सहकारी
“मौद्रिक तरलता घट्यो। त्यसको प्रभाव सहकारीहरुमा पनि पर्यो । यसरी त सहकारी धरासाही हुने भयो । ” अध्यक्ष मानसिँहले चिन्ता व्यक्त गरे ।
“अनुभवी सञ्चालकहरुले चलाएको सहकारीको त यो हालत छ । ती महिलाहरू मिलेर खोलेको प्रगति चोकको सहकारी कुन हालतमा होला ?” सचिव कमलले जिज्ञासा राख्यो ।
“यस्तो आर्थिक मन्दीले व्यापार डामाडोल भएको बेला नाथे आइमाईले के नाप्न सक्छन् ? चुरीफुरी मात्रै हो ! यो सहकारीको झमेला मा नफस् । बरु दुइटा भैंसी थप आइमाईलाई त्यही सुहाउँछ ।” माझ घरे ठुलीलाई भनेको थिएँ ।
“बडो फुर्ती गरेर आफ्नै नेतृत्वमा लक्ष्मी सहकारी खोलेर अध्यक्ष विजया गुरुङ टोपलिएकी छे । “भन्दै मानसिँह गलल हाँसे ।
“उत्कृष्ट सहकारीलाई पुरस्कृत गर्दै छ रे ! सहकारी दिवसमा हौसलाको लागि राम्रो निर्णय गरेछ डिविजन कार्यलयले ।” अफिसमा छिर्दै शेयर सदस्य अनुले भनिन्
” कार्यक्रममा जाँदैछौँ । तिमी पनि हिँड ! हाम्रै सहकारीले त होला पुरस्कार पाउने । ”उस्साहित हुँदै बोले मानसिँह ।
कार्यक्रमका उद्घोषकले भने, “उत्कृष्ट सहकारीको नाम हो लक्ष्मी सहकारी ।”
===
विरोध
“सपना सहिद भए । दुइटा डिग्री छन् परनिर्भर छु ।” एकदिन शिलाले मुख खोलेरै भनिन् |
“मुख हुँदा हुँदै नाकले पानी पिएको अलि सुहाउँदैन, बुहारी । पाल्न सक्ने क्षमता भएरै बिहे गरी ल्याएको हो ।” ससुरा कुर्लिए ।
“त्यही त भन्या । कस्तो संस्कार पनि नसिकाएका हुन् बाउ-आमाले नि !” सासूले झन आलो घाउमा नुन चुक छर्किन् ।
“हो आमा ! मेरा बा आमाले पढाए, लेखाए अनि योग्य र सक्षम बनाए । यसैमा मलाई गर्व छ ।” त्यसैले त आत्मनिर्भर भएर बाँच्न चाहन्छु ।
सहयोगको याचना राख्दै सासूको मुखतिर हेरिन् शिलाले ।
“कस्ती लाज सरम पचेकी नकचरी आइमाई रहिछ । अझ मुखमुखे लाग्छेस् । यस्तै पारा हो भने विकल्प खोज्न नपरोस्।”
लोग्नेले धम्की दियो ।
उनले पनि प्रतिवाद गर्दै भनिन् – “ठिक छ । म पनि मनुस्मृतिकालीन नारी होइन । विकल्प खोज्न सक्छु ।”
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
मुरारीराज मिश्र कार्तिक १४, मंगलवार १४:०१