१. लघुकथालाई नै बिषय बनाइएको पहिलो लघुकथा: उपदेश
अशेष मल्ल
ऊ मञ्चमा उभियो र दर्शकलाई हेर्यो । अन्तिम वक्ताको रुपमा उभिएको ऊ निकै प्रफुल्ल देखिन्थ्यो ।
“लघुकथा भनेको लघुकथा हो ।” उसले प्रवचन सुरु गर्यो ।
“लघुकथा अर्थात् छोटो अर्थात् सानो अर्थात् मसिनो अर्थात् झिल्को अर्थात्  एउटा चट्याङ अर्थात् एउटा फ्ल्यास अर्थात् ….
उसको धारा प्रवाह प्रवचनले लघुकथाको परिभाषा, व्याख्या, विश्लेषण र मानौं नयाँ लघुकथाको अवधारणा उद्घोष उसको धारा प्रवाह प्रवचन ।
“लघुकथा यसरी लेख्न पर्छ , ऊ भन्दै थियो, लघुकथाको लम्बाई यस्तो हुनपर्छ” ऊ सिकाउँदै थियो । लघुकथा लघुकथा जस्तै हुनुपर्छ । लघुकथा लघुकथा जस्तो नभए लघुकथा हुँदैन । लघुकथाको आकार  प्रकार लघुकथाको स्वरुप  र संरचना यस्तो हुनुपर्छ, उस्तो हुनपर्छ ।” धारा प्रवाह उसको प्रवचन । दर्शक दीर्घाबाट आएको हाई उसले सुनेन । उद्घोषकले घडी हेर्यो, प्रवचन एकघण्टा भइसकेछ । उद्घोषकले चिट्कोटमा लेख्यो – भाषण लामो भयो कि ?
ऊ झन् गर्जियो -” लघुकथाको आकार लघु हुनुपर्छ ।
एउटा दर्शक चिच्यायो, तपाईको भाषण झै लामो होइन ।
क्षणभरमै दर्शक दीर्घामा हाँसोको फोहरा छुट्यो । ऊ भने अझ गम्भीर मुद्रामा भन्दै थियो – “लघुकथा ………”
(लघुकथाको बिकृतिको बारेमा पछिल्लो पटक लघुकथामा नै लेखिएको पाइन्छ । यो कार्यको सुरुवात लघुकथाकार अशेष मल्लबाट सुरू भएको देखिन्छ ।  लघुकथाभित्र लघुकथाकै बिषय बनाएर लघुकथा लेख्ने पहिलो लघुकथाकार अशेष मल्ल हो ।
लघुकथाकार अशेष मल्ल मूलत: नाटकधर्मी  हुन् । सर्वनामको सुत्राधर उनी नेपाली लघुकथालाई आजको स्थानमा पुर्याउने अग्रज लघुकथाकार पनि हुन् । साहित्य र नाट्य क्षेत्रमा अनेक काम/ पुरस्कारहरू प्राप्त स्रष्टा अशेष मल्ल साहित्यको अति सम्मानित नाम हो । उनका थुप्रै कृतिहरू प्रकाशित छन् । किशोर पडाडीको सहकार्यमा लघुकथाको सम्पादन कार्यमा पनि अशेष मल्ल ४० को दशकमा सकृय भएको देखिन्छ ।
प्रस्तुत “उपदेश” लघुकथामा लघुकथाकार अशेष मल्लले साहित्यिक कार्यक्रममा स्रोता र दर्शकहरूलाई ध्यानै नदिई बेतुकका उपदेश दिने समीक्षक/समालोचकहरूको धज्जी उठाएका छन् । कथा अती यथार्थपरक छ । हरेक साहित्यिक समारोहहरूमा यस्तो वातावरण प्रष्ट देखिन्छ ।)
====
२. सकृयकालीन लघुकथा: चेतना
श्रीओम श्रेष्ठ रोदन

श्रीओम श्रेष्ठ‘रोदन’

 सबै धर्मावलम्बीहरू मिलेर बसेको एउटा गाउँ थियो । अचानक त्यहाँ भुकम्प गयो । ठाउँ ठाउँका घरहरू भत्किएर, थिचिएर केही मान्छेहरू पनि मरे । घर न भत्किएका र कोही न मरेका सबै छिमेकीहरू घटनास्थलमा पुगे । घर भत्किएका र मृतकका परिवारलाई सान्त्वना र समवेदना प्रकट गरे । भुकम्प र त्यसैले गरेको विनाश पत्रपत्रिका, रेडियो र टेलिभिजनका मुख्य समाचार बने । सबै धर्मावलम्बीहरू बस्ने गाउँ भएकोले विभिन्न धार्मिक सङ्घका पदाधिकारीहरू निरिक्षण गर्न आए ।
 –हिन्दुहरू आएर क्रिस्चियन धर्मावलम्बीहरूका धेरै क्षति भएको ठानी ‘दैव प्रकोपलाई कसले रोक्न सक्छ र’ भन्दै गए ।
 –मुुस्लिमहरू आएर हिन्दुहरू बढी मरेको ठानी ‘अल्लाहको इच्छा’ भन्दै फर्किए ।
 –इसाईहरू आएर बौद्धमार्गीहरूका धेरै घर भत्किएको ठानी प्रभुलाई सम्झिदै फर्किए ।
 –बुद्धिस्टहरू आएर मुस्लिमहरू बढी मरेछन् भनी बुद्धलाई प्रणाम गर्दै फर्किए ।
 त्यही भुकम्पले गर्दा तारमा करेन्ट लागेर मरेको एउटा कागको वरिपरि धेरै कागहरू भने एकत्रित भएर कराउँदै बसिरहेका थिए ।
(नेपाली लघुकथामा  ५० को दशकलाई सकृयकालीन समय मानिन्छ । यही सकृयकालीन समयमा लघुकथाकार श्रीओम श्रेष्ठ रोदन महानायक भएर लघुकथामा देखापरेका छन् । उनीले २०५४ सालदेखि लघुकथाको खुल्ला प्रतियोगीता आयोजना गरि नेपाली लघुकथालाई राष्ट्रव्यापी प्रतिस्पर्धामा ल्याएका हुन् ।  नेपाली लघुकथाको संस्थागत विकासमा काम गरी लघुकथालाई सम्मानित विधा बनाउन पनि श्रीओम श्रेष्ठ रोदनको महत्त्वपूर्य योगदान छ । उनी “लघुकथा समाज, नेपालको संस्थापक अध्यक्ष पनि हुन् ।
लघुकथाकार श्रीअोम श्रेष्ठ रोदनको “अाँखीझ्याल” र “भ्रममार्ग” गरी दुई लघुकथा कृति प्रकाशित भएको छ भने केही लघुकथा कृतिहरू सम्पादन पनि गरेका छन् ।
प्रस्तुत “चेतना” लघुकथामा धार्मिक बिषयको कुरा उठाई धर्म अफिम हो भन्ने माक्सवादी चिन्तनभन्दा अझै माथि उठेर मानवीय चेतनालाई व्यङ्यवाण हानेका छन् । लघुकथाको वीजवाक्यले लघुकथालाई हरेक पाठकको मनमा सुटुक्क बसाएको छ ।)
======
३.मलाई मन परेको लघुकथा: तन्द्रा
विनाेद नेपाल
‘हैन, के भाे, के साेंच्दैछाै ?निकै गम्भीर पाे छाै त ।”
प्रश्नले ऊ झस्कियाे । अग्लाे कद, लामालामा जुँगा, छरिताे शरीर भएको हेर्दै जाेशिलाे आकृति उसको सामु थियाे ।
सम्हालिंदै भन्याे – ‘हाेईन, केही हाेईन ।”
‘नढाँट, केही कुरा पक्कै खेलिरहेको छ तिम्रो दिमागमा, अनुहार त्यही भन्छ ।’
उसले भन्याे – ‘इतिहास सम्झनामा आयाे हजुर, पूर्खाकाे गाौरवगाथा सम्झनामा आयाे र त्यस समयमा याेगदान गर्नेहरु स्मरणमा आए ।”
‘ए, बिर्सेका त रहेनछाै । ‘
 ऊ पुनः झस्कियाे, ‘ यहाँलाई चिन्न सकिन नि?’ उसले विनम्र भई प्रश्न गर्‍यो ।
‘म ? मलाई तिमी चिन्दैनाै, अझ तिमीभन्दा पछिकाले त नाम नै सुनेका छैनन् हाेला ।”
 ‘हैन, परिचय पाउँ न हजुर, खुल्दुली भयाे ।”
‘सुन्छाै ? ल सुन, कतिपयले इतिहासलाई बङ्ग्याउने, बटार्ने प्रयत्न गरिरहेका छन्, तर नेपाल बनाउने, तिमीहरूलाई नेपाली भनाउने मै हुँ’ ।”
उसकाे मुखबाट अनायासै निस्कियाे –
‘ राष्ट्रिय एकता जिन्दावाद !’
(लघुकथाकार विनोद नेपाल पुराना लघुकथाकार हुन् । उनी समसामायीक घटनाको बारेमा तत्काल लघुकथा लेख्न खप्पिस छन् । पछिल्लो समयमा फटाफट लघुकथा लेख्नेहरूमा उनको नाम अग्रपङ्तीमा रहेको छ । विनोद नेपालको “गोदान” नामक लघुकथा कृति प्रकाशित छ ।
लघुकथाकार विनोद नेपालले प्रस्तुत लघुकथा “तन्द्रा”मा स्वैरकल्पनाको माघ्यमबाट राष्ट्रिय एकतालाई वढो मज्जाले प्रस्तुत गरेका छन् । लोकतन्त्रमा प्रस्तुत बिषयले कतै ठाउँ नपाउने हो कि जस्तो लाग्दा लाग्दै पनि बिषयलाई स्थापित गर्न लघुकथाकार सफल छन् । उनका प्राय लघुकथाहरू सरल र पाठकलाई बिचार प्रवाह गर्ने खालका हुन्छन् ।)