१. पहिलो लघुकथा
(आख्यान मात्रै लेख्ने लघुकथाकार)
घाटे दलित
सुमन सौरभ
अभावलाई सम्पत्ति मान्ने हो भने ऊ निस्फिक्री धनी थियो तर मानेर हुँदैन थियो । बिहानदेखि बेलुकासम्म ऊ मसानघाटमा मुर्दा कुर्थ्यो । घाटमा लासहरू जतिसुकै ल्याइपुर्याइयोस्, आफ्नो नाममा छुट्ट्याइएको लास मात्र उसले जलाउन पाउँथ्यो । ज्यालादारीमा प्रति लासको तोकिएको मूल्य पाउँथ्यो र त्यसैबाट जसोतसो घर व्यवहार चलाउँथ्यो ।
सधैँको अभावपूर्ण अवस्था भोग्नुपर्दा उसलाई लाग्थ्यो, “भाग्य अघिअघि बेतोडले कुदिरहेको छ, ऊ भाग्यलाई सकी-नसकी पछ्याइरहेको छ र दुर्भाग्यले उसलाई पछाडिबाट लखेटेको लखेट्यै छ….।”
तर थुप्रै निराशाको बीचमा उसमा हालसालै एउटा गुलियो सपना पनि टुसाएको थियो–“छोरोले डलरको भाउमा तलब दिने एनजीओमा काम गर्न अन्तर्वार्ता दिएको छ, आउने बिहीबार रिजल्ट पनि आइहाल्छ… त्यहाँ जागीर त पाओस् जीवन त्यत्तिकै सजिलो भैहाल्नेछ ।”
बिहीवार पनि आइपुग्यो । सधैँजसो ऊ साँझ नपरुन्जेल भागमा कुनै लास आइपुग्ला कि भनेर पर्खिरहन्थ्यो तर आज छिट्टै घर पुग्यो र छोरालाई पर्खिरह्यो ।
“के भो बाबु, एनजीओको काम पाइयो ?” उसले घर पस्दै गरेको छोरोलाई ढोकैमा रोकेर सोध्यो ।
उसले भाग्यलाई पछ्याउने दिन सकिएको रहेनछ । सधैँको शान्त स्वभावको छोरोले उसको सपनामा बञ्चरो हान्यो– “उनीहरूलाई कि दलित चाहिन्छ, कि महिला चाहिन्छ, दुर्गम भेगको भए झन राम्रो, जनजातिको भए पनि हुन्छ तर तपाईंको छोरो हुँदैन रे…! अफसोस बुबा, तपार्इँको पेशाको कारण म दलित अवस्थामा छु तर जातले गर्दा ब्राह्मण । यो समयमा राजधानीमा बस्ने ब्राह्मणको परिवारमा छोरो भएर जन्मिनु नै अयोग्यता साबित भयो ।”
# #
(लघुकथाकार सुमन सौरभ मूलत: लघुकथा लेख्ने स्रष्टा हुन् । नेपालमा प्राय: सबै आख्यानकारहरू कविता लेख्दै आख्यानमा प्रवेश गरेका छन् । सुमन सौरभ नै नेपालको पहिलो र एकमात्र स्रष्टा हुन्, जो लघुकथा लेखेर लघुकथामा प्रवेश गरी लघुकथा मात्र लेखिरहेका छन् ।
लघुकथामा २०५२ सालदेखि कलम चलाएका लघुकथाकार सुमन सौरभले कथामा स्वैरकल्पनालाई बढो तार्किक र वस्तुनिष्ठ तरिकाले प्रयोग गर्छन् । उनका हालसम्म पाँच वटा लघुकथा कृतिहरू प्रकाशित भएका छन् । सुमन सौरभ लघुकथा समाजको कोषाध्यक्ष पनि हुन् ।
प्रस्तुत लघुकथा “घाटे दलित” मा आरक्षण र कोटाको भागबण्डाले प्रतिभावान् व्यक्ति कसरी मर्कामा पर्छ भन्ने कुरो सुमन सौरभले आँसुको भाषामा लेखेका छन् ।)
२. स्वर्णकालीन लघुकथा
प्रतीक्षा
अनिता तुलाधर
प्रत्येक वर्ष यहाँ ठूलो मेला लाग्छ, सहर विभिन्न ठाउँका थुप्रै आउँछन्, रमाउँछन्, गाउँछन्, नाच्छन् अनि त्यसपछि जान्छन् । कोही दुई चार दिन, कोही छ सात दिन र कोही एकै दिन मात्र बसेर जान्छन् । हरेक वर्षको हरेक मेला उनको निमित्त एउटा प्रतीक्षा भएर आउँछ । लाग्छ, उनी युगौँदेखि प्रतीक्षा गरिरहेकी छन्, कुहिरोलाई पगाल्न खोजिरहेकी छन् । डाँडा खोला सबै कुहिरोले टम्म ढाकिरहेको छ । त्यस कुहिरोले माझमा एउटा मान्छे यस्तरी बिलाएर गयो जसलाई घामको तेजिलो रापमा पनि मेटाउन सकिएन, रातको जूनमा पनि पाउन सकिएन । उनका व्यथाहरू, उनका पीडाहरू ओहरिरहेछन् । हरेक मेलापछि उनी आफूलाई अझ बढी एक्लिएको अनुभव गर्छिन् । उनको आफ्नो बस्ती छोडेर कतै जाने रहर पनि जन्मदैन र यहाँ बसेर एउटा लामो प्रतीक्षा गरिरहन मन पराउँदछिन् ।
यसपालिको मेला उनलाई चाँडै नै आए जस्तो लाग्यो । मेलाका हरेक मान्छेहरूमा उनी आफूले चिन्न खोजेको मान्छेको अनुहार पाउन खोज्छिन् । तर मेलाका सबै मान्छेहरू बिस्तार बिस्तार जान थालिसक्दा पनि उनको मान्छे आएन । उनमा रहेका सबै पीर कुण्ठाहरूले नयाँ काँचुली फेर्छ । कतै कतै फुल्ने गरेका फूलहरू पनि ओइलाएर गएझैँ लाग्छ । मेला उनको लागि सधैँ एउटा प्रतीक्षा भएर पर्खिरहेको हुन्छ ।
##
(२०३० को दशकलाई नेपाली लघुकथाको स्वर्णकाल मानिन्छ । यसै कालमा लघुकथाकार अनिता तुलाधरले आफ्नो उपस्थिति दरिलो पारामा देखाएकी छन् ।
लघुकथाकार तुलाधरको २०३४ सालमा नै “फुलु” लघुकथा संग्रह प्रकाशनमा आएको देखिन्छ । लघुकथाबाहेक उनका थप तीन कथा कृतिहरू पनि प्रकाशित छन् । उनका लघुकथाहरूले प्रकृति, प्रेम र नारी मनका संवेदनाहरूलाई उनेको पाइन्छ ।
प्रस्तुत “प्रतीक्षा” लघुकथामा नारी स्वभावको प्रेमिल प्रतीक्षाको कल्पना गरेजस्तो हुँदाहुँदै पनि जीवनको गहिराइमा पुगेर पनि प्रतीक्षाको अनुभूतिलाई बुझ्ने प्रयास गर्न सकिन्छ । कथाले समान्य र सरल हुँदै जटिल दिशाबोध पनि गरेको छ ।)
३. मलाई मन परेको लघुकथा
जाडोको लुगा
रवीन्द्र समीर
…पोहोर सालको जाडोमा दमले झण्डै खतम पारेको ! यसपालि त एउटा न्यानो ज्याकेट किन्नुपर्यो….। रिठ्ठेले पटुकाको फेरोमा बाँधेको पैसा छाम्दै -छाम्दै बजारतिर लाग्यो ।
….यसको मूल्य अठार हजार, यसको बाह्र हजार, यो पातलो चाहिँको आठ हजार, यो स्वीटरको चार हजार….। रिठ्ठेले दुई पटक बजार परिक्रमा गर्यो र सरासर छेवैको भट्टीमा पस्यो ।
….यो तरल ज्याकेटको साठी रुपियाँ, यो तरल स्वीटरको बीस रुपियाँ यो तरल गलबन्दीको दश रुपियाँ…..। उसले पटुकाको फेरो फुकाउनु परेन । इष्टकोटको भित्री गोजीबाट एउटा हरियो नोट निकाल्यो र नशा-नशामा ज्याकेट स्वीटर, गलबन्दी….बोकेर घर फर्कियो ।
##
(लघुकथाकार रवीन्द्र समीर स्थापित लघुकथाकार हुन् । उनले अनेक विषयमा लघुकथाहरू लेखेका छन् । प्रकाशनको हिसाबमा उनका आठ लघुकथा कृति नेपाली साहित्यमा भित्रिएको छ । उनी पेशाले जनस्वास्थ्य विज्ञ भएको कारण पनि हुनसक्छ जनस्वास्थ्य र जनस्वास्थ्यकर्मीको विषयमा लेखेएका उनका लघुकथाहरू अझै बढी पाठकप्रिय भएका छन् ।
प्रस्तुत लघुकथा “जाडोको लुगा” थोरै शब्दहरूको प्रयोग गरी अति यथार्थवादी धारमा लेखिएको कथा हो । कथाले गरिबीको पुरुष-पीडालाई बडो मज्जाले स्पर्श गरेको छ ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।