पाँच कथा, यशस्वी स्थान

साँच्चै भन्ने हो भने पुष्करशमशेरको खातामा जम्मा पाँच वटा कथा छन् । ‘स्वार्थत्याग’ (शारदा, १९९५), ‘परिबन्द’ र ‘लोग्ने’ (कथाकुसुम, १९९५) ‘मनको पलट’ (शारदा, १९९७) र’ धनको मुख रातो’ (नेपाली पाठसंग्रह, दार्जिलिङ, २०१२) दिल र मथिंगल दुवै हल्लाउने सग्ला र अग्ला कथा हुन् ।

विक्रम संवत् १९९५ मै सूर्यविक्रम ज्ञवालीको सम्पादनमा दार्जिलिङबाट निस्केको पहिलो प्रतिनिधि नेपाली कथासंग्रह ‘कथाकुसुम’ मा पुष्करशमशेर, बालकृष्ण सम, गुरुप्रसाद मैनाली र विश्वेश्वरप्रसाद कोइरालाका दुई-दुईवटा कथा थिए । त्यसपछि ईश्वर बरालले २००६ मा नेपाली कथाहरूको परिपक्व अनुसन्धान र विश्लेषणयुक्त पुस्तक सम्पादन गरे, ‘झ्यालबाट’ । त्यतिबेला पनि एक नम्बरमै दरिए, पुष्करशमशेर ।

त्यतिबेला बरालले गधेपच्चीसी पनि पार गरेका थिएनन् । बरालले लेखेका छन्, ‘…. पुष्करशमशेरका कथामा सरसताको अभाव छैन, तर त्यहाँ कथामा चाहिने रस छैन । सरसता छ समस्या–प्रदर्शनको र समाधानको । किनकि उहाँ कवि–हृदय हुनुहुन्न, त्यसैले भावना छ तर भावुकता छैन । कथामा वकालत छ, मुद्दा–फैसला छ, आलोचनात्मक दृष्टिकोण छ । कथामा नेपाली ढंग छ । शुद्ध नेपाली रूप नै पुष्करशमशेरको खुलस्त व्यक्तित्व हो ।’

२०२४ मा भैरव अर्याल सम्पादकत्वको ‘साझा कथा’ मा पनि पहिलो कथा नै पुष्करशमशेरको छ । अर्यालले लेखेका छन्, ‘पुष्करशमशेरज्यूका कथा एक हातका औँला भाँच्न पुग्लान्, नपुग्लान् तर नेपाली कथा साहित्यको उठानमा तिनले थामको काम गरेका छन् ।’ त्यसपछिका पनि ठूलासाना प्रतिनिधि कथा संकलनमा पुष्करशमशेर छुटेका छैनन् । उनलाई ‘बाबुसाहेब’ भनेर मात्र कथा प्रतिनिधि मानिएको थिएन भन्ने यसबाट छर्लंग हुन्छ ।

पुष्करशमशेरका कथामा सामाजिक यथार्थका साथै मनोविश्लेषण र तार्किकता यथेष्ट छन् । समालोचकहरू के भन्छन् भने उनी कथामा चाख मर्न दिँदैनन् । थालनीमा गाँठो बाँध्छन् र पुछारतिर त्यसलाई फुकाइदिन्छन् ।

पुष्करशमशेर

उनका कथा घटनाप्रधान छन् । कथालाई आधिकारिक बनाउन लोक आहानको प्रयोग गर्छन् । ठेट शब्द, बोलचालको थेगो र उखानटुक्काका कारण उनको कथामा नेपाली छाप छ । उखान बखानको विशेष प्रवाह छ । परिबन्दका रने र सेती, स्वार्थत्यागका धनबहादुर कार्की र मोती आदि नेपाली परिवेशका जीवन्त पात्र छन् ।

पुष्करशमशेर समाजका मान्यतालाई आँखा चिम्लेर स्वीकार गर्दैनन् । तर्क उनलाई प्रिय छ । तर त्यो तर्क चिन्तनमूलक छ । कथनाभिप्रायः स्पष्ट छ । कलाचेतना प्रबल छ ।

लेखकीय जीवनमा उनले ‘सासू बूढी’ नामक उपन्यास पनि लेखेका रहेछन् तर त्यो अधुरो भेटिएको छ । ‘भक्तेको जासुसी’ उपन्यासको अंश पनि भेटिएको छ । ‘पुष्करशमशेरका कथाहरू’ भने २०४४ मा मात्र प्रकाशित भयो दयाराम श्रेष्ठको सम्पादकत्वमा । उनका कथाको अध्ययनबिना नेपाली कथा पठन अपुरो हुन्छ ।

नेपाली साहित्यमा गुरुप्रसाद मैनालीका कथामा शरच्चन्द या प्रेमचन्दको अनि विश्वेश्वरप्रसाद कोइरालालाई मोपाँसा, चेखवको प्रभाव रहेको आरोप लागे तापनि पुष्करशमशेरका कथा कसैसित मिल्दैनन् । आजपर्यन्त उनी ‘अर्गानिक’ लाग्छन् ।

 

जसले राणाशाही मुर्दा भनेनन्

२००७ सालको क्रान्तिताका त्रिचन्द्र कलेजको छेउबाट हिँडिरहेका थिए, पुष्करशमशेर र भाइ बालकृष्ण । भीडले पक्रेर दाजुभाइलाई फलाक्न लगाएछ, ‘प्रजातन्त्र- जिन्दावाद !’ ‘राणाशाही- मुर्दावाद !!’

वाक्चातुरी भएका बालकृष्णले राणाशाही मुर्दावाद भन्न मिनेट पनि लगाएनन् । तर पुष्करशमशेरले प्रजातन्त्रवादी हुलिया लिन चाहेनन् । ‘राणाशाहीलाई मुर्दावाद’ भन्न उनको स्वाभिमानले दिएन सायद ।

आफ्नो मान, विचार र अठोटमा बाँचेका पुष्करशमशेरले कसैको करबलमा आस्था परिवर्तन गरेनन् । भाइ बालकृष्ण सात सालमै ‘शेर’ फालेर ‘सम’ कहलिए भने दाजु पुष्करशमशेर राणा नै रहिरहे ।

समयको भाका बुझ्ने बालकृष्णबारे थुप्रै किस्सा बनेका छन् । जस्तोः तत्कालीन नेता विश्वेश्वरप्रसाद कोइरालाले अग्ला अग्ला डाँडा भएकाले काठमाडौँको सौन्दर्य घटेको बताउँदा उनले ज्ञानेश्वरस्थित आफ्नो घरको पर्खाल नै होचो बनाए अरे । बालकृष्णले आफ्ना कांग्रेसी ज्वाइँ जगतप्रकाशजंग शाह पञ्चायती सेनामेनाबाट मारिँदा दरबारमा गएर राजा महेन्द्रसित बिन्ती बिसाए अरे, ‘कुलंघार मारियो । मैले आसौच बारौँ कि नबारौँ सरकार ?’ राजा महेन्द्रले भने अरे, ‘के कुरा गर्न आएको ? मेरो पनि १३ दिने दाजुभाइ हो । म त बार्छु ।’ बालकृष्णले भने अरे, ‘हवस् त सरकार म पनि जुठो बार्छु ।’ यस अर्थमा बालकृष्ण सम अपवाद होइन, नियमजस्ता लाग्छन् ।

 

श्री ३ रणोद्दीपको प्रेत

नेपाली सजिलो व्याकरण लेखेर, उपन्यास र नाटकको अनुवाद गरेर, कथा र एकांकी लेखेर, नेपाली-अंग्रेजी शब्दकोश तथा उखान टुक्का कोश निर्माण गरेर पुष्करशमशेरले आफ्नो नाम स्वर्णाक्षरमा लेखाएका छन् । नेपाली भाषा, साहित्य, व्याकरण र वाङ्मयमा ठोस-ठोस काम गरेकाले उनको यशस्वी स्थान छ ।

जर्नेल समरशमशेर र कीर्तिलक्ष्मीका पहिलो सन्तान थिए, पुष्करशमशेर । १९५८ पुस १८ गते ज्ञानेश्वरको ‘डम्बर निवास’ मा जन्मेदेखि नै उनका दाहिने हात र दाहिने खुट्टा शिशु पक्षघातले लुला थिए । तर, जन्मजात गोरा र सुकुमार भएकाले बाजे जर्नेल डम्बरशमशेर र इन्द्रकुमारीका प्रिय नाति रहेछन् ।

राजकुमार बानियाँ

उनलाई ‘पुष्कर द लेम’ भनेर कुरा काटिन्थ्यो । ‘पुष्करशमशेर स्मृतिग्रन्थ’ मा राष्ट्रकवि माधवप्रसाद घिमिरेले उनको दायाँ हात नचल्नु पुर्खाले गरेको बन्धुहत्याको पापको चिह्न भएको भनेर चर्चा गरिएको उल्लेख गरेका छन् । त्यस्तै, विष्णुप्रताप शाहको संस्मरण अनुसार उनलाई एक पटक पक्षघात निको पार्न बौद्ध विहारमा लगिएको रहेछ । भिक्षुले पानी छ्यापेर अर्धचेत बनाएपछि पुष्करको शरीरमा श्री ३ रणोद्दीप सिंहको प्रेतले बास गरेको बताए । रणोद्दीपलाई सबैभन्दा पहिले गोली हान्ने पुष्करकै बाजे डम्बरशमशेर भएको लोककहावत छ ।

बालकृष्ण समले ‘मेरो कविताको आराधन’ (चम्पू) मा लेखेअनुसार डम्बर निवास राजप्रासादलाई छाडेर १०–१२ घरमध्ये तीनचारमध्येको भव्य थियो । समले लेखेका छन्, ‘मेरा दाज्यूलाई नाच, गीत र कविता समेत मन पर्दैनथ्यो भने हुन्छ । बज्यैज्यूहरूको अघिल्तिर उनकै आज्ञाले मैले गीत गाएर नाचेको देख्दा दाइ लाज मानेर अन्यत्र भाग्दथे । …खेल्दाखेरि मैले गीत हुनहुनाएकोमा उनी झर्को मानेर मलाई चूप लाग्न लाउँथे । उनलाई गणित मन पर्थ्यो, व्याकरण मन पर्थ्यो अनि गद्यात्मक कथा । … दाज्यू तालिमे आमा-दिदीहरूसित कथा सुन्दथे, म नाटकका गीत सुन्दथेँ ।’

बालकृष्णका शब्दमा पुष्करशमशेर लय हालेर रामायण बाच्तथे तर त्यस कहिल्यै श्लोक बनाउने चेष्टासम्म पनि गरर्दैनथे । तर भाइलाई उपहार दिन जीवनमा उनले ऋतुविचार नामक एक श्लोक रचना गरेका थिए रे १९७३ मा । दाजुलाई पाएको लाडप्यार देखेर बालकृष्ण विष्णुको तस्बिरमन्तिर हात जोडी प्रार्थना गर्थे रे, ‘हे ईश्वर म पनि रोगी होऊँ, प्यार पाऊँ, धेरै खेल्ने कुरा पाऊँ ।’

बाजेबज्यैले बालकृष्णलाई ‘आचि’ भन्दा रहेछन् । एक दिन पण्डित, मास्टर र चित्रकारसँग भने रे, ‘आचिभन्दा ज्ञानु (पुष्करको बोलाउने नाम) लाई (नम्बर) कम नपार्नू, फेरि ऊ भाइभन्दा चुत्थो भएँ भनेर दिक्क मान्ला ।’

पुष्करका दाजुभाइलाई डम्बर निवास दरबारभित्रै नेपाली र संस्कृत तिलमाधव देवकोटा (महाकवि देवकोटाका पिता) र भजनलालले अंग्रेजी पढाए । पुष्कर १२ वर्षको उमेरमा दरबार हाइस्कुलमा सात कक्षामा भर्ना भए । १९७७ मा फस्टक्लास उत्तीर्ण गरेपछि भारतको कोलकाता गएर एसएलसी गरे र त्रिचन्द्र कलेजबाट इन्टरमिडियट गरे । मिर्गौलाको शूलका कारण उनले पटना विश्वविद्यालयको परीक्षा दिन पाएनन् ।

भनिन्छ, स्वाध्यायबाटै विद्वता हासिल गरेका पुष्कर नेपाली, नेवारी, बंगाली, हिन्दी र अंग्रेजी भाषामा निपुण थिए । अंग्रेजी शुद्ध उच्चारण गर्न उनले बेलायतबाट क्यासेट चक्का र पुस्तक झिकाएका थिए अरे ।

पुष्करका दाजुभाइ कस्ता थिए रे भने भात खाँदाखाँदै बीच्चमै ‘आयो, आयो’ भनेर लेख्न जान्थे रे । पहिले त भान्से बाहुन बाघसाघ आयो कि भनेर डराउँथे रे । वास्तवमा उनीहरू आफूलाई साहित्य वा अरु कुनै सिर्जनशील कुरा फुरेकाले भान्सा छाडेर जाँदा रहेछन् ।

राणा खलकमा जन्मँदै जर्नेल हुनु स्वाभाविकै हो । उनी व्याइते पट्टिका सन्तान नभएकाले मेजर कप्तानसम्म मात्र भए । चाकरीमा दिनहुँ नजाने भएकाले सेनामा भाइ बालकृष्णभन्दा एक वर्षपछि पदोन्नति भएको थियो अरे । उनी अरु राणाजीभन्दा एमए गरेका मृगेन्द्रशमशेर, बेलायतबाट पुस्तक  झिकाएर पढ्ने केसरशमशेरकहाँ जान्थे अरे ।  शारीरिक रुपले कमजोर र बदलिँदो परिस्थिति अनुसार तालिम लिन कठिन भएकाले उनले २००७ पहिले नै सेनाबाट अवकाश लिए ।

 

दोहोरो दाम्पत्य

राणा परिवारमा जन्मिए पनि पुष्कर खासमा धार्मिक व्यक्ति थिए । सानै उमेरदेखि सात्विक जीवन बिताएका उनी शारीरिक क्रियाकलापभन्दा बौद्धिक वृत्तिमा लागे । र, धर्म, दर्शन, कानुन, समाज, भाषा र व्याकरणका ज्ञाता । सितिमिती तर्कमा उनलाई हराउन सकिँदैनथ्यो । जस्तै विपद् पर्दा पनि आफ्नो अडान नछाड्ने, कमै व्यक्तिसित घुलमिल गर्ने र अत्यन्त थोरै बोल्ने उनको स्वभाव थियो ।

पुष्कर १६ वर्ष पुगेपछि गुल्मीको शाहवंशकी भित्रिया कन्या यूँकुमारी देवीको डोला झिकाइयो । १९७४ मा विवाह गर्दा उनका बाजेले ४० हजार खर्च गरेका थिए अरे । दुई दिनका लागि चन्द्रशमशेरको कल्कीसहित मोती र पन्नाको पगरी लगाएर धुमधाम जर्नेली घुमाए रे । तर विवाह गरेको १० वर्षमै एउटै दरबारमा उनीहरू अलगअलग बसे ।

पुष्करले पूर्वी पहाडकी एक कन्या वैजनी देवीसित बिहे गर्न खर्चपर्च माग्दा नदिएपछि पितासँग उनको मनमुटाव भयो । तर उनले मनपरेकी कन्यालाई घर भित्र्याएरै छाडे । यसरी पुष्करशमशेरका दुई पत्नी देखिन्छन्, विवाहिता र अविवाहिता । अविवाहिता पत्नीबाट छोरी दुर्गेशकुमारी र छोरा मक्करशमशेरको जायजन्म भयो ।

बाजे डम्बरशमशेरले एक लाख रुपियाँ नगदको जिउनी राखिदिएकाले उनले विवाहिता पत्नी यूँकुमारीसित पनि हिमचिम बढाए र भास्करशमशेर र यशस्कृतमशेर अनि जिपकुमारीको जायजन्म भयो । यसरी पुष्करशमशेर तीन छोरा र दुई छोरीका पिता भए ।

 

सय वर्षमा स्मृतिग्रन्थ

पुष्करशमशेरको देहान्तको ५० वर्षपछि स्मृतिग्रन्थ निस्कियो, २०५८ सालमा । शतवार्षिकीका सन्दर्भमा निकालिएको स्मृतिग्रन्थले नेपाली वाङ्मयमा पुष्करशमशेरका कथाकार, एकांकीकार, कोशकार, कट्टर वैयाकरण आदि थुप्रै परिचय दिएको छ ।

नेपाली कोश र भाषाव्याकरण निर्माणको थालनी कर्कप्याट्रिक, एटन, टर्नबुल आदि विदेशीले गरे । त्यसलाई पल्लवित र पुष्पित गरी मानक सत्ता कायम गरे, जयपृथ्वीबहादुर सिंह, पुष्करशमशेर, हेमराज शर्मा, राममणि आदी, सोमनाथ सिग्द्याल, गोपाल पाण्डे असीम, बालचन्द्र शर्माले ।

१९९९ मा ‘नेपाली भाषा कसरी शुद्ध लेख्ने’ (नेकशुले) को नेतृत्वकर्ता पनि पुष्करशमशेर नै देखिन्छन् । उनको साथमा थिए, चक्रपाणि चालिसे, बोधविक्रम अधिकारीहरू । आजको नेपाली बृहत् शब्दकोशको निर्माणको श्रीगणेश पनि उनैले गरेका थिए ।

‘नेपाली भाषामा उच्चारण’ (नेपाली शिक्षा पत्रिका, २००८) नामको एउटा मात्र लेख पढ्दा पनि उनको भाषिक चेतना उच्च लाग्छ । उनी के भन्छन् भने ‘हाम्रो भाषाको कोशमा  अंग्रेजी, फ्रेन्चमा जत्तिकै आवश्यक नभए पनि पदको उच्चारण केही मात्रामा दिनु आवश्यक छ’ ।

जगजाहेर छ, १९९४ मा पुष्करशमशेरको नेतृत्वमा नेपाल भाषानुवाद परिषद्को स्थापना भएको थियो । नेपाली शिक्षाको २४ पाठ्यक्रम उत्पादन उसैले गर्यो । पुष्करशमशेर साइकल चढेर भाषानुवाद परिषद् जान्थे । दिनभर भाषा शुद्ध्याइँ र कोश लेखनमा बित्थ्यो ।

भाषानुवादको जगको रुपमा उनले १९९३ मा ‘अंग्रेजी-नेपाली शब्दकोश’ को पहिलो भाग निकाले एदेखि एमसम्म । १९९५ मा त्यसको दोस्रो भाग आयो, एनदेखि जेडसम्म । २२१३ पृष्ठको वृहत् कायामा रहेको पहिलो द्विभाषिक शब्दकोश त्यही थियो । त्यसैगरी उनले लेखे, ‘नेपाली उखान र टुक्काको वर्णक्रमानुसारी सूची र वाक्यांश÷वाक्यपद्धति इत्यादिको कोष’ (१९९८) । सुरुमा यो संग्रह गर्न थालेका रहेछन्, अर्जुनशमशेर जबराले । उनले आफ्नो संग्रह मात्र पुष्करलाई दिएनन्, छाप्ने खर्चसमेत बुझाए । हाम्रा लागि पुष्करशमशेर अंग्रेजी भाषाको सांस्कारिक वृद्धि गर्ने डा स्याम्युएल जोन्सन समतुल्य छन् ।

सत्यमोहन जोशीको संस्मरण अनुसार त्रिचन्द्र क्याम्पसकै विज्ञान ‘ब्लकको नयाँ भवनमा थियो, भाषानुवाद परिषद्को कार्यालय । परिषद्को काम थियो, टेक्स्ट् बुक लेख्ने । त्यसमा पुष्करशमशेरपछि महाकवि लक्ष्मीप्रसाद देवकोटा, पण्डित बदरीनाथ भट्टराई, माधवप्रसाद घिमिरे, श्यामदास वैष्णव आदि काम गर्थे ।

वनारसबाट आचार्य गरी आएपछि १९९७ मा भाषानुवाद परिषद्मै ग्रन्थ बनाउने जागिर पाएका नयराज पन्तले नेपाली बगलीकोशको निर्माणमा पनि पुष्करसहित चक्रपाणि र खड्गमानसिंह लागेका उल्लेख गरेका छन् । त्यतिबेला नयराजले भाषानुवाद परिषद्मा महिनाको ५० रुपियाँ पाउँथे । त्यही बेला उनलाई रानीपोखरी संस्कृत पाठशालामा पण्डितको काम मिल्यो । पुष्करशमशेरले पाठशालामा पाउने सुविधा यहीँ मिलाइदिन्छु भन्दाभन्दै पनि मातामहको आदेशका कारण छाड्नुपर्यो ।

२००६ को दिन सरस्वती सदनमा एक दिन पुष्करले सोधे अरे, ‘तिमी हिजोआज के लेख्न लागेका छौ ?’

नयराज-  प्रकाश गर्न पाइँदैन, लेखेर मात्र के गर्नु ?

पुष्कर-  मालिकको चाकरी नगरी हाम्रो व्यवहार चल्दैन । हाम्रा मालिकलाई लेखेको मन पर्दैन । अब नेपाली भाषा अड्ने छाँट छैन । भाइको अदम्य उत्साह हुनाले उनी त अझ काम गर्दैछन् । मैले त कलम भाँचिदिएँ ।

यसको पृष्ठभूमिमा के छ भने नयराज पन्तको नेपाली भाषा प्रकाशिनी समितिबाट चार वटा किताब छापिने भएछन् । बालकृष्णले ‘प्रत्येक किताबको ६० रुपियाँको हिसाबले २ सय ६० रुपियाँ रोयल्टी लिएर जाऊ’ भनेछन् । तर किताब नछापिएसम्म रोयल्टी नलिने अडान राखे नयराजले । बालकृष्ण झोक्किएछन्, ‘तिमीले यसै भन्या हो त ?’ दुईचारचोटि दोहोर्याएछन् । अनुग्रह नस्विकारेपछि राणाकालभरि नयराजका कुनै किताब छापिदिनन् बालकृष्णले । पछि तीनवटा पाण्डुलिपि समितिमै भेटिए । एउटा फेलै परेन ।

बालकृष्णसित मतभेद भए पनि पुष्करशमशेरसँग उनको अटुट सम्बन्ध रह्यो । त्यसैले परिषद् छाडे पनि अनूदित उपन्यास ‘शी’ को संशोधनमा पुष्करकै घर गई डेढ महिनामा काम सकेको उल्लेख गरेका छन् । ‘इतिहास–संशोधनको प्रमाण प्रमेय ‘पहिलो भाग (२०१९) को उपोद्घातमा नयराजले लेखेका छन्, ‘पुष्करशमशेरज्यूको अंग्रेजी ज्ञान त मेरो लेखा अगाधै थियो । ठेट नेपाली शब्द पनि मलाई भन्दा पुष्करशमशेरज्यूलाई बढ्दा आउँथे । यस कारण सो कामबाट मेरो अध्ययनमा केही लाभै भएको मैले सम्झेँ ।’

पुष्करशमशेरले हेनरी राइडर ह्यगर्डको ‘शी’ उपन्यासको अनुवाद गरेका थिए, १९९८ मा । सन् १८८७ मा आएको ४४ वर्षपछि नेपालीमा अनुवाद भएको त्यो उपन्यास तिलस्मी खालको छ । उनले सेक्सपियरकृत नाटक ‘ओथेलो’ को पनि अनुवाद गरे । तर उनले त्यो अनुवाद गर्दा ब्ल्यांक भर्स (अनुष्टुप छन्द) शैलीमा ध्यान नदिएको समालोचकहरूले टिप्पणी गरेका छन् । त्यसको प्रकाशन भने २०१८ सालमा मात्रै भयो ।

उनले ‘टेस’ नामक उपन्यास (१९९८) पनि अनुवाद गरेका रहेछन् । त्यो नेपाल म्युजियमको ग्रन्थमालामा भेटिएको छ । अनुवादमा उनी सकेसम्म कुनै पद नछोडीकन नेपाली लेखन शैली दिने कोसिस गर्छन् ।

खासमा जुद्धशमशेरको निगाहमा एकसाथ खुलेका थिए, भाषानुवाद परिषद र नेपाली भाषा प्रकाशिनी समिति । भाषानुवाद परिषद्को जिम्मा दाजुले पाए भने प्रकाशिनी समिति भाइ बालकृष्णले । २००८ देखि २०१८ सम्म समितिको अध्यक्ष भए पुष्कर । त्यही समिति साझा प्रकाशन (२०२१) को पूर्वरुप हो । पुष्करले गोरखापत्रको उपनिर्देशक, नेपाली शिक्षा परिषद् (२००८) को पनि परामर्शदाता, २०१२ मा अग्रगामी साहित्य मण्डलको संस्थापक अध्यक्ष भएर काम गरे ।

 

देवकोटा भर्सेस पुष्करशमशेर

महाकवि लक्ष्मीप्रसाद देवकोटाको आशुलेखन कस्तो भने शाकुन्तल महाकाव्य तीन महिनामा लेखिसिध्याए, २००२ सालमा । तर महाकाव्यको छन्द पुष्करले रुचाएनन् । पूर्व सहमतिअनुसार वार्णिक छन्दमै हुनुपर्ने जिकिर थियो उनको । देवकोटाले वार्णिक र मात्रिक छन्दलाई मिलाएर महाकाव्य रचना गरेका थिए ।

देवकोटा-  कविले स्वतन्त्र भएर लेख्न किन नपाउनु ?

पुष्कर-  किन नपाउनु ?

देवकोटा-  ‘त मैले पनि यो स्वतन्त्रतापूर्वक लेखेँ । त मैले लेखेको यो किन स्वीकार भएन त ?

पुष्कर-  त्यसो त कवितालाई कविता लेख्नमा स्वतन्त्रता छ भने स्वीकार गर्नेलाई पनि त स्वीकृति दिन र नदिन उत्तिकै स्वतन्त्रता चाहिएला । यो आफ्नो निम्ति लेखिएको भए त्यसमा मलाई केही थिएन । तर यो भाषानुवाद परिषद्का निम्ति लेखिन लागेको महाकाव्य हो । यसमा मैले चाहेजस्तै शैलीमा लेखिनुपर्दछ । यसै निम्ति जागिर दिइएको छ ।

चुपचाप सुनिरहेका थिए भाइ बालकृष्ण । पुष्करशमशेरले गुहारे, ‘भाइ, तिमी नै हेर, सुन–

सुतट मट्टि मन्द्रिलो स्निग्ध गोवरी,

उफर सानु शावके सानु स्वर्ग छ ।

सुन्यौ ? यो कुन दिशाको नेपाली भाषा हो ? यस्तो भाषामा शाकुन्तल महाकाव्य लेख्ने रे । कसको निम्ति ?’

त्यहाँ खड्गमान मल्ल, सागरमणि आदी, श्यामदास वैष्णव, बाबुराम आचार्य, देववीर पाँडे, पूर्णमान श्रेष्ठहरू केही बोलेनन् । देवकोटाले भने, ‘मेरा अभिव्यक्तिको निमित्त भाषा पर्याप्त छैन । म पुरानैमा जमिरहन चाहन्नँ । म नयाँनयाँ सृष्टि गर्न चाहन्छु । ‘मान्द्रोले बेह्रेको नभनेर मैले मान्द्रिले भनेँ । सूत्र रुपमा गोवरी भनेँ, साना शावकहरू उफ्रेको यस्तो भएको, यस्ता कोको फूलको केसर कति राम्रो छ, यही कोकोमा हाम्रो भाषाको सौन्दर्य छ ।’

दुई दिनपछि देवकोटाले बालकृष्णको नेपाली भाषा प्रकाशिनी समितिमा पुगेर भने, ‘मलाई त यहाँ बस्न मन लागेन । कविहृदय नभएको एक भाषाशास्त्री वैयाकरण मेरो हार्दिक वेदना के बुझ्दछ ? त्यस्ताको अधीनमा म कसरी महाकाव्य लेख्न सकूँला ? के व्याकरण कविताको जडकबन्धी नेल–हतकडी लागेको हातबाट यो सम्भव छ ?’ बालकृष्णले भने, ‘सर्वसाधारणको निमित्त त के सम्भव होला ? तर मुनामदनका जन्मदाता प्रतिभाशाली लक्ष्मीप्रसाद देवकोटाको निमित्त सम्भवमात्र होइन, सामान्य छ । कहिलेकहिले श्राप नै वरदान हुन्छ, अनुकूल बन्धनले आलस्यबाट मोक्ष दिलाउँछ । यो दाइ पुष्करबाट आएका पराधीनता मलाई त अनुकूल लागेको छ, मलाई त ठूलो आशा लागेको छ ।’

त्यो विवाद शिक्षा विभागका डाइरेक्टर शारदाशमशेरसम्म पुग्यो र टुंगो लाग्यो, ‘लेखकले लेखेपछि लेख्यो, लेख्यो ।’ पुष्करले देवकोटासित हात मिलाए, ‘मैले होच्याउने हिसाबले बाजे भनेको होइन । ब्लड प्रेसरको बिरामी छु । त्यसैको कारण निस्कियो होला ।’

देवकोटा पुनः जागिरमा फर्किए र पुष्करशमशेरसँग अर्को महाकाव्य लेख्न अनुमति मागे । र, पुष्करले ३० दिनभित्र महाकाव्य लेखेर देखाउन चुनौती दिए । देवकोटाले त १० दिनभित्रै ‘सुलोचना’ महाकाव्य लेखिदिए । र, त्यसका दुईमध्ये एउटा पात्र पुष्करलाई नै बनाएका छन् । ‘कुञ्जिनी’ खण्डकाव्य एकदिनमै लेखिभ्याए ।

 

महाकवि देवकोटाले सुलोचना महाकाव्यको न्वारानस्वरुप भाषानुवाद परिषद्का अध्यक्ष पुष्करको हातमा राखिदिए । पुष्करले त्यसको भूमिकामा लेखेका छन्, ‘दसै दिनमा यत्रो महाकाव्य लेखिसकेर कवि लक्ष्मीप्रसादले नेपाली भाषा प्रकाशिनी समिति र भाषानुवाद परिषद्लाई चकित पारेका छन् ।’

 

अक्सफोर्ड डिक्सनेरीका दोषदर्शक

बेलायतको लन्डन विश्वविद्यालयका स्कुल अफ ओरिएन्टल एन्ड अफिकन स्टडिजका प्राध्यापक टमस वेलवोर्न क्लार्क २००९ सालमा नेपाल आउँदा उनका प्रमुख सहयोगी थिए पुष्कर नै । उनकै सहायतामा क्लार्कले ‘एन इन्ट्रोडक्सन टु नेपाली’ लेखे । विदेशीलाई नेपाली भाषा सिक्ने सजिलो हुने गरी बोलचालका आठ सय शब्दको त्यो पाठ्यपुस्तक क्याम्ब्रिज युनिभर्सिटी प्रेसले सन् १९६३ मा छापेको थियो ।

त्यही मनमाफिक सहयोगका कारण क्लार्कले नै उनलाई बेलायत भ्रमणको निम्तो दिए । उनी सन् १९५२ सेप्टेम्बर १९ मा लन्डन गए । त्यहाँ बस्दा उनले भाइलाई सम्बोधन गरेर ‘हाउस अफ कमन्स’ मा चर्चिल र मरिसनको बहस सुनेको उल्लेख गरेका छन् ।

त्यहाँ रहँदाबस्दा पुष्करले अक्सफोर्ड विश्वविद्यालयद्वारा प्रकाशित ‘द न्यू अक्सफोर्ड डिक्सनेरी’ मा मूलगत र मौलिक १ सय २५ शब्दमा त्रुटि फेला पारे । अक्सफोर्ड विश्वविद्यालयले त्रुटि स्वीकारी अर्को संस्करणमा सच्चाइने वचन त दियो । तर पुष्करलाई त्यसको श्रेय दिएन । किनभने उनी अंग्रेज थिएनन् । पारिश्रमिक दिएर टार्न खोजे पनि उनले त्यो स्वीकार गरेनन् ।

यिनी पहिलो व्याकरणज्ञाता, सर्वकालिक कथाकार पुष्करलाई मृत्युशैयामा भेटेका रहेछन्, आनन्ददेव भट्टले । उनले भेट्दा पुष्करशमशेर आफैँ बोल्न सक्ने हालतमा थिएनन् । राणा खानदान भएर के गर्नु ? उनको परिवार नियमित सामान्य औषधि गर्न पनि नसक्ने हालतमा थियो ।

नेपाली भाषा प्रकाशिनी समितिले महिनौँसम्म तलब दिएको थिएन । त्यतिन्जेल कोही सरकारी मान्छे पुष्करलाई भेट्नसम्म गएका थिएनन् । पुष्करपत्नी यूँकुमारीदेवी भट्टलाई सुनाउँछिन्, ‘सबैभन्दा बढिया त फलफूल हो तर नेपालको फलफूल त्यस्तो महँगो छोइसक्नु छैन ।’

भट्टले नेपाली साहित्य र इतिहासका मूर्धन्य साधक बाबुराम आचार्य, हृदयचन्द्रसिंह प्रधान, पुष्करशमशेर, यदुनाथ खनाल, कविशिरोमणि लेखनाथ पौड्याल र लक्ष्मीप्रसाद देवकोटाको संघर्षपूर्ण जीवन र चाखलाग्दा घटना समेटेर ‘हाम्रा प्रतिभाहरू’ (२०१९) लेखेका छन् । लेखेका छन्, ‘अहिले हामी धेरैजसो अरुलाई, कस्तै महान् भए पनि, स्वीकार नगर्न खोज्ने ठेट्ना मकैजस्ता भएकाले पनि मलाई लाग्यो, उहाँहरूको सक्दो सम्मान र तारिफ गरुँ, श्रद्धाको शिर निहुराऊँ ।’

भाषाका अनन्य सेवक पुष्करशमशेरको स्वास्थ्य लन्डनबाट फर्केपछि क्षीण भइसकेको थियो । पक्षघात, सुगर र ब्लड प्रेसरले उनी १८ महिना थला परे । उनलाई अन्तिम अवस्थामा सरकारले पाँच हजार सहयोग गरेको थियो । २०१८ वैशाख १० गते काठमाडौँमा उनको ६० वर्षे अल्पायुमै निधन भयो ।

विद्वान्हरू के भन्छन् भने इतिहासको पृष्ठभूमिमा समाजको दृश्य हुन्छ, त्यसै दृश्यबाट वास्तविक इतिहासबोध हुन्छ । उनले दीर्घायु पाएनन् तर उनको सुकर्म दीर्घजीवी छ । उनले जीवनमा जम्मा एउटा एकांकी लेखेका छन्, ‘लक्ष्यहीन’ (१९९९) । त्यसमा पनि उनको विधोचित कौशल देखिएको छ ।

पुष्करशमशेरको समयमा २० वटा मात्र कानुन थिए नेपालमा । उनले भारदारी सभाको सदस्य (न्यायाधीश) नियुक्ति पाए । मुद्दा हेर्नु र न्याय दिनु उनको प्रमुख काम हुन्थ्यो । पुष्कर तर्कशील, निष्पक्ष र निर्विवाद थिए । कम बोल्थे र लेखन क्षमता विशिष्ट थियो ।

पुष्करशमशेर विनयी पनि रहेछन् । एक साँझ उनी सिफलबाट ज्ञानेश्वर फिर्दै रहेछन् । बाटोमै साइकलबत्तीको तेल सकिएछ । घर आइहाल्यो भनी हिँडिरहेका उनलाई रोकेर पुलिसले केरकार गरेछ । नियमअनुसार उनले बत्ती बालेर साइकल चढ्नुपर्थ्यो । त्यतिबेला साइकलमा हावा नलाग्ने तरिकाबाट मट्टीतेल हालेर टुकीजस्तो बालेर साइकल चलाउनुपर्थ्यो । उनले साइकल पुलिसलाई जिम्मा लगाएर भनेछन्, ‘गल्ती मेरै हो । जरिवाना तिरेर भोलि लिऊँला ।’ टोले युवाहरूको दबाबमा उनी छुटेछन् ।