शिबु ढकाल 

छन्द: तोटक

उछिनेर अगाडि गयो मनुवा
पथमा पद सुस्त छ मानवता ।
कति दूर पुगी उसको तुजुक
बहकिन्छ भई सब दुर्घटित ।

सब भ्रातृत्वको लहना टुटिगो
मनुवा सब स्वार्थ महा जुटिगो ।
बलियो मन हुन्छ जहाँ धनको
फल हुन्छ बराबर ती जनको ।

जति चल्छ हिसाब किताब जहाँ
त्यति मिल्छ निसाप र न्याय यहाँ ।
छ बडो अभिमान छ तुच्छ पना
उसकै सब हुन् ? जगतै भरिका ।

यति स्वार्थ कतै छ र अन्त पनि
मरिमेट्छ स्वयं सब खान्छु भनी ।
छ पूँजी तर दिन्न रुँदा दरिद्र !
हरि खै मनमा ? छ त भान भद्र ।

जब पर्छ कुनै दुःख कष्ट अनि
तब हाँस्छ सहोदर भाइ पनि ।
दुःखमै सहयोग कतै नहुँदा
अनि लाग्छ मर्‍यो मन-मानवता ।

पथमाझ अचानक घायल भै
लडिँदा सहयोग हुँदैन कतै !
बरु खोल्छ घडी गहना सुनका
भइदिन्छ उदासिन मानवता ।

न छ जीवन दर्शन मूल्य कला
भरिजानु छ पातक धातु घडा ।
यति बुझ्न सके कपटी दुनियाँ
हुनु के छ सुतेपछि बाँस महाँ ।

जब भ्रूणहरू सहजै यसरी
पुछिइन्छ कठै ! मयलै जसरी ।
न त चक्कु चिकित्सकको भर भो
बरु चक्कु चिकित्सकको डर भो ।

छ अनेक मिसावटको कहर
छ नि बालकको दूधमा जहर ।
कसरी विषबाट हुने अछुतो
छ नि औषधि सेवनमा पछुतो !

कसरी भर पर्नु नि रक्षकको
हुनुपर्छ शिकार यहाँ उसको ।
छ सुरक्षित को र यहाँ घरमा
लुटिइन्छ नि लाज दिवा पलमा ।

पशु सज्जन भो मनुवा कुटिल
उसको ब्यवहार भयो जटिल ।
भर पर्छ खसी मनुवा जसको
घरमा इति हुन्छ हरे ! त्यसको ।

– शिबु ढकाल, पोखरा ।