आफूलाई बोकेर
लेक र बेसी दौडाउने
उसकी आमा
स्ट्रेचरमा उसैलाई कुरेर बस्दछिन्
केवल वल्लो कोठा र
पल्लो कोठा गर्न
समाजमा निःशुल्क पाइने
नमागिएको ज्ञान
नचाहिएको सल्लाह र
बिना गल्तीको हप्काई
सम्झन्छ
तर
मागेको सहयोग पाएको र
गल्ती गरेको बेलामा मात्र हप्की खाएको
छैन सम्झना उसलाई
चाहिएको व्यवहार गरिएको

थाहा भएन उसलाई
ध्यानपूर्वक सुन्छ डाक्टरको कुरा
बुझेको अभिनय गर्छ नबुझे पनि
बुझ्दैन सेता कागजमा कोरिएका
किरिमिरी अक्षरहरू
तर पनि हेरिरहन्छ
आँखा नझिम्काई
माया सम्झन्छ
आशीर्वाद सम्झन्छ
स्नेह सम्झ्न्छ आमाको
र कर्तव्य सम्झन्छ आफ्नो
दौडन्छ ऊ
नबुझिने किरिमिरी अक्षर
बोकेर
कर्पोरेट हस्पिटलको
काउन्टरमा
दायाँ खल्ती छाम्छ ईस्टकोटको
दुहुना भैंसी भेट्टाउँछ
बायाँ खल्ती छाम्छ
बेचिएका बाख्रा अटाएका रहेछन्

बुबाको औँठी
आमाको बुलाकी
सबै सबै
समेटिएका छन् बगलीमा उसका
व्याख्या हुन्छ
किरिमिरी अक्षरको
अनि
विष्फोटन हुन्छ बम
हो बम
ठूलो धमाकाका साथ
कसैले नदेख्ने गरेर
कसैले नसुन्ने गरेर
उसैको मनभित्र
मात्र उसको मनभित्र
र आउँदछ बाढी
जेबमा अटाएका
दुहुनो भैंसी, बाख्रा
औँठी र बुलाकी
बगाउने गरेर
उडाउने गरेर ।

 

पोखरा ७ मासबार

 कास्की