नभुलूँ भन्दाभन्दै पनि दिवङ्गतको तस्बिर देखेपछि ‘श्रद्धाञ्जली’ लेख्न मन लाग्छ । कम्तीमा पनि लभ या स्याड रियाक्ट नगरी सन्तोष लाग्दैन । भर्चुअल श्रद्धाञ्जली, समवेदना अनि रियाक्टको थकानमा रहेका बेला मित्र अश्विनी कोइरालाको फोन आउँछ, ‘वानीरा गिरि बितेको थाहा पाइसक्नुभयो होला !’

‘अँ, थाहा पाइसकेँ । थाहा दिने मेसिन फेसबुकै त हो । अब थाहा पाएर पनि के गर्नु ?’

अश्विनीजीको फोन त्यत्तिकै आउँदैन । ‘कोरोनाले धेरै साहित्यकारहरुलाई लगिसक्यो । वानीरा गइन् । राजेन्द्र सुवेदी, चेतन कार्की, कविराज पोखरेल, शेरबहादुर गुरुङ आदि इत्यादि । नचिनेका र थाहा नपाएका कति होलान् ! बजारको जस्तो यो क्षतिको मापन त हुन्न । यही अपुरणीय क्षतिबारे केही लेख्ने त हो कि ?’

राजकुमार बानियाँ

सम्पादकलाई म नाइँनास्ति गर्न सक्दिनँ । तर मृत्युको वासलात कसरी निकाल्ने यार ! उफ्, अब अबिच्युरी पनि एकअर्कामा खप्टाएर लेख्नुपर्ने भइसक्यो ।

मृत्युका खबरले हामी हतप्रभ हुने रहेछौँ । आख्यान लेख्छौँ, पात्रलाई नचाहिने ठाउँमा पनि मारिदिन्छौँ । आफ्नै पात्रको मृत्युलाई सहज रुपमा लिन्छौँ । तर जब आफन्त या चिनारुको मृत्यु हुन्छ, मृत्युप्रति आक्रोशित हुन्छौँ । मानौँ मृत्यु अरुकै लागि मात्र आएको हो, आफ्ना लागि मृत्यु लेखिएकै छैन ।

हो, मृत्यु नृत्यरत छ । घरमा, अस्पतालमा, बाटाघाटामा । सर्वसाधारणका लागि लकडाउन छ । भीडभाड गर्न मनाही छ । तर देशका प्रधानमन्त्री दिनहुँ भीड गरिरहन्छन् । दिनहुँजसो सरकारी निवास बालुवाटारमा पत्रकार सम्मेलन गर्छन् । पार्टी बैठक पनि नियमितजसो त्यतै गर्छन् क्यारे । भर्चुअल दुनियाँमा बानी परेका हामीलाई त रियल कुरा देख्दा पनि खेद लाग्दो रहेछ ।
खोप या अक्सिजन नपाएका या उपचारबिनै घरमा कसैको मृत्यु मजाक होइन । खोप लगाएका मानिससँगको सम्पर्क सुरक्षित लाग्दो हो प्रधानमन्त्रीलाई । नागरिकको मृत्युसँग उनलाई के मतलब !

साहित्यका पाठकका लागि वानीरा गिरि विशेष थिइन् । उनको नाम शुद्धसँग लेख्नु पनि जोकोहीको वशमा छैन । किनभने उनी ‘बानिरा’ होइनन्, ‘गिरी’ पनि होइनन् । उनले लेख्ने थर गिरी संन्यासी होइन, पर्वतसँग मिल्दोजुल्दो थियो । उनको पहिलो प्रकाशित कविता पनि बडो सुकिलो छ, ‘एउटा फूलको जिन्दगी’ ।

एउटा ‘राइटर’ मात्र नभएर ‘फाइटर’ पनि थिइन् वानीरा । सारा लेखकहरु एकातिर थिए वानीरा अर्कैतिर । साँच्चै भनुँ भने काठमाडौंको संकीर्ण साहित्यिक समाजमा उनी एक्लै थिइन् । अश्विनी कोइरालाको अनुरोधपछि मलाई वानीरा गइन् भन्ने स्वीकार्न करै लाग्यो ।

मैले १५ वर्षअगाडि उनीसँग लिएको अन्तर्वार्ता सम्झिएँ । उनका बारेमा विभिन्न अफवाह सुनेको थिएँ । तर मैले अन्तर्वार्ता गर्छु भन्नासाथ उनले उतिन्खेरै ‘ओके’ गरेकी थिइन् । तत्कालै फोटो पत्रकार बहिनी श्रुति श्रेष्ठ मलाई बोलाउन आएकी थिइन् । जबकि मैले यसबारे कसैलाई भनेकै थिइनँ ।

वानीरा गिरिले श्रुतिसँग सम्पर्क गरिसकेकी थिइन् या कसैले श्रुतिसँग सम्पर्क गरिसकेको थियो । म छक्क परेको थिएँ, फोटोपत्रकारले साहित्यकारहरुको अन्तर्वार्तामा कति चाँडो समय मिलाउन सकेको ! यो के माया हो ?

श्रुतिले मलाई स्कुटरमा कान्तिपुर पब्लिकेसन्स तीनकुनेबाट मीनभवन क्याम्पस हुँदै शंखमूल जाने ओरालोनेरको भव्य बंगलामा ओरालेकी थिइन् । भिरालो ठाउँमा प्रशस्त हरियालीसहित बडा सुन्दर डिजाइन गरिएको आधुनिक बंगलामा कला जगमगाएर उठेको थियो । त्यहाँ वानीराले हामीलाई मीठो स्वागत गरेकी थिइन् ।

एकाध घन्टामै गजब अन्तर्वार्ता भएको थियो । प्रायः म आधाअधुरो अन्तर्वार्ता लिएर फर्कन्छु । र, वार्ताभन्दा बढी ‘रिफरेन्स’ मा भर पर्छु । अफिस फर्केर नेपाल म्यागजिनमा मैले वानीराको व्यक्तिचित्र लेखेको थिएँ, ‘रिमालकी प्रेमिका’ । पत्रिका छापिएपछि मलाई लागेको थियो, ‘रिमाल त वानीराका प्रेमी पो हुन्’ ।

आफ्नै हेडलाइनका कारण म भित्रभित्रै भयभीत थिएँ । कतै बाटोमा भेटेर झपार्ने पो हुन् कि वानीराले ! अहँ, त्यस्तो केही भएन । मैले सोधिनँ, उनले पढिन् कि पढिनन् ? म के ठान्छु भने लेखेपछि मेरो जागिर पाक्छ । दोहोर्याएर सम्पर्क गर्ने मेरो स्वभावै छैन ।

कवि गोपालप्रसाद रिमाल वानीराको सपनामा आउँदा रहेछन् । हात समातेर काठमान्डूका साँघुरा गल्लीहरूमा बरालिँदा रहेछन् । डिस्कोथेक र कफीसपमा डेटिङ गर्दा रहेछन् । उनी ठान्थिन्, ‘पूर्वजन्ममा रिमालसँग पक्कै कुनै न कुनै सम्बन्ध थियो ।’

वानीराले २०४२ मा ‘गोपालप्रसाद रिमालका कवितामा स्वच्छन्दतावाद’ विषयमा विद्यावारिधि गरेकी थिइन् । त्यस बेला रिमाल बितेको १२ वर्ष भइसकेको थियो । तर उनका प्रेमी भइसकेका थिए रिमाल । रिमालकै कारण वानीरा नेपाली साहित्यमा विद्यावारिधि गर्ने प्रथम नारी हुन पुगेकी थिइन् ।

सुरुमा त्रिभुवन विश्वविद्यालयले रिमालका कविताको संख्या थोरै भएकाले वानीराको प्रस्ताव नै स्वीकार गरेनछ । उनकै हठका कारण पछि त्रिवि तयार भयो । तर उनको शोधप्रबन्ध स्वीकार गरिएन । त्यसका लागि उनले ‘एक्सटर्नल गाइड’ नै बदल्नुपर्यो ।

‘कारागार’ उपन्यास लेखेकी वानीरा नै खासमा स्वकीय कारागारमै थिइन् । उनीसँग मेरो कहीँ कतै भेट भएन । साहित्यिक कार्यक्रममा समेत देखिनँ । उनी त एक प्रकारले भूमिगतजस्तै थिइन् ।

सिर्जनाले भन्दा कविगोष्ठीमा धाएर, भीडमा मिसिएर, नेताजीको घरमा देउसिरे खेलेर पद र पुरस्कार पाइने देशमा उनले सदैव हक्की लेखक भएर बाँच्न चाहिन् । त्यसैले एकान्त उनलाई प्रिय थियो । उनको भरपर्दो साथी भनेको उनैमात्र थिइन् । क्षणिक कुरामा उनको कुनै चाख थिएन । उनी भन्थिन्, ‘कविहरूले जे सत्य छ, त्यही बोल्न सक्नुपर्छ । कसैको झन्डामुनि बसेर सत्य लेख्न नसक्ने कसरी कवि हुन सक्छन् ?’

गत वर्षको लकडाउनमा काम विशेषले म थुप्रै पटक उनकै घर गएको थिएँ । उनको घरमा वेस्टमिनिस्टर फाउन्डेसन अफ डेमोक्रेसीको कार्यालय थियो । उनलाई भेट्न मन त लागेको थियो । तर कोभिडको महामारी अनि उनकै गम्भीर अस्वस्थताका कारण मैले त्यो हिम्मत गरिनँ ।

त्यसो त ०७१ सालमा बग्गीमा बसी नगर परिक्रमा अनि आफ्नो उचाइ बराबरको’‘विश्व नारी रत्न’ नामक ताम्रपत्र लिएपछि नै वानीरा सार्वजनिक जीवनमा देखा परेकी थिइनन् । त्यतिबेला नै उनी सुगर, प्रेसर आदि चलनचल्तीका रोग मात्र नभएर अल्जाइमर्स पीडित भैसकेकी थिइन् । बिस्तारै एक छोरी र एक छोराकी यी आमाले सन्तानलाई नै चिन्न सकिनन् । पाँच वर्षदेखि उनी बोलचाल पनि गर्न नसक्ने हालतमा थिइन् ।

यसपालि कोरोनाले गर्नु गर्यो । लामो सममदेखि वानीराको हेरचाह गर्ने विभा (सहयोगी भीमबहादुरकी पत्नी) को कोरोनाले ज्यान गयो । भीमबहादुर र वानीरापति शंकर संक्रमित भए र अस्पतालबाट फर्किए । तर कोरोना संक्रमित वानीरा घर फर्किन सकिनन् । हृदयघात भएको थियो उनलाई । यद्यपि वानीराको मृत्यु एकप्रकारले मुक्ति नै थियो ।

वानीराले त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पसहरुमा अध्यापन गरिन् । तर उनले पाउनुपर्ने बढुवा पनि नपाएर अदालत धाउनुपर्यो । वानीराले सरकारी नियुक्ति पाइनन् । किनभने उनी धाउँदैनथिन् । कसैलाई अतिरिक्त सम्मान पनि गर्दैनथिन् ।
आफ्नै घरसँग जोडिएको छिमेकी कवि तोया गुरुङ प्राज्ञ बनिन्, उनको नाममा तोया मार्ग बन्यो । तर नेपाल प्रज्ञाप्रतिष्ठानले वानीराको कवितासंग्रह समेत छापिदिएन । केही व्यक्तिको नाम सुन्नासाथ उनी अग्निवर्षा गरिहाल्थिन् । युवा अनुवादक रामचन्द्र केसीका शब्दमा ‘केही व्यक्तिलाई उनी भित्रैदेखि मन पराउँदैनथिन् । उनको मन नपराइमा पनि एक किसिमको ‘इमान्दारी’ थियो ।

आफ्नो आत्मकथा विशेष बनाउने उनको योजना थियो । तर लेख्ने चाँजोपाँजो मिलाउँदैमा उनी थला परिन् । उनी आत्मकथा स्थापित पात्रहरू जिउँदो हुँदै छाप्न चाहन्थिन् । नियतिले उनलाई छुट दिएन । उनी विदेश भने गइरहन्थिन् । उनले त्यसै भनेकी होइनन्, ‘नेपालमा मैले जिन्दगी दिएँ तर नेपालले मलाई चिनेन तर विदेशीहरूले चिने । उनीहरू सबै सुविधा दिएर डाक्छन् अनि किन नजानु ? म कहिले पनि निम्तोको पछाडि लागेको छैन, निम्ताहरू नै मेरो पछि लागेका हुन् । हेर्नुस्, वानीराले केही खोज्दिन, वानीरालाई नै खोज्दै आउँछन् ।’

जनमत संग्रहताका पञ्चायतलाई जिताउन तत्कालीन प्रधानमन्त्री सूर्यबहादुरका पालामा तराईका वन फँडानी गरेपछि वानीनराले निबन्ध लेखेकी थिइन् ‘जंगल जंगल’ । वानीराले त्यसमा लेखेकी छन्, ‘मलाई लाग्यो– साँच्चै यो एक अभागी मुलुक हो । यहाँ जन्मने प्रतिभाहरू अभागी प्रतिभाहरू हुन् । यहाँ खास प्रतिभाहरूले भोग्ने नियति केवल दुइटै मात्र छन् कि त बाँचुञ्जेल उनीहरूलाई किनारा लगाइन्छ कि त मरेपछि फूलमाला र पुष्पगुच्छा चढाइन्छ ।’

‘महेन्द्र राजमार्गको जुन विराट, अभेद्य जंगलको बाक्लोपनले मलाई ग्वाम्म अँगालो हालेर सुरक्षा प्रदान गर्थ्र्यो, त्यहाँ उजाड छ, असह्य नांगोपन छ । जंगलको मृत्यु (तर किन किन मलाई गाँस बासका निम्ति जंगलको मृत्यु भएजस्तो लाग्दैन, ठूलो अनर्थ प्रश्नको निम्ति हत्या गरिएझैं लाग्छ– मृत्यु र हत्यामा आकाश–पातालको फरक छ) मा आशौच बारेका सेता बोर्डका छातीमा लेखिएका खेलाँची वाक्यहरु छन्– ‘रतुवामाई वृक्षरोपण आयोजना ।’

कवि वैरागी काइँला कविता विभागका प्रमुख भएका बेला बानीराले ‘काठमाडौं काठमाडौं’ कवितासंग्रहको पाण्डुलिपि प्रज्ञाप्रतिष्ठानमा बुझाएकी थिइन् । त्यसको साढे १२ वर्षपछि काइँला नै कुलपति भएका बेला समेत नछापिएपछि वानीराले पाण्डुलिपि फिर्ता गर्नुपरेको थियो ।

लेखक मरेपछि शब्दालंकारले छापेर केही अर्थ छैन । नारी लेखकहरुको समूह उनी अचेत भइसकेपछि पनि सम्मानपत्र लिएर घरमा गएको फोटो फेसबुकमा देखेको थिएँ मैले । गोविन्द गिरी प्रेरणाले एक अनलाइन पोर्टलमा उनको बेहोसीबारे लेखेको पढेको थिएँ । कुनै पनि लेखकले वानीरा अपमानित हुँदा या पीडा दिँदा चुँक्क बोलेको सुनिएन । तर अहिले श्रद्धाञ्जली टक्र्याउनमा सबैभन्दा अघि उनीहरु नै देखिए ।

उनको पहिलो प्रेम कविता थियो । त्यसैले उनले उपन्यास पनि कवितामै लेखिन्, निबन्ध पनि कवितामै । कतिसम्म भने ‘पुनर्जागरण’ साप्ताहिकको आफ्नो स्तम्भ विषुवत् रेखा पनि कविताले नै रंग्याइन् । उनका किताबका नामै युनिक थिए । कुनै लेखकसित मिल्दैनथे ।

उनका उपन्यासलाई गद्याख्यान या काव्यान्यास भने पनि हुन्छ । उनले श्रीओम श्रेष्ठसँगको अन्तर्वार्तामा पनि भनेकी रहिछन्, ‘म कविता र उपन्यास दुवै एकै प्रकारले लेख्छु । त्यसैले मेरा तीनवटै उपन्यासहरूलाई काव्यान्यास भनेका छन् । मेरा उपन्यास पनि काव्यसरह हुन् । मेरा निबन्ध संग्रहलाई पनि कविताजस्तै भन्न थालिसकेका छन् ।’

नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले २०२२ मा पहिलो पटक आयोजना गरेको कविता उत्सवमा वानीराको ‘नैतिकता’ शीर्षक कविता द्वितीय भएको थियो । त्यसपछि राजा महेन्द्रको सौजन्यमा छात्रवृत्ति पाएर नेपालीमा स्नातकोत्तर अध्ययनका लागि उनी खस्र्याङबाट काठमाडौं आएकी थिइन् । सत्यदेवी नाम गरेकी उनको सानै उमेरमा बाबु र आमाको मृत्यु भएको थियो । सोभियत संघबाट अध्ययन गरेर फर्केका जनकपुरका इन्जिनियर शंकर गिरीसँग २०२३ मा उनको विवाह भयो ।

२०१४ तिर दार्जिलिङको नर्थ प्वाइन्टमा आईएस्सी पढ्दा नै शंकरले स्कुले वानीरालाई देखेका थिए । त्यसपछि रुस गइहाले । कवि वैरागी काइँला कविता विभागका प्रमुख भएका बेला सुशीला थापा (पछि मन्त्री) को घरमा नेपाल फर्केको भोलिपल्टै भेट भयो । त्यसपछि थुप्रै पटक । वानीरा गैरीधारा बस्थिन्, शंकर पुतलीसडकमा । बिस्तारै अफेयरमा परिणत भयो । शंकरले बानीराको डेरामा खानाको निम्तो पाउन थाले । जनकपुरदेखि भएभरका आफन्त लिएर खर्साङ जन्ती गएको सेतोपाटीका लागि गिरीश गिरीसँग शंकरले सुनाएका छन् ।

बिहेअघि शंकर वानीराको पाठक मात्र थिए । पछि उनीभित्रको लेखकलाई पनि माया गर्न थाले । वानीराका लेखोट जतनले राखिदिएनन् मात्र, छाप्ने इन्तजाम पनि मिलाए । पहिलो कवितासंग्रह प्रकाशन भयो, ‘एउटा एउटा जिउँदो जंगबहादुर’ ।

शंकरले अर्को संग्रह पनि छापिदिए, ‘जीवन थायमरु’ । तेस्रो कृति उपन्यासका रुपमा आयो, ‘कारागार’ । साझा प्रकाशनले तीनवटा उपन्यास र कवितासंग्रह छाप्यो । ‘शब्दातीत शान्तनु’ का लागि उनले २०५६ सालमा साझा पुरस्कार पाइन् । उनी साझा पुरस्कार पाउने प्रथम महिला साहित्यकार भइन् । तर लेखकको लिंग छुट्याएकामा भने वानीरालाई पटक्कै चित्त बुझ्दैनथ्यो ।

पति शंकरले थप चार किताब प्रकाशन गरिसकेका छन्, ‘पर्वतको अर्को नाम पार्वती’, ‘जंगल जंगल’ निबन्धसंग्रह, ‘काठमाडौं काठमाडौं’ कविता संग्रह र ‘रोकिनेले आकार दिन सक्दैन’ यात्रा संस्मरण । पति पाउनु त यस्तो पो !

दुई वर्ष अगावै शंकरले सात करोड रुपियाँ बराबरको वानीरा फाउन्डेसन खोलेका छन् । त्यसको भवन बनाउँदै छन् । त्यहाँ वानीराले संसारभर घुमेका विभिन्न संग्रहालयबारे लेखिएका लेखको संगालो ‘म्युजियम डायरी’ पनि रहनेछ ।

एक समय पारिजात र वानीरा पुतलीसडकमा छिमेकी घरमा डेरा गरी बस्थे । त्यो मित्रतामा पारिजातको राजनीतिक अभीष्टका कारण दरार आयो । एक पटक वानीराले बीपी कोइरालाको ‘तीन घुम्ती’ आफूलाई मन परेको भन्दै पारिजातलाई सुनाइछन् । पारिजातले बीपीको किताब आफूले कुनै हालतमा नपढ्ने अडान लिएपछि वानीराले हुँकार गरिछन्, ‘त्यसो भए अब म पनि तपाईंको कुनै किताब पढ्दिनँ ।’ एउटा लेखकलाई राजनीतिक दृष्टिकोणका आधारमा नपढ्ने प्रतीज्ञा गर्नुलाई के भन्ने ? नयाँ लेखकहरुलाई यस्तो छुवाछूत सिकाउने लेखकहरु नै छन् ।

वानीराले लामो समयपछि पारिजातकृत ‘तोरीबारी वाटा र सपनाहरु’ देखेर मन थाम्नै सकिनछन् । तुलनात्मक अध्ययन गर्दा वानीरा गिरि पारिजातभन्दा कमजोरचाहिँ थिइनन् । तर पारिजातले जति झन्डा र झुन्ड बटुल्न नसकेकाले उनले त्यति चर्चा पाइनन् । त्यसैले भनेकी होलिन् उनले, ‘झन्डा उचालेर डन्डा खाएर मलाई कहीँ पुग्नु छैन।’ वानीरा आजीवन एक ‘आउटसाइडर’ लेखिकाकै रुपमा रहिन् । उनमा पीएचडीको अलिकति घमण्ड थियो पक्कै । उनी आफूलाई नेपाली साहित्यमा विद्यावारिधि गर्ने विश्वकै पहिलो नारी मान्थिन् । नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईंले दिएको त्यो सम्मानमा उनी मखलेल थिइन् ।

उसो त अलि शंकालु पनि थिइन् वानीरा । नजिक आउनेहरू कुनै न कुनै स्वार्थ भनौं वा मतलब लिएर आएको अनुभूत हुन्थ्यो उनलाई । ‘तिमीमात्रै एउटा यस्तो व्यक्ति लाग्छ जसले मबाट कुनै अपेक्षा र स्वार्थ नराखी बिनासर्त निस्वार्थ माया गर्छौ । तिमीलाई मेरो घरको ढोका सधैँभरि खुलै छ ! तिमी मलाई फोन नगरीकन पनि आउन सक्छौ !’ उनी उषा शेरचनलाई भन्थिन् । उषा वानीरालाई बाहिर हाडेओखर भित्र नरम गुदी भएको मानिसका रुपमा लिन्छिन् ।

बागी वानीरालाई शब्द सलामी !