ ।” यो सबै दृश्य हेरिरहेकी छिमेकी उर्मिलाले भनिन् ।
“हो त । छोराछोरीलाई बिहानै उठाएर पढाउने उहाँको बानी साह्रै राम्रो,” राकेशले पनि श्रीमतीको कुरामा सहमत जनाए ।
उनीहरू बिहानको खाना खाएर एकघण्टा परको शहरमा जागिर खान हतारिँदै निस्कँदै थिए । एक बिहानको मेलो सकेर खत्रीबा आइपुग्नु भयो ।
“हजुरका छोराछोरी साह्रै ज्ञानी छन् । बिहानै उठाएर पढ्न बसाल्नु हुन्छ । बिहान पढेको धेरै राम्रो हुन्छ ।” राकेशले खत्रीबालाई भने ।
“खोइ पढाइको कुरा त म के बुझूँ । बिहान चाँडो उठाइदियो भने बेलुका चाँडै सुत्छन् केटाकेटी । बिजुलीको पैसा कम चढ्छ ।” खत्रीबाले आफूले बुझेको कुरा भन्नु भयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










