जोसेफ कोन्राड र समरसेट ममका रचना पढेपछि तिनका रोमाञ्चकारी पात्र खोज्दै विश्वयात्रामा निस्केका अमेरिकी लेखक हेराल्ड स्टिफन्सले काठमाडौँको होटल याक एन्ड यतीमा सन् १९६१ मा भेटेका एक हिरो थिए, बोरिस लिसानेभिच । स्टिफन्सको पुस्तक ‘एसियन पोट्रेट्स’ को ‘बोरिस अफ काठमान्डूः अ किङ्डम अफ हिज ओन’ तिनै तिलस्मी पात्र रामकहानी हो ।

बोरिसका बारेमा थप बताऊँ । नेपालमा पहिलो होटल र पर्यटनको खाता खोल्ने रुसी नागरिक बोरिस सन् १९०५ अक्टोबर ४ मा काला सागरको ओडेस्सा (युक्रेन) मा जन्मेका थिए । पछि उनै सन् १९१७ को रुसी क्रान्तिपछिको भागभागमा उछिट्टिएर संसारको चक्कर लगाउने भाग्यमानीमा दरिए ।

ब्रिटिस राहदानीका लागि कोलकाता आइपुगेका बोरिसले लन्डनको क्लब ४०० को सिको गरेर भारतकै पहिलो नाइट क्लब खोले- क्लब ३०० । राजा त्रिभुवनसित हिमचिम बढाए । सन् १९५२ नोभेम्बरमा उनलाई लिन राजाले विमानै पठाए । जम्मा १० दिनका लागि आएका बोरिस दम्पती आजीवन यतै बसे ।

साँच्चै भन्ने हो भने नेपालले विदेशीका लागि ढोका खोलेको त्यही वर्ष हो । त्यस वर्ष नेपालमा सात जना विदेशी आएको इतिहास छ । इँटा र गोबरले बनेको अनि १८ फिटे दलिन भएको थोत्रो दरबारमा होटलको सपना देखिहालेछन् बोरिसले । बहादुर भवनमा ‘द रोयल होटल’ स्थापनालगत्तै सगरमाथा आरोहण खुला भयो ।

सन् १९५५ को एक बिहान बोरिसकहाँ विख्यात ब्रिटिस ट्राभल एजेन्सी थोमस कुक एन्ड सनबाट कार्निया क्रुजमा विश्व भ्रमणमा निस्केको पर्यटकको तीन टोलीले दुई दिन नेपाल घुम्ने भिसा मिलाइदिन आग्रह गर्यो । अमेरिकी लाइफ म्यागेजिनले लेखिदियो, ‘नेपालमा सगरमाथापछिको दोस्रो आकर्षण हुन्, बोरिस ।’

सत्य भवनमा डिस्टिलरी समेत खोले बोरिसले । मदिराका नाम थिए, गैँडा, बाघ र चितुवा । सन् १९७० सम्म चलेको रोयल होटल पछि याक एन्ड यतीमा बदलियो । बोरिसले लाल दरबारमा रेस्टुराँ चलाए, ट्राउट फार्मिङ् सुरु गरे, स्ट्रबेरी खेती गरे, बंगुरहरू ल्याए । बोरिस दम्पतीको सिकार वृत्तान्त नै लेखेका छन्, फ्रेन्च लेखक माइकल पिसेलले- ‘टाइगर फर ब्रेकफास्ट’ ।

सन् १९८५ मा बितेका तिनै बोरिसकी रानी इंगर लिसानेभिचलाई भक्तपुरमा भेटिएको थियो, सात वर्ष पहिले । उनले बोरिसका बारेमा भलिभाँती जानकारी दिएकी थिइन् । अब त पर्यटन बोर्ड भृकुटीमण्डपमा राखिएको बोरिसको सालिक नै उनलाई सम्झने एउटा चिनो भएको छ । नेपाली टेनिसकी उदीयमान खेलाडी अश्लेषा लिसानेभिच बोरिसकै नातिनी हुन् ।

बोरिस नेपाल आउने पहिलो रुसी भने होइनन् । उनीभन्दा ७७ वर्ष अगावै नेपाली भूमिमा पाइला राखेका रहेछन्, इभान पाभ्लोभिच मिनाएभले । माक्सिम गोर्की, पुस्किन, एन्तोन चेखव, चेर्नोबस्की, दोस्तोभएस्की आदि अनेक रुसी साहित्यकार अनि रुसी अक्टोबर क्रान्ति र समाजवादी राज्यसत्ताको आफन्ती जस्तो बाक्लो चर्चाका बीच पनि मिनाएभ बिरानै लाग्छन् । बाह्य संसारबाट अलग अनि विदेशीहरुका लागि निषिद्ध ‘सात ताल्चाभित्रको देश’ कसरी आइपुगे मिनाएभ ? यसको रोचक सूचना दिने पुस्तक हो, ‘मिनाएभ र नेपाल’ ।

त्यसो त बीसौँ शताब्दीको मध्यसम्म पनि नेपालबारे युरोपेली समुदाय बेखबरजस्तै थियो । सन् १९५१ भन्दा पहिले औँलामा गन्न सकिने केही युरोपेली (विलियम कर्कप्याट्रिक, फ्रान्सिस बुखानन ह्यामिल्न, ब्रायन हडनिm अम्ब्रोस ओल्डफिल्ड, ड्यानियल राइट) ले नेपाल यात्रा गरेका थिए । सन् १७९३ मा आएका कर्कप्याट्रिकबाहेक सबैजसो काठमाडौँस्थित ब्रिटिस रेजिडेन्सीमा काम गर्ने हिसाबले खटिएका थिए । ती सबैजसोले लेखेका पुस्तक कुनै न कुनै रुपमा नेपाली इतिहास अध्ययनका स्रोतसामग्री बनेका छन् ।
सोभियत रुसका नागरिकका हकमा त्यो पनि असम्भवजस्तै थियो । प्रताप मल्लकै पालामा नेपाल पसेका क्यापुचिन मिसनरीहरु पृथ्वीनारायण शाहका पालामा लखेटिएका दृष्टान्त छँदै छन् । राणा शासकको अनुमति नलिईकन नेपाल घुम्न त परै जाओस्, पस्न पाउने परिस्थिति पनि थिएन । फेरि पनि प्रश्न उठ्छ, त्यस्तो बेला मिनाएभ कसरी आइपुगे नेपाल ? त्यही जवाफको खोजी हो, ‘मिनाएभ र नेपाल’ ।

बौद्धका साथै संस्कृत र पाली भाषा अध्ययनार्थ मिनाएभले १२ वर्षमा तीन पटक भारत, नेपाल, बर्मा र श्रीलंकाको यात्रा गरेका रहेछन् । इतिहासविद् ताच्याना न. जागोरोद्निकोभाका अनुसार खासमा रुस साम्राज्यको रक्षा विभागले मिनाएभका साथमा पिटर्सबर्गस्थित सामरिक भूसंरचना अध्ययन विभागका सदस्यसचिव रिझिकोभलाई स्थलमार्गबाट केन्द्रीय एसिया हुँदै पेशावर (पाकिस्तान) सम्म पठाउने मनसाय राखेको थियो । तर मिनाएभको योजना हेरफेर हुन गयो र उनी जलमार्गबाट भारत आए ।

त्यसै क्रममा बेलायत भ्रमणमा निस्कँदा घोडाबाट लडेर घाइते भई भारतमा आराम फर्माइरहेका जंगबहादुरलाई बक्साएर उनी ब्रिटिस रेजिमेन्टका कायममुकायमको पाहुना भएर नेपाल आउने अनुमति फुत्काउन सफल भए, मिनाएभ । पूर्वीय मुलुकहरुको इतिहास र संस्कृतिको अध्ययनमा जुटेका मिनाएभको नेपाल यात्रा भने काठमाडौँ उपत्यकामै खुम्चियो । किनभने त्यतिबेला विदेशीहरुलाई उपत्यकाबाहिर निस्कने अनुमति थिएन । राणा शासनको पतनपछि अर्थात् सन् १९५६ जुलाई २० मा मात्रै नेपाल र सोभियत संघका बीचमा दौत्य सम्बन्ध स्थापना हुन पुग्यो ।

नेपाल बसाइमा आफूले देखे र बुझेका आधारमा परिचयात्मक विवरण लेखेका रहेछन्, भारत र श्रीलंका वर्णनको एक अंशका रुपमा । त्यसमा उनले तत्कालीन नेपाली समाज र जंगबहादुर राणाका बारेमा रोमाञ्चकारी वर्णन गरेका छन् ।

त्यस दुर्लभ र अप्राप्य यात्रा विवरणलाई नेपाली लेखक कृष्णप्रकाश श्रेष्ठले मास्कोमा विद्यार्थी छँदा लेनिन पुस्तकालय (हाल राजकीय पुस्तकालय) मा पढ्ने मौका पाए र त्यहीँको वाचानालयमा बसेर नेपाली भाषामा अनुवाद गरे । उनले २०२८ तिर सम्पादनसमेत गरी मदन पुरस्कार गुठीको मुखपत्र ‘नेपाली’ को पूर्णांक ४८ मा छपाए । लगत्तै जगदम्बा प्रकाशनबाट पुस्तकाकार रुपमा बाहिर ल्याए, ‘इ. पा. मिनाएभको नेपाल’ ।

त्यही पुस्तकलाई हिमाल किताबले १० वर्ष पहिले एक खण्ड थपेर ल्याएको थियो, ‘मिनाएभ र नेपाल’ । यसमा मिनाएभको व्यक्तित्व र कृतित्वबारे चार जना रुसी विद्वान्का तीन वटा लेख थपिएको छ । तीमध्ये श्रेष्ठकै लेखक ‘रुसमा नेपालविद्याको श्रीगणेश’ आद्योपान्त पठनीय छ ।

अनुवादकका रुपमा श्रेष्ठले सुरुको संस्करणमा ‘दयाबांगो’ जस्ता भौगोलिक शब्द नबुझेर तेत्तिकै छाडिदिएका थिए । पछि पुस्तकलाई नेवारीमा अनुवाद गर्ने क्रममा स्वयम्भूलाल श्रेष्ठले पत्ता लगाए, त्यो त ‘धैबुङ’ पो भनिएको रहेछ । पुस्तकका अन्यान्य त्रुटि समेत केलाएर नेवारी भाषाको पत्रिका सितुमा उनले सिंगै लेख बनाए, ‘दयाबांगोः एक छलफल’ । अवलोकितेश्वरको स्तुति र पुछारमा परेको फकीरको गीत शीर्षकको नेवारी लोकगीत पनि अनुवाद गरेका थिएनन् । स्वयम्भूलालले त्यो पनि छाड्न चाहेनन् ।

श्रेष्ठ सिरपाजस्तो नेपालकै निजी स्तरमा पहिलो पुरस्कार स्थापना गर्ने स्वयम्भूलालको त्यो अठोट भने पूरा भएन । किनभने उनको असामयिक निधन भएकाले नेवारी अनुवाद के भयो भन्ने अनुवादक श्रेष्ठ स्पष्ट छैनन् । तर रुसी उक्ति सम्झँदै लेख्छन्, ‘पाण्डुलिपि आगोले पनि डढाउन सक्दैन ।’

तिनै मिनाएभ थिए, रुसी जनतालाई नेपालबारे थाहा दिने पहिलो सूचक । उनी पछि रुसी चित्रकार भासिली भेरेश्यागिनले भारतबाट नेपाल पस्नका लागि ब्रिटिस रेजिमेन्टसित लेखापढी गरिसके पनि राणा शासकबाट अनुमति पाएनन् । अर्का चित्रकार निकोलास रोरिखको प्रयास पनि सफल भएन ।

अर्कातिर नेपालका मानवतावादी विचारक जयपृथ्वीबहादुर सिंहले पनि युरोप यात्राका क्रममा पोल्यान्डबाट रुस पस्ने इच्छा राखेका रहेछन् तर भिसा पाउन सकेनन् र उनले रुसी जनताका नाममा सन्देश पठाएर चित्त बुझाएका थिए । सन् १९०८ मा मात्रै उनले रूसी भूमि टेक्न पाए । गैरआवासीय नेपाली संघ रूस तथा विश्व नेपाली साहित्य महासंघ रूस शाखाले रूसको यात्रा गर्ने प्रथम नेपाली जयपृथ्वी तथा नेपालको यात्रा गर्ने पहिला रूसी विद्वान् इभान मिनाएभको नामबाट ‘जयपृथ्वी-इभान मिनाएभ’ स्रष्टा सम्मानसमेत राखेको तथ्य स्मरणीय छ ।

‘मिनाएभ र नेपाल’ ले १ सय ४५ वर्ष पहिलेको नेपाल अझ काठमाडौँको शब्दचित्र दिएको छ । खासगरी नेपालको इतिहास, तात्कालिक विचारधारा, शासन व्यवस्था, भाषा, धर्मसंस्कृति, जनजीवन, रहनसहनबारे यसले प्रशस्त सूचना दिएको छ । मिनाएभले नेपाली इतिहासको वर्णन गर्ने क्रममा कहीँ किंवदन्तीको सहारा लिएका छन् त कहीँ वंशावलीको । जम्मा ४१ पृष्ठको लेखमा उनले आफूभन्दा पहिले आएका लेखक ब्रायन हडसन र ह्वेन साङको कथनलाई पनि उत्तिकै महत्त्व दिएका छन् ठाउँठाउँमा ।

उनले हडसनलाई उद्धृत गर्दै मिनाएभले लेखेका छन्, ‘नेपालीको नैतिक विशेषता… मन्दबुद्धि, सुस्त विचारी, दयालु, हँसमुख र मिलनसार । दीर्घकालिक श्रमका लागि अयोग्य । बहुपतिका चलन अझै पनि छ तर बिस्तारै हराउँदै छ । स्वास्नीमान्छेको विवाहपूर्वको कौमार्यतालाई उत्तिको महत्त्व दिइन्न । रक्सीबाजी र फोहारीपना भारतको समथर भूमिमा भन्दा पहाडतर्फ बढी, अपराधको संख्या कम छ ।’

‘(नेपालीहरु) सबै हँसीठट्टा गर्न रुचाउँछन् र केही अपवाद छाडेर सबै जना जाँडरक्सी खान्छन्,’ मिनाएभले लेखेका छन्, ‘उच्च जातका मानिसहरु र जर्नेलका छोराहरु विशेषतः स्याम्पियन र कोन्याक (ब्रान्डी) रक्सी खान्छन् । नेपालका बारोनेटका छोराहरुलाई शिक्षा दिन भर्ना गरिएका अंग्रेजी शिक्षक आफ्ना शिष्यहरुको शिक्षादीक्षामा भन्दा उनीहरुका निम्ति सोमरस अर्थात् कोन्याक रक्सी जुटाउनमा संलग्न रहेको देखिन्छन् ।’

जंगबहादुरकै पालामा काठमाडौँबासीको मदिराप्रेम देखेका थिए मिनाएभले । काठमाडौँका एक शिक्षक यही व्यवसाय गरेर धनी बनेको उनले दाबी गरेका छन् । उनले लेखेका छन्, ‘काठमाडौँका सडकहरुमा के उत्सव, के साधारण दिन, सधैं रक्सी लागेका मानिसहरुलाई देख्न सकिन्छ ।’

सन् १८४० अक्टोबर ९ मा रुसको केन्द्रीय भेक ताम्बोभ नगरमा एक मध्यमवर्गीय कर्मचारी परिवारमा जन्मेका मिनाएभले फ्रेन्च, जर्मन, अंग्रेजीपछि बौद्धग्रन्थको अध्ययन गर्ने अठोट गरी भारतीय भाषाहरु सिक्न थालेका रहेछन् । क. अ. कास्सोभिचबाट संस्कृत भाषा सिके । सन् १८७० मा त संस्कृत वाङमय संकायका प्राध्यापक पदमा नियुक्त भए । उनकै सत्प्रयासमा संकायमा संस्कृत, पालीजस्ता प्राचीन भारतीय भाषाको अध्यापन सुरुवात भयो ।

उनको विद्यावारिधि शोधग्रन्थ थियो, ‘पाली भाषाको ध्वनिविचार र पदविचार’ । महाविद्यावारिधिको शोधपत्र चाहिँ ‘पाली भाषाको उच्चारण तथा शब्दसंरचनाको विवेचना’ । मिनाएभकृत पाली भाषाको व्यारकण कैयौँ वर्षसम्म भारतमा पाठ्यपुस्तकका रुपमा स्वीकार गरियो । उनले संस्कृत व्याकरण पनि लेखे । उनका जीवनीकार स. क. बुलिच लेख्छन्, ‘आफ्नो विषयमा प्रकाण्ड विद्वान’को मिजास ज्यादै हठी थियो । उनी आफ्नो सिद्धान्तबाट टसको मस हुँदैनथे र आफ्नो निम्ति यसको परिणाम कस्तो निस्कनेछ भन्ने कुराको कत्ति पनि वास्ता नगरी सबैका सामु आफ्नो धारणा निर्धक्क राख्थे ।’

मिनाएभले महायानी ग्रन्थहरुको विशेष महत्त्व स्वीकारेका छन् । भ्लादिमिर मिखाइलोभिच आल्पातोभ लेख्छन्, ‘विद्वान्हरु आफ्नो कृतिमात्र नभएर शिष्यहरुका माध्यमबाट पनि जीवित हुन्छन् ।’ हुन पनि उनी शिष्यहरुका माध्यमबाट बाँचेका छन् ।

मिनाएभले नेपाली विद्वान् गुणानन्द वैद्यको सहयोगमा संकलन गरेर ल्याएको नेवारी शब्दकोशसमेत प्रकाशनार्थ तयार गरेको कृष्णप्रकाश श्रेष्ठले आफ्नो लेखमा उल्लेख गरेका छन् । उनले नेवारी भाषामा अध्ययनको चासो देखाउनुको कारण थियो, बौद्ध ग्रन्थ त्यही भाषामा हुनु । सन् १८९० जुन १ मा ५० वर्षको उमेरमा क्षयरोगबाट उनको दुखान्त भयो ।

काठमाडौँमा बस्दाखेरि मिनाएभले दुइटा वंशावली हेर्न पाएका रहेछन्, बौद्ध र हिन्दुको । दुवै वंशावलीमा बौद्ध र हिन्दुहरु नेपाललाई कश्मीर र बनारसजस्तै पवित्र देश मानिएको पाए । उनी केमा छक्क परेछन् भने बौद्ध विहारहरुमा विवाहित भिक्षुहरु बस्छन् भने ब्राह्मण मन्दिरहरुमा बुद्ध र बोधिसत्व पनि पुजिन्छन् । बौद्ध मन्दिरहरुमा पनि ब्राह्मण धर्मका देवदेवीहरु रहन्छन् ।

मिनाएभ बाग्मतीको उत्पत्ति कथालाई मोइसेईको वीरताको कथासित दाँज्छन् । विरुपाक्षको अनुश्रुतिमा एसुस नाभिनको चमत्कार सम्झन्छन् । उनलाई के लाग्छ भने नेपालमा क्रिस्चियन विचारले निकै पहिले प्रवेश पाइसकेको थियो । उनी कहिले स्वयम्भूनाथको उत्पत्तिको कथा जोड्छन् त कहिले मञ्जुश्रीको नेपाल आगमनको कथा । बौद्धनाथका विषयमा वंशावली उद्धृत गर्छन्, ‘भोटेहरुको विश्वासअनुसार भोटे लामाहरु मृत्युपश्चात नेपाली राजा भएर जन्मन्थे । यिनै राजाहरुले बौद्ध मन्दिरहरुको निर्माण गराए । तसर्थ भोटेहरु यी मन्दिरहरुको ठूलो सम्मान दर्शाउँछन् ।’ उनी बौद्धनाथको यसरी वर्णन गर्छन्ः बौद्धनाथ काठमाडौँबाट साढे तीन माइल पर पर्छ । अहिले यहाँ स्तूपको वरपर बसेको सानो गाउँ छ । स्तूपको वरपर पर्खालको घेरा हालिएको छ । युरोपेलीहरुलाई त्यसभित्र पस्न पाइन्न ।

त्यसैगरी पशुपतिनाथ मन्दिरबारे लेख्छन्ः यो मन्दिर काठमाडौँबाट उत्तरपूर्व दिशातर्फ तीन माइल पर छ । युरोपेलीहरुले नदीपारिको किनाराबाट मात्र यस मन्दिरको दर्शन गर्ने अनुमति पाएका छन् । यहाँ नदीको किनारामा मृत देह ल्याइन्छन् । कहिलेकाहीँ मृत पतिका साथै धर्मभीरु र सती विधवालाई पनि चितामा एकैसाथ जलाइन्छ ।

किराँतीहरुबारे उनले लेखेका छन्, ‘किराँतहरु स्वास्नी किन्दछन् । प्रायः उनीहरु यसका निम्ति पैसा नदिएर घरगृहस्थीका निमित्त आवश्यक सरसामान दिन्छन् । गरिबहरु आफ्नी स्वास्नीको बाबु (ससुरा) को घरमा काम गरेर मूल्य चुकाउँछन् । कुनै एक पक्षको इच्छाअनुसार सजिलैसित सम्बन्धविच्छेद हुन सक्तछ । किराँतहरुमा बहुपत्नी प्रथा पनि भेटिन्छ तर ज्यादै कम मात्रामा । बहुपतिको प्रथा भने उनीहरुलाई थाहा छैन ।’

पुस्तकअनुसार इस्वी संवत्को आठौँ शताब्दीको आरम्भमा राजा गुणकामदेवको पालामा काठमाडौँ सहर निर्माण भयो । सदाशिवदेवको पालामा कीर्तिपुरको निर्माण भयो । उनकै पालामा तामा र फलाम मिसाएर सिंहमूर्ति अंकित टकको सुका चलनचल्तीमा आयो । उनले पृथ्वीनारायण शाहको उपत्यका विजयको कथा पनि हालेका छन् । भक्तपुरका पराजित राजा रणजित मल्लले पशुपतिमा निर्वासित जीवन बिताउने इच्छा गरेपछि पृथ्वीनारायण शाहले अरु के इच्छा छ भनी सोधे । रणजितले भने, ‘छाता र एक जोर खराउ’ । छाताको अर्थको राजमुकुट र खराउनको अर्थ पृथ्वी हुँदो रहेछ । पृथ्वीनारायणले भने अरे, ‘तिमीले इच्छा गरेको कुरा दिँदै छु । तर तिमीले मेरो जीवनकालभरि यसको उपभोग गर्न पाउने छैनौ । मेरो नातिको समयमा उपभोग गर्न पाउने छौ ।’

त्यसै बेला नेपाल आएका इटालियन यहूदी गिडसिप्पेले लेखेका रहेछन्, ‘जुन बेला म यहाँ आइपुगेँ, ज्यादै भीषण दृश्य देखेँ । यहाँ आउने बाटामा पर्ने रुखहरुमा मानिसका लासहरु झुन्डिरहेका थिए ।’

स्थानीय वंशावलीलाई उद्धृत गर्दै उनले नेपालीमा रहेको अन्धविश्वासको कथा पनि हालेका रहेछन् । इस्वीको सत्रौँ शताब्दीको आरम्भमा नेपालमा मैदानतर्फबाट संयोगवश मकैको गेडा ल्याइएको थियो । पहिले कसैले पनि यस्तो अन्न देखेका थिएनन् । तसर्थ अचम्मको वस्तु हुनाले विद्वानहरुलाई देखाएर जनताले सोधेः ‘यो कुन अन्न हो ?’

यस अन्नले अनिकालको सूचना दिन्छ भन्ने विद्वान्हरुको निर्णयपछि मकैको गेडालाई जहाँबाट ल्याइएको थियो, त्यतैतर्फ फर्काउने आदेश दिइयो । साथै अनिकालको संकटमोचनका लागि विभिन्न देवीदेवताको पूजाअर्चना गरियो, पशुबलि दिइयो, ब्राह्मण भोजन गराइयो । उनी के भन्छन् भने ‘भारतमा अहिले कतै पनि यस्तो कुरा दोहोरिन सक्दैन परन्तु नेपालमा भने अझै पनि यो सम्भव छ ।’
उनी नेपालीबारे चिनियाँ यात्री ह्वेन साङलाई साभार गर्छन्, ‘उनीहरुलाई साहित्यिक ज्ञान छैन, तर कलाको क्षेत्रमा प्रवीण र कुशल पनि छन् । उनीहरुका बीच कट्टर र ज्यादै धर्मान्ध पनि छन् तर बौद्धविहार र देवमन्दिरहरु सँगसँगै खडा छन् ।’ मिनाएभ ब्राह्मण धर्म र बौद्ध धर्म, उच्च विचार र कोरा मूर्तिपूजाको विचित्र सम्मिश्रण देख्छन् ।

मिनाएभको यात्रा वर्णनमा कताकता नेपाली र नेपाल सरकारप्रति क्षोभ पनि छ । उनी सरकार र नेपाली दुवैलाई शंकालु पाउँछन् । युरोपेलीको प्रत्येक कदमको जासुसी हुन्छ । जनताले युरोपेलीलाई अछुत सम्झेर घरमा छिर्न समेत दिँदैनन् । पाल टाँगेर बस्न त सकिएला । तर टाँग्ने ठाउँ पाउन मुस्किल हुन्छ । रेजिमेन्टले मिनाएभलाई सोधे अरे, ‘छद्म भेषमा तिब्बत जाने विचार त छैन ?’

तत्कालीन इस्ट इन्डिया कम्पनीसितको शान्ति सन्धिपछि युरोपेलीलाई नेपाल खुला भए पनि त्यसभन्दा पहिले शंकाकै वातावरण थियो । भारतमा नेपालको नक्सा खिच्ने प्रयोजनका लागि एक बंगालीले देश चाहारे गोप्य रुपमा । तर काठमाडौँमा ब्रिटिस रेजिमेन्टलाई भेटेको थाहा पाउनासाथ गुप्त रहस्य खुलिहाल्यो । यसका बाबजुद पनि नेपालका दुईदुइटा नक्सा सार्वजनिक भएको मिनाएभले लेखेका छन् । त्यसैगरी विरलग्रन्थको खोजीमा नेपाल पठाइएका अर्का भारतीय पनि पक्राउ परेका थिए । त्यसपछि त अंग्रेजका प्रजा भारतीयहरुलाई नेपाल निषेध भइहाल्यो ।

मिनाएभको वर्णनमा काठमाडौँको शब्दचित्र शक्तिशाली लाग्छ । काठमाडौँ पस्नेबित्तिकै देखिन्छ, २५० फिटको सेतो धरहरा । शिवपुरी पर्वतनेर मुहान भएका विष्णुमती र बाग्मती । प्रायः घरमा पुच्छर फिँजाएका मयूरको आकार कुँदिएका झ्याल । फूलको सुगन्ध यति गाढा कि नजिकै बेचिरहेको प्याजको गन्धसमेत बिलाएर जाने ।

यहाँका मानिस कठालो छड्के परेको सेतो कमिजजस्तो पोसाक लगाउँछन् । पतलुन लगाउँदैनन्, नांगै गोडा हिँड्छन् । काठमाडौँ वरपर २७३३ मन्दिर या बुर्जा छन् । जोगी र भरियाहरु युरोपेलीहरुलाई देख्नासाथ निहारेर हेर्छन्, कहाँबाट र किन आएको होला भन्ने भावमा । भरियाहरु पटुकीमा चिउरा पोको पारेर हिँड्छन् । नांगा, खरानी धसेका जटाधारी भक्तहरु ‘हरे राम हरे राम’ फलाकिहिँडछन् यताउता नहेरी । अगलबगलमा नोकरहरुको लस्कर लगाएर महाजनहरु हात्तीमा सवार हुन्छन् ।

उनी नेपाल र नेपालका सहरहरुको विशेषता नै मान्छन् फोहोरमैलालाई । काठमाडौँ सुन्दरभन्दा पनि मौलिक हो भन्ने उनको जिकिर छ । नेपालमा गाईबध नहुने तर गाई धेरै देखिएको वर्ष जंगहादुरले ब्रिटिस सिमानासम्म धपाउन आदेश दिन्थे रे । फागु मनाएको एक सातासम्म बाटोमा सेतो लुगामा रातो टाटो लागेका मानिस भेटिने उनको बयान छ । उनलाई काठमाडौँका नर्तकीहरु न कलानिपुण लाग्छन्, न त सुन्दरी नै ।

काठमाडौँमा तोपको आवाज सुनेपछि मिनाएभले जंगबहादुर विदेशबाट फर्किएको सूचना पाउँछन् । तर उनको ठ्याक्कै उमेर थाहा पाउँदैनन् । तर ठाउँठाउँमा लेख्छन्, ‘उनी अन्दाजी ५० वर्षका छन् ।’ महारानीसित मिलेर आफ्नै मामा मुख्तियार माथवरसिंहको हत्या गरेका जंगबहादुरका शत्रुहरुमध्ये ज्यादै भाग्यमानीले मात्र भागेर ज्यान बचाएको उनको दाबी छ ।

उनको शब्दबिम्बमा जंगबहादुर पलेँटी कसेर बस्छन्, नोकरको पिठ्यूँमा बुई चढेर एक कोठाबाट अर्को कोठामा जान्छन् । तर उनी कुन कोठामा सुत्छन्, कहाँ बसेर के खान्छन् भन्ने कसैलाई थाहा छैन । झलझली टल्कने भोटो र विभिन्न प्रकार हीरा र जुहारात जडिएको पगरी पहिरिन्छन् ।

जंगबहादुरको दरबार राजा सुरेन्द्रको राजप्रासादभन्दा भव्य छ । जंगबहादुर सार्वजनिक स्थलमा दुईतीनवटी पत्नीका साथ देखापर्छन् । उनी लेख्छन्, ‘पालिसदार कपाल कोरेका जंगबहादुरलाई देख्दा ५० वर्ष पुगिसकेका छन् भन्न गाह्रै पर्छ ।’

मिनाएभले थाहा पाउँछन्, जंगबहादुरले बहुसंख्यक छोराहरुका लागि अंग्रेज शिक्षक भर्ना गरेका छन् । छोराहरु अंग्रेजीमा कुरा गर्छन् र आफ्नो भाषिक ज्ञान प्रदर्शन गर्छन् । अरु शिक्षा नपाए पनि युरोपेलीको नक्कलमा पोख्त छन् । जंगबहादुरका छोराभतिजा १५ वर्षको भए सेनामा कर्णेलको दर्जा पाउँछन् । एक छोरा २० वर्षको उमेरमै जर्नेल र तोपसेनाको सेनापति भइसकेका छन् ।

उनले डानियल राइटलिखित ‘हिस्ट्री अफ नेपाल’ को प्रतिक्रियामा लेखेका छन्, ‘राइटको भनाइअनुसार नेपालमा एक जना मात्र सज्जन मानिस छन् र ती हुन्, जंगबहादुर राणा । तिनै राणा जसले सत्ता हत्याउनका निम्ति गरेको हत्याकाण्डको पनि वर्णन छ । … नेपालीहरु अंग्रेजहरुबाट टाढै रहन खोज्नु स्वाभाविकै छ । उनीहरु ठीकै भन्छन्, अंग्रेज व्यापारीको पछिपछि हातहतियार आउँछन्, बाइबलको साथमा संगीन ।’

वसन्त ऋतुमा आएका मिनाएभले नेपालमा कति समय बिताए भन्ने चाहिँ यकिन छैन । त्यतिबेला उनले नेपालबाट लगेका विभिन्न पाण्डुलिपि र लेखेका डायरी अहिले पनि सेन्ट पिटर्सबर्गको साल्तिकोभ शेद्रिन जनपुस्तकालयमा सुरक्षित रहेको अनुवादक श्रेष्ठको कथन छ । सेन्ट पिटर्सबर्गका पुस्तकालयहरुमा आर्यनामसंगीतिटीका, धर्मलक्ष्मीसंवाद, दिव्यावदान, जातकमाला, स्वयम्भूपुराण आदि ग्रन्थ अझै छँदै छन् । मिनाएभले आफ्नो डायरीमा सकारेका छन्, ‘यदि म त्यहाँबाट केही रोचक कुरा ल्याउन समर्थ भएको छु भने त्यो नेपालका शासकहरुको सहयोगको परिणाम हो ।’