Chovar Blues Mobile Size

१. काल विभाजनको लघुकथा : सँगसँगै

नारायण तिवारी

नारायण तिवारी

ऊ र म सँगसँगै हिँडिरहेका थियौँ ।

बाटोमा उसले मलाई ‘ङ्यार्र’ गर्‍यो । फेरि अलि पर पुगेपछि ‘भुः भुः’ गर्‍यो ।

एक ठाउँमा त उसले मलाई अगाडि बढ्नै दिएन, रोक्यो । र, ‘होक्काँ…!’ गर्‍यो ।

कहाँ, म त उसलाई सहयात्री, साथी, मजस्तै मान्छे ठानिरहेको थिएँ । होइन रहेछ । ऊ त जनावर पो रहेछ… !

###

(नेपाली लघुकथाको लेखनमा ३० को दशकलाई स्वर्णकाल मानिन्छ । यसै दशकमा आफ्नो गर्विलो स्थान बनाएका लघुकथाकार हुन् नारायण तिवारी । तिवारी यथार्थवादी लघुकथाकार हुन् । लघुकथामा विषयको चमत्कार उठान गर्दै पाठकलाई कौतुहलमा अल्झाएर अन्त्यमा यादगार झड्का दिन सिपालु कथाकार नारायण तिवारीका २ लघुकथाकृति प्रकाशित छन् । उनी “लघुकथा कुनो”को संस्थापक एडमिन हुन् ।

प्रस्तुत “सँगसँगै” लघुकथा छोटो तर अर्थपूर्ण लघुकथा हो । कथाकार तिवारीले यस लघुकथामा जनावर बन्दै गएको मानवको सटिक र ओजपूर्ण विषय उठान र झड्का दिएका छन् । लघुकथा कालजयी छ ।)

 

२.  सङ्ग्रहमा सङ्ग्रहित लघुकथा : बुबाको सपना 

अवतार ढकाल 

अवतार ढकाल

बाबुको मुख हेर्ने दिन । नुहाइधुवाइपश्चात् बुबाको घुर्मैलो फोटोमा एक टक आँखा अड्याइरहेको थिएँ । एउटा भयावह सपनाजस्तो विगत आँखाअगाडि नाचिरहेको थियो ।

`बाबा, कसको फोटो हेर्नु भएको ?´, सानो छोरोले एकाग्रता भङ्ग गरिदियो ।

`मेरो बाबाको ।´, मैले भनें ।

`मेरो हब्बाको है ?´, उसले भन्यो ।

`अँ । हो नि ।´ मैले जबाफ दिएँ ।

`भोलिपर्सीको डाक्टरको हब्बा है ?´, उसले भन्यो,  र बेपर्वाह बाहिर निस्कियो ।

***

`बाबु तैँले राम्रो पढ्नुपर्छ है । पछि ठूलो डाक्टर बन्नुपर्छ ।´, बुबा मैले पढ्न सुरु गर्दाकै दिनदेखि भन्नुहुन्थ्यो ।

`हस् बुबा ।´, म केही नबुझेरै स्वीकार गर्थेँ ।

`आफूले पढ्न पाइएन । यसलाई चाहिँ घरखेत सबै बेचेर भए पनि डाक्टर बनाउँछु ।´, घरमा आमासँग होस् या अरू कोहीसँग, बुबा बारम्बार यही कुरा दोहोर्‍याउनु हुन्थ्यो ।

***

चुक घोप्टिएजस्तो अँध्यारो रात । आकाशबाट समुन्द्र खसिरहेजस्तो पानी र मस्त निदाएका हामी ।

`निस्क ….. निस्क …. भाग ….. भाग ……लौन …. लौ … हे भगवान् ।´, मानिसहरूको भागदौड र चीत्कार ।

`लौन बाढी पस्यो रे  ! पसी नै सक्यो रे !´, हाम्रो घरमा पनि कोलाहल मच्चियो । बुबाले बहिनी र मलाई काँधमा राखेर  आमालाई समाउँदै दगुर्न सुरु गर्नुभयो । सुरक्षित स्थान अलिक टाढा थियो । जति अघि बढ्यो उति पानी बढिरहेको थियो ।बुबाको काँधमा बसेका हामीहरूका खुट्टा डुब्नेगरी पानी आइसकेको थियो ।

हामी र आमालाई मान्छेहरूले तानेर बाहिर निकाले ।  तर एक्कासी बढेको भेलले बुबालाई आफूसँगै लिएर गयो । हाम्रो आँसु पानीमा मिसियो । चीत्कार, रोदन शून्यतामा बिलायो । घर रहेन  । खेतबारी रहेन । बुबा रहनुभएन । हामी रह्यौं । म रहेँ । तर बुबाको सपना पूरा भएन ।

`कति धेरै हेर्नुभ’को बाबा डाक्टरको हब्बालाई ?’, छोराको प्रश्नले नराम्रोसँग झस्कायो ।

`बाबु, तिमी राम्रो पढेर डाक्टर बन्नु पर्छ है ?´, मेरो मुखबाट निस्कियो ।

मनमनै बुबाको तस्बिरलाई भनेँ, `बुबा, यो तपाईँकै सपना हो ।´

###

(पछिल्ला समय विषयगत लघुकथाहरूको संयुक्त कृति प्रकाशमा आउन थालेको पाइन्छ । नमस्ते आधुनिक लघुकथा मञ्चले पछिल्लो समय “बा” विषयक संयुक्त लघुकथासङ्ग्रह प्रकाशनमा ल्याएको पाइन्छ । यसै कृतिबाट लघुकथाकार अवतार ढकालको “बाको सपना” लघुकथालाई यहाँ छनोट गरी सजाइएको छ ।

लघुकथाकार अवतार ढकाल लघुकथामा क्रियाशील एक सफल लघुकथाकार हुन् । उनी समसामयी विषयहरूलाई यथार्थवादी धारबाट लघुकथामा व्यक्त गर्दछन् । उनीको एक लघुकथासङ्ग्रह प्रकाशित छ ।

प्रस्तुत लघुकथा “बुबाको सपना” संस्मरण शैलीमा लेखिएको तीन पुस्ताको कथा हो । बाको सपना आफूबाट पूरा नभएपछि आफ्नै छोराबाट पूरा गर्न आश गर्ने बाको कथा हो यो । प्राय: बाका सपनाहरू छोरा/छोरी हुँदै नाति/नातिनामा गएर पनि उत्तिकै जीवित रहन्छ । कथा यथार्थको नजिक बहेको पाइन्छ ।)

 

३. फेसबुक समूहभित्रको लघुकथा : अपहरण 

दिपक खनाल अगम

दिपक खनाल अगम

अँध्यारो काेठाभित्र नकाबधारी अपहरणकारीले बन्धककाे कन्चटमा रिभल्भर तेर्साउँदै साेध्याे, “ल भन, तँ यहाँबाट मुक्त हुन भुक्तानी रकम कसरी चुक्ता गर्न चाहन्छस् ?”

ऊ केहीबेर गम खायाे । आमाबुवालाई भन्याे भने आत्तिन सक्छन् । पुलिसलाई खबर गरे ज्यान लिने धम्की दिएको छ । बन्धकले साेचविचार गरेर भन्याे, “मिल्ले साथीहरुबाट एउटालाई…. !”

डायल भएको फाेनमा साथीलाई सम्पूर्ण कहानी सुनाउँदै भन्याे, “मेराे काेठाकाे दराजमा एटिएम कार्ड छ । पिन काेड नं. ……  हाे ।   अपहरणकारीले रु. ……. यति मागेकाे छ । म सँग जम्मा रकम रु.  ……. मात्र छ ।  सबै रकम झिकेर अपहरणकारीले भने बमोजिम गर्नू । अँ, आमालाई अर्कै बहाना बनाएर कार्ड फलानाेलाई दिनुभनेकाे छु ।”

साथीले पनि सम्झाउदै भन्याे, “पैसाभन्दा ज्यान ठुलाे हाे । मागेकाे रकम दिनू ।”

अपहरणकारीलाई मागेको रकम बुझाएपछि ऊ रिहा भयाे । टाट पल्टिएका साथीहरूले रिहाइमा पार्टी दिए । ऊ गएपछि मिल्ने  साथीकाे पगरी भिरेकाहरू खुसीले भन्दै थिए, “सधैँ हामीलाई सुनाउँदै आफ्नाे धनकाे आफैँ बासुरी बजाउँथ्याे । अब पक्कै पनि सुन्दर रूप र स्वास्थ शरीर मात्र होइन, धनसम्पत्ति पनि क्षणिक मात्र हाे  भन्ने कुराको पाठ राम्रोसँग सिकेको हुनुपर्छ ।”

###

(नेपाली लघुकथाहरूलाई फेसबुकको ग्रुप पेजहरूले पनि विकास र विस्तार गरेको पाइन्छ । हाम्रो लघुकथा पाठशाला लघुकथाको क्षेत्रमा क्रियाशील  एक समूह हो । छोटो समयमा राम्रै सदस्य सङ्ख्या बनाएको यस पेजले लघुकथाको विविध कार्यक्रम दैनिक गर्ने गर्दछ ।

प्रस्तुत लघुकथा “अपहरण” दिपक खनाल अगमको हो । उनले यो लघुकथालाई केही दिन अगाडि पाठशालाको ग्रुपमा पोष्ट गरेको देखिन्छ । औसत किसिमको लाइक र कमेन्ट प्राप्त यस लघुकथाको अधिकांश कमेन्टहरू सकारात्म देखिन्छन् ।

प्रस्तुत लघुकथा “अपहरण” कौतुहलपूर्ण अपहरण शैलीमा लेखिएको लघुकथा हो । नासवान शरीर र धनलाई विषय बनाई लेखिएको यो लघुकथामा मान्छेको स्वभावको पनि सफल चित्रण गरिएको छ । दिपक खनाल अगम लघुकथामा सफल बन्दै गएको एक नाम हो । निरन्तर लघुकथामा लागि पर्ने हो भने दिपकबाट राम्रै आश गर्न सकिने छ ।)

 

४. समसामयीक लघुकथा : अपमान 

गङ्गा खड्का 

गङ्गा खड्का

कमला कक्षा नौमा ‘सार’ शब्द भन्ने पाठ पढाउँदै थिइन् । उनले पाठमा दिइएका  सबै शब्द दाेहाेर्याइतेहेर्याइ भनिन् । बोर्डमा पनि लेखिन् तर ‘सन्तान नभएकोलाई निःसन्तान वा अपुतो भनिन्छ’ भनेर उनले लेख्दा र भन्दा पनि छुटाइन् ।

“गुरुआमा, एउटा छुट्यो नि ।”, सागरको जिज्ञासा थियोे ।

“छुटेको आफैँ पढ्नु ।”, उनले पीडामिश्रित बोलीमा भनिन् ।

उनको अनुहारको रङ उडेको देखेर राजीवलाई अति उत्सुकता लाग्यो ।

“गुरुआमा, तर पटक पटक यही शब्दलाई नै हजुरले छोड्नुको रहस्य के होला ?”, उसले आफूलाई रोक्न सकेन ।

“बाबु ! तुच्छ शब्द पढेर र लेखेर आफ्नै अपमान गर्ने मेरो बानी छैन ।”

###

(गङ्गा खड्का पछिल्लो समय लघुकथा लेखिरहने स्रष्टा हुन् । उनी विशेषत: नारी पीडा र अनुभूतिहरूलाई आफ्नै घटनाझैँ साङ्गोपाङ्गो उतार्न खप्पिस छिन् ।

प्रस्तुत लघुकथा “अपमान” समसामायीक यथार्थवादी कथा हो । कथाले नारी पीडा गज्जबले बोलेको मात्र छैन अबको नारीले आफूमाथिको पीडाको प्रतिकार गर्नुपर्छ भन्ने आशय पनि बोलेको छ । लघुकथा छोटो छ तर यसको प्रभाव व्यापक हुनसक्छ ।)

 

५. मलाई मन परेको लघुकथा : लेख्न र गाउन छाडेपछि

कात्यायन

धन्वन्तरि मिश्र “कात्यायन”

मैले कथा भनेर सुनाएँ ।

आवाज आयो, ‘यो कथा भएन । कथामा त जीवन हुनुपर्छ !’

कविता वाचन गरेँ ।

फेरि चिच्याए, ‘यो कविता नै भएन । कवितामा त दर्शन हुनपर्छ ! भाव हुनपर्छ !’

गीत नि गाएँ ।

सबै रिसाए, ‘यो गीत नि भएन । गीतमा त व्यथा हुनपर्छ ! लय हुनपर्छ !’

म जीवनविहिन ! दर्शन र भावहिन ! व्यथा र लय टुटेको मान्छेले अब लेख्ने के ? गाउने के ?

लेख्न छाडेँ । गाउन छाडेँ ।

अब नागरिक अगुवा बन्नेछु । राजनीति गर्नेछु । म बन्नेछु । मेरो विरुद्धमा आवाज निकाल्नेलाई भड्खालोमा हाल्नेछु ।

###

(कात्यायन अग्रज स्रटा हुन् । त्यसो त उनी घरानीय साहित्यकार पनि हुन् । कवितात्मक लघुकथा लेखन कात्यायनको विशेषता हो । स्वैरकल्पना उनीका लघुकथाहरूमा बग्रेल्ती पाइन्छ ।

प्रस्तुत “लेख्न र गाउन छोडेपछि” लघुकथामा कात्यायनले कवितात्मक शैलीलाई समातेर श्याम व्यङ्ग्य गरेका छन् । कथा यतार्थको निकै नजिक छ ।)