
१. पहिलो लघुकथा
(साहित्यपोष्ट लघुकथा प्रतियोगिताको पहिलो विजयी)
षड्यन्त्र
अमर त्यागी
उनी घरका बतासे काइँला थिए । उनको स्वभाव औधी छुद्र किसिमको थियो। छिमेकीभक्त उनी छिमेकीकै योजनामा चल्थे र बेलाबेलामा षड्यन्त्र रचेर घरपरिवार अराजक बनाइरहन्थे ।
एक्कासि उनी परिवर्तित भए । आफ्ना परिवारप्रति सौहार्द्र र संवेदित देखिए। छिमेकीप्रति आफू पनि आक्रामक भए र आफ्ना असन्तुष्ट दाजुभाइहरूलाई पनि उत्तेजित पारेर आक्रामक बनाए । अन्त्यमा परस्पर भिडन्तको स्थिति सृजना गरेर घमासान रूपमा लडाए ।
छिमेकीसँगको गोप्य सहमति र योजनाअनुसार आफ्नो घर छिमेकीको कब्जामा पुऱ्याए र आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरूलाई बिचल्लीमा पारे। आफ्नो स्वार्थ सिध्द भएपछि छिमेकीले उनलाई पनि बिचल्लीमा पारे ।
०००
(साहित्यपोष्ट अनलाइन पत्रिकाले घोष्ट राइटिङसँगको सहकार्यमा पचास हप्ता निरन्तर लघुकथा प्रतियोगिता गरिरहेछ । यही प्रतियोगितामा पहिलो हप्ता छानिएको तीन उत्कृष्ट लघुकथा मघ्येको एक लघुकथा हो लघुकथाकार अमर त्यागीको “षडयन्त्र” ।
अमर त्यागी कुशल लघुकथाकार हुन् । उनी समय र समयभित्र गुजुल्टिएको समाजको बारेमा गहिलो भावसहित लघुकथा लेख्छन् । लघुकथासम्बन्धी अमर त्यागीका केही कृतिहरू पनि छन् । प्रस्तुत लघुकथा “षडयन्त्र” राजनीतिक विषयमा लेखिएको विम्वात्मक कथा हो । यस कथाले थाहा नपाउँदो गरी सीमा विवादलाई छोएको छ ।)
२. सक्रियकालीन लघुकथा
जिउँदा शहीद
लक्ष्मण अर्याल
शहीद गेटमा दशरथ चन्दले शुक्रराजलाई भने – ”आज माघ १६ बिर्सियौ शुक्रराज ?”
”त्यो १९९७ साल माघको मुटु नै जम्ने चिसो महिना, साथीभाइहरूको न्यानो माया, राणाहरूका कठोर क्रूरता र सत्य बोल्दा मर्ने त्रासले पहेँलिएका नेपाली अनुहार कहाँ बिर्सन्थेँ दाइ ?” – शुक्रराज बोले |
गङ्गालाल खुइय गर्दै सुस्केराए र भने – ”साथी हो ! हामीले त्यतिखेर राणाहरूले माफी माग छाड्छौँ भन्दा माफी नमागेर ठिकै गरेछौँ ।
”जिउँदो शहीद” बाँचेकाहरूमा ”किन र मित्र ? के भयो ? आज अचानक यतिका वर्षपछि तिमी किन यस्तो भनिरहेछौ ? त्यतिबेलै हामी ठिक हौं राणाहरू गलत हुन् भनेर नै हामीले मृत्युवरण गरेका हौँ नि बिर्सियौ ?” – धर्मभक्तले कुरा अगाडि बढाए |
गङ्गालालले भने – ”हामीले अन्यायका विरुध्द साहस झिक्यौं, मृत्युवरण गर्यौं र शहीद भयौं तर धन्य ईश्वर ! यो युगमा जनता भएर बाँचेका हुन्थ्यौं भने बाँचेरै पलपल मर्नुपर्ने जिउँदा शहीद बनाउने रहेछन् यी लोकतन्त्रे राणाहरूले |”
०००
(नेपाली लघुकथामा ५० को दशकलाई सकृयकालीन समय मानिन्छ । यही समयमा उदाएका लघुकथाकार लक्ष्मण अर्यालले नेपाली लघुकथाको विकासको लागि सतप्रयासहरू गरिरहेका छन् ।
लघुकथाकार अर्यालको विविध परिचय हुँदाहुँदै पनि उनी मूलत: लघुकथाकार हुन् । उनका दुई लघुकथा कृति प्रकाशनमा आएका छन् । “सम्प्रेष्ण” मार्फत पनि लक्ष्मण अर्यालले नेपाली साहित्य र यही साहित्यभित्र रहेको लघुकथाको विकासमा समय र दिमाग खर्चिरहेका छन् ।
प्रस्तुत लघुकथा “जिउँदो शहीद” ले बाँचेकाहरूप्रति सहानुभूति र व्यङ्ग एकैसाथ प्रस्तुत गरेको छ भने शहीदहरूलाई वर्तमान समयले खासै महत्त्व नदेखाएको कुरालाई श्वैरकल्पनाको माघ्यमबाट बडो गजबले उठान गरेको छ ।)
३. मलाई मन परेको लघुकथा
अतीत प्रेम
तारा केसी
केही दिन भयो त्यो मान्छे आफ्नो निलो कार रोकेर कहिले यता कहिले उता, केही भुलेजस्तो, केही छुटेजस्तो, केही हराए जस्तो गरेर यता उता भौँतारिरहेको ।
को होला त्यो अपरिचित मान्छे अधबैंसे उमेरको ? उसको पहिरन देख्दा ऊ उच्च घरानियाँ हुनुपर्छ, सजिलै अनुमान लगाउन सकिन्थ्यो । उसलाई त्यो बाटोमा भेटेको पाँचौँ दिनको दिन मैले सोधेँ- “नौलो लाग्यो । केही दिनदेखि यो बाटोमा देखिरहेको छु। तपाईंको परिचय ?”
मेरो प्रश्नले ऊ अलिकति मुस्कुरायो र भन्यो-
“म हजुरको लागि अपरिचित छु तर यो बाटोसँग मेरो परिचय पुरानो छ ।”
“के खोज्दै हुनुहुन्छ यो बाटोमा ?” मेरो दोस्रो प्रश्न थियो ।
उसले भन्यो- “आफ्नो हराएको अतीत।”
“भेट्नु भो त?”
“अतितसँग भेट्ने बाटो नै हरायो ! अल्मलमा परेँ, अहिले स्मृतिसँग छु।”
“न खोज्नुस् भेट्नु हुन्न। तपाईं हिँडेको बाटोमा समयले चाबी मारेर हिँडिसकेको छ। अब सम्भव छैन अतितलाई भेट्न।”
अधबैंसेले लामो सुस्केरा छोड्यो र भन्यो- “यहि दोबाटोबाट छुटि्टएको थियो मेरो अतीत मसँग । मेरो पहिलो पाइला, पहिलो स्कुल, पहिलो कलेज, पहिलो प्रेम, अनि मेरा बा आमा चिन्नुहुन्छ ?”
“म नयाँ मान्छे, कसरी चिनौँ तपाईंको तीन पुस्ते?”
“मेरो गाउँ चिन्नु हुन्छ त?”
ऊ त्यो माथिको डाँडागाउँ । सल्लाघारी, पिपलबोट, महत गाउँ, भीमसेन डाँडा, टुसाल भेट्न आको म।”
“त्यो गाउँ कुन नक्सामा छ ? यो त गाउँ होइन नगर हो । ती तपाईंका इतिहास भेटिन्न अचेल पढिन्छ मात्र ।”
“अनि ती सुन्दर धान फल्ने फाँट, तोरी फुल्ने बारी, गहुँ, मकै, फापर, कोदो कहाँ गए ?”
“कंक्रिट जंगलले घेरिएपछि ती सबै विस्थापित भए। यस्तो अतितको माया लाग्थ्यो भने किन जानु भो छोडेर ?”
“बाध्यताले ।”
“अनि किन फर्केको नि ? सबै चिज पुगेजस्तो देखिनु हुन्छ ?”
ऊ निहुरियो । उसको अन्जुलीमा एक मुठी माटो राखिदिँदै समयले भन्यो- “ला यो तेरो अतित र लगेर तेरा सन्तानलाई चिनाइदे ।”
०००
(तारा के.सी. नेपाली साहित्यमा स्कुले उमेरदेखि लागेको स्रष्टा हुन् । सौखलाई नशा बनाएर साहित्यको लघुकथामा विधामा पछिल्लो समय उनी अत्यन्तै सक्रियताका लागिपरेकी छन् ।
तारा के.सी. “आधुनिक नेपाली लघुकथा” फेसबुक ग्रुप पेजको एडमिन सदस्य हुन् । उनी राम्रा लघुकथामा मधुर आवाज मिसाई लघुकथालाई युट्युबबाट सहजै सुनाउने काममा पनि सक्रिय छिन् । प्रत्येक दिन एक फरक स्रष्टाको खोजीमा उनी खोजी अनलाइन पत्रिकासँग सहकार्य गरिरहेकी पनि छिन् ।
प्रस्तुत लघुकथा “अतित प्रेम” प्रत्येक पाठकको हराएको अतित हो । कथाकारले यो विषय कुन सोचमा तयार पारिन् थाहा नभए पनि कथामा कथाकारको भावना छ्यालब्याल पोखिएको छ । पोखिएको भावनामा डुब्ने हो भने लघुकथाभित्र थप लघुकथाहरू पनि भेटिन सक्छ ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

