आमाको जन्मदिन 

वृद्धाश्रमकाे ढाेका बाहिर दुई पुराना साथीहरू भेटिए ।

एक प्रतिष्ठित व्यापारी अर्को साधारण कर्मचारी ।

भलाकुसारी पछि व्यापारीले सोध्यो, “तिमी यहाँ  किन ?”

“आज मेराे आमाको जन्मदिन । घरमा अष्ट चिरञ्जिवीकाे पूजा सकेर उहाँको आशीर्वाद लिएपछि यहाँका वृद्धवृद्धालाई खाना खुवाएर फर्केको ।”

“ए, उसाे भए आमा तिमिसँगै बस्नुहुन्छ ?”

“हैन साथी, हामी आमासँग बस्छौँ । अनि तिमी चाहिँ किन यहाँ ?”

व्यापारी साथीले बिस्तारै भन्याे, “आज मेरी आमाको पनि जन्मदिन हो । म उहाँलाई भेट्न आएको !”

~~~~

मृत्यु संस्कार

आज बुबाको मृत्युको तेह्रौँ दिन ।

घरमा आफन्तजन र पाहुनाहरूको निकै जमघट थियो ।

एकातिर पुरोहितहरू धार्मिक कर्म गराइरहेका थिए भने अर्कोतिर क्याटरिङवालाहरू अनेकन् परिकार पकाउँदै थिए ।महँगा पलङ, ओछ्यान लगायत दिवङ्गत पितृका मन पर्ने वस्तुहरू दान गरिएका थिए ।

धार्मिक र खानपिन कार्य सकियो । आगन्तुकहरू, मन खोलेर बुबाकाे मृत्यु संस्कार गर्ने `मनकारी´ छोरा-बुहारीकाे प्रशंसा गर्दै फर्किए ।

बुबाको आत्मा भने, तेह्र दिन अघिसम्म आफू सुतेको चिसो छिँडी, पातलो बिछ्यौना र छोराबुहारीको व्यवहार सम्झँदै दान गरिएका महँगा वस्तुहरू र खानाका परिकार जिल्ल परेर नियाल्दै थियो !