२०५० सालको शुरूवाती समयमा नेपालका समकालीन कवि, तिनका विचार र कविता समेट्ने सोचका साथ एउटा कार्यक्रम आयोजना गरियो । सो कार्यक्रमको उद्देश्य थियो, त्यस बखतका चर्चित कविहरू मञ्चमा उभियून्, कविताबारेका आफ्ना धारणा राखून् र त्यस बेलाको आफ्नो उत्कृष्ट वा आफूलाई उत्कृष्ट लागेका कविता वाचन गरून् ।

यसका लागि केही कविहरू छानिए, तिनका विचार सुनियो र कविता वाचन पनि भयो । कार्यक्रम सकिएपछि त्यो त्यत्तिकै नहराओस् भनी किताबी रूप दिइयो । कार्यक्रमका संयोजक राजेन्द्र पराजुली कविता/सोचका सम्पादक भए र तयार भयाे, कविता/सोचः समकालीन नेपाली कवि, विचार र कविता । नेपाल साहित्य गुठीकाे स्थापना साहित्यको उन्नयनका लागि भएको थियो र यस्ता केही सिर्जनशील कार्य पनि गरेको थियो । तिनै अनेकन् कार्यक्रम वा पुस्तकमध्ये यो पनि एउटा हो ।

कविता निश्चय नै अन्य विधाभन्दा बढी संवेदनशील विधा हो । जसमा सामाजिक, राजनीतिक विकृति तथा प्रेम-घृणाका पक्षाहरूलाई सूक्ष्मतासाथ शब्दमा उन्ने गरिन्छ । त्यसैले नै कविता लोकप्रियताको शिखर छुने गर्दछ । यसै सन्दर्भमा हामीले समकालीन कविका कविता र विचारलाई ‘कविता/सोच’का रूपमा प्रस्तुत गरेका छौँ ।

यस अभियानले नितान्त पृथक् परिचय स्थापना गर्ने चेष्टा गरेको छ र यो यस मानेमा कि कविका काव्य-मान्यतालाई पनि यहाँ प्रस्तुत गरिएको छ । यहाँ सोचको शाब्दिक अर्थ कविको चिन्तन वा विचारका रूपमा रहेको छ । वर्तमान पुस्ताका चर्चित कविहरूका वकिता स्वयं पनि ‘सोच’को परिभाषा दिन सक्षम छन् भने कविता तथा सोचलाई एकै ठाउँमा प्रस्तुत गरिँदा यसमा नौलोपन थपिन गएको छ । यसै कारण यस प्रकाशनले नेपाली कविता जगत्मा निजत्व बोकेको छ । नेपाली कविताका अध्येता तथा पाठकका निम्ति यो पुस्तक अवस्था पनि सहयोगी बन्नेछ भन्ने हामीले विश्वास गरेका छौँ । साथै, यसको स्वागत तमाम पाठक वर्गले गर्ने नै छन् भन्ने कुरामा हामी आशावादी छौँ ।

राजेन्द्र पराजुली

समष्टिको दायित्वबोध हुनुपर्छ

गोविन्द वर्तमान

कवितामा मेरो उपस्थिति असंगत स्थितिहरू विरूद्ध अभिव्यक्तिको हस्तक्षेप हो । म कवितामा मानव जीवनको निम्ति न्यायको आग्रह राख्तछु । जीवनका दुःख, सुख, घृणा र प्रेम सबै नै त्यही आग्रहबाट मेरो कवितामा आकर्षित हुन्छन् । साहित्यलाई म आत्मसन्तुष्टिको माध्यमका रूपमा स्वीकार गर्दिनँ । समाज, राष्ट्र र सिङ्गो विश्वको संवेदनात्मक प्रतिबिम्ब साहित्यमा देखिन्छ । तसर्थ साहित्यले व्यक्तिको होइन, समष्टिको दायित्वबोध गर्नुपर्छ भन्ने मेरो धारणा छ ।

समाजमा व्याप्त शोषण, उत्पीडन र अव्यवस्था राजनीतिको सरोकारको विषय हो, साहित्यमा ती विषयले सौन्दर्यात्मक अभिव्यक्ति दिँदैनन् भन्ने विशेषखालको छद्म-राजनीतिलाई म मेरो चेतनाको गहिराईदेखि नै विरोध गर्छु । कलाको नाममा लादिने त्यो छद्म-राजनीति एक प्रकारको पाखण्ड नै हो भन्ने मलाई लाग्छ ।

भौतिक जगतमा निरन्तर भइरहेको परिवर्तनले मेरो काव्यात्मक चेतनालाई प्रभावित गरिरहेको हुन्छ । त्यही चेतनामाथि मैले आफैँमा समेत प्रतिक्रियाहरू जनाउने गरेको छु । व्यक्तिभन्दा पर पुगेर समाज र त्यसका अन्तरवस्तुहरूलाई प्रभावित र विश्लेषित गर्न सक्ने चेतनागत प्रतिक्रियालाई जब सौन्दर्ययुक्त आकृति बनाउन खोज्छु, त्यसबेला म कविता-प्रणालीभित्र प्रवेश गर्छु । म कवितालाई निष्पक्ष र शाश्वत मान्दिनँ । त्यसको प्रमुख कारण हो, म श्रमजीवी जनताको पक्ष लिन्छु र परिवर्तनको निरन्तरतामा विश्वास गर्छु । तथापि मेरो निम्ति कविता भनेको एउटा त्यस्तो फूल हो, जसमा शब्दका पत्रदलहरूभित्र भावनाको पराग र विचारको सुगन्ध स्थापित भएको हुन्छ ।

भूमिगत प्रभातको सन्दर्भमा

चेतनाको भूगोलमा भुइँचालो गएर
भत्किन थालेका छन् विश्वासका थोत्रा झुप्राहरू
तरंगित धरातलको आतंकित अभिव्यक्ति स्वरूप
खेतहरूमा जस्तै बुद्धिको बारीमा
बाढीको मल पसेको छ
एकातिर हाडहरूको पहाड बन्दैछ
अर्कातिर पहाडको हाड गल्दैछ
०००

भर्खरै बाहिर पड्किएको गोलीको आवाजले
भुर्रर्र उडेका छन् मन्दिरभित्रका मलेवाहरू
चन्दन र धूपको सुगन्ध
बारूदको दुर्गन्धले मूर्छित भएको छ
तैपनि
एकातिर प्रार्थनाको गीत गाइँदैछ
अर्कातिर युद्धको नगरा बजाइँदैछ

०००

हाँगाबाट चराजस्तै
झ्यालबाट सडकमा खसेको छ बालख
उसको छातीमा लागेको गोली
कसको शस्त्रागारबाट आएको हो, मलाई थाहा छ
गोली र बन्दूकहरू बनाउने तानाशाहको कारखानालाई
कसले अनुदान दिइरहेको छ, मलाई थाहा छ
हत्याराहरू किन शिष्ट, सभ्य देखिइरहेका छन्
कसको आवरणले ढाकिएको छ उनीहरूको नग्नता
मन्त्र-युद्धको शुरूवात कहिलेदेखि भएको हो
र, कुन चरणमा प्रवेश गरेको छ जनताको सहनशीलता
मलाई अक्षरशः थाहा छ
सत्ताको फ्रेममा
फिट गरेर फरेबको ऐना
चश्मा व्यापारीहरू धमाधम बनाउँदैछन् चश्माहरू
ठीक यत्तिबेला
क्रोधका प्रतिलिपिहरू बोकेर
केही नागरिकहरू सडकतिर निस्किएका छन्
सिस्नुका पातहरू छरिएको सीटबाट उठेर
केही सांसदहरू सडकतिर ओर्लिएका छन्
केही तुल र झण्डाहरू
केही प्रहरी डण्डाहरू
उम्मेद्वार र मतदाताहरू
चोक, गल्ली र डबलीतिर निस्किएका छन्
जासुसहरूको जंगलभित्र रहेको मेरो कोठा
थाहा छैन अझै किन सुरक्षित छ
जबकि
एकातिर मानव अधिकारको नारा चल्दैछ
अर्कातिर मानव हत्याको धारा बग्दैछ

०००

सारा दृश्यहरूबाट टाढा
जब म मेरो निर्दोष कोठामा पुग्छु
मसँगै कोठामा पुग्छन् मेरा क्षीण सुस्केराहरू
एक रूपैयाँको मैनबत्तीको उज्यालोमा निहुरिएर
मेरी सानी बहिनी
देशको अपार जल-सम्पदाको बारेमा
पढ्दैछे आफ्नो पाठ्यपुस्तक
उसलाई थाहा भएको छ
यो देश विश्वको दोस्रो ठूलो जलविद्युत भण्डार हो ।
तर थाहा छैन उसलाई
लोडसेडिङ भनेको के हो र अँध्यारोमा कतिवटा राक्षस हाँस्छन्
उसको अनुहारमा जब म
अत्यासलाग्दो अज्ञानता पढ्छु
एउटा कालो झण्डा पुनः प्रवेश गर्छ कोठामा
त्यसलाई बेवास्ता गर्दै
जब म ओछ्यानमा निदाउन थाल्छु
एक हुल उत्ताउला कागहरू
आकाश ढाकेर उड्न थाल्छन्
च्यात्तिएका कोट र कपालका चुल्ठाहरू
सपना ढाकेर जुलुस निकाल्छन्
मस्तिष्कको गुँडबाट निस्केर
चैनको चरा भुर्रर्र भाग्छ
मनको मतपेटिकाभित्र
आक्रोशको बथान खस्छ
यसरी एकातिर अशान्त रात ब्युँझन्छ
अर्कातिर शुभप्रभात भूमिगत छ
०००

आजभोलि निरन्तर यसरी
एकातिर हाडहरूको पहाड बन्दैछ
अर्कोतिर पहाडको हाड गल्दैछ
एकातिर मानव अधिकारको नारा चल्दैछ
अर्कोतिर मानव हत्याको धारा बग्दैछ
भन्नुस् महाशय यतिखेर
तपाईं कतातिर हुनुहुन्छ ?