‘अल थ्यौरी इज ग्रे माई फ्रेन्ड, बट फरएभर ग्रिन इज द ट्री अफ लाइफ ।’ जर्मन लेखक जोहनन वुल्फग्याङ (गोथे) ले भनेजस्तै जिन्दगीको रङ हरियै हो, सिद्धान्त प्रायःजसो खैरो हुन्छ ।

जीवनको अनुभव छैन भने शास्त्रको ठेलीले मात्र काम दिँदैन । आँखाले देखेका, हृदयले अनुभूत गरेका र भोगेका कुरा सामुन्ने शास्त्रीय ज्ञान फिक्का हुन्छन् । जीवनको अनुभव नलिँदासम्म मात्रै हो शास्त्र भट्याउने । जिन्दगीका हरिया कथाहरुलाई किन खैरो गाता हाल्ने ?

शशी थापा पण्डितको नवीनतम कथासंग्रह ‘उठ तिलोत्तमा’ पढेपछि यस्तै लाग्छ । नेपाली समाज र संस्कृतिमा आधारित शशीका कथामा प्रेम, यौन र विद्रोह तरोताजा छन् । तिनको बास्ना कथामा अटुट मगमगाइरहेका छन् ।

‘लिमीको त्यो रात’ एक कुमारी आमाको रोचक कथा हो । हुम्लाको विकट गाउँ लिमीमा बिहेका लागि केटै छैनन् । छिमेकमा अर्को गाउँ पनि छैन । हिमाली संस्कृतिको गहन अनुसन्धानमा आधारित यो कथामा बेग्लै सामाजिक परिवेश छ । कतिसम्म भने विवाहयोग्य पुरुष नभएकाले गुम्बाका गुरुसँग संसर्ग गर्नु परिरहेको छ । कतै बहुपति प्रथा, कतै पतिबिनाकै कुमारी आमा । हाय रे हुम्ला !

कुमारी आमा फुर्वाको लोकबोलीले हिमाली जीवनदर्शन बताउँछ, ‘…ब्या भोएन क्या गार्नु ? मोँइले ईछा मार्नु पार्छा रा ! धर्मो क्या भान्छा, मो जान्दोइन । मेरो इच्छा मो जान्छा । आफू बाँच्नो पार्छ । खुसी हुनु पोर्छा । मोँ ता एइ जान्छा सर । मो जवान छ । मेरो मोन पनि त जवान नै छ । लोग्नेमान्छेसोँग खेल्ने ईछा यो जवान मोनकै त हो । के तोँ मोँलाई आजको रात दिन्छास् सार ?’

फुर्वालाई अतृप्ति स्वीकार्य छैन, आदर्शको पछि लागेर जिन्दगीलाई जटिल बनाउन चाहन्न । यो कथामा प्रेम र यौनलाई उदात्त र महनीय बनाइएको छ । संग्रहको पहिलो कथा ‘हाई भोल्टेज’ तारजस्तो लाग्छ ।

यस्तै ‘मुक्ति’ कथाले रजस्वलापछि पनि हरेक नारी त्यसरी नै कुमारी हुन्छ, जसरी ऊ जन्मँदा थिई भन्ने तर्क लडाएको छ । यो काठमाडौँ उपत्यकाका नेवार समुदायमा रहेको तन्त्रपरम्परा र यहाँको संस्कृतिमा आधारित कथा हो । शिव-पार्वतीको संवादको आधारमा रोमाञ्चक शैलीमा कथ्य बुनिएको छ । धर्म निरपेक्षताबारे पनि यो कथाले केही बोल्छ ।

राजकुमार बानियाँ

‘बूढी बेहुली’ थामी जातिको विवाह प्रथासँग सम्बन्धित कथा हो । यसले थामी समाजमा हजारौँ वर्ष पहिलेदेखि रहेको प्रथा ‘लिभिङ टुगेदर’ भन्दा धेरै परिष्कृत, वैज्ञानिक र प्रगतिशील रहेको देखाइएको छ । ‘‘जोगिराम भरुवा’ कथामा थारू समुदायमा बुहारीको पुनर्विवाहका लागि स्वयं सासू–ससुराले दुलाहा खोजिदिने कुराको रहस्योद्घाटन गरिएको छ ।

संग्रहको शीर्षकथा ‘उठ तिलोत्तमा’ मा विधवा विवाहको वकालत गरिएको छ । वैदिककालीन नारी चरित्र तिलोत्तमा र आधुनिक युवतीको तुलनात्मक अध्ययन पनि छ । नारीको यौन र मातृत्वको अधिकारका साथै पवित्रता र अपवित्रतामाथिको बहस चलाइएको छ ।

‘दस्तखत’ कथामा वरभन्दा घर हेरेर छोरीको विवाह गरिदिने पुरातनपन्थी अभिभावकको सामन्ती चिन्तनमाथि विद्रोह गरिएको छ । नशेडी नवपतिसँग राज्यलक्ष्मीको विद्रोह सामयिक छ ।

‘मौनता र गोप्यताको संस्कृति’ कथाकार खासै रुचाउँदिनन् । नारी यौनिकता उनको प्रमुख सरोकार हो । संस्कृति समाजकै अभिव्यक्ति हो भने यौनिकता पनि मानिसकै सुन्दर अभिव्यक्ति हो । मानिसको यौनिकतालाई संस्कृतिले प्रभाव पारेको हुन्छ ।

यौन भन्नासाथ अश्लीलता, व्यभिचारजस्ता गलत किसिमको बुझाइ रहेकाले समाजमा बिनाभय र बिना संकोच यौनिकता अभिव्यक्त हुन सकेका छैनन् । यौनको सुन्दर सांस्कृतिक अभिव्यक्ति भएका छन् कतै कलाको रुपमा, कतै साहित्य त कतै संस्कृतिका रुपमा ।

लेखक नारी स्वतन्त्रतामा पनि यौन स्वतन्त्रताको वकालत गर्छिन् । यौनको सवालमा पुरुषको तुलनामा नारी ठगिएको देख्छिन् । वास्तवमा यौन चाहना कसैले व्यक्त गर्छन्, कसैले गर्दैनन् । तर यौन यथार्थ हो, जीवन हो भन्ने सन्देश दिइएको छ ।

‘प्रश्नको पहाड’ कथामा पुरुषको नारीप्रतिको उदार यौनिक दृष्टिकोण र ‘के आउला त्यो दिन’ कथामा पुरुषसरह स्वतन्त्रता माग गरिएको छ ।

शशी यौनका विषय लेख्छिन् तर त्यो ‘पोर्न साहित्य’ होइन । यौनको प्रसंग उठाउन कुनै घुमाउरो तरिका अपनाउँछिन् । चाहिनेभन्दा बढी अश्लिल कुनै पनि कथा छैन । उनले विवादास्पद या प्रतिबन्धित कुरा लेखेकी पनि छैनन् । यौन विषय परेकैले विवाद गर्नु अर्कै कुरा हो ।

‘म रोहिणी लेख्दै छु बुद्धको कथा’ पनि मिथकीय नै छ । नदीको मानवीकरण सुन्दर छ । सिद्धार्थ कसरी बुद्ध बने भन्ने प्रस्तुति छ । ‘आखिर ऊ पनि त मानिस’ कथामा वर्गीय खाडलको अध्ययन छ ।

पछिल्लो कोरोना महामारीलाई पनि कथामा समेटेकी छन् शशीले । ‘कोरोनाको रेमिट्यान्स’ कथामा गरिबी, वैदेशिक रोजगारी र त्यसले निम्त्याएको सामाजिक विचलनका साथै विदेशमै ज्यान गुमाउनेको कथा बोलेको छ ।

देशको वास्तविक कथा हो, ‘माटो पलायन’ । रातारात देशको साँधसिमाना मिचिएको तराईको परिवेशमा लेखिएको छ यो कथा । छिमेकी मुलुकले जंगे पिलर सारेर किसानहरूका जग्गामाथि कब्जा जमाइरहे पनि सरकारी निरीहतामाथि कटाक्ष गरिएको छ । खुला सीमाका कारण नेपालीले पाएका दुःखका साथै बृहत्तर नेपालको परिकल्पना गरिएको छ ।

‘आजको मुनामदन’मा वैदेशिक रोजगारीमा गएका महिलाले भोग्नुपरेको दुःखको बयान छ । पत्रात्मक शैलीको यो कथामा देवकोटालाई सम्बोधन गरिएको छ । यसलाईह देवकोटाकृत खण्डकाव्य ‘मुनामदन’ को विपठन भने पनि हुन्छ ।

सशस्त्र द्वन्द्वको अभिघातको कथा हो, ‘मृत्यु–आभास’ । द्वन्द्वकालमा सेना, प्रहरी र तिनका परिवारले भोगेका त्रासद अनुभव छ यसमा । संग्रहका प्रायः समाज र संस्कृति अध्ययनका उपज हुन् । हरेक कथा नारीपात्रमुखी छन् ।

समाज र संस्कृतिको अध्येता शशी नयाँ लेखिका चाहिँ होइनन् । भक्तपुरको कटुन्जेमा २०३२ सालमा जन्मिएकी उनका ‘मेरी छोरी सहिद भइछे’ र ‘प्रेमको बकपत्र’ कवितासंग्रह एवं ‘नागार्जुन क्षेत्रको सांस्कृतिक अध्ययन’ (अनुसन्धान) प्रकाशित छन् ।

समाजशास्त्रका साथै इतिहास, संस्कृति पुरातत्व विषयमा स्नातकोत्तर गरेकी शशीले कतिपय भावना र जीवन भोगाइका सन्दर्भ कविताबाट मात्र व्यक्त गर्न नसकिने ठानेर कथा लेख्न थालेको स्वीकार गरेकी छन् । संग्रहमा २०६० यता लेखिएका १५ वटा कथा छन् । समाज र संस्कृति अध्ययनका क्रममा पाएका ग्राम्य पात्र, परिवेश र संवादमार्फत कथा बुन्न उनी सिपालु छिन् ।

उनले भने पनि नभने पनि समाजमा ट्याबु अर्थात् वर्जित मानिएका विषयमा लेखेर लेखकले आफू र पाठकलाई सकारात्मक असर पारिरहेको हुन्छ किनकि यस्ता अभिव्यक्तिले थेरापीको काम गर्छन् र सँगसँगै प्रतिवादको स्वर पनि उराल्छन् ।

स्विडिस भाषाविद् कोलम्यानलको दाबी अनुसार यौनका लागि नै भाषाको विकास भएको हो । मानिस स्वतन्त्र रूपमा जीवनयापन गर्न सक्छन् । खान, बस्न, हिँड्न, सुत्न वा सिकार खेल्न एकल जीवन काफी भए पनि यौनका लागि त्यो अपर्याप्त छ । त्यसैका लागि मानिसले अभिव्यक्तिको उपाय खोजे र आज त्यही भाषा बहुउपयोगी बन्न पुग्यो ।

कथासंग्रहको विषयवस्तुमा समस्या छैन । तर शिल्प पक्ष र सिर्जनशीलतामा केही सीमा जरुर छन् । त्यस्ता कुराले कथालाई चितुवाजस्तै फूर्तिलो बन्न दिँदैनन् । पौराणिक मिथक कतिपय पाठकलाई झर्को लाग्न सक्छ । व्याकरणिक कसरमसर पनि उत्तिकै छन् । कतिपय उक्ति कथापिच्छे दोहोरिएका छन् । सम्पादन पुगेको छैन ।

यति हुँदाहुँदै पनि प्रायः कथा आद्योपान्त पठनीय छन् । हामीले सुन्दै र पढ्दै आएका मिथकको चुरोसम्म पुगेर धेरैले नसुनेका र नपढेका नारीको जीवन यथार्थको कसीमा लेख्नु शशीको विशेषता हो ।