

शिबु ढकाल
एकाबिहानै तीन तले साहुनी झारफुके बाजेको घर पुगिन् । बाजेले झारफुक गर्ने कोठामा स्वागत गर्दै भने, “भन्नुस् साहुनी के समस्या भयो ?”
“दुई दिनदेखि ढाड दुखेर हलनचल भएँ । झारफुक गरिदिन पर्यो ।” साहुनीले कम्मरमा हातले दबाउँदै भनिन् ।
बाजेले मन्त्रोच्चारण गर्दै कुचाले साहुनीको कम्मरबाट अदृश्य चिज झार्दै भुइँमा राखे । उनलाई बेस्सरी हाइ पनि आयो । झारफुककै क्रममा उनले प्रश्न पनि गर्दै गए ।
“खाली कोठामा मान्छे राख्नुभयो ?”
“अस्तिबाट एउटी आइमाई आएकी छ ।”
“राम्रोसित बुझेरै त दिनुभयो होला कोठा ?”
“ह्या, जाबो भाडामा बस्ने मान्छेको बारेमा पनि के चासो राख्नु ! श्रीमान् बितेको रे । ऊ चाहिँ छोराछोरी पढ्ने स्कुलमा सरसफाइको काम गर्ने रे ।”
बाजेले निधारको त्रिशुल खुम्च्याउँदै भने, “भन्न त हुँदैन अचेल यस्तो कुरा । गडबड त्यहीँ छ । त्यो कोठा तुरुन्तै खाली गराउनुस् । नत्र तपाईँलाई एकेक थोकले छोड्दैन । ”
“हस् म त्यो आइमाईलाई भोलि नै भगाउँछु ।” भन्दै पाँच सय रुपैयाको नोट बाजेलाई टक्र्याएर साहुनी घर फर्किन् ।
अर्को साता झारफुके बाजे साहुनीको घरको बाटो हुँदै कतै जाने क्रममा साहुनीको घरको एउटा कोठाबाहिर टाँसिएको बोर्ड देखे – “झारफुक सेवा” ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

