१. पहिलो लघुकथा
(लघुकथा समाज प्रदेश नं. १ को पहिलो लघुकथा प्रतियोगितामा पुरस्कृत लघुकथा)

पेशा

विश्वविश्रुत विकास

कलेज सकेर छुट्टिएका केटी साथीहरूले धेरै वर्षपछि भेटघाट कार्यक्रम आयोजना गरे ।

भेट भएका साथीहरूबीच खानपिनसँगै श्रीमानको, घरपरिवारको प्रसङ्ग निस्कियो ।

‘बिजिनेस मेन । लाहुरे । कलेज प्रबन्धक । बोर्डिङ स्कुलको प्रिन्सिपल । सरकारी जागिरे । आइएनजिओको जब । विदेशको पिआर । ठेक्कापट्टा ।’

सबैका ससुराको पेशा बताउने क्रम चल्दै थियो ।

कलेजकै सोखिन देखिने सवुलाई निशाले सोधी, “तिम्रो त ठूलो घरानामा बिहे भएको हुनुपर्छ । छिटो बताऊ न… ।”

सबुलाई त्यो शब्दले वाण झैँ घोच्यो ।

उसलाई रिँगटा लाग्यो । बेहोस भई । अस्पताल लगियो । ऊ बेहोसीमै बर्बराउँदै थिई, गो…ब…र… । हि….लो… । ह…ली…। कसैले कुरा बुझेनन्, के भएको हो उसलाई ।
०००

केही समयपछि । उस्तै कार्यक्रम आयोजना भयो । सबैका अनुहार मलिन थिए ।

“लामो समयको नाकाबन्दी, बन्द, हड्ताल, महामारीको सन्त्रास । यी सबै कुराले बेहाल बनायो । सबै पेशा, व्यवसाय धरापमा परे ।”- बिजिनेस मेन, प्रबन्धक, ठेक्दार, प्रिन्सिपलका बुहारीले दुखेसो पोखे ।

“हो नि ! सामान किन्नै नपाइने । पाइहाले पनि विषादीयुक्त । भोक मार्ने खानाले रोग निम्त्याउन थालेपछि कसरी बाँच्ने अब ?”- जागिरे र लाहुरेका बुहारीले थपे ।

“सबु ! तँ यत्रो सन्त्रासको बेला पनि झन् उजेली र चम्किली पो देखिन्छेस् त ? पहिला भन्दा शरीर पनि फिट देखिन्छ । आखिर राज के हो ?”- निरुले जिज्ञासा राखी ।

“मैले यो संकटको घडीमा ससुराको पेशामा सहयोग गर्ने अवसर पाएँ । त्यही हो मेरो चम्किलो अनुहार र फिट शरीरको राज,” मुस्कुराउँदै सबुले भनी ।

पोहोर सालको कार्यक्रममा ससुराको पेशा बताउन नपाउँदै ढलेकी सबुको ससुराको पेशा सबैले अनुमान लगाइहाले ।

“ओ ! जीमखाना !” धेरैको मुखबाट निस्कियो ।

‘होइन ।’

“अनि के त ?”- सबैले जिज्ञासा राखे ।

‘उहाँ कृषक हुनुहुन्छ र कृषि उहाँको पेशा ।’

###
(लघुकथा समाज नेपाल, प्रदेश नं. १ स्थापनाकालदेखि नै सक्रिय छ । यही प्रदेशले १३ औं लघुकथा दिवसको अवसरमा प्रदेश स्तरीय लघुकथा आयोजना गर्‍यो र विश्वविश्रुत विकास लगायत थप दुई स्रष्टा पुरस्कृत भए ।

विश्वविश्रुत विकास पछिल्लो समय लघुकथामा देखिएको नाम हो । उनी नेपाली लघुकथामा आशालाग्दो रुपमा अगाडि बढेका छन् ।

प्रस्तुत लघुकथा “पेशा” कौतुहलमय लघुकथा हो । अरूको आड र भरोसामा श्रमविहीन बाँचेका मान्छेहरूको पटकथा उनिएको लघुकथाले अन्त्यमा कौतुहलता भङ्ग गरेको छ । कथाले सकारात्मक सन्देश प्रवाह गरेको छ ।)

२. व्यापक काल

झगडा

अवतार ढकाल

एकाबिहानै सामान्य कुरामा उनीहरूबीच विवाद सुरु भयो । दुवै जना आक्रोशित बने । मनमा आए जति खराब शब्दहरू ओकले । लान्छनाहरू लगाए ।

`बरू म त मर्न पाए पनि हुन्थ्यो । ढुक्क हुन्थ्यो । आखिर तिमीले पनि खोजेको त्यही हो । कुन दिन पासो लगाउँछु अनि मोज गर्नु,´ श्रीमतीले भनी ।

`तँलाई चाहिँ म बढ्ता भको छु नि । तँ किन? मै मरिदिन्छु । त्यसपछि मालिक्नी भएर बस्नु, रमाउनु, हाँस्नु,´ यति भन्दै ऊ बाथ रुमतिर पस्यो र आवेशमा आएर ढवाङ्ग ढोका लगायो ।

बाथरुमको चारैतिर आँखा घुमायो । सावरको फलामे पाइप मजबुत थियो । बसेर नुहाउनको लागि राखिएको टुल त्यहीँ थियो । लगाइराखेको ट्राउजरको इजार जोडले झडकार्यो । बलियो थियो । सितिमिति नचुँडिने खालको । यी सबै चिजतिर हेरेर ऊ टोलाइरहयो ।आँखाअगाडि क्रमशः अँध्यारो हुँदै गएझैँ भैरहेको थियो ।

`होइन, नुहाउन पसेको मान्छे साबुन, तौलिया केही नलिई गको हेर न ! सबै कुरा बुढीले ठिक्क पार्दिनु पर्ने । बेहोशी । यस्तै भएर त हो, एक रात कतै बस्ने गरी गएँ भने पनि बस्नै सक्दिनँ ।´ बाहिरबाट आएको बोलीमा हाँसो मिसिएको थियो । माया मिसिएको थियो ।

उसलाई अब आफैँसँग लाज लाग्यो । ढोका खोल्यो । तौलिया र साबुन समातेर श्रीमतीको अनुहारतिर हेरिरह्यो ।

`के हेर्या नि कहिल्यै नदेखेको जसरी ?´श्रीमती मुस्काउँदै अर्कोतिर फर्किई र कोठातिर लागी ।

ऊ बाथरुम भित्र पस्यो र भित्रबाट बिस्तारै ढोका बन्द गर्यो ।

###
(नेपाली लघुकथाको ६० को दशकलाई व्यापक काल मानिन्छ । यसै कालको सुरुवाती समयदेखि नै अवतार ढकाल नेपाली लघुकथामा देखिएको शक्तिशाली नाम हो ।

अवतार ढकाल प्राध्यपन पेशामा संलग्न छन् । चितवनको उर्वर भूमिमा झरेका उनी साहित्यमा लघुकथा विधामा विशेष केन्द्रित छन् । अवतार ढकालको “नियतिको खेल” लघुकथासंग्रह प्रकाशित छ । उनी साहित्यपोष्टले घोष्टराइटिङसँगको सहकार्यमा आयोजिक साप्ताहिक लघुकथा प्रतियोगिताको उत्कृष्ट लघुकथाकार पनि हुन् । अवतार ढकाल विश्व साहित्यमा पनि रुचि राख्छन् ।

प्रस्तुत लघुकथा “झगडा” घरघरको कहानी हो । यस कथामा प्रयोग गरिएको शब्दहरू सरल र कोमल छन् तर भाव ज्यादै उम्दा छ । लघुकथाको प्रस्तुतिमा देखिएको आदि, मध्य र अन्त्य अत्यन्तै सुन्दर रहेकाले यो लघुकथा कालजयी छ । यस्तो लघुकथा मुस्किलले मात्र पढ्न/सुन्न पाइन्छ । लघुकथाकारलाई साधुवाद ।)

३. मलाई मन परेको लघुकथा

स्थानीय उत्पादन

गीता तिवारी

कार्यक्रममा प्रमुख अतिथिले स्थानीय उत्पादनलाई प्रोत्साहन दिने र स्थानीय स्तरमा रोजगारीको सृजना गर्ने भन्दै मन्तव्य राखेपछि सबैले वाह वाह भन्दै ताली बजाए।

“अहिलेका नयाँ मन्त्री त असाध्यै जनताप्रति उत्तरदायी हुने छाँटकाँट देखियो” भन्दै सबैले प्रशंसा गरे। कोही भन्दैथिए, “अब त राज्यको नीति नै फेरिएछ । हाम्रा उत्पादनले पनि बजार पाउने भए ।”

पछाडिबाट कसैले भन्यो, “अब त सरकारी कर्मचारीदेखि एनजीओ, आईएनजीओसम्म सबै कर्मचारीहरूले नेपाली उत्पादन नै प्रयोग गर्नुपर्ने रे ! योभन्दा क्रान्तिकारी कुरा अरु के हुन सक्छ र ! हामी कृषि क्षेत्रमा लागेकाहरूलाई झन् राहत हुने भयो ।”

अर्कोले थप्यो- “त्यै त हाम्रा उद्योगहरू त झन् मर्कामा छन्। भन्ने बेलामा चाहिँ नेपाली उत्पादन नै प्रयोग गर्ने भन्छन् तर सरकारी अफिसहरुमा विदेशी सामान मात्रै राख्छन् । तैपनि अब राज्यको नीति नै “मेड इन नेपाल र मेक इन नेपाल” लाई प्रोत्साहन गर्ने र आयातलाई प्रतिस्थापन गर्ने भएपछि त देशको विकास हुन कति बेर लाग्छ र !”

कार्यक्रम हलमा रहेका सबैको अनुहार खुशीले उज्यालो थियो।

कार्यक्रम समापनपछि खाजाको व्यवस्था भएकोले सबैजना लाइनमा बसे । खाजा खान बसेकाहरू भन्दै थिए, “यति ठूलो र भव्य कार्यक्रममा पनि मोही , मकै र कोदोको रोटीको खाजा ! बजेट जति आफूले खाए होलान् अनि …

###
(गीता तिवारी पछिल्लो समयमा नेपाली लघुकथामा देखिएको नारी हस्ताक्षर हुन् । उनीले थोरै लघुकथाहरू लेखे पनि लघुकथाको रचना विधानमा रहेर लघुकथाहरू लेखिरहेकी छिन् । सन्देशमूलक लघुकथा लेखन तिवारीको मुख्य रुचि हो ।

लघुकथाकार तिवारी उद्यमशील महिला पनि हुन् । उनी सामाजिक उद्यमशीलतामा विश्वास राख्छिन् । उद्यमशीलता सम्बन्धी उनका लेखहरू राष्ट्रिय अखबारहरूमा कहिलेकाहीँ पढ्न पाइन्छ ।

प्रस्तुत लघुकथा “स्थानीय उत्पादन” गीता तिवारीको एक सरल कथा हो । कथामा सुरूदेखि नै सन्देश प्रवाह गरिएको छ । कथाको अन्त्यमा सानो व्यङ्ग प्रस्तुत गरिएको छ । व्यङ्ग झिल्कोजस्तो देखिएको छ । यदि यही झिल्कोको कदर गर्ने हो भने हाम्रो देशको उन्नति निश्चित हुने आशय घुमाउरो पारामा राखिएको छ।)