बार्दलीमा बसेर ऊ गुनगुनाइ रहिछ । म ढोकापछाडि छेलिएर उसलाई हेरिरहन्छु । त्यो धुन परिचित लाग्छ । सम्झन खोज्छु; हो त ! अस्ति उसैले गुनगुनाएको सुनेकी । पूरै गीत सुनेकी थिएँ त यसरी नै लुकेर । उसको स्वरमा मुग्ध मेरो मस्तिष्कलाई अर्को चर्को धुनले खलबल्याउँछ । म चनाखो भएर यताउता हेर्छु । तर ऊ पर्बाह गर्दिन । लाग्छ त्यो आवाज केवल म मात्र सुन्न सक्छु । कस्तो चर्को आवाज; म आत्तिन्छु । कान थुन्न हात लागिपर्छन् । म ब्यूँझन्छु । मोबाइल बाझिरहेको थियो, बन्द गरें । सिरानी मुनिको डायरी निकालेर पल्टाउन थालें ।
* * *
२०८२/०२/०८
ऊ बसेको कुर्सी भित्तातिर फर्किएको थियो । उसका पातला औंलाहरू बीच कलम नाचिरहेको थियो । घरी केही सोचे झैं त घरी केही लेखे झैं मान्थे । अनि ऊ गुनगुनाउन थाली । कस्तो अचम्मै राम्रो धुन । म झ्यालबाट उसलाई चियाइरहेछु । ऊ अचानक रोकिई । पछाडि फर्कन लागेपछि म लुक्ने प्रयास गर्छु । मेरो खुट्टाले लाग्दा गमला पल्टन्छ र खाँबोमा ठोकिएर म पछारिन्छु । अनि निद्रा खुल्यो ।
२०८२/०२/१४
ऊ चाल मारेर आफ्नो कोठाबाट बाहिरिई । म उसलाई पछ्याउँछु । कस्तो अँध्यारो रात ! सिमसिम पानी परिरहेको थियो । ऊ घरीघरी यताउता हेर्थी, मेरो उपस्थितिको आभास भए झैं । म छेलिन्थें रूखपछाडि, बिजुलीको खम्बानेर । केही पर खोलाछेउमा पुगेर रोकिई । खोलाको तीरमा बसेकी उसले व्यग्र भई कसैको प्रतीक्षा गरे जस्तो लाग्थ्यो ।
टाढाबाट एउटा अस्पष्ट आकृति नजिकिंदै थियो । मैले त्यस आकृतिको अनुहार ठम्याउने प्रयास गरें । प्रकाश प्रशस्त कहाँ थियो र ? बल्ल याद आयो, मैले त उसको अनुहार पनि देखेकी छैन । हो त, म ऊतर्फ फर्कन्छु । खोलाको डीलमा उभिएर उही धुन गुनगुनाइरहेकी उसले अचानक हाम फाली । म ब्यूँझिएँ ।
* * *
पटक पटक एउटै मानिसलाई सपनामा देखेपछि मलाई लाग्यो यस पटक पात्रको खोजीमा ननिस्केकी मलाई खोज्दै पात्र कथा बोकेर आएकी छ । अनि डायरी सिरानीमै राख्न थालें । ऊ बेलाबेलामा देखिइरहन्थी । म आँखा खुल्नासाथ मुख पनि नधोई उसलाई लेख्न थाल्थे । ऊ रहस्यमय लाग्थी । तर उठ्ने बित्तिकै म धेरै कुरा बिर्सन्थें । उसको अनुहार मैले देखेकी थिइनँ या याद नभएको हो भन्न सक्दिनँ । केवल छोटो कपाल र खिरिला, लामा औंलाहरू सम्झन्छु उसलाई याद गर्न खोज्दा । नत्र उसको कोठा, बार्दलीबाट देखिने परिवेश, आसपासको बाटो सब परिचित नै हुन्छन् ।
मोबाइलको आवाजले सपना नबिथोलेको भए कथावस्तु मिल्दो हो । मैले अलार्म बन्द गरिदिएर डायरीमा कलम डुलाएँ ।
२०८२/०२/१७
…
* * *
पूर्ण चन्द्रमा चम्किरहेको थियो । शीतल हावामा विशाल रूखका कलिला पातहरू मन्त्रमुग्ध भई नाचिरहेथे । मैले उसको त्यो छोटो कपाल झुमिरहेको देखें । उसका सामुन्ने उही अग्लो धमिलो आकृति उभिएको थियो । म बिस्तारै नजिकिंदै गएँ । आकृति स्पष्ट हुँदै गयो । परिचित मुहार जो पूर्णतः उसका आँखामा हराएको थियो । त्यो हेराइ, आँखामा त्यो चमक साह्रै नौलो पो थियो । मेरा हातगोडा लुला भए । पराजय, हीनताबोध, ईर्ष्या र आवेग एकसाथ मलाई भेट्न आएको हुनुपर्छ । एकसाथ सारा भाव आँसु बनेर बाहिरिन थाले ।
उसको दाहिने पाखुरामा मेरा नजर अडिए । त्यो कोठी मैले कहीं देखेको हुनुपर्छ । हो त, तर कहाँ ? तब उत्सुकताले सीमा नाघिसकेको थियो । मैले बोलाएँ, “सुन्नुस् त !”
उन्मुक्त हाँसोमा सिँगारिएकी ऊ फरक्क पछाडि फर्किई । मेरा आँखा तिर्मिराए । म आफैंलाई हेरिरहेकी थिएँ ।
निद्रा खुल्यो । सिरानी अलिकति चिसो भएको थियो ।
* * *
घडीले ९ बजाएको रहेछ । हिजो अलार्म बन्द गरेको बल्ल याद आयो । हतार हतार तयार भएर अफिसतिर लागें । सधैं झैं आज पनि ऊ देखिई । सदा झैं मैले उसलाई हेरिरहें । आज उसले नि मलाई हेरी । म मुस्कुराएँ । सधैं झैं उसले आज पनि मलाई देखेन । उसको अनियोजित दृष्टिले मलाई गन्तव्य तुल्याउन सकेनन् सधैं झैं । मैले अचम्म मान्नु पर्ने केही देखिनँ । तर मेरा आँखामा सपनाको उसको दृश्य नाचिरह्यो । मन लजाउँदा मस्तिष्कले खिस्सी उडायो ।
बेलुका घर पुग्नासाथ सिरानीमुनीको डायरी निकालें । चौथो पानामा भएको कविता हेरें । सपनाको धुन प्रष्ट याद भयो । उही लयमा पढिहेरें । हो त, यही त ऊ गुनगुनाइ रहन्थी । मेरै रचना ! म आफ्नै पिछा गरिरहेथें यत्तिका दिन ?
केही बेर घोरिएपछि आफैं माथि हाँसो उठ्यो । आखिर यस पटक पनि पात्रको खोजी अधुरै रह्यो ।
मैले डायरी पुराना किताबका चाङमा सबैभन्दा मुनि राखें; झिक्न जाँगर नलाग्ने गरी ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१ माघ २०८२, बिहीबार 










