साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

साताका छानिएका चर्चित पाँच लघुकथा

Chovar Blues Mobile Size

१. काल विभाजनको लघुकथा – बुद्धि

लक्ष्मीप्रसाद पौडेल

लक्ष्मीप्रसाद पौडेल

‘यसरी बोटै रित्तो हुनेगरी फूल नटिप्नु भएको भए हुन्थ्यो ! कस्तो रित्तो देखियो फूलबारी ।’  बिहान मोर्निङ वाकको बहानामा फूल टिपेर हैरान पारेका थिए । आज ढुकेरै फेला पारिन् रमाले ।

‘ए, आज घरमा पूजा थियो, त्यै भएर अलिकति टिपेको ।’ गीताले मुन्टो तल गर्दै जवाफ दिई ।

sagarmani mobile size

एकदिन रमा डुल्दै  गीताको घरसम्म पुगी । घर अगाडिको आँगन टुक्रुक्क एक्लै बसेको थियो । रमालाई कस्तो कस्तो लाग्यो, नभनी रहन सकिन । ‘यत्रो आँगन खाली राखेको छ । यसो फूलसुल लगाए त पूजाआजामा काम लाग्थ्यो नि ।, रमाले गीतातिर हेर्दै भनिन् ।

गीता केही बोलिन । हिजो चार थुङ्गा फूल के टिपेकी थिएँ । आइपुगिन् अर्ती दिन । बुढा मेयरमा उठ्दैछन् । चुनाव जिते घरको माथिल्लो तला थपिन्छ । ढुङ्गा बालुवा राख्ने ठाउँ हुँदैन । अहिले फूल बिरुवा लगायो, सबै उखेलेर फाल्नु पर्छ । कसकसलाई सुनाउनु घरका कुरा ।

‘रोप्ने योजना बनाउँदै छु  । अहिले समय मिलेको छैन ।’ गीताले यत्ति भनी ।

‘फूल रोप्न पनि साइत हेर्नुपर्ने । अल्छीका दशथरी बहाना !’  रमा जसरी आएकी थिई उसैगरी बाटो लागी ।

चोकमा पार्टीका जिल्ला सदस्य, स्थानीय वडा अध्यक्ष, आगामी स्थानीय चुनावमा नगरप्रमुखका प्रवल दावेदार, ‘मेयरमा चुनाव जितेपछि यो नगरको मुहार बदल्छु । वडा अध्यक्षले मात्र केही गर्न सक्दो रहेनछ । काम गर्ने माहोल नै मिलेको छैन नगरमा’ भन्दै चर्को गफ दिँदै थिए । रमाले झट्ट चिनिहाली । उनी तिनै गीता पति  थिए ।

‘बुढाबुढी एउटै ड्याङका रहेछन् । बहानाबाजीले देश हाँक्ने ।’ ऊ अगाडि बढी ।

रमा घरमा पुग्दा घरको नक्सा नै  बदलिएको थियो । ‘हेर न,  बाटो हिंड्नेले फूल टिपेर हैरान पारे । बोटै उखेलेर फाल्दिएँ । के टिपेर तिनका भगवान् पुज्दा रहेछन् हेर्छु म पनि । अब  यहाँ एउटा शीतल ताप्ने मञ्च बनाउँछु ।’

रमा भुतुक्कै गली । थचक्क भुइँमा बसी  ।

‘हरे शिव नारायण, यी मान्छेको बुद्धि । हेर, अरूको रिसले आफ्नो घर उजाडेको । यी पनि सानोतिनो नेता जो परे । ‘

###

(नेपाली लघुकथामा ५० को दशकलाई सक्रियकाल भनिन्छ । यसै समयदेखि लघुकथाकार लक्ष्मीप्रसाद पौडेल साहित्यमा देखिएका हुन् । पछिल्लो समय उनी नेपाली लघुकथाको विकासमा सक्रिय रुपमा लागेका छन् । उनी लघुकथा समाजको प्रदेश स्तरीय समितिको सचिव पनि हुन् ।

कथाकार लक्ष्मीप्रसाद पौडेल मोफसलमा रहन्छन तर उनीको सृजनाले सिधै लघुकथाको केन्द्रमा हमला गर्छ । उनी लघुकथामा समाजको विकृति र विसंगतिहरू खोज्छन् । पीडा र अभाव पौडेलको लघुकथाको मुटु हो ।

प्रस्तुत लघुकथा “बुध्दि” लक्ष्मीप्रसाद पौडेलको एक चोटिलो लघुकथा हो । दुई महिलाबीचबाट सामाजिक कुराको उठान गर्दै लक्ष्मीप्रसादले अन्त्यमा नेताको दिमागको सटिक चित्रण गरेका छन् ।)

 

२. सङ्ग्रहभित्रको लघुकथा – समयको माग 

टुकादेवी पौडेल आचार्य

टुकादेवी पौडेल आचार्य

“हेल्लो सोनी ! आजको मेरो टिकटक  त हिट भयो नि … हेरिस् ? आज त कति धेरै भ्युअर्स बढेका । लाइक कमेन्ट् त कति हो कति ! दीपकले भोलि लाइभमा बस्न इन्भाइट् गरेको छ । तँ पनि आइज न यार् टिक्टकमा । तँ पनि टिकटक आइडी बना न । तेरा ती साहित्यिक साथीले सुनकै प्लेनमा उडाउँछन् कि झैँ गर्छेस्”, निकै हौसिँदै फोनमा भनी सिन्जाले ।

“राम्रै भएछ त । तेरो टिकटक भाइरल बना न त सिधै फेसबूकमा पोष्ट हुनी गरेर । किन अर्कालाई खिसीटिउरी गर्छेस् ? तँलाई तेरो टिकटक प्यारो भएजस्तै मलाई नि मेरो साहित्य प्यारो छ, बुझिस् । मलाई त्यो लाइभसाइभमा बस्नी फुर्सद छैन । एउटा लघुकथा लेखेर सिद्द्याउँदै छु ।”, सोनिकाले कड्केरै जवाफ दिई ।

“हेर न ! नखरा पारेकी । मैले त तेरो लेख रचनाको पेजमा लाइकको इमोजी, गूडलक, ब्युटिफूल, नाइसजस्ताको स्टिकर मात्रै देख्छु त । त्यैपनि लेखको अन्तमा यसो हेर्न लायक फोटो राखिस् भने । अझ तेसैमा पनि भलाद्मी भएर  हार्दिक आभार हजुर भन्ने रिप्लाई हान्छेस्। तँ धेरै भद्र नबन् के ! मान्छे कति व्यस्त छन् यहाँ ! तँलाई समयको माग नै थाहा छैन । हाम्रो १४/१५ सेकेन्डको भिडियो त मनलाई नलाई हेर्छन् मनोरञ्जन हुनिखाले त । अनि तेरो लेख भनेर खुब पढ्लान् नि पाठकले ! धेरै भावुक नबन् है केटी ।”, सिन्जाले व्यङ्ग गर्दै भनी।

“छोड्दे सिन्जु ! जे सुकै भए नि आ-आफ्नो रुचिअनुसार हो सामाजिक सञ्जालमा जोडिनी । किन बित्थैमा झर्कोफर्को गर्नुपर्यो ? आखिर ! तँ पनि दर्शककै भोकी होस् के रे । तँ पनि भाइरलवालासँग ड्युट गरेर होस् कि नमरे पनि मरेको एक्टिङ्ग गरेर होस्, दर्शक तान्न खोज्छेस् के रे ! किन सुधी बन्न खोज्छेस् हँ ? तेरो टिकटक क्षणिक हो । सहित्य जीवन्त छ, यो युग युगको माग हो, बुझिस् ! कमेन्ट र लाइकले केही फरक पर्दैन । बुझिस् केटी ?”, सोनिकाले फोन काटी।

###

(लघुकथाकार टुकादेवी आचार्यको लघुकथासङ्ग्रहको नाम हो “बार्दली” । यसै सङ्ग्रहबाट प्रस्तुत लघुकथा लिइएको हो । लघुकथाकार टुकादेवी लघुकथा समाज नेपालको गण्डकी प्रदेश सदस्य हुन् । उनी नारी संवेदनाका विषयहरूलाई समसामयीक पाराबाट आफ्ना लघुकथाहरूमा प्रस्तुत गर्दछिन्  ।

प्रस्तुत लघुकथा “समयको माग”मा लघुकथाकार टुकादेवीले दुई महिला पात्रहरूको रुचिलाई समयको मागसँगै प्रस्तुत गरेकिछिन् । दुबैका दुबै रुचिलाई दुबैले महत्त्वका साथ प्रस्तुत गरेका छन् । तर कुन रुचि समयको माग हो त ? कथाकार टुकादेवीले बोलेकी छैनन् । कथामा कथाकार बोल्नु नहुने सिद्धान्त  लघुकथाकार टुकादेवीले पालन गरेकी छिन् । सिद्धान्तका केही बुदालाई हेर्दा यो लघुकथा अब्बल छ ।)

 

३. समूहभित्रको लघुकथा – धर्म र संस्कार

आचार्य प्रभा 

आचार्य प्रभा (अमेरिका)

“मम्मी धर्म र संस्कारमा के फरक छ ? “छोरीले प्रश्न गरी।

“यी दुवै कुराहरुको अर्थ बेग्लै भए पनि परस्परमा यिनीहरु एकार्काका परिपूरक हुन् । मान्छेहरुका लागि यी दुवै आवश्यक छन् ।”, मैले भनें ।

उसले फेरि सोधी, “कसरी ?”

“धर्म नगर्ने मान्छे समाजकै लागि निर्दयी र कठोर मानिन्छन् । संस्कारविनाको मान्छे पशुसमान हुन्छ । खानु, सुत्नु र सन्तान उत्पादन गर्नबाहेक अरु केही लक्ष्य हुन्न । मान्छेले धर्म मान्नुभनेकै संस्कारलाई अँगाल्नु हो ।”, फेरि अर्थ्याएँ ।

“त्यसो भए हामी पनि रविनहरुले जस्तै ठुल्ठुला पुराण, पूजाआजा लगाऊँ न ! धर्म नि गरिने संस्कार पनि बँच्ने ।”, उसले प्रस्ताव राखी।

“धर्मको अर्थ त्यस्तो होइन । पूजाआजा गर्नु, पुराण लाउनु परम्परागत संस्कार ग्रहण गर्नु हो । तर सबैभन्दा ठूलो धर्म मानव धर्म हो । यो आफ्नो परम्परागत रीतिथिति, संस्कारभित्रै पर्छ । जुन घरको परिवार संस्कारहीन हुन्छ, तिनीहरु कठोर, निरङ्कुश, नास्तिकसमान हुन्छन् । यसलाई संस्कार बचाएको भनिन्न ।”, मैले बुझाएँ ।

उसले फेरि उत्सुकता तेर्साई, “अनि पुराण, पूजाआजा धर्म र संस्कारभित्र पर्छ भने किन नगर्ने ?”

“तिमीले धर्म र संस्कारलाई पूजाआजा र पुराण भन्ने मात्र बुझ्यौ छोरी ? संस्कार भनेको सबैप्रति सद्भाव, मायाप्रेम बाँड्नु, वृद्धवृद्धालाई सेवा, आदर गर्नु र असहायहरुलाई सहयोग गर्नु हो । जसले मानव धर्मको भूमिका खेलेको हुन्छ ।”, मैले अर्थ्याएँ ।

“तर मम्मी, रविनहरुले पुराण लाएर धर्म कमाउँदै छन् भनेर सबैले भन्छन् त ?”, उसले अझै प्रश्नमा जोड दिई ।

मैले बुझाउने प्रयास गरेँ, ” त्यो धर्म मात्र भ्रम हो । आफ्नो वृद्धवृद्धा आमाबाबुलाई वृद्धाश्रममा राखेर, असाहाय बालबालिकालाई काम दलाउँदै, निर्जीव मूर्ति पुजेर के गर्नु ? जिउँदा भगवान् समान आमाबाबुलाई लखेट्ने कुन संस्कार र धर्मभित्र पर्छ ? त्यो धर्म होइन । मानव धर्म नै सबैभन्दा महान् धर्म हो । मानव धर्म भनेको अशक्त, असाहयको सेवा गर्नु हो ।”

उसले कुरा बुझेझैँ गरी । म सासूआमालाई औषधी दिन कोठामा पसेँ ।

###

(नमस्ते आधुनिक लघुकथा मञ्च फेसबुकमा देखिने अन्य लघुकथा समूहहरूमध्ये पृथक् समूह हो । यसले लघुकथाको विकास र बिस्तारको साथसाथै मानवसेवाको कार्य पनि सँगसँगै गर्दै अघि बढिरहेको छ । लघुकथामा विषयगत सामूहिक सङ्ग्रह र वार्षिक स्मारिका प्रकाशन गर्ने काम पनि यस लघुकथा मञ्चले गरिरहन्छ ।

केही समय पहिले आचार्य प्रभाले यसै समूहमा “धर्म र संस्कार” लघुकथा पोष्ट गरेकी थिइन् । आचर्य प्रभा ४० वर्षदेखि अनवरत् साहित्यमा कृयाशील स्रष्टा हुन् । काव्य र काव्यअन्तर्गतको गीति विधा प्रभाको मूल विधा हो । उनीका थुप्रै गीतहरू रेकर्ड भएका छन् भने केही बहूत चर्चित गीतहरू पनि छन् । पछिल्लो समय आचार्य प्रभा लघुकथामा सक्रिय छिन् ।

लघुकथाकार आचार्य प्रभा लघुकथामा आदर्शवादी धारको वकालत गर्ने लघुकथाकार हुन् । मानव, समाज, धर्म, संस्कृति र राष्ट्रमा प्रेम, विश्वास, सद्भाव र संस्कार  हुनुपर्ने कुराहरू प्रभा आफ्ना लघुकथाहरूमा सजिलै घुसाउँछिन् ।प्रस्तुत लघुकथा “धर्म र संस्कार” मानव सेवामा केन्द्रित लघुकथा हो । लघुकथामा आचार्य प्रभाले बालसुलभ जिज्ञासाबाट समाज र समस्त प्राणीहरूलाई वृद्धा बाआमाको सेवा गर्न सिकाएकी छिन् । यो लघुकथा साहित्यपोस्टकाे साप्ताहिक लघुकथा प्रतियोगिताको १९ औँ भागमा उत्कृष्टसमेत भएको थियो ।)

 

४. समसामयीक लघुकथा – स्पष्टीकरण 

समीर पाख्रिन

दोस्रो दिन कार्यालयमा हाजिर हुन पुगेका सूर्यमान र चन्द्रमानलाई हाजिर गर्न दिएनन् । उनीहरूलाई प्रमुखले कार्यकक्षमा बोलाएर अघिल्लो दिन बिनासूचना गयल भएको बारे स्पष्टीकरण मागे ।

“हाकिमसाप, उपस्थित हुन सकिएन किनकि हिजोको झाँकीमा मैले ढोल बजाउनु पर्ने थियो । यो दिन हाम्रो परिवारको  सदस्यमध्येबाट एक जनाले  ढोल बजाउने  परम्परा छ । जुन तीन पुस्तादेखि चल्दै आएको परम्परा हो । यसैले ड्युटीमा हाजिर हुन सकिएन ।”, सूर्यमानले स्पष्टीकरण दियो ।

“सरकारको तलब खाएर त्यसो भन्न पाइन्छ ?”, हाकिम कड्किए ।

“किन पाइँदैन ? पहिले पहिले सरकारी बिदा हुन्थ्यो । देशैभरि यो दिनलाई राष्ट्रिय पर्वको रूपमा पालन गरिन्थ्यो । आज व्यवस्था फेरिँदैमा नपाइने हो र ?”, सूर्यमान पनि के कम ! उसले निर्भीकताका साथ प्रतिवाद गर्यो ।

“अनि तिमी चन्द्रमानचाँहि किन गयल ? बिनासूचना बिदा लिन पाइन्छ ? यो तिम्रो बाैबाजेको बिर्ता हो मनपरि गर्नलाई ?”, हाकिम अनापसनाप बोल्न थाले ।

“हो, यो हाम्रै पुर्खाको बिर्ता हो । उनीहरू थिए र त आज हामी छौँ । शिरमा ढाका टोपी छ । दौरासुरूवाल ढल्काएर घुम्ने मेचमा बस्न पाएका छौँ । यो चन्द्रसूर्य अङ्कित ध्वजा फर्फराउन पाएका छौँ ।”, चन्द्रमानले आक्रोश व्यक्त गर्यो ।

“चुप लाग्नोस् तपाईँहरू । देश अग्रगमनतिर लम्किरहेको बेला यसरी झिनामसिना कुरामा अल्मलिने होइन । जानोस्, हाजिर गरेर आआफ्नो कक्षमा ।”, हाकिमले आदेश दिए ।

सूर्यमान र चन्द्रमानले एकार्कालाई हेरे अनि कक्षबाट बाहिरिए । दुवैको आँखा, कान र अनुहार राताराता देखिन्थे । मानौँ, आक्रोश अझै छछल्किएर पोख्न बाँकी छ ।

###

(भर्खरै एकता दिवस मनायौँ हामीले । देशमा गणतन्त्र  स्थापनाको नाममा हामीले यस्तो महत्त्वपूर्ण दिवसहरूलाई बिस्तारै भुल्दै छौँ । प्रस्तुत लघुकथा “स्पष्टीकरण”ले देशको महत्त्वपूर्ण दिवस भुल्न खोज्नेहरूलाई सम्झाउने कोसिस गरेको छ । लघुकथा समय सान्दर्भिक छ ।

लघुकथाकार समीर पाख्रिन खरो, हक्की र अध्ययनशील स्रष्टा हुन् । उनी अग्रज स्रष्टाको सम्मान र अनुज स्रष्टालाई माया गर्ने सोचका स्रष्टा हुन् । पछिल्लो समय उनी लघुकथामा मज्जाले खेलिरहेका छन् ।

प्रस्तुत लघुकथा  “स्पष्टीकरण” देशको स्वाभिमान र  एकताको लागि लेखिएको लघुकथा हो । लघुकथाकार पाख्रिनले सूर्यमान र चन्द्रमानको माध्यमबाट थाहा नपाउँदोगरी राष्ट्रिय झण्डाको बिम्वको सहयोगले देशभक्ति बोलेका छन् ।  लघुकथा खुल्ला समापनमा लेखिएको छ र बिज वाक्यले पाठकलाई अझै केही कुरा भन्न बाँकी रहेको आभाष  दिन्छ र अन्त्यमा पाठकै बोल्न उत्प्रेरणा जगाउँछ ।)

 

५. मलाई मन परेको लघुकथा – भावना 

देवीप्रसाद थापा ‘मामा’

देवीप्रसाद थापा ‘मामा’

“बाबा ! म तपाईंले भनेझैं प्रथम श्रेणीमा उत्तीर्ण भएँ । घुमाउन लान्छु भन्नुभएको थियो ! कहिले लाने ?”, आठ वर्षे छोरीले बाबुलाई आफ्नो बाचा सम्झाउँदै भनी ।

बाबु कथा लेख्नमा व्यस्त थियो ।

पुनः छोरीले सोही प्रश्न दोह्रोयाई ।

एक्कासी बाबुले उत्तर दियो, “जाने भइछस् घुम्न ! जा, नत्र भेटलीस् । लेखेको देख्दिनस् ?”

छ‍ोरी रुँदै रुँदै आमा भएतिर गई।

भित्रबाट आमा भुतभुताई, “कस्तो विडम्बना ! काल्पनिक पात्रको भावना बुझ्ने मान्छेले किन जिउँदा मान्छेको भावना बुझ्दैनन् ?”

###

(भारतीय भूमि मणिपुरमा रही नेपाली भाषाको सेवामा समर्पित छन् देवीप्रसाद थापा “मामा” । उनी काव्य र आख्यानमा विशेष रुचि  राख्छन् । पछिल्लो समय लघुकथालाई मुख्य विषय बनाएर देवीप्रसाद थापा “मामा” साहित्यमा अघि बढिरहेका छन् ।

प्रस्तुत लघुकथा “भावना” भावनामा खेलिएको एक बेजोड लघुकथा हो । यस कथामा कथाकारले पात्रको भावना बुझ्ने क्रममा आफ्नै छोरीको भावना बुझ्न नसकेको विषयलाई उजागर गरेको छ । कथा मर्मस्पर्शी बनेको छ । लघुकथाकार देवीप्रसाद थापा “मामा” यस्तै मनोवैज्ञानिक कथाहरू सजिलै लेखिरहन्छन् ।

यो लघुकथाले थोरै शब्दमा पनि सहजै राम्रो लघुकथा लेख्न सकिने कुराको वकालत गर्दछ ।)

प्रतिक्रिया
Loading...