नयाँ के छ हजुर‚
सधैँझैँ कुरी-कुरी छ
अरूलाई कुरी-कुरी छ
आफूलाई मुरी-मुरी छ

एउटा नङ्गाले कहिल्यै आफूलाई देखेन अर्को नङ्गालाई कुरी-कुरी गरिरह्यो‚
एउटा गन्धाले कहिलै आफूलाई सुँघेन अर्को गन्धालाई कुरी-कुरी गरिरह्यो
त्यसैले त हजुर‚
अरूलाई कुरी-कुरी छ
आफूलाई मुरी-मुरी छ

हिजो खाएर आज खान नपाएकाहरू आज खाएर हिजो खान नपाएकाहरूलाई कुरी कुरी गर्दैछन्
आज खाएर हिजो खान नपाएकाहरू हिजो खाएर आज खान नपाएकाहरूलाई कुरी कुरी गर्दैछन्
त्यसैले त हजुर‚

मणि राज अधिकारी

अरूलाई कुरी-कुरी छ
आफूलाई मुरी-मुरी छ

अरूको इतिहास ओकल्ने एउटा भाटले आफ्नो इतिहास कहिल्यै हेरेन
अरूको देख्नै नहुने आफ्नो ठिकै लाग्ने एउटा ढाँटले त्यो दोषी चस्मा कहिल्यै फेरेन

त्यसैले त हजुर‚
अरूलाई कुरी-कुरी छ
आफूलाई मुरी-मुरी छ

हिजो जालझेलले आफ्नै थैली भराउनेले‚
मालिकलाई आफ्नै करेसाबारी चढाउनेले‚
आफू सधैँ राम्रो राम्रै देख्छ
अरू त्यसै चुकेजस्तो देख्छ

त्यसैले त हजुर‚
अरूलाई कुरी-कुरी छ
आफूलाई मुरी-मुरी छ

हिजो नपाउँदा छटपटाएको
अरूका बदख्वाइँमा फतफताएको
आज तिनै बयलगाडा कति प्यारा लाग्छन्
उनै सुत्ने पलङ पनि कति न्यानो लाग्छन्

त्यसैले त हजुर‚
अरूलाई कुरी-कुरी छ
आफूलाई मुरी-मुरी छ

दमक झापा