कविता निश्चय नै अन्य विधाभन्दा बढी संवेदनशील विधा हो । जसमा सामाजिक, राजनीतिक विकृति तथा प्रेम-घृणाका पक्षाहरूलाई सूक्ष्मतासाथ शब्दमा उन्ने गरिन्छ । त्यसैले नै कविता लोकप्रियताको शिखर छुने गर्दछ । यसै सन्दर्भमा हामीले समकालीन कविका कविता र विचारलाई ‘कविता/सोच’का रूपमा प्रस्तुत गरेका छौँ ।

यस अभियानले नितान्त पृथक् परिचय स्थापना गर्ने चेष्टा गरेको छ र यो यस मानेमा कि कविका काव्य-मान्यतालाई पनि यहाँ प्रस्तुत गरिएको छ । यहाँ सोचको शाब्दिक अर्थ कविको चिन्तन वा विचारका रूपमा रहेको छ । वर्तमान पुस्ताका चर्चित कविहरूका वकिता स्वयं पनि ‘सोच’को परिभाषा दिन सक्षम छन् भने कविता तथा सोचलाई एकै ठाउँमा प्रस्तुत गरिँदा यसमा नौलोपन थपिन गएको छ । यसै कारण यस प्रकाशनले नेपाली कविता जगत्मा निजत्व बोकेको छ । नेपाली कविताका अध्येता तथा पाठकका निम्ति यो पुस्तक अवस्था पनि सहयोगी बन्नेछ भन्ने हामीले विश्वास गरेका छौँ । साथै, यसको स्वागत तमाम पाठक वर्गले गर्ने नै छन् भन्ने कुरामा हामी आशावादी छौँ ।

राजेन्द्र पराजुली

 

कविताहरू नै मेरा कामरेडहरू हुन्

विमल निभा

विमल निभा

काव्य लेखनसम्बन्धी कुनै चमत्कारी सोच मसँग छैन । मेरा लागि कविता सामान्यजनसँग प्रत्यक्ष सरोकार राख्ने सशक्त एक माध्यम हो । र, यो मलाई अत्यधिक प्रिय पनि छ । जसद्वारा म जीवनको कठोर यथार्थसँग साक्षात्कार गर्छु । अर्थात्, यसको चित्कार, क्रोध, करूणा, सौन्दर्य, प्रयत्न, प्रेम र उष्मासँग सम्बद्ध हुन्छु । पीडामा छटपटाउँछु । लडाईंमा अघि बढ्छु । र, बलिदानमा साथ दिन्छु । यसरी मेरो भाषाले आकार प्राप्त गर्दछ । र, एउटा कविताको निर्माण हुन्छ ।

मेरो कवितालाई थाहा छ, म जमिनको कतातिर उभिएको छु । यस अर्थमा मेरा काव्य चिन्तनहरू पक्षधर छन् । किनभने म आफ्नो पक्षको चयन गर्न स्वतन्त्र छु । सरल शब्दमा भन्ने हो भने कवितामा म मार्क्सवादी विचारधाराको समीप छु । यही चेतनाको ऊर्जाले मलाई मानवीय संवेदनाको गहिराईमा पुर्याउँछ । मनुष्यहरूका जुझारू इतिहासको गरिमाबाट अभिभूत छन्, मेरा तमाम् बिम्ब र प्रतीकहरू । मलाई जनद्रोहीहरूका लागि शब्द-व्यय गर्नु रचनात्मक अपराध लाग्छ । यसले कविताको प्रतिष्ठालाई अपहरण गर्छ । र, राजनीतिको जनवादी युद्धबाट कविलाई टाढा पुर्याउँछ । मेरो कवि यसको सम्पूर्ण विरोधमा छ । म कविता र जीवन- दुवै मोर्चामा आन्दोलनरत रहन चाहन्छु ।

संक्षेपमा कविता कुनै अलौकिक अथवा इन्द्रजालीक वस्तु होइन । यो कविको सामाजिक कर्मको कलात्मक दस्तावेज हो । जसरी मजदुरहरू घन उठाउँछन्, सिपाहीहरू मोर्चामा हतियार र कृषकहरू हलो जोत्छन्, त्यसरी नै कविहरू कविता लेख्छन् । यसलाई जीवन र जगत्बाट पृथक् एवं अद्भूत प्रदर्शन गर्न खोज्नु एक प्रकारको विशिष्ट षडयन्त्र हो । तसर्थ साधारण जनताहरूको जीजिविषा र संघर्षसँग एक्यबद्ध हुने सिलसिलामा म काव्यात्मक आचरणको पालना गर्छु, अर्थात् कविता कोर्छु । कविताहरू नै मेरा कामरेडहरू हुन् । म कविताद्वारा यो पृथ्वीलाई सुन्दर बनाउने आफ्नो हिस्साको अभियानमा जुटेको छु ।

 

मेरो कविता परवाह गर्दैन तिम्रो

विमल निभा

कुनै पनि बेला
ममाथि राजद्रोहको मुद्दा चल्न सक्छ
काला गँडेउलाहरू पिछा गरिरहेछन् मेरो

अन्तर्राष्ट्रिय कालाबजारीको
कुहिएको आलु
र प्रधानमन्त्रीको ताजा भाषण
दुवैलाई एकसाथ
टुँडिखेलको खुला चउरमा उभिएर
सयौँ लेखक-कलाकारहरूले
अस्वीकार र बहिष्कार गरिदिए
यो इलाकाको भ्रष्ट थानेदार
के सोचिरहेछ
मलाई थाहा छ
ऊ कुनै निर्दोष कविलाई
झूटो वारदातमा फँसाउन चाहन्छ

म जुन झोलुङ्गे पुलबाट
सधैँ गुज्रन्छु
त्यो यति जोडजोडले हल्लन्छ कि
सतर्क हुन्छन्
वरिपरिका श्वेत परिधानधारी
भद्र बकुल्लाहरू
र शंकाको दृष्टिले हेर्न थाल्छन् मलाई
त्यस बखत म मनमनै गुन्गुनाइरहेको हुन्छु
कविताको कुनै पंक्ति

असन टोलको नामूद दादा
शासनका प्रतिष्ठित सल्लाहकारहरू
र काँढाजस्तो रौँ भएका
झुसिल्कीराहरू
यो वर्षको अन्तिम समयमा
अति दुःखित छन्
किनभने अचेलका युवा कलाकारहरू
शिर ठाडो पारेर हिँड्छन्
र दोब्रिएर नमस्कार पनि गर्दैनन्
हे भगवान्
के भएको छ सांस्कृतिक क्षेत्रको
नयाँ पुस्तालाई

म चिल्लो कारभन्दा अगावै
पुग्न चाहन्छु गन्तव्यस्थल
भन्नेले भनोस्
असामान्य गतिमा हिँड्छ यो
म भोकलाई चेक झैँ क्यास गर्न सक्दिनँ
तसर्थ टन्न भरिएको भकारीलाई
सहज घृणा गर्ने अधिकार छ
मेरो कलमलाई
म पाखण्डी गमलालाई
भरी बजारमा फुटालिदिन्छु
र विषाक्त फूलहरूलाई
धुजा-धुजा पारेर च्यात्छु
ताराहरू नभएको आकाशको
कुनै अर्थ छैन मेरोलागि
फलामको प्वाँख भएका
गिद्दहरू हो
मेरो कविता अस्वीकार गर्छ
तिमीहरूको नियम, कानुन र शिष्टाचार

शहीदहरूले आफ्नो रगतको
वसीहत गरेर गएका छन्
कुनै पनि देशद्रोहीको नाउँमा
एक थोपा पनि छैन
यो कसरी भयो
बर्बर तानाशाहका दलाल,
छद्म बुद्धिजीवीहरू र चाकर मनीषीहरू
आश्चर्यचकित छन्
र झूटको ढकले तौलन खोज्दैछन्
भाषाको श्वास प्रश्वास
छाला र धमनी भित्रको गति
तर यो निश्चित छ
अब दुष्टहरूका साहित्यसभामा
कसैले पनि पठाउने छैन
एउटा पनि शब्द
बिक्रीमा छैन कविता

एक दिन
भयानक हुरी चलिरहेको बखत
म शान्त उभिएको थिएँ
सिंहदरबार अघिको सडकमा
मेरो व्यवहार
अत्यन्त विध्वंसक लागेछ
पृथ्वीनारायण शाहको सालिकलाई
उतिखेरै राजज्योतिषीले
पात्रो पल्टाएर
भविष्यवाणी गर्यो
छिट्टै मर्नेछ
यो अभागी र बेवकुफ लेखनदास
कुनै भविष्य छैन यसको

कुन लेखक जुलुसमा
कति पटक हिँड्छ
र कस्ता-कस्ता नाराहरू घन्काउँछन् यिनीहरू
यहाँका तमाम् शब्दकर्मीहरूले
एकसाथ कराउँदा
कति थर्कन्छ धरहराको गुम्बज
यसको तथ्याङ्क राख्ने
गुप्त फाइलका निर्माताहरू
टिप्पणी लेख्छन्
खतरनाक मान्छे हो यो
खाली कागजमा के के लेखिरहन्छ
र, कहिलेकाहीँ बीच सडकमा उभिएर
भद्दा तरिकाले सोचिरहन्छ
कवि हो यो

सरकारी गुन्डाहरू मलाई हेरेर
एकआपसमा स्पष्ट अस्पष्ट
संकेत साटासाट गर्छन्
र अन्तमा ओठ तेर्सो पारेर
विशेष प्रकारले
मुस्कुराउने गर्छन्
हुनसक्छ सत्ताको प्रिय हत्याराले
मेरो नामको गोली
भरिसकेको छ रिवालभरको चेम्बरमा
तर भय छैन मलाई
मेरो कविता परवाह गर्दैन तिम्रो
ओ शवका व्यापारीहरू
म त्यस्तो व्यक्ति होइन
जस्तो तिमीहरूको संविधानमा
वर्णन गरिएको छ

०००

समकालीन कविहरूको विचार र कविताको प्रतिनिधित्व गर्ने संकलन हो- कविता/सोच। हुन त कविताका थुप्रै संकलनहरू निक्लेका छन् र त्यसरी नै बिलाएका पनि छन् । दरिलो नभएपछि दिगो नरहनु स्वाभाविक हो । त्यसमाथि पनि कविहरूकत्र काव्य मान्यतासम्बन्धी निजी धारणा संकलनका पुस्तक त प्रकाशित भएकै छैनन् भने पनि हुनछ । आफ्ना रचनाका सम्बन्धमा कविको सोच त्यसै पनि महत्त्वपूर्ण हुन्छ । कवितासँगै धारणा भनौँ वा धारणासँगै कविता भनौँ, यस प्रकारको संकलन त आजसम्म नेपाली कविता साहित्यमा यसरी प्रकािशत भएको नदेखिएकोले प्रस्तुत संकलनलाई एउटा नौलो प्रस्तुति भन्दा फरक पर्ने छैन । आजका कविहरूका रचना र मान्यता केकस्ता छन्, त्यससम्बन्धी अध्ययन र जानकारी राखन चाहने जोसुकैका लागि पनि यो संकलन ऐतिहासिक महत्त्वको दस्तावेज हुनेछ । ‘प्रतिनिधित्व’ भन्ने शब्दले संख्यालाई होइन कि श्रेष्ठतालाई बुझाउँछ । यसो भन्नु थोरै राम्रा कवि र कविताले धेरै कवि र कविताको नेतृत्व गर्दछ भन्नु हो । र, प्रस्तुत पुस्तकले त्यस्तै अर्थ लगाउन खोजेको पनि हो । यस्तो सजीव र अत्याधुनिक संकलन प्रकाशन गर्न पाएकामा समेटिएका कवि र सम्बन्धित सबैप्रति नेपाल साहित्य गुठी आभार व्यक्त गर्दछ र भोलिका दिनहरूमा पनि यस्तै सहयोग र सद्भावना चाहन्छ ।

२०५० असोज ६

नकुल सिलवाल
संयोजक
नेपाल साहित्य गुठी