कोरोनापूर्व गणेश रसिकका पाँच पुस्तकको पेरुंगो निकाल्यो, सांग्रिला बुक्सले । त्यसमध्ये उनको छपक्कै मनमा बसेकाहरु पढ्न मन लागिहाल्यो । पत्रिकामा अंश छाप्छु भनेर प्रेस जानु पहिले नै लेखक–प्रकाशकसँग १९ वटा संस्मरणमध्ये मैले एउटा पाठ मागेँ, ‘टाढा–टाढा जानु छ साथी… ।’ रसिकको शब्दमा ‘कोही निकटस्थले आत्मिक स्वरमा कतै एकान्तबाट बोलाएको आभास हुने’ अजरामर गीत । ३१९१ शब्दको त्यो पाठले दुर्लभ गायकका बारेमा थुप्रै गोपनीय कुरा उजागर गरेको छ ।

रसिकले लेखेको ‘एक्सक्लुसिभ’ चिज यही थियो तर उनी बच्चु दाइसितको आत्मीय सम्बन्ध बिग्रने हो कि भनेर निकै डराइरहेका थिए । किनभने पहिले पनि पक्राउ परिसकेका थिए एकफेर । दुई संगीत–चुलीको सम्बन्ध के भयो ? म जान्दिनँ । त्यसपछि रसिक बिरामी परे । काठमाडौँ–इलाम–भोजपुरको धपेडी थपियो । कोरोना नामको अनौठो महाव्याधि आयो । अझै यतै छचन्नाएर घुमिरहेको छ । बच्चु कैलाशको आप्त वाक्य छ, ‘मेरो बारेमा जे लेख्ने र छाप्ने हो– मेरो मृत्युपछि मात्रै गर्नू । मैले कसैलाई सुनाउनु छैन आफ्नो समयको कुरा !’

८३ वर्षीय गायक बच्चु कैलाश मेरा लागि ‘अलटाइम फेभरेट’ गायक त हुन् नै, उनको लुकुवा जीवनशैलीले पनि त्यत्तिकै सम्मोहित गरेको छ । ‘नेपाली संगीत साधक’ (२०३८) लेखकः रामशरण दर्नाल, मा १ सय २ जना कलाकारको परिचय छापिँदा पनि उनी परेका छैनन् । श्रीरामसिंह बस्नेत र सुभाषचन्द्र पौड्यालले ‘त्रिवेणीका लहरहरु’ (२०४४) मा ५१ जनाको व्यक्तिचित्र खिच्दा पनि उनी समेटिएका छैनन् । यी दुई किताबमा अक्सर पात्र दोहोरिएकै छन् ।

विसं १९९५ साउन १५ गते पूर्व ४ नम्बर खोटाङ, साप्तेलमा जन्मेका बच्चु कैलाशबहादुर बस्नेत नै गायक बच्चु कैलाश हुन् । जन्मेको १३ औँ दिनमै आमा कृष्णकुमारीको निधन भएकाले मातृ वात्सल्य पाएनन् । बाबु कृष्णबहादुरले अर्को विवाह गरे । आमाबाबु दुवैको माया नपाएका उनी काठमाडौँ आए ।

सानै उमेरमा संगीतमा चासो दिन थालेका उनले आठ कक्षा पढ्दापढ्दै ‘निराश नहौ साथी आँसु आँसुमै डुबेको छ जीवन’ गाए रेडियो नेपालमा । त्यो गीत सुनेर मास्टर रत्नदास प्रकाशले उनलाई गीत गाउन अफर गरे । बच्चु कैलाशको शब्द, संगीत र स्वरको पहिलो गीत ‘कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन’ नै सुपर हिट भयो । राजा महेन्द्रसँग उनको घनिष्टता थियो । उनका गीत पनि गाए ।

नेपाली सुगम संगीतमा १५ वर्ष सक्रिय भए । तीन दर्जनजति गीत गाए । पहिलो पत्नीबाट सन्तान नभएपछि दोस्रो विवाह गरे र दुई छोराछोरी छन् । जेठी पत्नी शान्ति शाह गीतकार हुन् । यो सामान्य ज्ञान छाड्ने हो भने बच्चु कैलाश यस्ता गायक हुन्, जसले आफूलाई थरबाट चिनाउन चाहेनन् । मास्टर रत्नदास प्रकाश, पन्नाकाजी, नारायणगोपाल, फत्तेमान, प्रेमध्वज, मणिकरत्न, नातिकाजी, शिवशंकर, मेलवादेवी, तारादेवी, कोइलीदेवी जस्ता कलाकारले पनि थरमोह राखेनन् ।

‘मलाई ती वरिष्ठ र आदरणीय कलाकारमाथि गौरव छ, जसले आफूलाई थरबाट नचिनाउने अभियान चलाए,’ गायक अमृत गुरुङले लेखेका छन्, ‘आफूलाई थरबाट चिनाउन चाहेनन् । केही बौद्धिकहरूले यी नामको पछाडि गुरुवाचार्य, राजभण्डारी, प्रधान, बस्नेत, श्रेष्ठ, मानन्धर, माथेमा लेख्न नथालेका भए म न उनीहरूलाई थरले चिन्थेँ, न चिन्न खोज्थेँ । ती बौद्धिकलाई अभिमान हुँदो हो के के न पत्ता लगाएँ भनेर, तर उनीहरूले त्यस पछाडिको दर्शन बुझेनन् ।’

बच्चु कैलाशले ‘भानु विचार’ (२०३४) मा जीवन र गीतबारे दिएको अभिव्यक्ति यस्तो छः ‘जीवन र गीत अनि गीत र जीवन अन्योन्याश्रित छन् । मानिस आफूलाई मनपर्ने अभिव्यक्तिमा स्वर मिलाउँदै गीत गाउँछ तर जहिलेसुकै अभिव्यक्तिको सेरोफेरो चाहिँ जीवन नै हुन्छ । यसरी गीत र जीवन सदाकालदेखि सँगसँगै छन् ।

गीत मानौँ मेरो जीवनको कहिले नछुटिने साथी हो र यसले मलाई केही नौलो, रमाइलो, रहरलाग्दो सम्मोहन दिइरहेको अनुभव हुन्छ । हामी जीवन भोग्दछौँ र गीतमा पोख्दछौँ । हाम्रो जीवन भोलि त रहँदैन तर हिजो र आज जहिलेसुकै लेखिए वा गाइएको गीत किन नहोस्, त्यसले हाम्रो जीवनलाई कुनै न कुनै रुपमा छोइरहेको हुन्छ । सायद गीतको यही महिमाशाली शक्तिले गर्दा हामी गीत सुन्दछौँ र आत्मसात गर्दछौँ ।’

साहित्यसंग्रहडटकममा बच्चु कैलाशका एकल शब्द, संगीत र स्वर रहेको भनी २१ वटा गीत दिइएका छन् । ती गीत हेर्दा उनी निकै भावुक र संवेदनशील कवि लाग्छन् । जीवितावस्थामै किंवदन्ती बनिसकेका उनलाई मैले पचासको दशकदखि कालो टोपी र चस्मा लगाएका भद्र व्यक्तित्वलाई मैले धेरै कार्यक्रममा देखेँ । खासगरी गायक एवं कवि शशिराम भण्डारीका कार्यक्रमहरुमा उनी दर्शकदीर्घामा पुछारका सिटमा बस्थे । कार्यक्रम सकिएपछि मात्र उनलाई देखिन्थ्यो । मेरो एक थान अनजान नमस्कार उनले पाउँथे नै ।

बीसको दशकमा रेडियो नेपालबाहिर सक्रिय कलाकार नारायण गोपाल, पुष्प नेपाली, प्रदीप रिमाल, माणिकरत्न, प्रेमध्वज प्रधान आदिसँग मिलेर बच्चु कैलाशले कलापुञ्ज नामक सांगीतिक संस्था खोलेका रहेछन् । त्यही बेला बच्चु र पुष्पको जोडी बाँधिएको रहेछ । विदेशी विशिष्ट पाहुना आउँदा होस् या दरबारमा कार्यक्रम हुँदा होस्, बच्चु कैलाश र पुष्प नेपालीको जोडी जम्थ्यो । गणेश रसिकका अनुसार नेपाली गायनमा पुरुष–पुरुषको युगल गीत गाउने चलन बच्चु कैलाश र पुष्पले बसाएका हुन् ।

त्यतिबेला केएल सहगल, आरडी बर्मन, मोहमद रफी, लता र उषा मंगेशकरदेखि किशोरकुमारसम्मका धेरैजसो कलाकारको नाम थाहा थियो । तर धर्मराज थापा, बच्चु कैलाश, कोइलीदेवी, तारादेवी आदि नामबाहेक श्रोतालाई थाहै थिएन । बच्चु र पुष्पको जोडीले थुप्रै सदाबहार गीत गाए । तिनै गीतले रेडियोमा सजिलै हिन्दी गीत विस्थापित गर्न सकिएको थियो । त्यही समयलाई नेपाली सुगम संगीतको सुनौला पाना साबित भएको छ ।

रेडियो नेपालले गीत टेप गर्न वा प्रत्यक्ष गाउन करार कहिले देला भनी आशाले कुरिरहनुपर्थ्यो । बच्चुकै अगुवाइमा खुलेको अखिल नेपाल कलाकार संघकै दबाबमा रेडियो नेपालले भ्वाइस टेस्ट, करार नीति तथा पारिश्रमिकको दरमा केही परिवर्तन गर्यो पनि ।

बच्चुका गीतहरुको समीक्षा गर्दा ‘पर्खेर बस त्यो डाँडापारि म अवश्यै आउँछु’, ‘बहकिँदो मन तँ बहकी न जा,’ ‘त्यो आँखाले लौन मलाई मार्यो,’ ‘कसरी टुक्री गइगएँ यो कुरा बिन्ती नसोध,’ ‘म फूल होइन मानिस भएँ विरह बोल्दछु,’ ‘कैलेकाहीँ रुने मेरो गीत हराएछ’ आदि गीतका शब्द, संगीत र स्वर उनको छ ।

पुरस्कार र सम्मान नलिने त बच्चु कैलाश भीष्मप्रतीज्ञाजस्तै रहेछ । रेडियो नेपालले २०५५ तिर सम्मान गर्न खोज्दा पुरस्कार स्वीकार गरेनन् । त्यसपछि साधना संगीत सम्मान दिन खोज्दा भने अरे, ‘यो सम्मान, पुरस्कार, दोसल्लासँग मेरो त्यति रmचि छैन । तपाईंको सम्मान पाएर म पटक्कै खुसी हुन्नँ । बरु दुख्छु । जो यो सम्मान पाएर खुसी हुन्छन्, उनीहरुलाई दिनुस् । विभिन्न संघ–संस्थाले र सरकारले समेत बेवास्ता गर्यो, हाम्रो मूल्यांकन गरेन भन्ने धेरै स्रष्टा छन् । उनीहरुलाई दिँदा म खुसी हुन्छु । तर मलाई दिए दुःखी हुन्छु ।’

यी बच्चु कैलाश कसैलाई नभेट्ने चाहिँ होइन रहेनछन् । सिर्फ मिडियाको छाया उनलाई प्रीतिकर लाग्दैन । उनीसित नियमितजसो भेटिरहने शुभेच्छुक हुन्, कवि प्रद्युम्न जोशी । कोरोनाका कारण भौतिक भेट नहुँदा यसपालि साउन १५ मा फोनमै जन्मदिनको शुभकामना दिएका थिए । पोहोर साल त गणेश रसिकसित घरमै गएर पुष्पगुच्छासहित शुभकामना दिएका थिए । जोशीका अनुसार बच्चु कैलाश अहिले पनि ‘फिट एन्ड फाइन’ छन् । आफैँ सवारी चलाउँछन् । बगैँचाको सजावटमा उनको दिलचस्पी छ ।

कवि जोशीसितको बच्चु कैलाश नाता भने बासु शशी हुन् । बासु शशी छँदा उनकी पत्नी जुलुम वैद्यसित भाइटीका लगाउँथे बच्चु । दुई वर्षअघि त घरमै भेट्न गएका थिए जुलुमलाई । उनी बासु शशी स्मृति परिषद्को कार्यक्रममा थुप्रैचोटि सहभागी भए । पछिल्लो चोटि नातिकाजीको स्मृति कार्यक्रममा पनि गएका थिए । यत्ति हो, उनी कुनै सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि हुने या बोल्ने कामचाहिँ गर्दैनन् ।

मिडियाका मान्छे बच्चु कैलाशसित भेटाइदेऊ भनिरहन्छन्, जोशीलाई । तर जोशी त्यो जोखिम लिँदैनन् । किनभने मिडियाले नचाहिँदो कुरा लेखेकाले नै बच्चु कैलाश तर्किएको सुनाइसकेका छन् अर्का गायक योगेश वैद्यले । कतिपय भने एक राणा खलककी एक महिलाले आफ्ना निम्ति मात्र गाउन भनेपछि बच्चुले तीसको दशकमै गाउन लगभग छाडेको चर्चा गर्छन् ।

बच्चु कैलाशसित पछिल्लो समय भेटिरहने स्रष्टा कलाकारमा रुवी जोशी, यादव खरेल, रत्नशमशेर थापा, योगेश वैद्यहरु नै हुन् । फोनमा सन्चो-बिसन्चो कुरा हुन्छ । ‘व्यक्तिगत कुरा धेरै हुन्न,’ जोशी भन्छन्, ‘मिडियालाई चाहिँ म भेटाउन सक्दिनँ । त्यसमा उहाँको रुचि छैन ।’

इतिहासकार महेशराज पन्त र बच्चु कैलाश एक रात एउटै होटलमा बसेका रहेछन्, ३५ वर्ष पहिले । जर्मनी जान लागेका पन्त र दिल्ली उडेका बच्चुले दिल्लीमा एउटै कोठा सेयर गर्नुपर्ने भयो । राति सँगै बसे । पन्तले उनको गीत गाएर सुनाए । भोलिपल्ट बच्चुलाई भेट्न सरदारजीहरु आए । उनले पन्तलाई भने, ‘एकछिन बाहिर गइदिनोस् ।’ उनले माने पनि ।

प्रायः कुमार आलेले खिचेकै बच्चु कैलाशको फोटा चल्तीमा छन् । उनले त्यसरी फोटो खिच्न नपाएको चार-पाँच वर्ष भयो । पहिले उनले पनि विभिन्न हल्ला सुनेका थिए, अन्तर्वार्ता दिँदैनन्, फोटो खिच्न दिँदैनन् आदि इत्यादि । तर उनलाई बच्चु कैलाशकै फोटो खिच्न मन थियो । धेरै वर्ष उनीसित सोध्दा पनि सोधेनन् । जबर्जस्ती खिचेनन् पनि । हल्लै हल्लाको ऐँठनमा सपना देखे उनले । तारा गाउँ विकास समितिको अफिसमा भेटेको, फोटो खिच्ने अनुमति पनि दिएको तर आफूले क्यामरा नबोकेको ।

एक दिन विपनामै डुल्दै गए, भाटभटेनीको घरमा । ढोका ढक्ढकाए । पहिले नै चिनेजस्तो गरेर बच्चु कैलाश मुसुक्क हाँसे । चिया खुवाए । कुमारले बजार हल्ला र सपनाको सारा वृत्तान्त बताए । ‘अरे ल खिच्नुस् कुमारजी,’ बच्चु कैलाशले भनिहाले । त्यस दिन कुमार क्यामरा नबोकीकन गएका थिए ।

उठबसका बीच फोटो खिच्ने सन्जोग जुराइदिए, लेखक तारानाथ शर्माले । सिमसिम झरी परेको दिन रेनकोट ओडेर गएका थिए जननेपाल हलनेर बच्चुकै घरमा । साँच्चै भन्ने हो भने कुमार आलेलाई फोटोमात्र खिच्नु थिएन, बच्चु कैलाशको जीवन खिच्नु थियो । मोडलिङ गराउने फोटोग्राफर र जीवनका भावभंगी खिच्ने कुमारबीचको अन्तर यही हो ।

बच्चु कैलाशको फोटो नै कुमारको करिअरमा सम्झनालायक भएको छ । ‘म उहाँको विश्वास पाउने भाग्यमानी फोटोग्राफर हुँ, मैले श्रद्धा र सम्मानपूर्वक डराई डराई, लुकीलुकी पटकपटक खिचेँ । मैले अनुमति नलिईकन केही फोटो प्रकाशित गरेँ, उहाँले हेर्नुभएको छ कि छैन, नराम्रो पो लागेको छ कि ? त्यो पनि थाहा छैन,’ कुमार आले भन्छन्, ‘मैले खिचेका फोटा कपी-पेस्ट हुँदै गएका छन् । मैले बिक्रीका लागि होइन, स्रष्टाको फोटो अभाव नखड्कियोस् भनेर खिचेको हुँ । उहाँले फोटो खिच्न दिने होइन रहेछ । आफ्नै कानले सुनेको र देखेको नै सत्य रहेछ ।’

बच्चुकैलाशको अन्तिम गीत कुन हो ? यकिन छैन । दाबी आआफ्नै छ । २०४७ मा भुपेन्द्र रायमाझी संगीत निर्देशक रहेको चलचित्र ‘मनकामना’ मा एउटा गीत गाए, ‘फूल टिपेर मायाको… ।’ ‘के भनौं, म कसो गरी परेँ’ यादव खरेलले ‘प्रेमपिण्ड’ का लागि गाउन लगाए, २०५२ सालमा । तर, सिनेमामा भने भारतीय गायक अभिजितको स्वर रहेको छ । बच्चुको गीत खरेलले आफ्नो एलबममा समेटेका छन् । शक्ति बल्लभको संगीतमा ‘विपनीका सारा कथा.. ‘ बोललाई अन्तिम मान्ने पनि नभएका होइनन् ।

सुटुक्क सुटुक्क लेखकीय औतारमा उदाइरहने तर लगभग भूमिगत जीवनशैलीमा रमाउने योगेश राज अर्का ‘एन्टी सेलेब्रिटी’ हुन् । गैरआख्यान ‘सन्ध्या–संरचनाः हिन्दूनेवारहरूको मृत्युचेतना’ र ऐतिहासिक आख्यान ‘रणहार’ उनले विमोचन गरेनन् । उनी किताब बजारमा छाड्ने र आफू गुफा पस्ने विरलाकोटी लेखकमा पर्छन् । योगेश राज पढ्नेलाई पक्कै थाहा छ, उनका किताबमा कुनै सदीच्छा या भूमिका हुन्नन् । न लेखकीय परिचय हुन्छ, न त तस्बिर । लेखक कच्चा, नेता पक्का लाग्ने भीडभाडमा लुकुवा लेखक योगेश राजको रहस्यमय पहिचान यही हो ।

खासमा भक्तपुरका अन्तिम राजा रणजित मल्ललाई नायक बनाएर लेखिएको आख्यान ‘रणहार’ उनले ऐतिहासिक आख्यानको बीउ छर्ने केशवभक्त भजु सरलाई समर्पण गरेका छन् । आधा शताब्दी राजपाठ सम्हालेका ती राजाले १ मंसिर १८२६ मा गोरखाली राजा पृथ्वीनारायण शाहका सेनासमक्ष आत्मसमर्पण गरेको पृष्ठभूमिमा उपन्यास उभिएको छ । इतिहासप्रधान साहित्य भए पनि यसको लालित्य अनुपम छ ।

मदन पुरस्कार पाएपछि वर्षदिनजति बेहुलो बन्ने चलनै छ । मदन पुरस्कार अर्पण समारोहमै बहुलो भन्ने चलन छ । महिलालाई के भन्छन्, मलाई हेक्का छैन । मलाई चाहिँ कताकता योगेश राजले त २०७५ को मदन पुरस्कार नै बहिष्कार गर्छन् कि भन्ने लागेको थियो । तर उनले पुरस्कार मजाले लिए । ‘रित्ता ठाउँको इतिहास’ नामक निकै गहकिलो वक्तव्य दिए । पुरस्कार समारोहमा थुप्रैसित फोटो पनि खिचाए । तर पुरस्कार घोषणा भएपछि उनले बीबीसीलाई समेत अन्तर्वार्ता दिएनन् । त्यसो त स्वीकार या अस्वीकार गर्नु उनको आफ्नो छनोट हो । निजत्वको सम्मान जरुरी छ ।

योगेश राजसित लामो संगत भएका एक मित्रको अनुभवमा उनी ‘रिजर्भ’ छन् । उनीहरुबीच विषयगतबाहेक कहिल्यै पारिवारिक कुराकानी हुँदैन । कतिसम्म भने उनले मार्टिन चौतारी छाडेको जानकारी पनि गराएनन् । उनी गोप्य छन्, अलि अनौठा पनि । कोही संगत कम गर्ने हुन्छन्, तर उनी परे संगत गरे पनि पटक्कै नखुल्ने ।

‘द जर्नल अफ क्याप्टेन किनलक’ छापिएपछिको कुरा हो । किताबको छापा मार्न सिपालु इतिहासविद् महेशराज पन्तले किनेर घर लगेछन् । राति ओछ्यानमा पल्टेर किताब पल्टाउँदा त आफ्नै नाममा समर्पण गरिएको । आफ्नो गहन अध्येता शिष्यको ‘सरप्राइज’ ले उनलाई अझ भावविभोर बनायो । उनले आफ्ना किताबबारे गुरुलाई कहिल्यै थाहा दिएनन् । उनीहरुबीच फोनमा भन्दा पनि ‘टेक्स्टाचार’ मात्र हुन्छ । अर्का चेला दिवाकर आचार्यले ‘नीपजन र नेपाल’ गुरुलाई समर्पण गरेर त्यस्तै सरप्राइज दिएका थिए ।

सरप्राइज कला आआफ्नै हुन्छन् । २०१७ पुस १ मा ‘कू’ गर्नु दुई दिनअघि बीपी कोइराला र राजा महेन्द्र पोखरामा सँगै थिए अरे । रानी रत्नले बीपीलाई केरा खान दिइन् अरे । राजाले भने अरे, ‘जहाँ केरा त्यहीँ बाहुनको डेरा ।’ रानीले दही पनि दिइन् अरे । राजाले जोक मारे अरे, ‘जहाँ दही, त्यहीँ बाहुनको सही ।’ राजाले दुई दिनपछि काम तमाम गरिहाले । बरा बीपीले पत्तै पाएनन् ।

‘द जर्नल अफ क्याप्टेन किनलक’ खासमा सिन्धुलीगढीमा गोर्खाली फौजसँग भएको युद्धमाथि लेखिएको अंग्रेज कप्तान जर्ज किनलकको डायरीबारेमा छ । कान्तिपुरे राजा जयप्रकाश मल्लले गोर्खालीसँग लड्न सहयोगका लागि इस्ट इन्डिया कम्पनीलाई पत्राचार गरेपछि ब्रिटिसहरुले कप्तान किनलकको नेतृत्वमा आधुनिक हातहातियारले सुसज्जित २४ सय लडाकु नेपालतर्फ पठाएका थिए । कप्तान किनलकले लेखेको फोलियोहरु संगृहीत डायरी समावेश पुस्तकमा सत्रौँ शताब्दीको कुनै उपन्यास वा आख्यान पढेको रोमाञ्च दिएका छन्, लेखक तथा सम्पादक योगेश राजले ।

मलाई योगेश राजबारे थाहा दिने चाहिँ निसन्देह कुमार नगरकोटी हुन् । खासमा उनी हिँडेका रहेछन्, नेपाली शब्दकोश किन्न । नेपाली भाषामा लेख्ने उनको घरमा एउटै शब्दकोश भेटिएन । बुक ग्यालरीको काउन्टरमै कसैले नकिनी छाडेको किताबमा उनको लोभी नजर गइहाल्यो । रञ्जना लिपिमा लेखिएको नाम अनि अप्रचलित फन्ट र लेआउटले उनको दिल–मथिंगल लुटिहाल्यो । उनी परे, मृत्युका उपासक । मृत्यु चेतनाको किताब न पर्यो । सँगै अर्को किताब किनेछन्, मार्कुस जुसकको ‘द बुक थिफ’ । त्यसको ढाडमा लेखिएको थियो, ‘दिस नोबेल इव न्यारेटेड बाई डेथ् ।’

नगरकोटीले औधी मन पराएको त्यही नेपाली किताब हो, योगेश राजकृत ‘सन्ध्या–संरचनाः हिन्दूनेवारहरुको मृत्युचेतना’ । तर त्यसका लेखक योगेश राज को हुन्, के गर्छन् भन्ने केही पनि थाहा छैन । उनले अहिलेसम्म भेटेका पनि छैनन्, भेट्ने इच्छा पनि छैन । योगेश राजको अनुहार कस्तो छ ? अन्दाज पनि छैन । कसैलाई भेट्दैन, कुरा गर्दैन भनेपछि झन् गजब लाग्यो रे उनलाई । मानिसको आआफ्नो स्वभाव त हो । एउटा साधकलाई किन डिस्टर्ब गर्नु ? नगरकोटीले पोस्ट बक्स नम्बर ९९९ छापिएपछि योगेश राजले कान्तिपुरमा पाठक प्रतिक्रिया लेखेर धन्यवाद समेत दिएका थिए ।

वास्तवमा मदन पुरस्कार नपाएको भए पाठकीय राडारमा योगेश राजको नामै आउन मुस्किल थियो । उनको गहन कृति ‘सन्ध्या–संरचना’ कमै मानिसले पढेको हुनुपर्छ । मल्लकालीन इतिहासमा रुचि राख्ने योगेश राज ‘अथोराइज्ड भर्सन’ मा लेख्छन् । ‘क्रमभंग र सम्भारः नेपाली इतिहासलेखनमा हस्तक्षेपका नयाँ सन्दर्भ बिन्दु’, ‘हिस्ट्री एज माइन्डस्केप्स’ पनि उनकै पुस्तक हुन् । उनी नेपालका मात्र ‘पब्लिक इन्टेलेक्चुअल’ होइन कि दक्षिण एसियाकै अब्बल विचारक मानिन्छन् । उनले दक्षिण एसियामा दैनिक उपभोग्य वस्तुको उत्पादनका ठूला आयोजना र आधुनिक राज्यव्यवस्थाको सह–प्रादुर्भावबारे अध्ययन गरेका छन् ।

सन् १९६८ जुन १६ मा भक्तपुरमा जन्मेका योगेश राजका केही महत्त्वपूर्ण जानकारी मार्टिन चौतारीको वेभसाइटमा छन् । तर पछिल्लो समय उनको पेज सबै निलम्बित छन् । इम्पेरियल कलेज लन्डनबाट ‘हिस्ट्री अफ टेक्नोलोजी’ मा विद्यावारिधि गरेका योगेश राजको विद्वतामा कुनै द्विविधा छैन । विकासे समाजविज्ञान र साहित्यिक समीक्षाशास्त्रका बिकाउ क्रान्तिकारीबाट टाढा रहेर जिज्ञासुहरूले नेपालको इतिहासलेखनका अप्रचलित गोरेटामा हिँड्नुपरेको उनको स्वकथन छ ।

‘इतिहास कुनै प्रश्नको अनुसन्धान हो, बितेको कुनै कालखण्डमा गएर तात्कालिक विवरणको सार खिच्नु इतिहास होइन,’ मध्यकाल मीमांसामा उनी लेख्छन्, ‘बिकाउ क्रान्तिकारिता मूलधार भएको समयमा सत्तालिप्सा र सांस्कृतिक वर्चस्वको तिगडमले निर्देशित इतिहास सेक्सी मानिएको छ । त्यसैले हाम्रो समाजको तात्त्विक परविर्तनको प्रवृत्ति बुझ्ने निष्कपट आकांक्षा जोगाउन सही इतिहासको पक्षमा बोल्नुपर्ने भएको छ ।’

मैले आजसम्म योगेश राजको एउटै मात्र अन्तर्वार्ता पढेको छु, ‘बुद्धिलाई व्यापार मान्ने मसीजीवी यहाँ छन्’ शीर्षकमा । त्यो पनि लिखित अन्तर्वार्ता र फोटोको साटो स्केच प्रयोग गरिएको छ । त्यो अन्तर्वार्ता सम्भवतः रणहार छापिएपछि प्रकाशक (नेपालय) को अनुरोधमै हुनुपर्छ । त्यसमा सोधिएको रहेछ, ‘लेखकहरू पुस्तक लेखेपछि वा निस्केपछि निकै हल्लाखल्ला गर्छन्, तपाईंलाई यो हल्लाखल्ला किन मन पर्दैन ?

‘म सार्वजनिक महत्त्वको सूचना जारी गर्न गएको थिइनँ, न त बिमा कम्पनीका सर्तनामा लेख्न बसेको हुँ । मेरा पाठक ठयाक्कै को हुन्, म तपाईंलाई चिनाउन सक्दिनँ । तर, तिनलाई हतार हुँदैन अथवा छैन भन्ने कुरामा म पक्का छु ,’ उनी भन्छन्, ‘तिनलाई केही भ्याइहाल्नुपर्ने, बुझिहाल्नुपर्ने र निर्णय सुनाइहाल्नुपर्ने दबाब छैन । तिनीहरू मजस्तै सुस्त छन् ।’

उनी के पनि भन्छन् भने, हाम्रो निजी अनुभव नै अन्तिम सत्य होइन । निजी अनुभव झूटा पनि होइनन् । झ्यालबाट संसार देखिन्छ । झ्याल मायावी होइन । देखिएको संसार पनि माया होइन  । एउटा झ्यालबाट नदेखिने संसारै छैन भन्न मिल्दैन  । त्यस्तै सामाजिक यथार्थलाई बुझ्न निजी अनुभवमा मात्र भर पर्नु हुँदैन ।

योगेश राजको नाम सामाजिक सञ्जालमा भेटिँदैन । फेसबुक, ट्वीटरको ‘भक्तपुरकमन्स’ नामक एकाउन्टमा भने उनकै छन्द आउाछ । सुन्दर कविता, गीत, उक्ति, श्लोक, प्राचीन लिपिहरु त्यसमा आउँछन् । जस्तो एउटा कविताः

लोग

अगले दिन ही भूल जाते हैं

कि कल कोई उत्सव भी था-

 

कितने प्रतिबद्ध है लोग

अपने-अपने दुखों में लौटने के लिए !

(मनमीत)

पुनश्चः मलाई अन्तर्वार्ता नदिने यी दुई मात्र होइनन् । अंग्रेजीका प्राध्यापक श्रीधर लोहनीले पनि फकाई फुल्याई मलाई टारेका थिए । अर्का प्राध्यापक एवं विद्वान् प्रयागराज शर्मा त्यस्तै अनौठा प्राणी लाग्छन् । आआफ्नो काममा दत्तचित्त उनीहरुलाई प्रचारप्रसारको कुनै भ्रम छैन । त्यसैले खेद मान्नुको पनि कुनै अर्थ छैन ।

रुन्चे अक्षर या आवाजमा सुनिन्छन्, धेरैजसो कवि कलाकार । सम्मान पुगेन, पुरस्कार मिलेन, पद पाइनँ आदि इत्यादि । फलानो या ढिस्कानोभन्दा मै महान् हुँ आदि इत्यादिमा पनि कमी छैन ।

मलाई यी दुई ‘एन्टी सेलेब्रिटी’ बारे लेख्ने उत्प्रेरणा भने अमेरिकी लेखक जेडी स्यालिन्जरले दिएका हुन् । उनी यस्ता ‘एन्टी सेलिब्रिटी’ हुन्, जसलाई तथाकथित प्रसिद्धिसँग लाज या घिन लाग्थ्यो । उनले कतै अन्तर्वार्ता दिएनन्, कतै फोटो छापेनन् । कतिसम्म भने, पुस्तकको ‘डस्टी ज्याकेट’ मा पनि फोटो टाँसेनन् ।

स्यालिन्जरका दर्जनौँ वकिलहरूको कामै व्यक्तिगत विवरण छापिन रोक्नु हुन्थ्यो रे । उनले १० वर्ष लगाएर लेखेको त्यो उपन्यास ‘द क्याचर इन द राई’ किशोरकिशोरीका मनोदशा, पीडा र आवेगको विष्फोटन हो । सन् १९५१ यता जहिल्यै ‘सुपर हिट’ छ । १२ करोड प्रति बिक्री भइसकेको लोकप्रिय पुस्तक वर्षेनी दुई लाख प्रति बिक्री हुन्छ ।

तीन विवाह गरेका स्यालिन्जरको लुकुवा जिन्दगी पढ्दा म सदैव चमत्कृत हुन्छ । उनले एकान्तमाथि एकान्त मात्र थपे आजीवन । उनले लेख्न मन पराए, अक्षरलाई प्रेम गरे । तर, आफ्ना लागि मात्र लेखे । आफ्नो खुसीका लागि मात्र लेखे । ४ सय ५० एकडमा फैलिएको जंगलमा कस्तो क्याबिन बनाएर बसेका हुँदा हुन् ती लेखक ? उनको गोप्य र अपरिचित जीवन कस्तो भने, अग्लो पर्खालभित्र बस्थे । उनको घरमा कसैका लागि ‘इन्ट्री’ थिएन । ‘नो ट्रेस पासिङ’ लेखिएको थियो उनको घरअगाडि । आगलागीका बेला फायरम्यान छिरेछ, पहिलोपटक उनको घरमा !