मलाई स्वाभाविक लाग्छ
बेबी बम्पका तस्बिरहरू
देवर पाऊँ भन्ने आलेखहरू
दुई टाले कपडाभित्रका स्वतन्त्रताहरू
अनि हाडनाताभित्रका लिभिङ टुगेदरहरू

सम्भावनाको टुप्पामा नपुगुन्जेलसम्म
प्राप्तिका भोकहरू जागिरहन्छन्
भत्काएर पुनर्गठन गर्ने इच्छाहरू चलिरहन्छन्

त्यसैले स्वाभाविक रूपमा छाडिदेऊ बगेका नदीहरूलाई
छिटो छिटो हटाइदेऊ मार्गका अवरोधहरू
चाख्‍न देऊ पूर्ण स्वतन्त्रताका स्वादहरू

गसियन कर्भको टुप्पामा पुगेपछिमात्र
दायाँबायाँ देख्न सकिन्छ

मणिराज अधिकारी

एउटा अबोध बालकलाई
पोख्न मन लाग्छ दूधका भाँडाहरू
ठटाउन मन लाग्छ लिटोका बटेहरू
च्यात्न मन लाग्छ
कपीका पानाहरू

स्वाभाविक छ उसले
भिजाइको अनुभव गर्न पाउनुपर्छ
च्यातिएका पानाहरूको प्रतिक्रिया बुझ्न पाउनुपर्छ
टुटाएका सिसाको आवाज सुन्न पाउनुपर्छ

त्यसैले उठ्न देऊ विद्रोहका ज्वारभाटाहरू
पड्कन देऊ निस्सासिएका बारुदहरू
फुट्न देऊ थामिएका बाँधहरू
अनि जन्मनदेऊ हजारौँ मलालाहरू

सबै अनुभव सँगालेपछि मात्र
ऊ बन्नेछ निपुण मानव
जान्नेछ जीवन जिउने कला
गर्नेछ आफ्ना कर्महरूको हरहिसाब

अनि बुझ्नेछ ,
पुजिएका बर पिपलहरूको महिमागाथा
ग्रहणमा बर्जित गरिएको नियम
सतबीज छरिएको जौ कौ महत्त्व
घरमा रोपिएको तुलसीको सञ्जीवनी मन्त्र
तामाको भाँडामा राखिएको पानीको कीर्ति
तोड्न खोजिएको खुवालुङको आस्था
नोभेम्बर डिसेम्बरको टर्कीको महत्त्व
भड्काउन खोजिएको सद्भावको रहस्य

त्यसैले स्वाभाविक रूपमा छोडिदेऊ
बगेका नदीहरूलाई
छिटो छिटो हटाइदेऊ
मार्गका अवरोधहरू
अविलम्ब भेट्न देऊ
सेचुरेसन बिन्दुलाई
बुझ्न देऊ सामाजिक नियमको महत्त्व
जान्न देऊ आफ्नो पहिचानको मूल्य

दमक झापा