यो वर्षको उत्तम शान्ति पुरस्कार ‘गल्ली संसार’का लागि रोशन शेरचनलाई प्रदान गरिने भएको छ । डा. पार्थिवेश्वर तिमिल्सिनाको अध्यक्षतामा बसेको उत्तम कुँवर स्मारक पुरस्कार गुठीको बैठकले सो निर्णय गरेको हो ।

जीवन–जगत, मानवीय सम्बन्ध, पर्यावरणीय चेतनालगायतका विविध विषयलाई प्रखर बौद्धिकता, कलात्मक शिल्प, सुललित भाषा र वैचारिक विश्लेषणसहित प्रस्तुत गरी निबन्ध परम्परामा नवीन योगदान गरेवापत रोशन शेरचनको ‘गल्ली संसार’लाई पुरस्कार समर्पण गर्ने निर्णय भएको गुठीका सदस्य सचिव नयनराज पाण्डेले जनाए ।

‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ले चार दशकदेखि हरेक वर्ष प्रकाशित सिर्जनात्मक गैरआख्यान कृतिहरुमध्ये सर्वश्रेष्ठ एक कृतिलाई उत्तम शान्ति पुरस्कार समर्पण गर्दै आएको छ । यसै क्रममा वि.सं २०८० सालभरिमा प्रकाशित गैरआख्यान कृतिहरुमध्येबाट रोशन शेरचनकृत ‘गल्ली संसार’लाई उत्कृष्ट ठहर गर्दै ‘उत्तम शान्ति पुरस्कार २०८०’ प्रदान गर्ने निर्णय गरिएको हो ।

पुरस्कारमा ताम्रपत्रसहित रु.एक लाख नगद समर्पण गरिनेछ । पुरस्कार यही जेठ २५ गते एक समारोहका बीच समपर्ण गरिनेछ ।