स्याप्पै सेत्तै फुलेको
बूढो माछापुच्छ्रेलाई
आफ्नो मनको मझेरीमा
उतारेर बसेकी, ए फेवा !
सिंगै पोखरा,
के तिम्रै पेवा?
…के, पोखरा भन्नु
फगत् फेवा मात्र हो र?
किन्चित पनि हैन
म मान्ने छैन।
पोखरा ! तिमी, स्वयं एक अप्सरा हौ
तिमी सेतीमा स्याप्पै सुकेकी, मानौं तिम्रो छिनेको कम्मर
फेवामा ह्वात्तै फुकेकी, मानौं तिम्रो विकसित नितम्ब,
सारङ्गकोटमा जुरुक्क उठेकी, मानौं तिम्रा उन्नत वक्षस्थल
अनि, अर्मलामा धसेकी, मानौँ
तिम्रो गहिरो नाभि
सुन्दरताको मानक, आकर्षक, सौम्य अनि शान्ति प्रदायक।
…………..
बूढो ‘माछापुच्छ्रे’लाई देखाएर पोखरा
आफ्नो ‘पतिव्रता’को राग अलाप्छे
अनि,
भोका भीड जवानको
डुङ्गामा चढाएर,
आफ्नो तरल-तन फेवामा
अर्कै लीला रच्छे
नखरमाउली पोखरा,
उत्ताउली पोखरा ।
………………
पोखरा भन्नु नै पानी
अर्थात्
पानीको कहानी
अर्थात्
जवानी-पानी-पानी।
……….
म दूरदेखि आएँ-
तिमीमा,आफूलाई मिलाएँ
तिमी स्निग्ध वर्षा बनेर
वर्षिरह्यौ,
दोष सारा ‘साउन’लाई दियौ !
म बुझ्छु
म राम्ररी बुझ्न सक्छु
तिमी सेती बनेर जत्ति लुके पनि
म,फेवामा भेट्छु तिमीलाई
थाह छ मलाई,
तिम्रो फेवाको पानीमा
लाखौं लाहुरेका
यौवना वालाहरूका
बैंशालु भोक पनि
बेस्कन घोलिएका छन्
अनि, म समेट्न थाल्छु
तिम्रा तृष्णा
जीजिविषा
अनि
सारा जिज्ञासाहरूलाई
आफ्नो बाहुपाशमा !
……………….
आऊ फेवा!
आऊ बेगनास!
आऊ सेती!
आऊ प्यारी अप्सरा !
अर्थात्
पोखरा
आफ्ना छरपष्ट
पोखिएका प्यास
मैमा समेटेर ।
धनुषाधाम नगरपालिका -४,सर्सा,धनुषा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।