पहिलो लघुकथा (नागबेली पत्रिकाको पहिलो लघुकथा अंक)
पश्चातापः विधान आचार्य
सडकमा सधैँ पुरानै भिखमङ्गाहरू मात्र देखिन्छन् । दिनदिनै उनैलाई पैसा छर्न प्राय कसैलाई पनि मन लाग्दैन । नयाँ भिखरीलाई भीख दिनु साँच्चीकै नयाँ रेष्टुराँमा गएर कफीको चुस्की लिनु बराबर हो ।
यो सडकको पटीमा ८/१० वटा माग्नेहरू हुन्छन् सधैँ । कुनै दिन नयाँ भिखारी उनीहरूको समूहका आएर थपिन्छ । आश्रम माग्छ । सबै टोल्हाउँछन् । आँखामा मौन सहमति हुन्छ । नयाँ भिखारीको समेत त्यही डेरा बन्छ ।
नयाँ माग्ने बढी दयनीय प्रतीत हुन्छ । उसको गोडाको घाउ यस्तो देखिन्छ कि सबै बटुवा त्यो दृष्य हेरेको बदला उसलाई गम्म भीख दिन्छन् । १५/२० पैसा हालिदिइसकेपछि हातमा बाँकी रहेका चानचुन पैसा जो पनि अरूहरू सबैलाई भाग पुर्याएर ५/५ पैसाको दरले दिने गर्छन् । यसो गर्दा प्रत्येक साँझमा नयाँ भिखारीले आफूले भन्दा दोब्बर तेब्बर बढी भीख जम्मा गर्छ ।
पुरानाहरू अब उस्लाई ईर्ष्या गर्न थाल्छन् । उनीहरूलाई लाग्छ, शायद उ नभएको भए, उसको भागको पैसा उनीहरूमा बाँढिन्थ्यो । अझ प्रत्येकले त्यो पैसा जम्मै आफ्नै भागमा पार्ने सपना देख्छन् ।
सबैलाई डाहा हुन्छ । उनीहरू आफ्नो भाग सधै नयाँ भीखारीले हेरेको देख्न थाल्छन् । एक दिन उनीहरूको बहुमतीय जमातले नयाँ भिखारीलाई थपाउँछ । नयाँ भिखारीले सकी नसकी सडकको पल्लो पेटीमा गएर सुत्छ । लगत्तै त्यहाँ एकै पैसा झर्दैन तर पल्लोपट्टि नयाँ भिखारीको खालमा झन दोब्बर झर्न थाल्छ । किनकि त्यहाँ प्रत्येकले भीख दिन निकालेको चानचुन पैसासमेत कुनै अनुपातीय भागमा कतै बाँढ्नु पर्दैन ।
साँझ परिरहन्छ, बेलुकी भइसक्छ ।
भोलिपल्ट नयाँ भिखारीलाई ससम्मान पुन: बोलाउने निर्णय गरेर पुराना भीखारीहरू सुत्छन् । आफ्नो हाँडीघोप्टे बानीदेखि पाश्चाताप हुन्छ । तर, बिहान उज्यालो हुनुभन्दा पहिल्यै नयाँ भिखारी त्यहाँबाट उठेर हिँडिसकेको हुन्छ।
###
(नेपाली साहित्यमा “नागबेली” साहित्यिक द्वैमासिक पत्रिकाको छुट्टै इतिहास छ । वि.सं. २०३४ सालदेखि लव गाउँलेको सम्पादनमा काठमाडौंबाट प्रकाशित यो पत्रिकापछि विवश पोख्रेलको सम्पादनमा विराटनगरबाट प्रकाशनमा आएको देखिन्छ । नागबेली पत्रिकाको तेस्रो अंकलाई लघुकथा अंकको रूपमा पहिलोपटक प्रकाशन ल्याएको थियो ।
नागबेली पत्रिकामा प्रकाशित “पश्चाताप” लघुकथा स्रष्टा विधान आचार्यले लेखेका हुन् । उनी ३० को दशकदेखि हालसम्म पनि लघुकथा लेखिरहेका छन् भने नागबेली पत्रिका चाहिँ हाल प्रकाशनमा आएको पाइन्न । प्रस्तुत “पश्चाताप” लघुकथामा कथाकारले भिखारीहरूबीचको द्वन्दलाई बढो नजिकबाट निगालेको छ । लगभग ४० वर्ष पुरानो यो लघुकथाले त्यस बेलाको सानो समयबोध पनि गराउँछ ।)
२. सक्रियकालीन लघुकथा
मजदुर दिवसः तुलसीहरि कोइराला
आज मई–१, अर्थात् मजदुरहरुको अन्तर्राष्ट्रिय दिवस । कलकारखानामा काम बन्द छ । सम्पूर्ण मजदुर उत्सव मनाउने तयारीमा छन् । व्यानर, झण्डा, प्लेकार्डहरु ठीक गर्नमै व्यस्त छन् ।
सडकमा मजदुरको भीड देखियो । रङ्गीचङ्गी व्यानर, झण्डा, प्लेकार्डहरु देखिए । जुलुस खण्डखण्डमा विभाजित थियो, बेग्लाबेग्लै सडकमा अघि बढिरहेको थियो । नारा घन्किरहेका थिएः मजदुर एकता – जिन्दावाद ! विश्वका मजदुर – एक हौँ !
जुलुस जोसाजोसमा थियो । एक–अर्को समूहदेखि उत्तेजित हुँदै अघि बढिरहेको थियो । सडकमा गुडेका केही गाडी फुटाइए, पसलमा तोडफोड गरियो । अगाडि–पछाडि हिँडेको प्रहरीको भ्यानले केही प्रतिक्रिया जनाएन । अन्तर्राष्ट्रिय मजदुर दिवसका दिन मजदुरहरुबाट आ–आफ्नो हकको उपयोग भइरह्यो ।
ओल्लोपल्लो सडकमा हिँडिरहेका मजदुरका जुलुस एकाएक आम्नेसाम्ने हुनपुगे । जुलुस अब मुठभेडमा परिणत भयो । नारा लाग्न थालेः फलानो पार्टी – जिन्दावाद ! मजदुर एकता– जिन्दावाद ! विश्वका मजदुर– एक हौँ !
प्रहरीको हस्तक्षेपपछि मुठभेड पुनः जुलुसमा परिणत भयो र उनै नारा दोहोरिँदै अघि बढ्यो ।
एक–अर्को समूहका मजदुरहरुको जुलुसमा अर्को पार्टीका मजदुरहरुको घुसपैठ भएको आशङ्कामा केही मजदुर समातिए । उनीहरुलाई निर्घात कुटियो । मजदुर दिवसका दिन, मजदुरको जुलुसमा, मजदुरको रगत बगेको देखेर सडक रमितेहरु चुकचुकाउँदै हिँडिरहे । प्रहरीको लाठी र अश्रुग्यासले मध्यस्थताको काम गर्यो ।
जुलुस गन्तव्यमा पुग्न बाँकी नै थियो । मजदुरको हकहितका नारा लगाउँदै अघि बढिरह्योः विश्वका मजदुर – एक हौँ ! मजदुर एकता – जिन्दावाद !
###
(नेपाली लघुकथामा ५० को दशकलाई सक्रियकालीन समय मानिन्छ । यसै समयमा लघुकथाकार तुलसीहरि कोइरालाको सक्रियता डाहा गर्न योग्य छ । “मधुपर्क”को लघुकथा विशेषाङ्कको सम्पादनदेखि कथाकार सुमन सौरभको लघुकथासंग्रह सम्पादनमा पनि उहाँको क्षमता प्रष्ट रूपमा हेर्न सकिन्छ । तुलसीहरि कोइरालाले लघुकथा लेखनमा पीडालाई पगाल्ने काम गरेका छन् । उनका लघुकथाहरू कोमल हुन्छन् ।
प्रस्तुत “मजदुर दिवस” लघुकथाले साम्यवादी आन्दोलन, विचार र गति सुन्दामा राम्रो हुँदाहुँदै पनि त्यसमा आएको स्खलनलाई बढो रहश्यमय ढङ्गले उतारेको छ ।)
३.मलाई मन परेको लघुकथा
भुँडीः भरतकुमार भट्टराई
झसक्क भयो ।
“खोइ के पस्यो पस्यो शरीरभित्र, अलि अप्ठ्यारो अप्ठ्यारो जस्तो लाग्यो।”
देशका प्रमुख वा राष्ट्रप्रमुख वा देशका ठूल्ठुला प्रशासक वा ठूल्ठुला दलका नेताहरूलाई र यस्तै शक्तिका विविध पदमा रहेकाहरूलाई यस्तो भएजस्तो लाग्यो।
त्यो विश्वविख्यात अति शक्तिशाली भाइरसले अनुभव गर्यो यो कुरा।
स्वाटस्वाट फोक्सोतिर जानुपर्ने त्यो भाइरस त भुँडी अति शक्तिशाली हुने जातका ती मानिसहरूका पेटतिर तानिएछ। पसिहाल्यो पेटतिर। अब पसेकाजति कहाँ ध्वंस मच्चाउनुपर्यो भनेर लाग्यो भाइरस जोडतोडले विनाश गर्न।
भाइरसले यस सूचनाप्रविधिको युगमा एकपटक सबैलाई जानकारी दिएर मात्र महाअभियान सञ्चालन गर्ने गणतान्त्रिक सोच बनायो। लकडाउनमा रहेकाले जुम सम्मेलनबाट काम फत्ते गर्ने योजना बनायो र सबैलाई आमन्त्रण गर्यो।
“महाशय ! भन्नोस् त तपाईँलाई यो देश कस्तो लाग्छ ?”
“अति सुन्दर ! जताबाट खाए पनि हुने, कहिल्यै अपच नहुने, ज्यादै कमलो, भुँडीभित्र टम्म मिलेर कहिले नदेखिने गरी छपक्कै बस्ने, जुन सङ्गीत जताबाट जसरी गाए पनि हुने र सुन्नेहरू त भक्तिमा लीन भएर तालीमा मस्त रहने ! आहाहा !! अनुपम !!!”
अर्को शक्तिशाली पात्रलाई सोध्यो भाइरसले, “यो देशका जनता कस्तो लाग्छ तपाईँलाई ?”
“अहो महाशय ! यिनीहरू जत्तिका गुनिला र रसिला यस विश्वब्रह्माण्डमै कोही छैनन् प्रभो ! यिनलाई धर्म र राजनीतिको घाँस हालिदिएपछि जिन्दगीभर उग्राएर भक्ति गरिरहन्छन् ! मलाई लाग्छ यी अन्त कतै नपाइने खास नमूना हुन् । फलाम देखाएर वा पित्तल देखाएर सुन भने पनि यिनका मुखबाट मौन सम्मति नै पाइन्छ । महान् छन् यी गौप्राणी !”
अन्तमा महाशक्तिशाली पात्र कुम्भकर्ण भुँडीमा मुस्कानमय अनुहारसाथ देखापरेपछि भाइरसले बडो प्रफुल्ल मुद्रामा प्रश्न गर्यो, “हजुरलाई यो देशको राजनीति कस्तो लाग्छ नि ?”
ड्याउव डकार्दै आवाज निस्कन्छ, “आहा क्या मीठो प्रश्न !! यो देशको राजनीति भनेको महतुल्य उखान हो। जसरी चुट्किला हाल्नोस् यहाँको राजनीतिले च्याट्टै मिलाइदिन्छ। संविधान नै महान् छ जसरी अर्थ्याए नि धूप, दीप, नैवेद्य मानेर मगमगाइदिने एकसेएक हलुवा बुद्धिजीवी भएकाले विनाबिघ्नबाधा घुमिदिन्छ दुनियाँ अनि चुमिदिन्छ हाम्रो नियोजित अभीष्टकारी चटक यहाँका बमभोले चिम्टा बजाउने जनता र बाप्टिस्ट होली वाइनका अम्मली जनताबाट। हाहाहाहाहा….!!”
भाइरस महोदय गज्जबले हाँस्दाहाँस्दै ठूलाठूला सुनका डल्लाहरू महाशक्तिशाली महानुभावका भुँडीभित्र अपलोड भएपछि बिचरा भाइरस परमधाम।
“नाथे भाइरस ! चिनेको छस् हाम्रो भुँडीलाई !!”, महाशक्तिशालीहरू मुसुमुसु।
###
(नेपाली साहित्यमा डाक्टर भरतकुमार भट्टराईको नाम समालोचकको स्थानमा रहँदा रहँदै पनि मुक्तक र लघुकथा लेखनमा भरतकुमार भट्टराई भनेर प्रष्ट चिनिन्छ । प्रस्तुत लघुकथा “भुँडी” ले नेपाली नेताहरूको भुँडीको शल्यक्रिया गरी क्षमताको पनि चर्चा गरेको छ । लघुकथामा स्वैरकल्पनाको हिस्सा अधिक रहे पनि कथा यथार्थ परक छ ।)
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला