शिबु ढकाल

क्षितिजपारि कुहिरोभित्र एउटा आवाद बस्ती छ
तुङ्गहरूको परिधिलाई ढाकेको बादललाई चिर्दै-
नौ डाँडा र सात तुइन पारि
पुग्न सकिन्छ त्यस अगम्य बस्तीमा ।

त्यहाँ, देखिन्छ भोका पेटहरू जोतिरहेको
त्यहाँ, देखिन्छ नाङ्गा लाजहरू घिस्रिरहेको
त्यहाँ, टेकिन्छ निर्धाको छातीमा निर्मम पाइलाले
त्यहाँ, पाइन्छ भकारीको पिँधमा बिस्कुन सुकाएको
त्यहाँ, भेटिन्छ रित्ता ज्ञानका कोठाहरू
त्यहाँ, मेटिन्छ वासनाको तृष्णा
त्यहाँ, रेटिन्छ निर्दोष गर्धनहरू !

ती उपेक्षित तनमनहरू नाङ्गा पाखामा पौरख खोज्दछन्
बन्जर भूमिमा परिश्रम रोप्दछन्
दुई छाकको यात्रामा सहयात्री गुमाउँछन्
सिटामोलको अभावमा दम तोड्छन् ।

ठूल्ठूला सपनाहरू कहाँ छन् र तीनका
धारामा पानी आए पुग्छ / धारै आए पनि पुग्छ
दुई छाक खाना पकाउन पाए हुन्छ / चुलो बाल्न पाए पनि हुन्छ
शिक्षाको एउटा किरणले प्रत्येक धुरीलाई छोए हुन्छ
शान्त मनले सुस्केरा फेर्न पाए हुन्छ ।

तर, ती व्यथित मनहरूलाई कुनै हातले मलमपट्टि गरेन
पञ्चवर्षे दर्शनले आश्वासन मात्रै दियो
क्षितिजपारिको यो आवाद / बर्बाद वस्तीलाई
कसैले पिरती गरेन
त्यसैले यस्तै, यस्तै नै छ त्यहाँ ।

पोखरा