थ्रेसबाट एउटी दासी प्लेटोको सेवाका लागि ल्याइएको थियो । त्यो दासी चानचुने थिइन । ऊ यति मिठो बाँसुरी बजाउँथी कि उसका प्रशंसक निकै धेरै थिए ।

उसको कलामा मुग्ध प्लेटोले मर्ने बेलामा भने, ‘मेरो मर्ने बेला भो, बाँसुरीको धुन सुन्दै मर्न पाऊँ ।’ ईशापूर्व ३४८ मा मृत्युअघि प्लेटो ज्वरोले थलिएका थिए ।

त्यसपछि प्लेटोको सास नजाउञ्जेल बाँसुरीको सुमधुर स्वर प्लेटोको कोठामा गुञ्जिरह्यो ।

प्लेटो ओछ्यानमा सुतिरहेका थिए । सुन्दासुन्दै उनको प्राण शरीरबाट अलग भयो ।

बाँसुरीको धुन सुन्दासुन्दै मृत्यु भएको कुरा कसरी थाहा भयो त ? वैज्ञानिकहरु भन्छन्, ‘हालै पुरातत्वविद्हरुले भेसुभस पहाडमा आएको ज्वालामुखीमा पुरिएको अवस्थामा फेला परेको पेपारस (कागजको गुँडुल्को)मा यो लेखिएको अवस्थामा फेला प¥यो ।’

बाँसुरीको धुन त्यो दिन त्यति सुमधुर थिएन । त्यो दासी प्लेटोको मृत्युको ठिक अघि बाँसुरी बजाउन उति इच्छुक थिइन । कागजमा उतार्ने व्यक्ति जो थियो, उसले लेखेको छ, ‘बाँसुरी बेलाबेलामा बेसुरमा जान्थ्यो तर बूढा प्लेटो गुनासो गर्ने अवस्थामा थिएनन् ।’

प्लेटोको मृत्युपछि उनले नै स्थापना गरेको एथेन्सको एकेडेमीको एउटा सुन्दर बगैँचामा उनलाई सत्गत् गरिएको थियो ।

यी सारा कुराको बयान भएको स्क्रोल पपाइरी दरबारमा फेला परेको थियो । जुलियस सिजरको ससुरो पिसोको यो दरबारको भव्यता यति थियो कि हर्कुलेनम शहरकै ताज मानिन्थ्यो । ईशापूर्व ७९ मा भेसुभिअस पहाडमा आएको ज्वालामुखीले पूरै दरबार छोप्यो । दरबार यहाँ छ भन्ने पहिलो पटक सन् १७५० मा पुरातत्वविद्हरुले पत्ता लगाएका थिए ।

यहाँ एउटा भव्य पुस्तकालय थियो र त्यो पुस्तकालयका अधिकांश कागज रोलहरु जलेको अवस्थामा पाइएको थियो । तीमध्ये प्लेटोको मृत्युको बयान भएको कागज पनि जलेको अवस्थामा थियो तर आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगले केही विद्यार्थीहरुले त्यो जलेको भागहरु पढ्न सफल भएका थिए ।

पिसा विश्वविद्यालयले लामो समयदेखि जलेका ती कागज अध्ययन गर्ने बाटो खोजिरहेको थियो । यो सफलताले थोत्रिएका, मैलिएका, जलेर खरानी भएका तर हल्का अक्षर देखिने जुनसुकै कागजलाई पनि एआईको सहयोगले पढ्न सकिने बाटो खुलेको छ ।