१. पहिलो लघुकथा

(पहिलो संग्रह र बढी संस्करण प्रकाशित संग्रह)

खेल

पूर्णप्रसाद ब्राह्मण

पूर्णप्रसाद व्राह्मण

खोरको सिक्री खोलिदिएर बिहारीलाल निस्के पठाङ्गीमा । लागे पछिपछि सयौँ कुकुर । कोही लन्डनका पास्र, कोही जर्मनीका । इँ इँ, यूँ युँ ! क्या मालिकको मन बहाल पार्नेछ – “मसिनो स्वर ! ढाडको कर्काई /मर्काई, पुच्छरको वर्काई/फर्काई, फेरि ईँ इँ, यूँ यूँ को दैन्य-कला ।

नजिकमा छ ठूलो पोखरी । मालिकको इशारा आँखामा चम्कन पाएको थिएन, हाम्फाले पानीमा झ्वाम्म ! चुर्लुम्म के डुबिसकेका मात्र थिए आवाज आओ- हन्टर ! ओठको आवाजमा सुइ सुइ …!

आए कुकुरहरू विभिन्न अभियानमा,ल्याफ्ल्याफती भिजेर । फेरि मालिकले तिनमा एउटालाई निर्देशन गरेर भने – “पक्रीपक्री !”

चल्यो मालिकको इशाराले आफू आफूमा धरपकड । घाँटी समात-समात, एक टुक्रा रोटीका लोभमा । चल्यो पक्रिनेहरूमा कङ्ल्याङ् – कुङ्लुङ्, कतिको त प्राणकै सौगात भयो मालिकको दैवी आज्ञामा, दैवी लीलामा । फेरि एकैछिनमा भाग्यनिर्माताको खुसी बदलियो । भने – “आ, आ तर , छोडिदे ।”

बस्, फेरि सामेल मालिकको पाउमा । फेरि उहीँ दैन्यको अभिनय-नृत्य ।

कर्काइ-मर्काइ, कर्काइ-फर्काइ जीउको साथै पुच्छरको ।

मालिकले स्यावास दिंदै भने-इमान्दार छ, दाजु भन्दैन, बाबू भन्दैन ! लौ फेरि बस् ! उठ् ! हो … ! लौ फेरि पक्री .. उठ् .. !

हो …! एउटाको के अलिकति बेचाल मात्र भएको थियो, पर्यो मालिकको हात सोझै गर्धनमा, छातीमा बुटको ड्रयाम्म, करायो ऊ क्वाईक्वाई ! प्रभो ! बिराएँ ।फेरि माफीमा के छुटेको थियो – जुत्ता सुङ्दै, आइ कर्काउँदै पुच्छर हल्लाउँदै देखायो उसले कति कुसलतासंग सेवाको अभिनय ।

अनि एक अग्लो ठाउँमा बसेर मालिकले भाँचे रोटीकयौं टुक्रा पारेर त्यो छरियो पटाङि्नीमा हारालुछ भयो त्यो पाउँदा कुकुरहरूको स्वर्गराज्य भेटेझैं । त्यति पाएर भोक जिस्क्यएपछि मालिकको एक इशारामा ती सब बसे नाच्दै पुच्छर हल्लाउँदै, आफ्नो खोरमा ।

ती पसेपछि बिहारीलालले आफ्नो मनसंग भनें – “तँ जे भन्, मेरो दिन अझै बाँकी छ ।”

###
(पूर्णप्रसाद ब्राह्मणलाई नेपाली लघुकथाको पहिलो कृतिकारको रूपमा पुजिन्छ । “झिल्का” नेपाली लघुकथाको पहिलो कृति हो । यो २००७ सालमा प्रकाशित भएको थियो । र, यही कृति लघुकथाको क्षेत्रमा सबैभन्दा बढी सस्करण प्रकाशनमा आएको कृति पनि हो । यसलाई पछिल्लो पटक लघुकथा समाज नेपालले श्रीओम श्रेष्ठ “रोदन” को सम्पादनमा प्रकाशनमा ल्याएको हो । “झिल्का” चारपटक प्रकाशित भएको छ । यसमा २३ वटा लघुकथाहरू संग्रहित छन् ।

“झिल्का”लघुकथा संग्रहमा लघुकथाकारले सामाजिक विभेद र राणा विरुद्ध विद्रोह स्वैरकल्पनाबाट प्रस्तुत गरेका छन् ।

प्रस्तुत लघुकथा “खेल” २००५ सालताका लेखिएको लघुकथा हो । यस कथाले त्यस समयको सामान्ति संस्कारको अनुभूति बोलेको छ । कथालाई कलात्मकताको कसीमा राखिएको छ । कथा कलजयी भएकोले अहिले पनि ताजै छ ।)

२. व्यापक काल

कुलदीप

रञ्जुश्री पराजुली

रञ्जुश्री पराजुली

कुलको वंश थाम्ने एउटै मात्र नाति भएकोले हरिप्रसाद अग्रवालले उस्को नाम “कुलदीप” राखेका हुन् रे ! हरिप्रसादको एउटै मात्र छोरा थिए राघवप्रसाद । राघवका लगातार पाचँ छोरी जन्मिए । कुलको वंश अगाडि बढ्ने भएन भनेर घरमा पाठपूजा, हवन, भाकल आदि गरेपछि मात्र राघवको छैठौँ सन्तानको त्यो घरमा जन्म भएको हो ।

हरिप्रसादको पाँचपुस्ता अगाडि व्यापारको शिलशिलामा नेपाल भित्रिएको रे ! व्यापार गर्दै डुल्दा विभिन्न ठाउँ घुम्दै गर्दा विराटनगर आएर उनीहरूका बुढाबाजेले थलो गाडेका रहेछन् । पछि काठमाडौँमा व्यापार फिँजिएपछि खिचापोखरी भन्ने ठाउँमा डेरा गरेर बस्न थाले। विराटनगरमा पनि व्यापार यथावत् नै छ। घर जोडिएका छिमेकी भएकाले हामीबीच असल छिमेकीको सम्बन्ध छ । एकअर्काले भाउजू भनेर बोलाउँछौँ । मैले बनाएको आलु, केराउको अचार, आलुतामा भनेपछि उनीहरू मुख मिठ्याउँ छन् । भाउजूले बनाएको समोसा, दहीबाडा, मिठाई हामीलाई पनि मनपर्छ । त्यसैले हामी बाँडीचुँडी खान्छौँ । कुलदीप एघार वर्षको भैसके पनि स्कुल भर्ना गरेको थिएन । उसैका दौँतरी हाम्रा छोराछोरी स्कुल जान्छन् । “वंशको एउटै चीराग त्यही पनि मारवाडीको छोरो, यस्ले स्कुल गएर पढ्न पर्दैन,” भन्थे हरिप्रसाद । त्यो घरका दुई छोरीको बिहे भैसकेको थियो । उनीहरूको समुदायमा छोरीको बिहे अति खर्चालु हुन्छ।

“दुइटीको बिहे गर्दा धेरै खर्च लाग्यो रे ! केटा पक्षले मागेको जति दिनु पर्छ । नत्र मारी देलान् भन्ने त्रास हुन्छ। अझ तीन वटीको गर्न बाँकी छ । आफूलाई आउने यही एउटा छोरोको त हो नि !” भनेर भाउजू बारम्बार मलाई सुनाउँथिन् । ती बिहे गर्न बाँकी छोरीहरूको हात कहिले पनि खाली हुँदैन थियो । पकाउने, तुल्याउने, सरसफाई गर्ने, बुन्ने, सिउने सबै काममा निपूर्ण हुनुपर्ने रहेछ उनीहरूको । एकदिन साँझपख हाम्रो कौसीमा सुकाएको लुगा उडाएर उनीहरूपट्टि पुर्याएछ । माथिबाट बोलाएको कसैले सुनेन । त्यसैले म “भाउजू” भन्दै बस्ने कोठाभित्र पसेँ । भित्र कुल्दीपलाई कौचमा सुताएर वड्नेले गम्लाङ छोपेको, हजुरबा टाउको मुसार्दै, हहुरामा खुट्टा मुसार्दै गरेको देखेर म आत्तिदै “कुलदीपलाई के भयो ? यसरी हुँदैन । अस्पताल नै लानु पर्छ,” भने।

केही भएको छैन । हाम्रो कुलदीप भर्खर बाहिरबाट आएकोले चिसो लाग्छ भनेर बचाउ गरेको हो । शत्रुहरु वरपर छन् । नजर पनि लाग्छ भनेर कुतत्त्वलाई धुप बालेको,” भनिन् । कोठा धुवाँले कुहिरिमण्डल भएको थियो ।

###
(नेपाली लघुकथामा ६० दशकलाई व्यापककाल मानिन्छ । यही कालमा लघुकथाले नेपाली भाषीमाझ व्यापकता पायो । यही कालमा लघुकथाकार रञ्जुश्री पराजुली लघुकथामा सक्रिय भइन् । उनी समालोचक तथा प्राध्यापक पनि हुन् ।

प्रस्तुत लघुकथा “कुलदीप” धेरै छोरीहरूपश्चात् जन्मिएको छोरोको कथा हो । यसमा छोरा र छोरीहरूबीचको विभेद देखाउने प्रयास गरिएको छ ।)

३. मलाई मन परेको लघुकथा

इन्टरनेट सपिङ

म्यामराज राई

म्यामराज राई

“कति पटक तेरो रिस्क लिऊँ ? यो चोटी आफैँ जिम्मा लेऊ,” बिएमडब्लु(गाडी)को मिटर फेर्ने क्रममा मिटरको सिसा (लेन्स) अचानक थोरै फुटेपछि मेघनाथले तुरुन्त मुख्य कार्यालयका कम्पनी म्यानेजरलाई जानकारी गराएलगत्तै म्यानेजरको यस्तो प्रतिक्रिया थियो।

”हुन्छ,” मेघनाथले भने । ऊसँग अरू विकल्प थिएन । जापानमा आफूभन्दा सिनियरसित मुख लाग्नु राम्रो मानिन्न । उनको कम्पनीमा गाडीको पाट्पूर्जा सबै इन्टरनेट सपिङ सिस्टम थियो । मेघनाथ अनभिज्ञ थिए । कारण, उनको विभागमा बिग्रेको पाटपुर्जा सकेसम्म बनाउने र नसकेको नयाँ सामान ल्याउन लगाएर फेर्ने थियो।

”रिपेयर हुने स्थिति छैन, यो सामान कहाँ पाइन्छ होला ?” वरिपरिका स्टाफहरूलाई सोधे तर सबै ऊजस्तै थिए।

”याफुओकुमा खोज,” फोनबाट म्यानेजरको कर्कश बोलीमा एउटा सङ्केत आयो। गुगलमा गएर जापानी भाषामा याफुओकु लेखेर भित्र छिरे । किनबेच गर्नका लागि अकाउन्ट चाहियो । झट्टै बनाए । मिटरको लेन्स खोजे । भेटे । स्क्रीन-सट गरेर म्यानेजरलाई पठाएर अर्डर गर्ने अनुमति मागे ।

”पर्ख, एकचोटि हेर्छु,” मेघनाथले जवाफ पायो र गाली खानुभन्दा जति हजार परे पनि किनेर क्षतिपूर्ति तिर्छु, सोचे। मेघनाथ रातभर सुत्न सकेनन् । अझै कति गाली गर्ने हुन् ? सम्झेर ।

भोलिपल्ट बेलुकातिर मिटरको लेन्स लिएर म्यानेजर आफैँ आए। ”तैँले किन्नु परेन, इन्टरनेट सपिङबारे सिकाउन खोजेको मात्रै हो।”

###
(म्यामराज राई लघुकथामा सक्रिय हस्ताक्षर हुन् । लामो समयदेखि कथाहरू लेखे पनि उनी सबैको आँखामा पर्न सकिरहेका छैनन् । उनको लेखनले समकालीन विषयहरू पाठकहरूले थाहा पाउनुभन्दा पहिल्यै टपक्क टिप्ने गरेको छ ।

प्रस्तुत लघुकथा “इन्टरनेट सपिङ” कौतुहल जगाउने साधारण कथा हो । कथाको सुरुवातदेखि नै एकथोक सोचिरहँदा कथाको अन्त्य पर्लक्कै पल्टिएको छ । कथामा रिसाहा सोचिएको पात्रभित्रको सोझो र दयालुपनलाई उजागरण गरिएको छ ।)