“यसपटक शैलुङ जाने सल्लाह भएको छ, तपाईं पनि जानुपर्छ है !” साथी सुभाष अर्यालले कार्यकक्षमा पस्दै भन्नुभयो ।

दुई बर्षअघि २०७८ चैत १२ मा परिवार सहित रामेछापस्थित सानो शैलुङ पुगेर आएपछि, ठूलो शैलुङ पुग्ने मेरो चाहना पटक पटकको प्रयासको बाबजुद पनि सफल हुन सकिरहेको थिएन । यस्तो अवस्थामा सुभाष सरको कुराले मभित्रको दमित आकाङ्क्षा पुनः जुरमुरायो । जाने सहमति जनाएँ ।

यात्रा भन्नासाथ ऊर्जा बढेको महसुस भएर मेरो मन प्रफुल्लित भइहाल्छ । बेलुका घरमा आएर उत्साहित हुँदै “म त अफिसका साथीहरूसँग शैलुङ जाने भएँ नि” भनेर श्रीमतीजीलाई सुनाएँ । उनले पनि त्यहाँ जान चाहेकी थिइन्, त्यसैले होला मुखले नभने पनि उनको मुखाकृतिमा `सँगै जान नपाएको भन्ने जस्तो´ हल्का असन्तुष्टिको भाव झल्किएको महसुस गरें मैले ।

“म गएर आएपछि, कस्तो ठाउँ रहेछ, बसाइ र खानपिनको व्यवस्था के कस्ता रहेछन्, अप्ठ्यारो सजिलो कस्तो छ, सबै कुरा बुझिन्छ, अनि फेरि जाउँला नि हामी !” मैले आफूलाई लागेको असजिलो मेटाउने र वातावरण सहज पार्ने उद्देश्यले भनें । उनी फिस्स हाँसिन् ।

भ्रमण कार्यक्रमको अघिल्लो दिन साँझ, लुगाफाटा र दैनिक आवश्यकताका केही सरसामान हालेर हलुका ब्याग ठीक पारें । यात्रामा सकभर कम सामान लिएर हिंड्नुपर्छ भन्ने मेरो मान्यता हो । तर जाडो स्थानमा जाने भएकाले जे पर्ला पर्ला भनेर एउटा ज्याकेट पनि थपें ।

निर्धारित दिन २०८० फागुन २८ गते बिहान नित्यकर्म सकेर म तयार भएँ । कालाे चिया र सातु खाएपछि, पाैने ६ बजे ब्याग भिरेर तयार भएँ । वसन्तऋतु सुरु हुनै लाग्दा पनि बाहिर चिसै थियो । भोलि फर्कंदा सजिलो हुन्छ भनेर स्कुटर लिएर जाने अघिल्लो दिनको साेचाइ भए तापनि, खै किन हो लैजाने मुड चलेन । त्यसैले हेलमेट थन्क्याएर ब्याग बाेक्दै घरबाट निस्किएँ ।

चाबहिलबाट बस चढेर, भेला हुने स्थान पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालय डिल्लीबजार पुग्दा ६:२० बज्यो । साथी पद्‌मप्रसाद आचार्य मभन्दा अघि पुगिसक्नु भएको रहेछ । बस भने आइपुगेको थिएन । हामी गफिन थाल्यौं । फाट्टफुट्ट गर्दै साथीहरू जम्मा हुने क्रम जारी रह्यो ।

साढे ६ बजे सहचालक सहित बस लिएर चालक राजु भाइ आइपुगे । बाँकी साथीहरूलाई बाटो बाटोमा नै चढाउने सल्लाह बमोजिम जम्मा भएका हामीलाई लिएर बिहान ७:१५ मा झण्डै १२५ किलोमिटर परको शैलुङसम्मको यात्राको लागि पुतलीसडक हुँदै हाम्रो बस घुइँकियो ।

बिहानको समय अझ त्यसमाथि ल्होसारको सार्वजनिक बिदा परेकाले होला सडकमा सवारीको चाप थिएन । अनामनगरबाट थापागाउँमा पुगेर बस रोकियो । प्रधानाध्यापक रीता तिवारी यहाँबाट बसमा चढ्नु भयो । ड्राइभर सिटको ठ्याक्कै पछिल्लो सिटमा सँगै बसेका हामी, बलराम पाैडेल र म गफ गर्दै बाटोमा चढ्ने साथीहरूको बारेमा जानकारी लिंदै थियौं । अगाडिको सिटमा रहनुभएका ध्रुवराज थापा, को-को साथी कहाँ-कहाँ कुरेर बसेका छन् भनेर बुझ्न फाेनमा व्यस्त हुनुहुन्थ्यो । अरू साथीहरू पनि सबै आआफ्नै तालमा थिए ।

हामी अघि बढ्दै गयौं । कोटेश्वर कटेर जडीबुटी पुग्दा सवारीसाधनको निकै चाप देखियो । ड्राइभरहरूको सडक लेन अनुशासन पालना नगर्ने प्रवृत्ति र यात्रु तान्नका लागि तँछाडमछाड गर्ने व्यवहारका कारण ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापन गर्न हम्मेहम्मे परेको महसुस भयो । त्यहाँ नजिकैबाट राजेन्द्र महरा, सृजना खड्का र सीता श्रेष्ठ बस चढ्नु भयो । बाँकी दुईजना विजया ढुङ्गेल र पवित्रा ढुङ्गेल गठ्ठाघरबाट चढेपछि चालकदलका २ सहित हामी २९ जना आफ्नो गन्तव्य पछ्याउँदै अघि बढ्यौं ।

अलि अगाडि पुगेपछि सडक बिस्तारको काम भइरहेको देखियो । सडकमा झन्डै झण्डै सवारी अवरुद्धको अवस्था थियो । चालक राजु भाइले सिधै नगई भित्री बाटोबाट नाला हुँदै जाँदा उचित हुने सल्लाह दिए । हामी साेही बमोजिम बनेपा पुग्याैं । त्यहाँ पानी र केही खाद्य सामाग्री किनियो । गाडीमा इन्धन भर्ने काम पनि भयो ।

अगाडिको बाटो कतै राम्रो त कतै खराब थियो । यस्तो व्यस्त सडकको मर्मत सम्भारको काम समयमै हुन नसकेको देख्दा राज्य संयन्त्रप्रति खेद उत्पन्न भयो । राज्य सञ्चालकहरूले जनहित भन्दा स्व-हितलाई प्राथमिकता दिएको सम्झंँदा मन चसक्क दुख्यो । यसै क्रममा बाटोका दृश्यलाई नियाल्दै बिहान ९ बजे केराधारी पुगेर चिया नास्ताका लागि बस रोकियो ।

यताको बाटो आउँदा प्रायः यहीँ नै चियानास्ता गर्छाैं हामी । सहायक प्रधानाध्यापक मुनाकुमारी निराैलाले रोटी, तरकारी र चियाको अर्डर दिनुभयो । नास्ता आउन केही समय लाग्ने भएकाले कोही तस्बिर खिच्न थाले भने कोही वातावरण अवलोकन गर्न लागे । यहाँ करिब एकघण्टा बिताएर पाँचखाल, दाेलालघाट, सुनकोशीको किनारै किनार हुँदै हाम्रो यात्रा अघि बढ्दै गयो ।

 

मौसम खुलेको थियो । पारिलो घामका कारण गर्मीको पारा चढ्दै थियो । सुकुटेमा पुगेर बिहानको खाना खाने पूर्वनिर्धारित कार्यक्रम अनुसार हामी ११ बजेतिर पर्यटकीय गन्तव्यको रूपमा परिचित सुकुटेको रिभर वे रिसाेर्ट पुग्यौं । यहाँ पनि तस्बिर खिच्ने र खोला किनारबाट प्राकृतिक दृश्यावलोकन गर्ने काम भयो । गर्मीको फाइदा उठाउँदै जीवराज आचार्य, ईश्वर पोखरेल र विनय लम्साल लगायतका केही साथीहरूले स्विमिङ पुलमा पौडी खेल्न समेत भ्याउनुभयो । खाना खाएर केही बेरको विश्राम पछि १२:३० मा हामी बलेफी, खाडीचाैर, ठुलो पाखर हुँदै मुडे तर्फ लाग्यौं ।

अपराह्नको समयमा खाएको खानाले यात्रा टोलीमा आलस्यता जगाएछ क्यारे, बसमा प्रायः जसो साथीहरू मौन देखिए ! कोही भाते निन्द्रामा परे । सूर्यनारायण आकाशबाट आगो ओकल्दै थिए । बाटोका दृश्य नियाल्दै अघि बढ्ने क्रममा करिब १०० किमी दुरी पार गर्दै दिउँसो १:५० बजे हामी आलुको लागि प्रसिद्ध सीमावर्ती राजमार्गीय मुडे बजार पुग्यौं ।

यहाँबाट शैलुङ जाने बाटो छुट्टिने रहेछ । चालक भाइलाई शैलुङमा हामी बस्ने होटेलवालाले केही सामान ल्याइदिन भनेका रहेछन्, उनले पसलबाट सामान गाडीमा राख्न लगाए ।

पहिलेपहिले शैलुङमा उत्पादन भएको आलुलाई बिक्रीका लागि मुडेमा ल्याएर भण्डारण गर्ने गरिएको र सोही कारण शैलुङको आलुलाई बजारमा मुडेको आलु भनेर चिनिन थालेको स्थानीयको मत पाइन्छ । तर अहिले भने मुडेमा मुख्य बालीको रूपमा आलु खेती नै हुने गरेको रहेछ ।

मुडेबाट दाहिनेतर्फको कच्ची बाटो हुँदै १ बजे बस गुड्यो । धुलौटे बाटोका कारण गाडी गुड्दा कुइरी मण्डल धुलो उड्थ्यो । उखरमाउलो गर्मीमा गाडीको झ्याल खोल्न पनि धुलोका कारण गाह्रो थियो । बाटोको छेउमा भने लोभलाग्दो हरियाली देखिन्थ्यो । ढकमक्क फुलेका चिमाल र लालीगुराँसले सुन्दरता बढाएका थिए ।

अलि अगाडि मागापाैवा भन्ने ठाउँबाट मागा देउराली बाघखाेरसम्म भने राम्रो पिचबाटो थियो । त्यहाँबाट उकालो सुरु भयो । ढुंगायुक्त कच्चीबाटो भएकाले पञ्चमीको पाइला सारेको गतिमा बस अघि बढ्याे । यो बाटो बर्षात् माैसममा जान कठिन हुने रहेछ ।

बाटोबाट जङ्गल र हिमाली दृश्य देखिन्थ्यो । वरपर सुख्खा पाखाबारी, फाट्टफुट्ट, बस्ती र पात-पत्करले भरिएको खाङ्ग्रे ढाडमा बोकेका महिलाहरू देखिए । मुडेबाट करिब डेढघण्टा उकालो, ओरालो, घुम्ती पार गरेर ३:३० मा शैलुङ उक्लिने द्वार मानिने कालापानी भन्ने स्थानमा पुग्यौं हामी । हाम्रो आजको बसाइ र खानपिनको व्यवस्था यहीँको `होटेल शैलुङ इन´ मा थियो ।

होटेलको भाइले हामीलाई बस्ने कोठा देखाए । एट्याच बाथरुमयुक्त २ र ४ जना बस्न मिल्ने कोठाहरू थिए । साथी केशवराज वाग्ले र मैले एउटै कोठामा बस्ने सल्लाह गर्‍यौं । अनि सामान थन्क्याएर फ्रेस भएर चियापान गर्न जम्मा भयौं ।

“यहाँबाट शैलुङ पुग्न कति समय लाग्छ भाइ ?” मैले चिया पिउँदै गर्दा होटेलको भाइलाई साेधें । “हामी त ३५-४० मिनेटमा पुग्छौं, तपाईँहरूलाई सवा एकघण्टा लाग्ला ! फेरि फर्कनु पनि पर्छ, यात्राले थाक्नु भएको होला त्यसैले भोलि बिहानै उक्लिनु उपयुक्त हुन्छ” उनले भने ।

“अलि तलतिर गुप्तेश्वर महादेवको गुफा छ, २० मिनेटमा पुगिन्छ बरु अहिले त्यहाँ पुग्नुहोला” उनले थप सल्लाह दिए । उनकै भनाइ मानेर दिनको ४:१५ बजे, हामी एक ग्रुप त्यतातिर लाग्यौं । केही साथीहरू भने होटेलमै बसेर रमाइलो गर्न थाले ।

ओर्लंदै गर्दा अलि तल घना जङ्गल र बाटोको छेउका कान्लामा गुराँस फुलेका देखिए । पानीको अभावका कारण, सर्वत्र सिचाइ हुन नसकेका सुख्खा पाखाे बारी थिए । यहाँको मुख्य बाली आलु रहेछ । मङ्सिर-पाैषमा रोपिएको आलु जेठ-असारमा खनिने कुरा त्यहाँ भेटिएका रमेश तामाङबाट जानकारी पाइयो । घाम लागेता पनि त्यहाँ चलिरहेको चिसो हावाले गर्दा जाडो भएको महसुस हुन्थ्यो ।

गुप्तेश्वर महादेवको गुफा तल जङ्गलको खोंचमा रहेको पहरामा रहेछ । महादेवको मूर्तिको पछिल्लो भागमा सुतेर छिर्नुपर्ने धर्मद्वारा भनिने गुफा थियो । दर्शन, गुफा प्रवेश र अवलोकन पछि हामी फर्कियौं । होटेलको आँगनमा आगो बाल्ने व्यवस्था गरिएको थियो । तातोपानी खाँदै हामी आगो नजिकै झुम्मियौं ।

केही छिनपछि बारविक्यू सुरु भयो । साथीहरूले होटेल भित्र नाचगान सुरु गर्न थाले । बाहिर चिसो सिरेटो चल्दै गरेकाले जाडो बढ्दो क्रममा थियो । मैले बिहान ब्यागमा हालेको ज्याकेट सम्झेँ । झट्‌पट् कोठामा गएर लगाएँ । ज्याकेट ल्याएर राम्रै गरिएछ भन्ने लाग्यो ।

रातको खाना तैयार भएको खबर आयो । खाना खाए पश्चात्, भोलि बिहान  ७ बजे शैलुङ उक्लने भएकोले ६:३० अगावै नास्ता ठीक गर्न होटेल सञ्चालिका मिश्रीमाया श्रेष्ठ बहिनीलाई जानकारी गराएर ९ बजे सबैजना आआफ्नो कोठातर्फ लाग्यौं ।

बाहिरको वातावरण चिसो भए पनि भित्र भने सोचेभन्दा बढी न्यानो थियो । ओढ्ने ओच्छाउने कुराको व्यवस्थापन राम्रै थियो । भोलिपल्ट बिहान चाँडै उठ्नु पर्ने हतारो नभएको र वाईफाईको उपलब्धताले गर्दा सुत्नु अगावै केही समय मोबाइलमा बिताइयो । घरपरिवारसँग कुराकानी भए । राति १० बजे ओछ्यानमा पल्टिएको थकाइले पनि होला मज्जाले निदाइएछ ।

बिहान ५ बजे उठ्दा हल्का चिसो महसुस भयो । रातभरिको चिसोले होला, पानी हातैले ठिहिर्‍याउने गरी निकै चिसो भएछ । नित्यकर्म सकेर बाहिर निस्कँदा आँखैमा हिमाल ठोक्किए । नजिकै गौरीशङ्कर लगायतका हिमाल टल्किरहेका थिए । सूर्योदय हुँदै गर्दा हिमालमा टोकिएका सूर्य किरणले राता देखिएका हिमाली दृश्यले मन हर्षविभोर भयो । तस्बिर खिचियो । मनले रेडियोमा बज्ने राष्ट्रिय गीत गुनगुनाउन थाल्यो –

“बिहान उठ्ने बित्तिकै,

हिमाल देख्न पाइयोस् …”

सबै जना जम्मा हुँदै गर्दा नास्ता तयार भयो । साथीहरूले नास्ता गर्दै गर्दा, मैले होटेल सञ्चालिका मिश्रीमाया बहिनीलाई “आज मङ्गलबार म लसुन-प्याज खान्न, त्यसैले मेरालागि लसुन-प्याजको लाटलुट नगरीकन आलु फ्राई तरकारी बनाइदिनु होला” भनेँ । उनले हुन्छ भनिन् ।

म चिया र रोटी खाँदै थिएँ उनले ढोकाबाट मलाई सम्बोधन गर्दै सोधिन् “लसुन-प्याज नहालीकन अलिकति चोखो मासु पनि राखिदिऊँ त सर तपाईँका लागि ?” उनले भनेको `चोखो मासु´ शब्द सुन्नासाथ मलाई एक्कासि हाँसो उठ्यो । साथीहरू पनि सबै जना हाँसे । उनलाई  अप्ठ्यारो लागेछ क्यार बिस्तारै भनिन् “लसुन-प्याज मात्रै नखाने तर मासु खानुहुन्छ होला भन्ने लागेर सोधेकी मैले ।” उनको सोझोपन र सरल स्वभावले एकैछिन वातावरण रमाइलो बन्यो ।

नास्ता सकेर ७:२५ शैलुङको उकालोतिर हाम्रा पाइलाहरू बढे । सूर्योदय भइसकेको भएता पनि जङ्गलछेउको बाटो त्यसमाथि हल्का सिरेटो चलिरहेकोले माैसम चिसिएकै थियो । केही अगाडि पुगेपछि ढुङ्गाको विशाल पर्खालयुक्त सिँढीहरू देखिए । शैलुङ गाउँपालिका दोलखाद्वारा २०७८ असारमा करिब ५ करोडको लागतमा निर्माण सुरु गरिएको आधा किलोमिटर भन्दा लामो यस पर्खाललाई `मिनी ग्रेटवाल´ नामाकरण गरिएको रहेछ ।

लगभग २० मिनेटमा ग्रेटवाल पार गरेपछि जङ्गल र थुम्काहरू सुरु भयो । यहाँबाट देखिने हरेक दृश्य मनमोहक थिए । प्रकृतिको कलाकारिताले मुग्ध बनायो । एउटा ठूलो थुम्कोमा चढेर विशाल त्रिशूल सहितको महादेवको दर्शन गरे पश्चात् हामी उचाइतर्फ लाग्यौं ।

बाटोका ठाउँ ठाउँमा यात्रुहरू ढुङ्गाहरू खप्टेर चैत्य झैँ आकृति बनाउँदै गरेका देखिन्थे । यसबारेमा जिज्ञासा राख्दा सहकर्मी यानकुमारी गुरुङले “बुद्ध धर्ममा स्तूप बनाउँदा ठूलो पुण्य मिल्ने विश्वास रहेको र स्तूप बनाउन नसक्नेले पनि यसरी ढुङ्गा मिलाएर राखेमा स्तूप बनाए बराबरकै पुण्य मिल्ने र मनोकामना पूरा हुने किम्बदन्ती रहेको” जानकारी दिनुभयो ।

तलतिर ओर्लिंदै गरेका कालापानी निवासी स्थानीय पदम श्रेष्ठले यहाँको बारेमा हामीलाई थप जानकारी दिनुभयो । उहाँका अनुसार एकसय आठभन्दा बढी सानाठूला थुम्काहरू लहरै रहेकाले यसलाई शैलुङ भनिएको रहेछ ।चौँरीको चरन क्षेत्र पनि यही नै रहेछ । प्रथम बुद्ध साङ्गे माह्मोर्चेले ज्ञान दिएको हुनाले पहिले यस डाँडालाई साङ्गेलुङ भनिन्थ्यो, पछि अपभ्रंश हुँदै शैलुङ हुन गएको भन्ने मान्यता पनि भेटियो ।

किंवदन्ती अनुसार तत्कालीन बौद्ध गुरुले यस भूमिमा मुठीमुठी चामल राखेका थिए । त्यही मुठी बढेर थुम्का बनेको हो भन्ने किंवदन्ती रहेछ । यस्तै, परापूर्वकालमा यहाँ सयौँ ऋषि मुनिहरू तपस्यारत हुँदा कलियुग शुरु भएपछि, कलिको पाप देख्न नपरोस् भनेर तपस्या गरिरहेकै स्थानमा सबै ऋषिमुनिले समाधि लिएकाले त्यही स्थानमा यी थुम्काहरू उत्पन्न भएको भन्ने अर्को  किंवदन्ती पनि छ ।

यिनै जानकारी बटुल्दै र प्राकृतिक दृश्यको रसास्वादन गर्दै हामी उकालो चढ्न थाल्यौँ । केही साथीहरू हिन्दु र बौद्ध मार्गीको साझा तीर्थस्थल शैलुङको टुप्पोमा पुगिसकेका थिए । शशी गौतम र राधिका सापकोटालाई भने उकालो चढ्न अलिक कठिनाइ भएकोले आराम गर्दै सुस्तसुस्त उक्लँदै हुनुहुन्थ्यो ।

भीमसेनको तरबार, बुद्धको पाइला, पृथ्वीको नाइटो लगायतका स्थानको अवलोकन गर्दागर्दै हामी पौने नौ बजे दोलखा र रामेछापको सीमावर्ती क्षेत्र शैलुङको टुप्पोमा पुग्यौं । लक्षित ठाउँमा पुग्दा मन हर्षले पुलकित भयो । हाम्रा शरीरले हिँडाइको थकान भुल्यो ।

दोलखा जिल्लाको दक्षिण पश्चिममा अवस्थित, समुन्द्री सतहबाट करिब ३४०० मिटर उचाइमा रहेको यस रमणीय, प्राकृतिक, धार्मिक र पर्यटकीय स्थलबाट जतासुकै आकर्षक थुम्काथुम्की देखिए । चारैतिर टलल टल्किएका गौरीशङ्कर, सगरमाथा, माछापुच्छ्रे, गणेश, जुगल लगायतका हिमाल हामीलाई नै देखेर हाँसिरहेका झैँ लाग्यो । काठमाडौँ उपत्यका र तराईका केही भागहरू समेत देखिने यहाँको वातावरण देखेर ओम गुरुङले गाएको

“जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ,

जहाँ थुम्का थुम्कामा स्वर्गको आभास छ…।” भन्ने गीतको याद आयो ।

मालाका लुङजस्तै लहर मिलेका, कतै बटारिएका, कतै अङ्कमाल गरे झैँ त कतै आपसमा मिलेर टाँसिएजस्ता अनेक बान्कीका थुम्काहरूले गर्दा जताततै देखिएका कलात्मक परिदृश्य र प्राकृतिक छँटाहरूलाई धेरै मनभरी र केही क्यामेरामा कैद गरियो । यहाँ देवस्थान, स्तुप, चैत्य, विशाल गुम्बा र भ्यू टावर समेत बनेका रहेछन् ।

एउटा डाँडाबाट ओर्लेर अर्को डाँडामा चढेपछि, कसरी चढ्ने होला भनेर बढो कठिनपूर्वक उक्लिएको पहिलो डाँडो निकै होचो देखिने र प्रत्येक डाँडा आफैँमा प्राकृतिक भ्यूटावर भएको ठाउँमा, राज्यको करोडौँ खर्चेर कङ्क्रिटको भ्यूटावर बनेको दृश्य भने उदेकलाग्दो देखिन्थ्यो । यसले प्रकृतिमाथि सुन्दरतामा कुरूपता थपेको महसुस भयो ।

अझ, “भ्यूटावर बन्दा कैयौंले रोजगारी पाए, निर्माण सामाग्रीहरू बिक्री भएकाले उद्योग फस्टाए, अर्थव्यवस्था चलायमान भयो, राज्यले कर पायो” भनेर प्राकृतिक सम्पदा बिगार्दै-मास्दै जाने पक्षको पक्षपोषण गर्न उद्यत नेताका तर्कहरू स्मृतिमा आउँदा त मन नराम्ररी कुँडियो ।

बरु, यो रकमले बाटोको सुधार र पानीको अभाव झेलिरहेको यस ठाउँमा सिचाइको समुचित व्यवस्था गरिदिएको भए खेती गर्न सजिलो भई स्थानीयको जनजीवनमा सुधार हुन्थ्यो कि भन्ने सोचाइ पनि मनमा आए । यस्ता प्राकृतिक ठाउँमा धार्मिक, सामाजिक वा जातीयताको आडमा कंक्रिटका संरचना बनाउन रोकेर प्राकृतिक यथारूप नै रहन दिँदा अझ बेस हुन्थ्यो भन्ने पनि लाग्यो ।

गाउँपालिकाका तर्फबाट यहाँ कुरुवा रहनुभएका नेवारी समुदायका परिवारले चियापसल राख्नुभएको रहेछ । हामीले चियापान गर्‍‍यौं । सवा दस बजिसकेको थियो, मनले भने त्यहाँबाट फर्कन मानिरहेको थिएन । तर बाध्यता थियो, हामी फर्कन थाल्यौँ । ओरालोमा ज्ञानाेदय मा.वि.का पूर्व प्रधानाध्यापक नातिकाजी महर्जन सर सहितको टोली भेटियो । दुर्गम स्थानमा अकस्मात् परिचित भेटिँदा बेग्लै सुखानुभूति भयो ।

साथीहरू आआफ्नो तालमा फर्कन थाले । अलि तल पुगेपछि हामी १०-१२ जना जुरे महादेव भनिने प्राचीन शैलुङ्गेश्वर महादेव दर्शन गर्न दायाँतिर माेडियौं । सिँढीहरू झरेर जङ्गलको तल फेदीमा पुगेर ओडारमा रहेका महादेवको दर्शन भयो । यहाँ दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । मन्दिर नजिकै गोदावरी र धर्म नामका दुइटा गुफा रहेछन् । गोदावरी गुफामा हरेक १२ वर्षमा मेला लाग्दो रहेछ । त्यहाँ दूध कुण्ड पनि रहेको र मेला लाग्दा मात्र कुण्डबाट दूध झर्ने स्थानीयबाट जानकारी पाइयो ।

दर्शन पश्चात् अगाडि रहेका टोलीका साथीहरू तलतल हुँदै अघि लागे, हामी पछाडिकाले पच्छाउँदै गयौं । करिब १० मिनेटको हिंडाइपछि बलराम पाैडेलले “माथि चढ्नु पर्नेमा हामी तल पो ओर्लेका छाैं त !” भनेर बाटो भुलेको शङ्का गर्नुभयो ।

अगाडिबाट “बाटो छ, यतैबाट आउनुस्” भन्ने साथीहरूको भनाइ आएपछि हामी तलतिरै लम्कियौँ । निकै पर पुगेपछि, बाटो भुलेकै रहेछौँ भन्ने पक्का भयो । हामी रनभुल्लमा पर्‍यौँ । शैलुङ चढ्दा गाह्रो भएका २ जना साथी पनि हामीसँगै आउनु भएको थियो । हिँड्न  गाह्रो भएका उहाँहरू, सिधै होटेल नगएर व्यर्थै यतातिर आइएछ भनेर पछुतो मान्न थाल्नुभयो ।

मध्यान्हको गर्मी, साथमा पानी समेत थिएन । उसैमाथि घना जङ्गल, वन्यजन्तुको डर पनि थियो । तर, बाटो पहिल्याउँदै अघि बढ्नुको विकल्प थिएन । होटेलबाट साथीहरूको फोन आइरहेको थियो । हामीले बाटो भुलेको जानकारी गरायौँ । अघि बढ्दै गर्दा एक ठाउँबाट माथितिर मिनी ग्रेटवाल देखियो । त्यसलाई पच्छाउँदै उकालो चढ्न थाल्यौँ ।

अन्ततः करिब डेढ घण्टा शैलुङक जङ्गलमा बाटो भुलेका हामी १२:३० बजे असिनपसिन हुँदै होटेल आइपुग्यौं ।

सबैले खाना खाइसकेका थिए । हामीले हतार हतार खाना खायौँ । हिसाबकिताब गरेर होटेलमा बिल चुक्ता गर्ने काम भयो । कोठाबाट सामान झिकेर बस चढ्यौँ । दिनको १:०५ हामी चढेको गाडी, आएकै बाटो पच्छाउँदै गन्तव्य तर्फ लाग्यो । बाहिर गर्मीले प्रचण्ड रूप लिएको थियो । बाघखाेर हुँदै मागा देउराली पुगेपछि ढकमक्क गुराँस फुलेको स्थानमा बस रोकियो ।

शौचका लागि बसबाट ओर्लिएका साथीहरू गुराँसका हाँगा भाँच्न पुगेछन् । हामी आउँदा कतिपय ठाउँका गुराँसका बोटहरू नाङ्गा र भाँचिएका हाँगा तथा फूलहरू भुइँमा छरपस्ट देखियो । गुराँस फुलेको देख्न पाइएन भनेर दुख लागेको थियो । अहिले हामीले पनि यसरी नै जथाभावी भाँचेपछि, अब आउनेले के हेर्लान् भन्ने लाग्यो । स्थानीय निकायले यात्रुहरूमा बढेको यस्तो बाँदरे प्रवृत्ति रोक्नुपर्ने र व्यवस्थित तरिकाले गुराँस बेचेर आयआर्जन गर्न सके हुन्थ्यो कि भन्ने तर्क मनमा आए ।

प्रकृतिको सुन्दरता रसास्वादन छोएर, हातमा लिएर हैन कि आँखा र मनले गर्नुपर्छ ।भीरका रुखहरुमा ढकमक्क फुलेका गुराँस जति मनमोहक देखिन्छन् भुइँमा छरपस्ट फूल र हाँगाहरूमा त्यो सुन्दरता कहाँ भेटिन्छ ?प्राकृतिक सौन्दर्य त नियाल्न पो मजा आउँछ । यो  मास्न उद्धत मानवीय प्रवृत्ति देखेर दिक्क लाग्यो । पढेलेखेकाहरूले नै भ्रमण संस्कृति र अनुशासनको पालना नगर्नु तथा व्यक्तिभित्र आत्मरतिमा रमाउने प्रवृत्ति बढ्दै जानु पक्कै पनि चिन्ताको विषय हो ।

मुडे बजारबाट अघिल्लो दिन बिहान चिया नास्ता गरेको केराबारीमा आएर एक कप चियापान गरेपछि पहिलेकै बाटो हुँदै अघि बढ्यौं । साँझ झमक्कै परिसकेको थियो । साथीहरू पहिले चढेकै ठाउँमा ओर्लनुभयो । नयाँ बानेश्वर पुगेपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि म पनि उत्रिएँ । त्यहाँबाट टेम्पो चढेर साढे सातबजे घर पुगेर तिथि र गते मिलेको आफ्नो जन्मदिन समेत परेको आजको दिनमा शैलुङ्गेश्वर महादेवको दर्शन सहित अविस्मरणीय शैलुङ भ्रमणको बिट मारियो ।

अस्तु ।