गौशाला (काठमाडौँ) ओरालोको पिंगलास्थाननेर एउटा रातो घरको नामपाटी छ, ‘कार्की किचेन’ । नेपाली साहित्यमा रश्मि, इन्दिरा, आम्रपाली, बैंगलोर कफी हाउस आदि इत्यादि रेस्टुराँकै हाराहारीमा स्वर्णिम इतिहास बोकेको घर । थुप्रै वर्ष निरन्तर सन्ध्याकालीन कोठे जमघट, काव्य रसास्वादन, भलाकुसारी अनि खानपिन चलेको एउटा नामुद स्रष्टा–अड्डा ।

यहाँनेर रातो घरको चर्चा किन आवश्यक छ भने एक जना अति गोप्य कवि मदन कार्कीसित मसिनेरी चिनजान गर्नु छ । खानपिनका सोखिन साहित्यिक सम्पादक जोडी नगेन्द्रराज शर्मा र भवानी घिमिरेसँग भेटेपछि कार्की आफ्नो रेस्टुराँमा हरेक महिनाको प्रथम बिहीबार जमघट गर्न राजी भएका थिए, स्न्याक्समा ५० प्रतिशत छुटसहित ।

२०५८ असोज ४ को साँझ भित्तामा ‘अभिव्यक्ति भेटघाट’ लेखिएको लाल तुल टाँगेर खानपिनलाई चलाखीपूर्वक औपचारिकता दिइएको थियो । त्यो सानदार साँझको सुखद स्मरण छ कार्कीलाई, मदनमणि दीक्षितको करकमलबाट विश्वम्भर चञ्चलको पुस्तक ‘क्षितिजदेखि क्षितिजसम्म’ विमोचन, मधुवन पौडेलको सौजन्यमा एक बोतल स्कचको चियर्स अनि मदन कार्कीले निषेध गरेको अम्मल चुरोट माड्सापबाटै सल्काएर अनुमोदन !

कार्की किचेनमा रमाएर ननिस्कने साहित्यिक महारथी कमै छन् । मदनमणि दीक्षित, बालकृष्ण पोखरेल, वासु पासा, धनुषचन्द्र गौतम, डीपी भण्डारी, राममान तृषित, जगदीश घिमिरे, शरदचन्द्र शाहा दिवंगत भइसके । नगेन्द्रराज शर्मा, राप्रउ पोखरेल, रोचक घिमिरे, धु्रवचन्द्र गौतम, ज्ञानुवाकर पौडेल, वियोगी बुढाथोकीदेखि मनोज न्यौपाने, जीवनपानी, डा नीरज भट्टराई, राबत, बाबु त्रिपाठीसम्मले यसको अथाह आनन्द उठाए ।

नगेन्द्रराज शर्माको कमानमा १७ वर्षसम्म कार्की किचेनमा बेरोकटोक चल्यो, अभिव्यक्ति भेटघाट । अहिले चक्रपथतिर जारी छ । कार्की किचेनको जमघट एकप्रकारले स्मृति भैसक्यो । अभिव्यक्ति भेटघाट बसाइँ जानुमा खास कारण केही छैन । कार्की आफैँले किचेन सम्हाल्न नसकेपछि के लाग्छ !

साँच्चै भन्ने हो भने कार्की साहेब रोगको हेडक्वार्टरजस्तै भएका छन् । एउटा रोगले अर्को रोगलाई निम्ताएको निम्त्यायै छ । सुगर, प्रेसर, कोलेस्टरोल त मामूली भैहाल्यो । दम उनका लागि क्रोनिक भने हुन्छ । झोलबाहेक १३ वटा गोली खान्छन् दिनमा । हिँडडुल गर्न गाह्रो हुन्छ । मान्छेका नाम र बाटो भुल्छन् । मांस, मदिरासित छुटानाम भैसक्यो । खाने र खुवाउने, पिउने र पिलाउने स्थितिमा पनि देखिँदैनन् ।

राजकुमार बानियाँ

अभिव्यक्ति भेटघाटमा म पनि थुप्रैचोटि सहभागी भएको छु । कुन-कुन कार्यक्रममा भन्ने चाहिँ यकिन छैन । कवि-लेखकको त्यो रोमान्टिक अखडामा सामान्यतः आफ्नो बिल आफैँ तिनुपर्ने नियम भए पनि मनकारी मित्रहरुले एक्लै भुक्तानी गरेका थुप्रै घटना छन् ।

मदन कार्कीलाई मैले त्यहीँ देखेको हुँ पहिलोपटक । अभिव्यक्ति भेटघाटमा उनै किचेन कमान्डर हुन् भन्ने चाहिँ मेसै पाइएन । किनभने उनी घरि गिलास ठोक्काउन आइपुग्थे, घरि कविता वाचनमा भिड्थे, घरि किचेनमा पस्थे, प्लेटमा ल्याएर टेबुल पस्कन्थे । मदिरामा झिलीमिली भएका स्रष्टाहरुले उनका कवितालाई खासै भाउ दिएको भने देखिँदैनथ्यो । हुन त काठमाडौँमा कुन कविले अर्को कविलाई महान् भन्न सकेको छ र !

यिनै कार्की महोदयसँग मेरो घनिष्टता भयो, अभिव्यक्ति भेटघाटले डेरा सारेपछि । मेरा लेख पढेर उनी फोनमा प्रतिक्रिया दिन रुचाउँथे । म आफैँसँग लज्जित हुन्थेँ भित्रभित्रै । उनीजस्ता पाका पाठकले मजस्तो कनिष्ठ र काम चलाउ लेखकको प्रशंसा गर्नुपर्ने कारण केही थिएन ।

कहिले उत्पात राम्रो भन्थे, कहिले ठीकै मात्र । कहिले त गतिलो भएन पनि भनिदिन्थे । उनको यो स्वभाव मलाई किन-किन मन पर्यो । यति तटस्थ मूल्यांकन गर्ने कवि हृदय मैले पाएको छैन । उनी मजस्तै ठाडो बोल्छन् । तर मनमा कपट कदापि छैन ।

मेरो लेखको प्रशंसाका लागि फोन गरेजस्तो लागे पनि खासमा उनी आफ्ना कविता सुनाउने मौका गुमाउन चाहँदैनथे । कहिलेकाहीँ त एकै खेपमा दुई-तीन थान कविता पनि सुनाउँथे । उनको सहज कवित्व पाएर म भित्रभित्रै पुलकित भएको अनुभव गर्थें ।

के भन्नैपर्छ भने शनिबारे परिशिष्टांकमा कविता छपाउने मनसुवा पनि त्यसमा धेरथोर लुकेको हुन्थ्यो । तर मैले फरवार्ड गरेका उनका कविता भने कहिल्यै छापिएनन् । किनभने साहित्यिक पृष्ठ संयोजकहरु प्रायः सेलेब्रिटीकै सिकार गर्न लालायित हुन्छन् ।

फलानालाई दिएपछि कविता छापिन्छ भन्ने उनको भ्रममा मेरो के दोष ! कविता प्रकाशनको मिसनमा एकाध पटक उनले मलाई घरमै पनि बोलाए । म मित्र रोशन शेरचनलाई लिएर गएँ । रोशन पनि कार्कीका ‘फ्री स्टाइल’ कविता सुनेर रोमाञ्चित भए ।

मलाई के अनुभव भयो भने अभिव्यक्ति भेटघाटका नामी कविहरुको भीडमा उनका कविता पिल्सिएका रहेछन् । उनी त एक्लाएक्लै सुन्नुपर्ने कवि रहेछन् । कहिलेकाहीँ त उनको कवित्वप्रति प्रेमिल ईर्ष्या पनि भयो । तर मरेकाटे उनको जस्तो सूक्ष्म र सटीक लेख्न सकिएन ।

कार्कीको कविदेखि कुकसम्मको जीवनकथा भने मैले रत्नपार्कमा फलफूल खाएर सुनेँ । कार्की किचेनको कथा चाहिँ जापानसित जोडिएको रहेछ । सोलुखुम्बुको स्याङबोचेमा जापानी नागरिक ताकासी मियाहारा (पछि नेपाली, नेपाल विकास पार्टीका संस्थापक) ले होटल एभरेस्ट भ्यू बनाउँदा ल्याएका सिकर्मीले भागी विवाह गरेका थिए, नेपाली चेली दिलमाया विकसित ।

तिनै दिलमायाको मनमौजी दिल चोरेर पत्नी बनाएका अर्का जापानी कोचिया मोरियाले उनलाई अनौठो प्रस्ताव गरेछन्, ‘मेरो नागानो र टोकियोमा दुइटा रेस्टुराँ छन् । त्यहाँ म्यानेजर पद सम्हाल्नोस् । तलब मासिक हजार डलर हुन्छ ।’

त्यसबेला अमेरिकी डलरको भाउ ३५ रुपैयाँ थियो । प्रस्ताव सुनेर एकछिन त हतप्रभ भए । त्यसबेला कार्कीको उमेर ४६ वर्ष थियो । काठमाडौँ जिल्ला अदालतमा शाखा अधिकृत थिए । २०४७ को संविधानमा कानुनमा स्नातक नगरेकालाई न्यायाधीश नदिने प्रस्ट व्यवस्था भएपछि उनलाई जागिरमा बसिरहने उत्साह थिएन ।

उनले सर्त राखे, ‘एड्भान्स दिने हो भने मात्र जागिर छाडेर जापान जान्छु ।’ जापानीले तीन लाख सहजै दिए ।

ती जापानीले कार्कीलाई जापान लान हत्ते गरे । नयाँ गृहप्रवेश कार्यक्रममा बोलाएका आफन्तलाई कार्की एक्लैले डेढ घन्टाभित्रै खानपिनको कुशल प्रबन्ध मिलाएपछि जापानी फिदा भएका रहेछन् । अदालती लेखपढी गर्ने सरकारी कारिन्दाले पकवान कला कसरी सिके त ? उनी यसको सारा क्रेडिट दिवंगत आमालाई दिन्छन्, ‘हाम्री आमा नेपाली खाना पकाउन असाध्यै सिपालु हुनुहुन्थ्यो । मैले त्यो सीप आमाबाट आशीर्वादस्वरुप पाएको थिएँ ।’

अरु पैसा तिरेर विदेश जान्छन्, उनी चाहिँ पैसा लिएर गए । अरु फर्केर घर बनाउँछन्, उनी घर बनाएर गए । साढे दुई दशक सरकारी जागिर खाए पनि राजधानीमा घर थिएन । उनी आफ्नो जग्गामा घर ठड्याउन चाहन्थे । उनले सर्त राखे, ‘एड्भान्स दिने हो भने मात्र जागिर छाडेर जापान जान्छु ।’ जापानीले तीन लाख सहजै दिए । २०४७ माघमै घर तयार गरेर फागुन २८ मा जापान उडे ।

सुरुमा उनले टोकियोको रेस्टुराँमा काम गरे । म्यानेजर भए पनि पकाउने, भाँडा मस्काउने, सर्भिस गर्नेदेखि हिसाबकिताब राख्नेसम्मका सबैजसो काम गर्नुपथ्र्यो । जापानी मित्रले उनलाई पाककलामा मजाले अर्जापिदिए । उनले कतै तालिम लिएका थिएनन् । भिसाका लागि कुकसम्बन्धी कीर्ते कागजात जापानी बोसले नै बनाइदिएछन् ।

उनले पाँच महिना टोकियो र सात महिना नागानो सहरको रेस्टुराँमा काम गरे । रेस्टुराँका सारा कामदार मालिकका आफन्तै थिए । सालो-साली, साडु भाइ, जेठान आदि । बाहिरिया भनेका उनै मात्र थिए । नेपालबाट म्यानेजर ल्याएको तिनलाई मन परेको रहेनछ । एक दिन सालो तोडफोडमै उत्रिएपछि उनको मन भरङ भयो ।

मदन कार्की

खासमा उनी पकाउन मात्र जाँगरिला हुन्, लुगा धुन भने एकदमै झ्याउ लाग्थ्यो । एकैपटक पाँचवटा अन्तर्वस्त्र किन्थे अनि मैलो भएपछि फोहोरमा फालिदिन्थे । अलिकति होमसिकजस्ता पनि भए । दुई वर्षे करार गरेर गएका उनी एक वर्षमै अर्थात् २०४८ फागुन २८ मै काठमाडौँ एयरपोर्ट रवाना भए ।

जापान बस्दा उनले आत्मबोध गरेको के हो भने नेपालमा कागजी प्रमाणपत्र भए पुग्छ, काम जानोस्, नजानोस् । विदेशमा त्यस्ता फजुल प्रमाणपत्रको केही अर्थ छैन । नेपालमा समयको मोल नै छैन । जापानमा सेकेन्ड पनि अनमोल छ । नेपाली त भोजमा जानु छ भने दुई घन्टा पहिले नै ठाँटबाँटका साथ निस्किन्छन् ।

पेस्कीको पैसा काटेकाले उनी लगभग खाली हात खुसीसाथ फर्किए । छँदाखाँदाको जागिर छाडेर जापान गएका उनी एक वर्षमै फर्किंदा अरु भने छक्क परे । छाड्न सक्ने उनको अनौठो खुबी छ । अब के गर्ने ? अभिवक्ताको लाइसेन्स लिएर डिल्लीबजारमा ल फर्म खोले । दुई वर्षजति काम गरिसकेपछि आत्मग्लानि भरिएर आयो । स्रेस्तेदार भएर बसिसकेका उनको मन त्यही ठाउँमा घन्टौँ धाएर काम गर्दा किञ्चित रमाएन ।

उनले आफ्नै टोलको खुम्बिला होटलमुनि चार कोठा भाडामा लिएर रेस्टुराँ खोले । पछि आफ्नै घरमा सारे । क्याटरिङ सर्भिस सुरु गरे । घरमा तला थपे । २०२८ सालमा पाल्पाकी नौ वर्ष कान्छी ईश्वरी खाती क्षत्रीसित विवाह गरेका उनले दुई छोरा आलोक र आमोदको घरजम गराइदिए । २०७२ को भुइँचालोपछि उनको व्यवसाय धरमरमै छ । पाककलामा निपुणताका कारण उनलाई सित्तैँमा विश्व भ्रमण गर्न सक्ने आत्मविश्वास अझै छ ।

खोटाङको खाम्तेल गाउँबाट सप्तरीको फत्तेपुर, ओद्राहा झरेको मुडुला कार्की परिवारका पाँच दाजुभाइमध्ये काइँला हुन् उनी । २००१ भदौ ८ मा जन्मेका उनले कक्षा ७ सम्म आफ्नै गाउँमा पढे । त्यसपछि एकैचोटि २०२३ मा प्राइभेट एसएलसी दिए । उनले त्यो भन्दा अगावै सगरमाथा अञ्चलाधीश कार्यालयको बैदार पदमा काम गर्न थालेका थिए भने २०२५ कात्तिकमा रौतहट जिल्ला अदालत गौरको मुन्सी पदमा स्थायी नियुक्ति पाए ।

न्याय सेवामा जोडिएपछि कविताभन्दा ज्यादा फैसला लेखे उनले । नलेखेको भनेको दिन पनि एक ताउ त लेख्नै पथ्र्यो ।

उनले २०२० देखि नै कविता लेख्न थालेका रहेछन् । २०२३ मा जगत रञ्जनको सम्पादकत्वमा राजविराजको ‘सगरमाथा’ पाक्षिकमा उनको पहिलो कविता प्रकाशन भयो, ‘मैले देखेँ’ । न्याय सेवामा जोडिएपछि कविताभन्दा ज्यादा फैसला लेखे उनले । नलेखेको भनेको दिन पनि एक ताउ त लेख्नै पथ्र्यो । तर कविताको लत भने कहिल्यै छुटेन ।

उनले कवितासंग्रह निकाल्न खोजेकै ५२ वर्ष भइसक्यो । तर त्यो संग्रह अझै आएको छैन । कविता लेख्दै, फ्याँक्दै गरे बस् । सुरुवाती दिनमा उनलाई आफ्नो कवित्वप्रति नै विश्वास भएन । पछि तारतम्य मिल्दै मिलेन । कहिले प्रिन्टिङ सुविधा भएन, कहिले अर्थाभाव । यस्तै यस्तै कुरामा अल्झिए । २०३५ सालतिर साहित्यिक पत्रकार भवानी घिमिरेले घचघच्याउँदा पनि उनी विश्वस्त भएनन् । पछि भवानी घिमिरे स्वयं थाके मनाउन नसकेर ।

आफ्नै घरमा कविगोष्ठी हुन थालेपछि भने उनलाई आत्मविश्वास बढ्दै गयो । पछि कहिले भुइँचालो भिलेन भयो, कहिले कोरोनाभाइरस । पछिल्लो समय राजी भएका प्रकाशकसँग पनि उनको ठाकठुक चल्दै छ । कवि ‘क्षत्रीय झोक’ झिकिरहेका छन् । कहीँ कतै सम्झौता गर्ने पक्षमा छैनन् । अभ्यन्तरमा कतै आफ्नो जीवनकालभरि संग्रह निस्किँदैन कि भन्ने गहिरो त्रास पनि होला ।

उनले कवितासंग्रहका लागि कुल मिलाएर पाँच जनालाई कम्प्युटर टाइप गर्न लगाएछन् । तर ती सबै फाइल कता उडे उडे, उनले मेसै पाएनन् । उनी भन्छन्, ‘परिस्थिति नै त्यस्तै प¥यो । जसलाई विश्वास गरेँ, त्यहीँ धोका खाएँ ।’ यस्तो लाग्छ, कवि कार्की चाँडै विश्वासमात्र गर्दैनन्, शंका पनि अरुभन्दा बढ्तै गर्छन् ।

जीवनमा उनलाई कवितासंग्रह निकाल्न नपाएकोमा मात्र खेद छैन, औपचारिक शिक्षा लिन नसकेकामा पनि छ । २०४२ वैशाख १६ मा शाखा अधिकृतका रुपमा सर्वोच्च अदालत छिरेपछि उनी कोट, पाइन्ट र टोपीमा ढल्किएर आईएलको प्राइभेट जाँच दिन गएका थिए । अंग्रेजीले उनलाई पत्याएन । त्रिभुवन विश्वविद्यालयमा उनको रजिस्ट्रेसन नम्बर पनि कहिल्यै नबिर्सने खालको रहेछ, ३४५६ ।

‘लेन्थ’ नभए ‘डेप्थ’ हुँदैन भन्नेहरुलाई पनि एकमुष्ट जवाफ हुन्, मदन कार्कीका छोटा कविता । पाककलामा निपुण उनलाई कविता पकाउने र सजाउने कला पनि राम्ररी बोध छ । शिल्पका हिसाबले अविस्मरणीय छन् । मेरा मित्र जीवनपानीको शब्दमा उनी ‘रहस्यवादी’ कवि हुन् । कति रहस्यवादी कवि हुन् भन्नेचाहिँ म जान्दिनँ । तर उनको रचनामा छाया र प्रतिछाया सलबलाइरहेको देख्छु ।

सात सय वर्ष पहिलेका पर्सिययन कवि रुमी मेरा प्रिय कवि हुन् । उनलाई पनि रहस्यवादी कवि भनिँदो रहेछ । उनका कविता असाध्यै संक्षिप्त छन् तर अनन्त अर्थ बोकेका । जस्तो, कविर दास लेख्छन्, ‘जब म यो संसारमा खराब कुरा खोज्न निक्लिएँ, मैले कतै भेटिनँ । आफैँभित्र नियालेर हेर्दा लाग्यो, मभन्दा खराब यो दुनियाँमा अरू कोही छैन ।’

नेपाली काव्यवृत्तमा मदन कार्की कतै परिचित त कतै अपरिचितको विरोधाभासमा छन् । पुरानो पुस्ताले अझै पत्याएको छैन भने युवा पुस्ताले अत्यन्तै रुचाएको छ । पुरानो पुस्तामा रेस्टुराँको कुकलाई कवि नमान्ने मनोविज्ञान पनि होला । ‘धुवाँको धागो’ वाला कवि डा. नीरज भट्टराईले सामाजिक सञ्जालमा हालसालै उनको मौलिकताले सुसज्जित एउटा कालमुक्त कविता भाइरल गराइदिएका थिए, ‘लज्जावती’ ।

साह्रै पुराना कथ्यमा अलमलिएका कविताबीचमा उनी सग्लो उभिएका छन् । ७७ वर्षेको सिग्नेचर साँच्चै सरप्राइजजस्तो छ ।

तीक्ष्ण संवेदना अनि सुन्दर भाव र शिल्पको परिपाक मिलेका कार्कीका कविता विमुग्धकारी लाग्छन् । उनको कवितासंग्रह मात्र नआएको हो, कविताको बाटोमा अविच्छिन्न हिँडिरहेकै छन् । साह्रै पुराना कथ्यमा अलमलिएका कविताबीचमा उनी सग्लो उभिएका छन् । ७७ वर्षेको सिग्नेचर साँच्चै सरप्राइजजस्तो छ ।

प्रख्यात समालोचक डा. गोविन्दराज भट्टराई अलिकति खेद मान्छन्, जब नवप्रकाशन आउँछ, त्यसमा मदन कार्कीको उमेर अनुसार ता यी कविताले स्थान पाउँदैनन् । वैरागी काइँला, भूपी शेरचन, वानिरा गिरी सँगै बस्ने मान्छे अब बल्ल १६-१८ का कवि हारमा नाम लेखिनेवाला छन् । (नलेखिन पनि सक्छन् ।)

सबैलाई थाहा छ, डा. भट्टराई सिर्जनालाई आलोचनाको आलोकमा हेर्न रुचाउँदैनन् । उनले किन आलोचना गरेनन् भन्नका लागि साहित्य पोस्टका पाठकलाई मदन कार्कीका सात कविता पढ्न सिफारिस गरिएको छ । ‘भन्नुपर्ने भन्ने, नपर्ने एक शब्द नथप्ने कस्तो अनुशासन छ कविको ! मदन दाइका कविता जाँच्नु नपर्ने, परीक्षण गर्नु नपर्ने एकदम परिपक्व छन्,’ डा. भट्टराईको विस्मयकारी मत छ, ‘यस्ता सुन्दर कविताका केही दोष पत्ता लगाएर आफ्ना आदरणीय अग्रज मदन दाइभन्दा श्रेष्ठत्तर विजयी बन्न चाहन्नँ ।’

मदन कार्कीका सात कविता

१. तीतेकरेला

 

मेरो नाउँ करेला हो

म तीतो व्यक्त गर्छु

जसले मलाई मन पराउँदैन

उसलाई म केटाकेटी भन्छु

 

तारेर खानुस्

कि उमालेर खानुस्

टुक्रा-टुक्रा पारेर मलाई

अचार बनाउनुस्  

तर मलाई नकोट्याउनु होला

म तीतो व्यक्त गर्छु

 

मेरो आङभरि काँडा छ

तर म दुम्सी हैन

मलाई खुला मनपर्छ

म दुलोभित्र लुक्दिनँ

 

म कर्कलो होइन

अरूको घाँटी समाउने

म खुर्सानी होइन

अरूलाई रुवाउने

 

सातचोटि पखाल्नुस्

म तीतै रहन्छु

सातचोटि उमाल्नुस्

म तीतै रहन्छु

 

तर, मुख नमिठ्याउनु होला

मलाई गुलियो मन पर्दैन

म तीतो व्यक्त गर्छु ।

२. आँपको कोया

 

मलाई उम्रिन त देऊ

यो धरतीलाई छेडेर

तिमीमाथिको आकाश ढाकिदिन्छु

 

मलाई फल्न त देऊ

बटारिएका यी हाँगाहरूलाई

टुप्पीमा समाएर नुगाइदिन्छु

 

परिपक्व त होऊन् मेरा दानाहरू

जतिसुकै माथि झुन्डिनेलाई पनि

भुइँतिर झर्न सिकाइदिन्छु

 

म एउटी सुषुप्त मातृत्व हुँ

मातृत्व !

मलाई चुसेर माटोमा

मिल्काउनेलाई

माटोकै संसर्गबाट जन्माएर

देखाइदिन्छु ।

३. लज्जावती    

 

‘कान्छी !

ए कान्छी !!

एउटा फूलको विरुवा

पठाइदेऊ न मलाई ।’

 

‘कस्तो फूल मनपर्छ

तिमीलाई ?’

 

‘सधैँ फुलिरहने

तिमीजस्तै ।’

 

कान्छीले लाज मानेको देखेर

मैले फेरि भनेँ-

‘मलाई त

लज्जावती फूल मनपर्छ

तिमीजस्तै ।’

 

‘लज्जावती त फूल होइन हजुर

झार हो, बुहारी झार

फूलबारीमा फुल्दिन

वनमा उम्रिन्छे

छुनेबित्तिकै निहुरिन्छे

लाज मान्छे

छुनेको मनै छुन्छे ।’

 

त्यसपछि

कान्छीलाई मैले छोइदिएँ ।

४. नजर

माथि चढ्दै थिएँ

तिम्रो नजरबाट गिरेँ ।

५. म कोदो हुँ

 

म सानो छु

म कालो छु

धान नहुने खेतमा पनि फलेकै छु

 

मेरो शिरमा मुकुट छ

म राजा हुँ ।

६. नुनिलो आँसु

आँसु पनि पिउँथेँ होला

तिर्खा लागेका बेला

गर्नुसम्म गर्यौ तिमीले

नुन मिसाइदिएर ।

७. बाँस

 

ए बाँस !

कति बढेको तँ ?

 

न कीटनाशक औषधी

न रासायनिक खाद

ए बाँस

कति बढेको तँ ?

 

कहिले शाकाहारी हुँ भन्छस्

ढुङ्ग्रोभरि दूध बोक्छस्

कहिले मांसाहारी हुँ भन्छस्

पेरुङ्गोभरि माछा बोक्छस्

अर्कालाई मर्का नपारी

झूटो बोल्छस्

 

ए बाँस !

एउटै खुट्टामा उभिएर

सधैँभरि निहुरिएर

कति विनम्र !

कति शान्त !

कत्रो आत्मविश्वास !

 

ए बाँस !

न इँटा, न ढुङ्गा

न इन्जिनियर, न ठेकेदार

कसरी गरिस् यत्रो निर्माण

 

न दलिन, न निदाल

न ढोका, न झ्याल

प्रविधिको कमाल !

 

एउटै घरमा पचपन्न तला

अद्भुत तेरो वास्तुकला

सलाम गर्छु म तेरो टावरलाई ।

 

न रियाज, न अभ्यास !

कति मोहक आवाज !

कति राम्रो मुरली तेरो

ए बाँस !

 

न खान्छस् रक्सी-जाँड

न खान्छस् गाँजा-भाङ

किन सधैँ हल्लिरहन्छ

तेरो आङ

 

ए बाँस !

जङ्गली घाँस

तँलाई धेरै धेरै धन्यवाद !

धन्यवाद !