कुरा राणाकालकै हो । वासुदेव शर्मा लुइटेल आफ्नो कविता छपाउने धुनमा जोरगणेश प्रेस पुगेका रहेछन् । कुनै चस्माधारीले फूर्तिसाथ भन्यो अरे, ‘दार्जिलिङको एउटा केटाले बालकृष्णशमशेर बाबुसाहेब र लक्ष्मीप्रसाद देवकोटाको सातो जाने गरेर एउटा लेख लेखेछ । पढ्दा खुब मजा आयो ।’

अलि पछि पाठशालाका गुरुहरुले पनि जुँगा मुसार्दै सुकुलमा शारदा पछारे अरे, ‘यी अंग्रेजीबाजहरुले खालि अर्काले लेखेको चोरेर लेख्ने त हुन् नि । हाम्रा ऋषिमुनिहरुले जस्तो विचार पुर्याएर लेख्ने हुन् र ? लौ हेर्नोस् यिनको बिजोक !’

१९९९ वैशाखको ‘शारदा’ पत्रिकामा नेपाली साहित्यमा क्रान्ति या भुइँचालो निम्त्याइदिने लेख छापिएको थियो, ‘अंग्रेजी साहित्यको प्रभाव’ । खासगरी नेपाली साहित्यका महारथी लक्ष्मीप्रसाद देवकोटा र बालकृष्णशमशेर (त्यतिबेला सम भइसकेका रहेनछन्) बारे मूर्तिभञ्जक लेख ।

त्यो लेख लेख्ने दार्जिलिङे केटा थिए, रामकृष्ण शर्मा । पण्डित रघुनाथदेखि पण्डित धरणीधर कोइरालाभन्दा पहिलेका सबैजसो कवि-लेखकमा प्राचीन संस्कृत साहित्यको भाव, लय र अलंकारको प्रभाव परेको भन्दै शर्माले ‘पञ्चामृत’ या ‘नैवैद्य’ पछि अंग्रेजीबाजद्वारा लेखिएका साहित्यमा अंग्रेजी साहित्यको अतुल प्रभाव परेको किटानी जाहेरी दिए ।

उनले बालकृष्णका नाटकमा सेक्सपियरको अनुष्टुप छन्द (ब्ल्यांक भर्स) शैलीले आसन जमाएको पोल मात्र खोलिदिएनन्, ‘अन्धवेग’ को ‘देवताले दया गर्छन्, भूल गर्दछ मानिस’ (पृष्ठ १२४) लाई अलेक्जेन्डर पोपको ‘टू इरर इज ह्युमन, टू फरगिभ डिभाइन’ को छायानुवाद भनिदिए ।

यस्तै, ‘मुटुको व्यथा’ को ‘छोरी तिम्रो निम्ति म बाँचुला, मक्किएका सबै हाड तिम्रै निम्ति साँचुला’ (१३२) त अंग्रेज कवि टेनिसनको ‘स्विट माई चाइल्ड, आई लिभ फर थी’ को प्रतिध्वनि रहेछ । त्यही नाटक चार्ल्स डिकेन्सको ‘टेल अफ टू सिटिज्’ र ड्युमाको ‘द म्यान इन द आइरन माक्स’ बाट जोरजम्मा भएको पनि लेखिदिए । ‘प्रल्हाद’ को ‘जसको हो उसैलाई योग्य हुन्छ बुझाउनू’ (पृष्ठ ८५) ‘बाइबल’ को, ‘मुकुन्द-इन्दिरा’ मा ‘यो वसुन्धरा तिम्रो सिद्धान्तको लेखा ज्यादै नै स्थूल पो छ त’ सेक्सपियरको ‘ह्यामलेट’ को वाक्य परेछ ।

त्यसो त बालकृष्ण समको निधनपछि शर्माले दुई थान लेख लेखेछन्, ‘यवनिका पतन’ र ‘मथिंगलका तरंग’ । समको मृत्युसँगै उनले सूत्रपात गरेको नेपाली नाटकको स्वर्णिम युगको अवसान भएको उनको लेखकीय निष्कर्ष छ ।

राजकुमार बानियाँ

रामकृष्ण शर्माले देवकोटालाई पनि एक बित्ता छाडेनन् । ‘चारु’ कविता वर्डस्वर्थको ‘लुसी’ को नक्कल भनिदिए । दुवै कवितामा शृंगार नगरिएको प्राकृतिक सौन्दर्यमा शृंगारको मात्रा ज्यादा हुन्छ भन्ने भाव छ । त्यस्तै, शर्माले देवकोटाको ‘बादल’ कवितामा पीबी सेलीको ‘द क्लाउड’ मा निहित भावको सत्त्व र ‘विचित्र रोदन’ मा पनि सेलीकै पदलालित्य भेटे ।

त्यतिबेला शर्मा न्यायाधीश त परै जाओस्, वकालत पनि थालेका थिएनन् । उनी त भरखर आईए पढ्दै थिए । ‘शारदा’ का पानामार्फत गद्यक्षेत्रमा नवपाइला राखेका थिए । तर उनीमाथि देवकोटा र बालकृष्णरुपी बारुलोको गोलो खनिइहाल्यो । उनको समालोचनात्मक निबन्धको अतीव उग्र र तीव्र आलोचना भयो ।

यसरी चर्चित हुन धेरै लेख्नै परेन रामकृष्ण शर्मालाई । एउटै लेख विष्फोटक सावित हुन पुग्यो । बाबुसाहेब र देवकोटाको पनि खोट खुट्याउने मान्छे जन्मेका रहेछन् भनेर पहिलोपटक थाहा भयो । कतिसम्म ‘शारदा’ को सम्पादकीयबाट समेत लेख र लेखकको हुर्मत लिइयो । देवकोटाले शर्माको बारेमा थाहा नभएकाले धेरै ठाउँमा ‘पण्डितजी’ भनेर सम्बोधन गरेका रहेछन् ।

आलोचनाका ती आघातले शर्माको उन्मुक्त कलमको गति कत्ति पनि रोकिएन । त्यसपछि उनले ‘शारदा’ कै पानाबाट ‘कविको धन’, ‘समालोचना’, ‘टाक्सिएको नेपाली कविता’ आदि रचनामार्फत आफ्ना आलोचकलाई फुकीफुकीकन जवाफ दिए । शर्माको प्रवेशसँगै तारिफको पुल मात्र बाँध्ने नेपाली समालोचना परम्परामा तीतो, पीरो र सोझो बोलीका साथै सैद्धान्तिक अध्ययनले पनि स्थान जमायो । स्कुल–कलेजको मेसिनबाट जन्मिएर एकैथरी लेखकको मात्र चर्चा गरिँदा थुप्रै लेखकमाथि अन्याय हुने उनको विचार आज पनि सामयिक छ ।

त्यो आलोचनात्मक पाठ आएको २५ वर्षपछि फेरि शर्माले ‘गोर्खा’ पत्रिकामा आफ्नै समालोचनामाथि समालोचना लेखे, ‘अरु साहित्यको प्रभावको एउटा चर्चा’ । ‘अंग्रेजी साहित्यको प्रभाव लेख्ने दुस्साहस गरेर साहित्यको महारथीको प्रहार अवश्य सहन गर्नुपर्यो । तर त्यो लेखमा मसलाको कमी भए तापनि तथ्यको भने कमी थिएन । हुन सक्छ, त्यो लेख लेख्दा यो लेखक गहिराइसम्म पुग्न सकेन तर प्रभावको गहिराइ छ भन्नेसम्म औँल्याइछाड्यो ।’

रामकृष्ण शर्मा

उनले अंग्रेजी साहित्यको प्रभाव नेपाली कविताभन्दा साहित्यका अन्य शाखामा बढ्ता भएको पनि उल्लेख गरेका छन् । उनले थप के लेखेका छन् भने इलियटका जस्ता रचना कतै छन् त कतै रवीन्द्रनाथका जस्ता त कतै सुमित्रानन्दनका जस्ता । एउटाको जस्तो भाव छ त अर्काको जस्तो भाषा र तेस्रोको जस्तो शैली । पाठकलाई कहाँ कता सुनेको, कहिले कतै देखेको जस्तो लाग्छ तर झट्ट ठम्याउन सक्दैन । त्यसको कारण प्रभावको सम्मिश्रण छ । प्रभावको झर्रापना हराएर ठिम्याहा पनि भएको छ ।

उनको शब्दमा यो प्रभावै प्रभावको बीचमा बसेर मौलिकता निर्माणको युग हो । अरु देशमा निर्माण भएका पुर्जा ल्याएर ‘एसेम्बल’ गर्नुपर्ने उनको तर्क नाजायज पनि छैन ।

अंग्रेजीबाजले विदेशी कविका भाव अनुकरण गरे, चोरे, सापटी लिए, हरण पनि गरे, तर उनीहरुमाथि पनि विपद आइलाग्यो । त्यसो त शब्द र विम्बहरु अंग्रेजीबाजले मात्र नभएर अंग्रेज कविहरुले पनि एकअर्काबाट सारेकै छन् । ती कुनै वर्डस्वर्थका, कुनै मिल्टनका, कुनै ग्रेका त कुनै स्काटको ।

शर्मा के भन्छन् भने ‘चोर्नु असल होइन, जितेर लिनु असल हो । सबै नेपाली लेखक चोरेर लिन्छन्, जितेर लिने कोही छैनन् भन्न कसैले सक्दैन । चोर्नु र जित्नुको बीचमा कहाँनेर साँध छ, ड्राइडेनले पनि भन्न सक्ने थिएनन्, कसले चोरेर लियो, कसले जितेर ?’

उनी चोरी र प्रभावको बिट यसरी मार्छन्, ‘कविहरुको धन कविहरुले चलाउँछन्, जस्तो व्यापारीको धन व्यापारीले । अर्काको धन चलाएर आफूलाई ऋणी ठानेमा कविको व्यक्तित्व अनि मौलिकता लोप भएर जाँदैन ।’

‘शारदा’ का सात निबन्धात्मक समालोचनाको संकलन भने २०२४ मात्र आयो, ‘सप्त शारदीय’ । ‘वधूशिक्षा’ बारे शल्यक्रिया गरिएको समालोचना हो, ‘कवि भानुभक्तको विषयमा’ । त्यसमा नवक्रान्तिकारी र विद्रोही कवि, समीक्षक एवं नारीवादी विश्लेषकले वार्षिक क्यालेन्डर पछ्याएर अखबारी लेख लेखिरहने रटना नै छन् । ७८ वर्षपछि पनि रामकृष्ण शर्माका भाव र तर्क दोहोर्याएर सयौँ लाइक, कमेन्ट्स र सेयरका साथै क्रान्तिको सेवा गर्न सक्नु पनि कम बहादुरी होइन ।

आधुनिक दृष्टिले हेर्दा कवि भानुमा कैयन् गुणको कमी रहेको औँल्याउँदै प्रश्न सोध्छन्, ‘त्यसो हो भने कविले पत्नीलाई पनि काठमाडौँ लगेका थिए त ?’

शर्माले ‘भानुभक्त आचार्य झ्यालखानामा नपरेर कुमारीचोकमा निगरानीमा मात्र रहेको’ अनि ‘काठमाडौँबाट फर्कंदा तारापति उपाध्यायको घरमा बास बसेको र रातभरि तारापतिकी पत्नी र बुहारीको झैझगडा सुनेपछि ‘वधूशिक्षा’ लेखेको पनि पत्याउन सकेका छैनन् । न त ‘नारी भैकन हाँस्नु छैन कहिले वेश्या हुन्या हाँस्तछन्’ लेखेको देखेर भानुपत्नीले गरेको प्रश्न ‘तपाईंको कविता साह्रै अनर्थको भयो, तपाईंको लेखामा म पनि के वेश्या भएँ त ?’ भन्ने मोतीराम भट्टको ग्य्रान्ड न्यारेटिभ सकारेका छन् ।

कविको नसच्चिने प्रवृत्तिमा शर्माले खेद व्यक्त गरेका छन् । र, त्यो काव्य भानुभक्तले रातभरिमा नरचेको तर्क पनि गरेका छन् । आधुनिक दृष्टिले हेर्दा कवि भानुमा कैयन् गुणको कमी रहेको औँल्याउँदै प्रश्न सोध्छन्, ‘त्यसो हो भने कविले पत्नीलाई पनि काठमाडौँ लगेका थिए त ?’

भानुभक्तकै सन्दर्भमा ‘दस गोर्खा’ मा अर्को समालोचना छ, ‘गजाधर सोतीकी घरबूढीको पक्षमा’ । त्यसमा उनले सोतीको घरमा बास नपाई रातभरि  शीतमा डल्लिनु परेकामा भानुभक्तप्रति सहानुभूति राख्दाराख्दै पनि कविकै दोष देखाएका छन् । शर्माले पिँढीबाट ढिकी राखेको छाप्रोसम्म लखेटेको श्लोक र अलच्छिनीको आरोपलाई नै निन्दनीय मानेका छन् । भानुभक्तले लान्छना सहेर बसेका भए सिद्धि लाभ हुने उनको मत छ । कविमा सहिष्णुताको गुण प्रचुर नपाइने लेखेका छन् । मोतीरामले कविले साँझ नपरी बास माग्ने भानुभक्तलाई चोख्याउन खोजेको उनको आरोप छ ।

उनी लेख्छन्, ‘भानुभक्तले श्लोकमा बेइज्जती गरेबापत न्यायालयमा जवाफदेही हुनु परेन र उम्के । भानुक्तभक्तले आफ्नो राक्षसी प्रवृत्ति प्रदर्शन गरे, असुरवृत्ति लिए, तामसी स्वभाव देखाए । इतिहासले इन्साफ खोजिरहेको छ ।’

नेपाली साहित्यमा हर्ष र विस्मय एकसाथ ल्याइदिने समालोचक शर्मा जीवन र साहित्यका सम्बन्धमा पनि निकै घोत्लिएका छन् । कला सदैवका निम्ति हो भन्नेमा उनको सहमति छ । उनी उत्तमोत्तम समालोचना पनि केवल आलोचनालाई मान्छन् ।

‘टाक्सिएको नेपाली कविता’ मा उनी के लेख्छन् भने नेपाली साहित्यमा नीतिको गह्रौँ भारी छ । साहित्यमा नीति भएको असल हो, साहित्यमा नीति चाहिन्छ पनि तर नीतिशिक्षाले साहित्य साहित्य बन्दैन ।

उनको विश्लेषण अनुसार ‘ऋतु विचार’ मा कवि लेखनाथ पौड्यालले चाहेका भए नेपालको भौगोलिक शोभाको वर्णन गर्न सक्थे । ऋतु विचार नेपाली कवि वा नेपाल निवासी कविले लेखेको हो भन्ने निश्चय गराउने सामग्री त्यो काव्यभित्र उति धेर छैनन् ।

नेपालका लब्धप्रतिष्ठित काव्यमा समेत आफ्नो समयको छाया साह्रो नपरेकामा उनी उदेक मान्छन् । त्यस्ता काव्यलाई उनी सिसागृह फूल मात्र मान्छन् । शर्मालाई खेद छ, ‘नेपाली साहित्यमा कुनै त्यस्तो एउटा उपन्यास छैन, जसले नेपाली समाजको असल चित्र खडा गरोस् । सासू-बुहारीकै झगडा सबै ठाउँमा सम्भव छ तर सासू मण्डली त अत्युक्ति नै हो ।’

शर्मा कुनै बेला राजनीतिमा पनि थिए । राजनीतिक नाम चाहिँ आरके शर्मा । उनले सन् १९४३ मा राजनीतिमा प्रवेश गरी भारतीय नेपालीका हक अधिकारको आवाज उठाए । उनको संगठन अखिल भारतीय गोर्खा लिगको मुखपत्र ‘गोर्खा’ मा उनले स्तम्भ चकित, फिरंगी आदि छद्मनाममा पनि लेखे ।

‘गोर्खा’ मै छापिएका १० समालोचनात्मक रचनाको न्वारान भयो, ‘दस गोर्खा’ । त्यो उनले आफू सैनिक सेवाको बन्दुक भिरेर आफूलाई कलम समाउने सम्बल दिने पिता सुवेदार गंगालाललाई समर्पित गरेका छन् ।

कवि को हो भन्ने सवालमा समालोचक शर्मा लेख्छन्, ‘कवि शब्दले मेरो हृदयमा कोमलसँग सम्बन्ध राखेको छ । कसो हो कसो कठोर र कवि शब्दको संयुक्त उच्चारण मेरा निम्ति कर्णकटु छ । मलाई कवि र कोमल शब्दमा मात्र साम्य छ जस्तो लाग्छ । मेरो धारणामा कवि दुराचारी हुनै सक्दैन र कविका कृतिमा चाख दिने मानिस पनि क्रमशः पवित्र हुँदै जान्छन् । कविलाई म साधु ठान्छु, महात्मा ठान्छु, महर्षि ठान्छु ।’

समालोचक शर्मा साहित्यिक रुचिको प्रौढताको पक्षमा उभिएका छन् । उनलाई साहित्यमा जीवन प्रतिध्वनित ब्याजोक्ति र व्यंग्योक्ति नै चाहिन्छ । उनी के भन्छन् भने महान् र मौलिक कविले आफ्नो कृतिको आस्वादनका निम्ति आफैँले पाठकहरुमा रुचि जन्माउनुपर्छ । हल्का साहित्यको हामीलाई अवश्य जरुरत छ तर साहित्यका टाकुरालाई भन्दा साहित्यका डाँडालाई श्रद्धापूर्ण दृष्टिले हेर्नु विवेचनाशून्य नजरको मात्र कर्तव्य हो ।

‘ह्यामलेट’ का मनपर्दा ‘प्यासेज’ मध्ये कुनै पनि बुझक्कड साहित्यिकले ‘टु बी अर नट टु बी’ र ‘म्याकबेथ’ का मनपर्दा ‘प्यासेज’ मध्ये ‘टुमारो एन्ड टुमारो एन्ड टुमारो’ लाई उच्च स्थान दिन्छन् नै । यथार्थमा असल काव्यको सत्य जीवनको समालोचना गर्नु सक्नुमै छ । लेखकको भावको गहिराइ पनि त्यहीँ देखिन्छ । साहित्य र समाजको सन्दर्भमा उनी काल्पनिक जगत् सिर्जना गर्न सक्ने सामग्री वास्तविक जगत्कै अनुभूतिको कायापलटले तयार हुने मान्यता राख्छन् ।

सरल र जटिल साहित्यका सम्बन्धमा पनि शर्माका विचार स्पष्ट छन् । उनले लेखेका छन्, ‘मिल्टन बुझ्ने कति छन् र ! मिल्टनको आदर भएकै छ । कारलाइलको क्लिष्ट शैली कतिलाई मन पर्छ र ! तर कारलाइलको साहित्यिक ख्याति बलिरहेछ । सेलीको ‘प्रमेथिएस अनबाउन्ड’ कतिसम्म बुझिन्छ र ! तथापि सेलीको उच्चकृति त्यही हो ।’

शर्माले रुपनारायण सिंहलाई दार्जिलिङमा उच्चकोटिको सिर्जनात्मक कलालाई जन्म दिने प्रमुख कलाकार मानेका छन् । तर दस्तोवयस्की, टमस हार्डी, बर्नाड शाँ आदिले जस्तो जीवनसँग मानवको संघर्ष अध्ययन र अनुभव गरी आफ्नै विशेष दार्शनिक प्रवृत्ति तय गर्न नसकेको निचोड दिन्छन् ।

विशेषतः आफ्ना समालोचनाका विषय कविता र नाटकलाई बनाएका छन् शर्माले । भीमनिधि तिवारीका नाटकहरुको समस्या उनले दर्शकको कौतूहलको अन्त्य अन्तिम यवनिका खस्नुभन्दा अघि नै शेष हुनुलाई औँल्याएका छन् । उनले लेखेका छन्, ‘तिवारीजीमा प्रतिभा छ तर उहाँले नाटककारको काम अझै हल्का सम्झी खेलाँची गर्नुभएजस्तो देखिन्छ । उहाँले नैतिक सिद्धान्त प्रचरको साधनबाहेक नाटकीय कलामा समेत ध्यान दिनुभयो भने हामी अझै ऋणी हुनेछौँ ।’

उनी विचारलाई संसारमै जण्ड जियाले जिनिस मान्छन् । विचार खँदिलो र गहिरो भए मारेर मर्दैन भन्ने उनको अभिमत छ । उनले लेखेका छन्, ‘हिरण्यकशिपु मर्छ, धार्मिक विचार मर्दैन । यशू मारिए तर धार्मिक विचार मरेन । सुकरातले गरलपान गरे तर तिनको वैज्ञानिक सिद्धान्त नास भएन ।’

सुनिएअनुसार गंगालालले सबै सम्पत्ति अन्य पत्नीहरुलाई छाडेर एक मन सुन मात्र ल्याएका थिए भने चौमासा पुराण लगाउँदा नयाँ मोटरगाडी दान दिएका थिए ।

समालोचनामा निपुण छन् शर्मा । कमल दीक्षितको शब्दमा उनी झर्रो, टर्रो र खर्रो तर नितान्त नपाइसक्नुका व्यक्ति हुन् । ‘रामकृष्ण शर्मा आधुनिक नेपाली समालोचनाका स्रोत पुरुष हुन्,’ ‘सूक्तिसिन्धु र अन्य समालोचना’ पुस्तकमा फणिन्द्र नेपाल लेख्छन्, ‘उनको नाम झिकिदिने हो भने आधुनिक समालोचनाको जग भताभुंग हुन्छ ।’

पहिलो विश्वयुद्धपछि बर्मा पुगे, ताप्लेजुङका गंगालाल सुवेदी । त्यहाँ उनी सैनिक सेवामा प्रवेश गरी सुवेदारसम्म भए । उनका अनेक पत्नीमध्ये कान्छी देवमायाको कोखबाट १९२२ मे १५ मा मान्डले जिल्लाको मेमिओनगरको गोर्खापथमा जन्मेका पहिलो सन्तान थिए, रामकृष्ण । उनलाई ६ वर्षको हुँदा पिताले कालिम्पोङ ल्याए । सुनिएअनुसार गंगालालले सबै सम्पत्ति अन्य पत्नीहरुलाई छाडेर एक मन सुन मात्र ल्याएका थिए भने चौमासा पुराण लगाउँदा नयाँ मोटरगाडी दान दिएका थिए ।

रामकृष्णले स्कटिस युनिर्भसिटी मिसन इन्स्टिच्युसनमा पढे । स्कटिस चर्चा कलेज कोलकाताबाट बीए अनर्स गरे । सन् १९४४ मा कोलकाता विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा एमए भर्ना भए पनि दंगाका कारण अध्ययन पूरा गर्न सकेनन् । तर कानुनमा प्रथम श्रेणीमा प्रथम भए ।

दार्जिलिङमा लेखन्दासका रुपमा काम सुरु गरेका उनले रुपनारायण सिंह र मदनकुमार प्रधानको मातहत रहेर वकालती अभ्यास गरे । वकालत गर्दागर्दै उनी इन्स्पेक्टिङ जुडिसिएयल अफिसर, चिफ प्रेसिडेन्सिङ अफिसर हुँदै सन् १९७४ नोभेम्बरमा कोलकता उच्च न्यायालयमा न्यायाधीश पदमा पदोन्नति पाए । कतिपय आलोचक भने शर्मालाई न्यायाधीश दिएर अथाह राजनीतिक सम्भावना तुहाइएको टिप्पणी गर्छन् । सन् १९८४ मा अवकाश लिएका उनले कालिम्पोङ तेह्र माइलस्थित आफ्नो घरलाई ‘गंगा डेरा धाम’ नामकरण गरेका थिए ।

नेपाली साहित्यका दोषदर्शक तर सिरानको आसनमा बसेका समालोचक शर्माले रत्नश्री पुरस्कारमै चित्त बुझाउनुपर्यो । उनी नेपाली साहित्यलाई पाश्चात्य समालोचना सिद्धान्तका दृष्टिले हेर्ने प्रथम समालोचक मानिन्छन् । उनको समालोचनात्मक आदर्श हो, ‘कृतिविशेषको दुर्बलता वा त्रुटितिर अंगुलिनिर्देश गर्दै त्यस्तै कमजोरी अर्को लेखकको अथवा उसैको अर्कै कृतिमा नदोहोरियोस् भनी सतर्क गरिदिनू ।’

तारानाथ शर्माले ‘नेपाली साहित्यको इतिहास’ मा उनलाई यस युगको श्रेष्ठ समालोचक घोषणा गरेका रछन् । जस योञ्जन प्यासीले भने ‘टेबल गफः नौ बैठक’ भित्रका समालोचनाले पूर्ववर्ती समालोचनाको स्तर निर्वाह गर्न नसकेको टिप्पणी गरेका छन् ।

त्यस्तै, अर्का समालोचक कुमार प्रधानले ‘समालोचनादेखि छुल्याइँ’ सम्म शीर्षक लेखमा शर्मा असहिष्णु, अहं मान्यता राख्ने र निन्दामा केन्द्रित रहेको उल्लेख गरेका छन् । यसो भनिनुको मुख्य कारण भने सिक्किमको गान्तोकमा स्थापित भानुभक्तको पूर्णकदको सालिकमा शर्माले माल्यार्पण नगर्नुलाई मानिएको छ । कि त अतिथि भएर नजानुपर्ने गइसकेपछि तदनुकूल व्यवहार गर्नुपर्ने टिप्पणी उनका आलोचकको छ । तारानाथले भने त्यसलाई समालोचकीय तटस्थताका रुपमा व्याख्या गरेका छन् ।

घनश्याम नेपालले त ‘कवि बिग्रे कथाकार, कथाकार बिग्रे समालोचक र समालोचक बिग्रे रामकृष्ण शर्मा’ भनी व्यंग्य कसेका छन् ।

उत्तम कुँवरले माल्यार्पण प्रकरणमा शर्माप्रति ‘रुपरेखा’ को सम्पादकीयमै कटुता पोखेका रहेछन् । उनले शर्मालाई हीनताबोधले ग्रस्त समालोचकको ठप्पा लगाएका छन् । ‘रुपरेखा’ को पूर्णांक २१७ मा तीर्थमान झाले ‘रामकृष्ण शर्मा के भन्नुहुन्छ त’ लेखेपछि पूर्णांक २३७ मा प्रतिवाद गरे, शर्माले । त्यसमा उत्तम कुँवर मिसिए, ‘केही क्षण अनुभव र अनुभूतिका’ स्तम्भमा ।

त्यसको पनि प्रतिवाद गरे शर्माले ‘तथास्तु’ लेखेर । पूर्णांक २४३ मा शर्माले ‘कहनीको रहनी’ लेखेर बल्ल बिट मारे ।

पक्कै पनि न्यायमूर्तिमा हुनुपर्ने विवेक, तर्क, निष्पक्षता र निर्भीकता शर्मामा थिए । तर एक विशिष्ट अध्येता हुँदाहुँदै पनि उनमा आफ्नो कुरा जसरी हुन्छ माथि पार्नैपर्ने, अर्काका कुरा हतपती नसुन्ने, अति आदरापेक्षी, एकलकाँटे, घमण्डी, असहनशील र क्षुद्र प्रवृत्ति रहेको उनका कतिपय संगातीले व्यक्त गरेको फणिन्द्र नेपालले उल्लेख गरेका छन् । घनश्याम नेपालले त ‘कवि बिग्रे कथाकार, कथाकार बिग्रे समालोचक र समालोचक बिग्रे रामकृष्ण शर्मा’ भनी व्यंग्य कसेका छन् ।

खासमा भने विवादको अर्को चुली हो, रामकृष्ण शर्मा । उनको उदय नै विवादबाटै भएको थियो । चाहे ‘अंग्रेजी साहित्यको प्रभाव’ होस्, चाहे ‘सूक्तिसिन्धुः एक स्वतन्त्र दृष्टिकोण’ ।

हुन त ‘सूक्तिसिन्धु’ (१९७४) पहिलो शृंगार कविता संकलन थिएन । त्यसअघि विसं १९६२ मा दुर्गाप्रसाद शर्माले ‘कविता कल्पद्रुम’ र १९७४ मा शिखरनाथ सुवेदीको ‘शृंगार दर्पण’ को दोस्रो संस्करण आइसकेको थियो ।

‘सूक्तिसिन्धु’ को प्रकाशन लगत्तै लामो समय प्रतिबन्धित भयो । पण्डित धरणीधर कोइरालालाई अपवाद मान्ने हो भने २५-३० वर्ष त्यसको कतै चर्चा भएन । नेपाली साहित्य र साहित्यको इतिहासले पनि बिर्सेजस्तो भयो । मृतप्रायः भइसकेको त्यो पुस्तकलाई सरदार यदुनाथ खनालले क्षयोन्मुख कविताको नमुना भनिदिए । ‘साहित्यको नाममा, संस्कृतिका नाममा हाम्रो समाजका सडे-पडेका प्रवृत्तिहरुको आदर्शीकरण गर्ने चलन हामीमा निकै चलेको छ । यो चलनमा फस्नुभन्दा यो चलनबाट बच्नु नेपालमा आलोचकको कर्तव्य भइरहेछ ।’

अनि बम्किए रामकृष्ण शर्मा । उनले प्रश्न गरे, ‘साहित्य संसारबाट नामै मेटिइसकेको पुस्तकको पुनर्भर्त्सना गर्नुपर्ने के प्रयोजन थियो ? पहिले विश्लेषण गरेर पछि कविता हो वा होइन भनी किन निर्णय गर्ने ?

‘सूक्तिसिन्धु’ साहित्यको चरमचुली नभए पनि साहित्यको सर्वांगीण उन्नतिका लागि विभिन्न रसका र विभिन्न रुपका अनेक गद्यपद्यको दरकार रहने शर्माको तर्क छ । उनले लेखेका छन्, ‘श्लील र अश्लील भन्ने कुरा प्राकृतिक होइनन्, कृत्रिम हुन् । जाति, देशकाल, अवस्थामा विचार राखी श्लील र अश्लीलताको रेखा तोकिन्छ । तर त्यो सीमारेखाको निर्दिष्ट स्थान यही हो भनेर तोक्न गाह्रो छ ।’

यसै सिलसिलामा रामकृष्ण शर्माले ‘सूक्तिसिन्धु’ लाई एउटा क्रान्तिकारी प्रकाशन घोषणा गरिदिए । उनले परस्त्रीका पाउ मात्र हेर्नू भन्ने ब्रह्मचर्यका नियम साहित्यले पालन गर्दैन भनेर सहीछाप ठोकिदिए ।

‘खनालज्यूको आलोचनाको म कदर गर्छु । उहाँसँग यस संग्रहको विषयमा सहमत हुन नसक्नु मेरो दुर्भाग्य हो,’ ‘सूक्तिसिन्धुः थप कुरा’ मा उनले लेखेका छन्, ‘उहाँको निर्मलता, चोखोपना, सुधारवादी प्रवृत्ति अँगाल्न नसक्नु र सूक्तिसिन्धुलाई छिःछिः र दूरदूर गर्न नसक्नु, गर्न अघि नसर्नु मेरो कमजोरी हो ।’

सिद्धिचरणको ‘विश्वव्यथा’ र माधवप्रसाद घिमिरेको ‘गौरी’ । संयोग र वियोग जीवनमार्गका दुई किनारा हुन् ।

शर्माले सिद्धिचरण श्रेष्ठबारे दुइटा समालोचनात्मक लेख लेखेका छन् । सिद्धिचरण कुलमणि देवकोटासित कालिम्पोङ गएका बेला उनले सार्वजनिक कार्यक्रममै भने अरे, ‘म त्यो सिद्धिचरण कविको गुण गाउँछु, जसले ‘विश्वव्यथा’ लेख्यो न कि त्यसको जसले ‘मेरो बासित पैसा छैन’ लेख्यो । नेपाली साहित्यकाशको एलिजी (बिलौना संगीत) मा म दुईटा कवितालाई प्रमुखता दिन्छु । सिद्धिचरणको ‘विश्वव्यथा’ र माधवप्रसाद घिमिरेको ‘गौरी’ । संयोग र वियोग जीवनमार्गका दुई किनारा हुन् । ‘गौरी’ मा तारुण्यको कान्तावियोग छ भने ‘विश्वव्यथा’ मा बार्धक्यको पुत्रवियोग ।

बहुविधामा रमाउने रामकृष्ण शर्माको साहित्यिक जीवन कविताबाट सुरु भएको हो । उनको ‘बलिदान’ (२०१०) खण्डकाव्य र ‘भावालु मेरो मन’ (२०३०) प्रकाशित छन् । २००७ साल पहिले नै लेखिएको उनको खण्डकाव्य तत्कालीन नेपाली भाषा प्रकाशिनी समितिले छाप्नै मानेन । खण्डकाव्यको भूमिकामा शर्माले लेखेका छन्, ‘यो पुस्तिकालाई छापाखानादेखि बाहिर निक्लन गंगालाई शिवजीको जटा छिचोलेर निक्लनभन्दा बेसी गाह्रो पर्यो ।’

उनका निबन्ध र समालोचनात्मक कृतिमा ‘प्यारो सपना र अन्य लेखहरु’ (२०१७), ‘सप्त शारदीय’ (२०२४), ‘दश गोर्खा’ (२०२६),  ‘टेबुल गफः नौ बैठक’ (२०२७) र ‘एक बिसाउनी’ (२०३८) पर्छन् भने आध्यात्मिक किताब ‘अष्टावक्र’ (२०३५) पनि छ ।

शर्मा बालजीवनमै कालिम्पोङकी केशरमायासित विवाह बन्धनमा बाँधिए र पाँच छोरा तीन छोरी जन्मिए । विवाहित हुँदाहुँदै पनि उनले अर्कै युवतीसित प्रेम गरे । तिनको मृत्युले भावविह्वल भएका उनले अरुसँग पनि प्रेम गरे, धोका खाए । अवकाश जीवनमा ‘स्वतन्त्र मञ्च’ नामक राजनीतिक संस्थामा संलग्न हुँदाहुँदै उनलाई हृदयरोगले समात्यो र सन् १९८६ अप्रिल १५ मा उनको निधन भयो ।

वास्तवमा मोतीराम भट्टले जीवनीपरक समालोचना ‘भानुभक्तको जीवनचरित्र’ लेखेपछिको लामो रिक्तता भरिदिएका थिए, रामकृष्ण शर्माले । अविचलित रुपमा पैँतालीस वर्ष नेपाली भाषा र साहित्यको सेवा गरेका शर्माले दशकौँ पहिले दिएको नेपाली साहित्यको ‘अडिट रिपोर्ट’ अहिले पनि हुबहु मिल्छ ।