(२०५० सालको शुरूवाती समयमा नेपालका समकालीन कवि, तिनका विचार र कविता समेट्ने सोचका साथ एउटा कार्यक्रम आयोजना गरियो । सो कार्यक्रमको उद्देश्य थियो, त्यस बखतका चर्चित कविहरू मञ्चमा उभियून्, कविताबारेका आफ्ना धारणा राखून् र त्यस बेलाको आफ्नो उत्कृष्ट वा आफूलाई उत्कृष्ट लागेका कविता वाचन गरून् ।

यसका लागि केही कविहरू छानिए, तिनका विचार सुनियो र कविता वाचन पनि भयो । कार्यक्रम सकिएपछि त्यो त्यत्तिकै नहराओस् भनी किताबी रूप दिइयो । कार्यक्रमका संयोजक राजेन्द्र पराजुली कविता/सोचका सम्पादक भए र तयार भयाे, कविता/सोचः समकालीन नेपाली कवि, विचार र कविता । नेपाल साहित्य गुठीकाे स्थापना साहित्यको उन्नयनका लागि भएको थियो र यस्ता केही सिर्जनशील कार्य पनि गरेको थियो । तिनै अनेकन् कार्यक्रम वा पुस्तकमध्ये यो पनि एउटा हो ।)

कविता निश्चय नै अन्य विधाभन्दा बढी संवेदनशील विधा हो । जसमा सामाजिक, राजनीतिक विकृति तथा प्रेम-घृणाका पक्षाहरूलाई सूक्ष्मतासाथ शब्दमा उन्ने गरिन्छ । त्यसैले नै कविता लोकप्रियताको शिखर छुने गर्दछ । यसै सन्दर्भमा हामीले समकालीन कविका कविता र विचारलाई ‘कविता/सोच’का रूपमा प्रस्तुत गरेका छौँ ।

यस अभियानले नितान्त पृथक् परिचय स्थापना गर्ने चेष्टा गरेको छ र यो यस मानेमा कि कविका काव्य-मान्यतालाई पनि यहाँ प्रस्तुत गरिएको छ । यहाँ सोचको शाब्दिक अर्थ कविको चिन्तन वा विचारका रूपमा रहेको छ । वर्तमान पुस्ताका चर्चित कविहरूका वकिता स्वयं पनि ‘सोच’को परिभाषा दिन सक्षम छन् भने कविता तथा सोचलाई एकै ठाउँमा प्रस्तुत गरिँदा यसमा नौलोपन थपिन गएको छ । यसै कारण यस प्रकाशनले नेपाली कविता जगत्मा निजत्व बोकेको छ । नेपाली कविताका अध्येता तथा पाठकका निम्ति यो पुस्तक अवस्था पनि सहयोगी बन्नेछ भन्ने हामीले विश्वास गरेका छौँ । साथै, यसको स्वागत तमाम पाठक वर्गले गर्ने नै छन् भन्ने कुरामा हामी आशावादी छौँ ।

राजेन्द्र पराजुली
सम्पादक
कविता/सोच

काव्य गणित वा विज्ञान होइन

प्रमोद प्रधान

प्रमोद प्रधान

नेपाली कविता, अनेकन् काव्य-स्रष्टाहरूको साधना र योगदानबाट अनुप्राणित छ । अहिलेको स्थितिसम्म आइपुग्दा यसले अनेकन् आरोह-अवरोह, वादविवाद साथै विविध विचार, शैली एवं काव्य तत्त्वहरूलाई आफूमा समाहित गर्दै अगाडि बढेको कुरा स्पष्ट नै छ । समकालीन नेपाली कविता त्यही क्रममा अहिले अनेकन् काव्य स्रष्टाहरूको योगदानबाट अगाडि बढिरहेछ ।

मेरो विचारमा, ‘समकालीन’ शब्दले तत्कालीन समयलाई मात्र बोध नगराई वास्तवमा परिवेश, मानव सभ्यताको तत्कालीन अवस्था, सामाजिक, राजनीतिक एवं आर्थिक परिस्थिति, शैली र विचलनलाई पनि आफ्नो गर्भमा समाहित गर्दछ । यस दृष्टिले समकालीन नेपाली कवितालाई तदजन्य स्थितिकै सापेक्षतामा अध्ययन र विश्लेषण गरिनु पर्छ ।

अनेकन् भाषाका काव्य-मनीषी एवं चिन्तकहरूले काव्य र कविताको परिभाषा आ-आफ्नो ढंगले दिएका छन् र यो क्रम अनन्तकालसम्म यथावत् रूपमा रहिरहनेछ । यस्तै स्थितिमा कविता काव्यको एउटै सर्वमान्य एवं सर्वस्वीकृत परिभाषा पाउनु पनि त्यत्तिकै कठिन छ । तथापि मेरो विचारमा काव्य गणित वा विज्ञान होइन, तसर्थ यसको कुनै सूत्र हुँदैन । यो त स्वतन्त्र र विशाल आकाशमा आफ्नो इच्छाले उड्ने ‘चरा’को उडानजस्तो हुन्छ, निर्विहन निष्फिक्री र … । अर्को शब्दमा भन्ने हो भने कुनै निश्चित ‘फ्रेम’लाई दृष्टिगत गरी कविता लेखिने कुरामा मेरो विश्वास छैन । तर यसको अर्थ जे सुकै लेख्दा हुन्छ भन्ने ठानिनु हुँदैन ।

रेखागणितमा दुई सरल रेखाहरूले एकअर्कालाई काटेको बिन्दुमा ‘कोण’को निर्माण भएझैँ जुन बिन्दुमा कविको बुद्धि तत्त्व र हृद्-तत्त्वको मिलन हुन्छ, त्यही स्थितिमा काव्य/कविताको रचना हुनछ, सिर्जना हुन्छ । त्यस रचना वा सिर्जनामा काव्यका तत्त्वहरूलाई कविले आफ्नो इच्छाअनुसार प्रयोग गर्नुपर्छ भन्ने मेरो राय छ ।

म आफ्ना कवितामा ‘विचार’लाई महत्त्व दिन्छु । कुनै एक समीक्षकले भनेका थिए- कविहरूमा ‘शब्द-दरिद्रय’ हुनु हुँदैन । यो कुरा केही हदसम्म ठीक हत्रला तर योभन्दा खतरनाक त ‘विचार-दरिद्रय’ हो । कविता काव्यले पाठकलाई एक ‘विचार’ दिनुपर्छ तर ‘विचार’ ‘वाद’ हुनुहुन्न ।

आफूले भोगेका सत्य र समयलाई आफ्ना कविताका माध्यमबाट अभिव्यक्त गर्ने मेरो प्रयास रहँदै आएको छ । र यो प्रयासलाई निरन्तरता दिनेतर्फ मेरो कटिबद्धता रहनेछ ।

म अर्थात् समय

प्रमोद प्रधान

१.
थाकेर/अलिकति विश्रामपछि
बिसौनीहरूमा/आफूलाई
समयका स्वप्निल
क्षणहरूलाई/हराउँदै
पुनः सडक, फुटपाथ र गल्लीहरूमा
म हराएको मेरो सपना खोजिरहेछु
समय स्वयं हराएको सपना खोजिरहेछ

२.
कोलाहल/
भीड/
रमझम/
मेला… सबै छ
तैपनि, सुनसान/एकलास र शून्यता
आक्रमण गर्छ पलपल
र नितान्त ‘एकाकीपन’लाई
काखीमा वैशाखी च्यापेझैँ च्यापेरै भए पनि
उकुशमुकुश/उदास र
चुपचाप
घस्रिरहेछु म
अर्थात् समय…

३.
सूर्य नमनाबाट प्रारम्भ हुने
दिनचर्या…
कुनै उत्साह दिँदैनन् अब,
दिनहरू-
सापटी मागेका विचार र पराजित स्वरमा अलमलिरहेछन्
रातहरू-
संत्रास, भय र द्विविधा बोकेर घस्रिरहेछन्
तर इतिहास बाटो छेकेर
मसित प्रश्न गरिरहेछ
समय अर्थात् म-
इतिहासको यस घडीमा फेरि
आफूलाई निरूत्तर, अवाक् र उद्दिग्न पाइरहेछु
इतिहासको अगाडि युद्ध अपराधीझैँ म केवल
टाउको निहुराइरहेछु

४.
थुप्रै प्रश्नहरू छन्,
अनेकौँ समस्याहरू छन्,
विविध अवरोधहरू छन्
तर एउटै ‘रेडिमेड’ उत्तर बोकेर कोही
निरन्तर जिस्क्याइरहेछ…
निरन्तर अलमल्याइरहेछ…
आज पनि वेदका ऋचाहरू पुनः दोहोर्याइरहेछन्
आज पनि पुराणका कथाहरू पुनः भनिरहेका छन्
आज पनि स्तोत्रहरू पुनः पाठहरू गरिरहेछन्
म अर्थात् समयले भने
विस्मृतिभित्र हराउने नियति बोकेको छ अझै
अनास्थाभित्र बाँच्नुपर्ने दुर्भाग्य ओढेको छ अझै

५.
व्यक्ति हिंसा होइन, विचार हिंसा बढिरहेको छ
मर्यादा र मानवीय अस्मिता बलात्कृत भइरहेछ
तर,
कुँजी विद्रोह त छातीभरि
रौँ भएर उम्रिएको छ
लङ्गडो आस्था त बाटोभरि
पाइला बनेर छरपस्टिएको छ
लाटो विचार त पानाभरि
स्तुति भएर लेखिएको छ

बूढो खोकी खोक्दै वर्तमान
उत्तानो परेर नाङ्गो सडकमा निस्सासिएको छ
म अर्थात् समय-
आवाजविहीन भएर देवता भएको छ।
म अर्थात् समय-
आवाजविहीन भएर देवता भएको छ।।